सहारा क्लब

सहाराबाट सम्मानित यी खेलाडी

काठमाडौं । सहारा क्लब पोखराले आहा रारा गोल्डकपको अवसर पारेर प्रत्येक वर्ष राष्ट्रिय फुटबल टोलीका एक सदस्यलाई नगदसहित सम्मान गर्दै आएको छ ।

राष्ट्रका लागि योगदान पुर्याएवापत उनीहरूलाई सर्वोत्कृष्ट राष्ट्रिय खेलाडीबाट सम्मान गरिँदै आएको हो । हालसम्म क्लबले राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवास, गोलकिपर किरणकुमार लिम्बु, मिडफिल्डर सुजल श्रेष्ठ, स्ट्राइकर अभिषेक रिजाल र अञ्जन विष्टलाई सम्मान गरिसकेको छ ।

सहाराले प्रत्येक वर्ष प्रदान गर्ने उक्त सम्मानको प्रायोजन गरेर जिल्ला फुटबल संघ कास्कीका पूर्वअध्यक्ष तथा सहारा क्लबका सल्लाहकार समिति सदस्य खेम गुरुङले खेलाडीको हौसला बढाउँदै आएका छन् । सम्मान रकम ३५ हजार रुपैयाँको छ ।

सम्मानका लागि क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा), रेफ्री संघ र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बाट समान तीन खेलाडी गरी कुल ९ जनाको नाम सिफारिस गरिएकामा उत्कृष्ट एकलाई सम्मान गर्ने परम्परा छ । सम्मानित खेलाडी राष्ट्रिय टोलीमा परेकै हुनुपर्ने प्रावधान राखिएको छ ।

सहाराले २०७४ सालबाट निरन्तर रूपमा खेलाडी सम्मान गर्दै आएको हो । सहाराबाट हालसम्म सम्मानित खेलाडी:

भरत खवास (आर्मी)

२०६५ सालमा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका भरतले ‘फस्ट टच’मै गोल गरेर सनसनी मच्चाएका थिए । पोखरामा भएको पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा प्रदीप महर्जनको स्थानमा मैदान छिर्दै भरतले ‘फस्ट टच’मै गोल गरेका थिए ।

त्यसयता लगातार नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै आएका भरत पछिल्लो केही वर्षयता भने चोटका कारण राष्ट्रिय टोलीमा पुनरागमन गर्न संघर्षरत छन् । भरतलाई सहारा क्लबले २०७४ सालमा सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी सम्मान प्रदान गरेको थियो ।

भरतकै कप्तानीमा त्रिभुवन आर्मी फुटबल क्लबले गतवर्ष एएफसी कप छनोटको प्रारम्भिक चरण पार गरेको थियो ।

भरतले राष्ट्रिय टोलीबाट ४७ खेल खेलिसकेका छन् । यसक्रममा उनको अन्तर्राष्ट्रिय गोलसंख्या १० पुगेको छ । नेपालका लागि सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान पूर्वकप्तानद्वय हरि खड्का र नीराजन रायमाझीको नाममा छ ।

किरणकुमार लिम्बु

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ (लिम्बु) लाई सहारा क्लबले २०७५ सालमा सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी सम्मान गरेको थियो ।

राष्ट्रिय टिमका भरपर्दा रक्षक/मिडफिल्डर रोहित चन्दले इन्डोनेसियामा व्यावसायिक फुटबल खेलेर आफूलाई स्थापित गरिरहँदा कप्तान तथा गोलकिपर किरणले भारत तथा माल्दिभ्समा आफ्नो क्षमता प्रमाणित गरिरहेका छन् ।

भारतको आई लिग नेपाली खेलाडीका लागि छिमेकमै भएर पनि आकासको फलजस्तो बनिरहेको छ । थोरैमात्र नेपाली खेलाडी छन्, जसले एसियाली कोटामा भारतको लिग खेल्ने सफलता प्राप्त गरेका छन् ।

सन् २००८ मा कम्बोडियामा एएफसी च्यालेन्ज कपको छनोट प्रतियोगितामा मकाउविरुद्धको खेलमा किरणले राष्ट्रिय टोलीबाट स्वर्णिम ‘डेब्यु’ गरे । तर चोटका कारण उनको डेब्यु सुखद बन्न सकेन ।

नेपाली राष्ट्रिय टोलीका लागि कीर्तिमान ७९ अन्तर्राष्ट्रिय खेलमा पोस्टको रक्षा गरिसकेका गोलकिपर किरणको प्रशंसा गर्न शब्द पर्याप्त हुँदैन । किरणले खेलेका कुनै त्यस्तो प्रतियोगिता र लिग छैन, जहाँ उनी उत्कृष्ट गोलकिपरको पुरस्कारबाट सम्मानित नभएका हुन् ।

