२०७२ सालमा गएको विनाशकारी भूकम्पले प्रत्यक्ष रूपमा १६ जिल्लामा ताण्डव मच्चायो । तर परोक्ष रूपमा यसले पूरा देशलाई प्रताडित गरेको थियो । देशको अर्थतन्त्र थिलथिलो भएको थियो । भुइँचालोमा लडेको नेपाल उठ्ने प्रयास गरिरहेका बेला छिमेकीको नाकाबन्दीले झन ठूलो ठेस लाग्यो ।
केही महिनापछि नाकाबन्दी अन्त्य भए पनि अर्थतन्त्र ब्युँतेर पुरानो अवस्थामा अझै आउन सकेको छैन । स्वयं अखिल नेपाल फुटबल संघ (एन्फा) का गतिविधिहरू भूकम्प र नाकाबन्दीले लामो समय प्रभावित भए । मोफसलका धेरै फुटबल प्रतियोगिता हुन सकेनन् । यस्तो अवस्थामा आहा–रारा गोल्डकप पनि नहोला भन्ने स्वाभाविक चिन्ता थियो । तर सहाराले हरेस खाएन । २०५८ सालमा क्याराभान गोल्डकपका नाममा सुरु भएयता कहिल्यै नरोकिएको आहा-राराको परम्पराले भुइँचालोको कठिन समयमा निरन्तरता पायो ।
त्यसअघि एक दशकसम्म देश माओवादी सशस्त्र द्वन्द्वको चपेटामा पर्यो । जनजीवन असामान्य भयो । सुरक्षाको चिन्ताले पूरा दशक देशलाई पिरोल्यो । थुप्रै उद्योगधन्दा बन्द भए । स्कुल कलेजहरूसमेत सामान्य रूपमा चल्न सकेनन् । खेलकुदको ‘लक्जरी’ले निरन्तरता पाउने विषय कल्पनाबाहिर थियो ।
तर, सहारा क्लबले द्वन्द्वको त्यही समयमा सुरु गरेको आहा-रारा गोल्डकपले कहिल्यै विश्राम लिएन । निरन्तर रूपमा पोखरा रंगशालाबाट नेपाली फुटबलको बीउ जोगाउने अभियान चलिरह्यो ।
नेपाली फुटबललाई दुःखको समयमा निरन्तरताको गुन लगाएको आहा–रारा अहिले फेरि अर्को कठिन परीक्षामा उत्रिइरहेको छ । नेपाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता तीन वर्षदेखि सम्पूर्ण मानवजातिका लागि अभिशाप बनेर आएको कोभिड-१९ महामारीसँग जुधिरहेको छ । सशस्त्र द्वन्द्व, भुइँचालो र नाकाबन्दीले रोक्न नसकेको आहा–रारालाई कोभिड महामारीले पनि रोक्न सकेन । दुई दशकदेखिको फुटबल अभियानलाई निरन्तरता दिने संकल्पसहित प्रतियोगिताको २० औं संस्करण पोखरा रंगशालामा विनादर्शक बिहीबार सुरु भइसकेको छ । यसले फुटबलप्रतिको सहाराको समर्पण प्रमाणित गर्छ ।
यही कारण हो, मोफसलमा फुटबल भनेपछि जो-कोहीले सबैभन्दा पहिला सम्झने नाम सहारा र आहा-रारा गोल्डकप बनेको । तर, सहाराको योगदानलाई फुटबलमै मात्र सीमित गरियो भने विश्वव्यापी भइसकेका सहाराकर्मीको भावनाप्रति अन्याय हुनसक्छ । जसरी फुटबलले मैदानभित्र एउटा भकुन्डोमार्फत २२ खेलाडीले जित–हारका लागि गर्ने प्रतिस्पर्धाभन्दा धेरैमाथिको भावना बोकेको छ । यसैगरी सहारा क्लबले पनि आफ्नो भूमिकालाई उत्तिकै फराकिलो पारिरहेको छ ।