राष्ट्रिय टोलीमा उनको करियरको उत्कर्ष असोजमा माल्दिभ्समा सम्पन्न १३औं साफ च्याम्पियनसिप रह्यो । जहाँ उनकै कप्तानीमा नेपाल प्रतियोगिताको इतिहासमा पहिलोपल्ट फाइनल पुगेको थियो । कप्तानको भूमिकामा रहेका किरणको व्यक्तिगत प्रदर्शन नेपालको यात्राको मुख्य आधार रह्यो ।

सुजल श्रेष्ठ (मनाङ)

उनी नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर सुजल श्रेष्ठ धनकुटामा जिल्ला प्रतियोगिता खेल्दै गर्दा एन्फा एकेडेमीमा प्रवेश पाएका खेलाडी हुन् । जहाँबाट उनलाई राष्ट्रिय टोलीको ढोका खोल्न केही सहज भयो । सुजलले राष्ट्रिय टोलीको यात्रा गर्न थालेको पनि दशक बितिसक्यो । जहाँ उनले केही यादगार सफलता पनि पाइसके ।

साफ च्याम्पियनसिप फुटबलको २८ वर्षे इतिहासमा नेपालले असोजमा ऐतिहासिक सफलता प्राप्त गर्यो । नेपाललाई त्यो सफलता दिलाउने खेलाडीमध्ये एक सुजल पनि हुन् । पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुगे पनि नेपाल उपाधि भिडन्तमा भारतसँग पराजित भयो ।

पछिल्लो समय नेपाली राष्ट्रिय टोलीमा धेरै परिवर्तन आउँदा अधिकांश युवा खेलाडीले स्थान बनाएका छन् । कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले लामो समयदेखि साफलक्षित गरेर नेपाली टोलीको पुनर्संरचनामा काम गरिरहेका थिए । जहाँ उनको नजर सुरुदेखि नै युवा खेलाडीमा पर्यो ।
सन् २०११ मा नै नेपाली टोलीका तत्कालीन प्रशिक्षक ग्राहम रोबर्ट्सले सुजलमाथि विश्वास गरेका थिए । त्यसैले त उनले पोखरामा भुटानविरुद्धको खेलमा नेपाली टोलीबाट डेब्यु गर्ने अवसर पाए ।

त्यसयता उनको करियरमा निकै उतरचढाव आयो । कारण थियो, बेला–बेलामा राष्ट्रिय टोलीबाट बहिर्गमन । कहिले चोट त, कहिले खराब लय उनको बहिर्गमनको मुख्य कारण रहन्थ्यो ।

तथापि, सुजलले मिहिनेत गर्न छाडेनन् । डेब्युको दुई वर्ष भने उनी राष्ट्रिय टोलीमा रहे । सन् २०१३ पछि भने उनका लागि कठिन नै रह्यो । ‘२०१३, ०१४ र ०१५ को सुरुआत मेरा लागि निकै कठिन रह्यो,’ उनले भनेका छन् ।

नेपाली टोलीमा पर्न कडा प्रतिस्पर्धा हुनेमा दुईमत छैन । घरेलु प्रतियोगितामा पनि उनी प्रभाव जमाउँथे । साथै उनले धेरै मिहिनेत पनि गरेका छन् । जसका कारण उनले केही खेलपछि राष्ट्रिय टोलीमा पुनरागमन पाएका हुन् । सन् २०११ देखिको राष्ट्रिय टोलीको यात्रामा उनले ४१ क्याप जितेका छन् ।

उनले राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेको दशक पूरा भइसकेको छ । तर समकालीनको तुलनामा उनले नेपालको जर्सीमा त्यति धेरै खेल्न भने पाएनन् । राष्ट्रिय टोलीमा पर्दा पनि उनी बेन्चमा सीमित भए । त्यस कारण पनि राष्ट्रिय टोलीको दशक यात्रामा उनले थोरै क्यापमात्र खेल्ने अवसर पाए । यद्यपि जति खेलेका छन्, त्यसमध्ये केही यादगार छन् ।

त्यसैमध्ये एक हो १३औं दक्षिण एसियाली खेलकुद (साग) को प्रदर्शन । घरेलु मैदानमा २० वर्षपछि सम्पन्न त्यो सागमा नेपालले स्वर्ण जित्यो । जसको कप्तानी सुजलले नै गरेका थिए । भुटानविरुद्धको फाइनल खेलमा भने चोटका कारण उनी केही समय खेलेर बाहिरिनुपर्यो । तर, प्रतियोगिता अवधिभर उनको प्रदर्शन अविस्मरणीय रह्यो ।

अञ्जन विष्ट

अञ्जनले १६ वर्षमुनिको साफ च्याम्पियनसिपबाट ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुले । २०७१ सालमा भएको त्यो प्रतियोगितामा नेपाल उपविजेता बन्दा अञ्जनको प्रदर्शन लोभलाग्दो थियो ।

लगत्तै त्यही टोली एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो चरणलाई छानियो । जहाँ बहराइन र इरानविरुद्ध अञ्जनले गरेको गोल नेपालको यात्रामा महत्वपूर्ण साबित भयो ।

उमेर समूहको फुटबलमा लगातार प्रभाव जमाइरहेका अञ्जन लगत्तै २०७२ सालमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो यू–१९ साफ च्याम्पियनसिपको उपाधि विजेता टोलीको मुख्य हिस्सा बने । फाइनलमा भारतमाथि जित हासिल गर्दै नेपालले उपाधि घरमै राखेको प्रतियोगितामा अञ्जनले तीन गोल गरेका थिए ।

२३ वर्षे अञ्जन अहिले नेपाली राष्ट्रिय टोलीका ‘ट्यालिसम्यान’ (प्रभावशाली खेलाडी) हुन् । र, अञ्जन टोलीमा हुनु–नहुनुले धेरै अर्थ राख्छ । उनको प्रदर्शन तल–माथि हुँदा त्यसको प्रत्यक्ष असर टोलीमा देखिन्छ ।

२०७१, असोजमा फिलिपिन्ससँगको खेलबाट राष्ट्रिय टोलीका लागि ‘डेब्यू’ गरेका अञ्जनले ७ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । नेपालले एकै वर्ष दुई अन्तर्राष्ट्रिय उपाधि उचाल्ने क्रममा ५ वर्षअघि बंगबन्धु गोल्डकप र १२औं साग जित्दा अञ्जनको भूमिका महत्वपूर्ण थियो ।

अनुशासनको कारबाहीमा परेर केही समय अनुपस्थित हुनुबाहेक ‘डेब्यु’ गरेयता उनी राष्ट्रिय टोलीको नियमित हिस्सा बन्दै आएका छन् । असोजमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनल पुर्याउन अञ्जनको भूमिका उल्लेख्य रह्यो । तर, दुई पहँेलो कार्डका कारण फाइनलमा अञ्जन प्रतिबन्धित हुनु र नेपाल भारतसँग पराजित हुँदै उपाधिबाट विमुख हुनुले समर्थकलाई चुक्चुकाउने बहाना दियो ।

अभिषेक रिजाल

नेपाली फुटबलले पाएको युवा फरवार्ड हुन् अभिषेक रिजाल । प्रशिक्षक योहान कालिनले ७६ साल पूर्वाद्र्धमा अभिषेकलाई मलेसियाविरुद्धको खेलमा डेब्यु गराएका थिए । मलेसियाविरुद्ध डेब्यु गरेका अभिषेकले चाइनिज ताइपेइविरुद्ध दोस्रो खेलमै गोल गरेका थिए । जुन खेलमा नेपालले ताइपेइविरुद्ध १–१ बराबरी खेलेका थियो । त्यसयता अभिषेक सधँै चर्चाको शिखरमा रहे ।

मैदानमा आक्रामक स्वभावका अभिषेक १३औं दक्षिण एसियाली खेलकुद (साग) मा फुटबल टोलीले स्वर्ण पदक जित्दाका मुख्य खेलाडी रहे । प्रतियोगितामा उनले ४ गोल गरे ।

अभिषेकले घरेलु फुटबलको शीर्ष डिभिजन–२०७५ लिग नेपाल पुलिसबाट खेल्दै सुरुआत गरे । एन्फा एकेडेमीका अभिषेकले मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबाट पनि खेलेका छन् ।

भारतको पन्जाबमा मिनर्वा पन्जाबविरुद्ध गोल गर्दा अभिषेक एएफसी कपमा नेपालको तर्फबाट गोल गर्ने एकमात्र खेलाडी बने ।

यसपछि अभिषेकले भारतको चर्चित आई लिग क्लब मोहम्मडन क्लब र एजवाल एफसीबाट समेत खेल्ने अवसर पाए ।

तीव्र गति, सटिक प्रहार, हेड गोल, उत्कृष्ट फिनिसिङ र विपक्षी रक्षकलाई दबाब सिर्जना गरिराख्नु अभिषेकको खुबी हो ।