अनाथ, असहाय र आर्थिक रूपले विपन्न बालबालिकाका लागि खोलेको सहारा एकेडेमीले समाज रूपान्तरणका लागि उदाहरणीय काम गरेको छ । दुई दशकअघि पोखरा बसपार्क नजिकका केही युवाहरूले बसपार्कमा एउटा शौचालय बनाउने बहानामा सुरु गरेको सहारा अभियानको आजको आयतन ‘गरे जे पनि सम्भव छ’ भन्ने प्रमाण हो ।
फुटबलका लागि भौतिक पूर्वाधार सबैजसो जिल्लामा छन् । तर, सहारा क्लबले आफैं जग्गा किनेर दोबिल्लामा बनाएको मैदान र एकेडेमी भवनमा जस्तो व्यवस्थित र सुन्दरता राज्यको अर्बौं लगानी भएका फुटबल पूर्वाधारमा पाउन सकिन्न ।
एन्फा विभिन्न कार्यक्रमका लागि पूरा वर्षभर ‘अस्तव्यस्त’ अवस्थामा छ । यो वर्ष भएका प्रतियोगिताले १२ महिनापछि निरन्तरता पाउने पक्का छैन । घरेलु फुटबलको सबैभन्दा ठूलो मानिने प्रतियोगिता लिगसमेत हरेक वर्ष एकै पद्दतिमा हुँदैन । तर, सहाराको आहा-राराले देश सशस्त्र द्वन्द्वको अवस्थामा हुँदादेखि नाकाबन्दीसम्म पनि यसलाई निरन्तरता दिइरहेको छ । अविरल रूपमा पोखरेली दर्शकलाई फुटबलको मज्जा चखाइरहेको छ । फुटबलमार्फत पोखराको पर्यटन व्यवसायमा योगदान गरिरहेकै छ । हरेक वर्ष गर्ने प्रतियोगिताबाट नेपाली फुटबलका लागि नयाँ प्रतिभा दिने प्रयासलाई निरन्तरता दिएकै छ ।
समग्रमा भन्दा सहारा र आहा-राराले फुटबलको वास्तविक भावना फैलाइरहेको छ । हो, सहाराको बहुआयामिक क्रियाकलाप र प्रतिवद्धताले त्यही भन्छ । फुटबलका दार्शनिकहरू भन्ने गर्छन्, फुटबल एउटा खेलसँगै अरू धेरैथोक पनि हो । खासमा फुटबल त एउटा खेलभन्दा धेरै बढी हो । फुटबल शिक्षा हो । फुटबल मनोरञ्जन हो । फुटबल समाज परिवर्तनको माध्यम हो । फुटबल भाइचारा र मित्रताको कसी हो । आफैंमा यो एउटा ठूलो उद्योग हो र अरू धेरै उद्योगको सहयोगी पनि हो ।
सहारा क्लबको अभियान नजिकबाट हेर्दा फुटबलका यी सबै आयाम प्रस्टसँग देखिन्छ । पोखरा रंगशालामा बर्सेनि गर्ने आहा-रारा गोल्डकप, दोबिल्लामा चलाइरहेको सहारा एकेडेमी, बसपार्कमा बनाएको सार्वजनिक शौचालय र नजिकै सञ्चालन गरेको विद्यालयलगायतका गतिविधिले त्यही त भनिरहेको छ ।
आहा-राराले दुई दशकदेखि लगातार पोखरामा फुटबल संस्कार स्थापना गरिरहेको छ । त्यसैले त कुनै पनि घरेलु वा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नुपरे एन्फाले काठमाडौंको विकल्पमा आँखा चिम्लिएर पोखरा सोच्न थालेको हो । नेपाली फुटबलको महारथी मनाङ मस्र्याङदी क्लबले पोखरा रंगशालालाई घरेलु रंगशालाका रूपमा प्रयोग गर्ने सम्झौता गरेको छ । लगातार दुई दशक लामो संघर्षबाट स्थापित भएको सबैभन्दा ठूलो उपलब्धि सायद त्यही हो । (तस्बिरहरु : सुदर्शन रञ्जित/पोखरा)