आहा रारा गोल्डकप

सहारालाई जीवन्त पार्ने ‘सहारा’

आजभन्दा १० वर्षअघि हिमेशरत्न वज्राचार्य मार्टिन चौतारीको एक कार्यक्रममा वक्ता बनेर पुगेका थिए । जहाँ उनलाई नेपाली फुटबलको विषयमा बोल्न भनिएको थियो । त्यहाँ उनलाई सोधियो, ‘नेपाली फुटबलबारे पुस्तक लेख्ने योजना छैन ?’ त्यही प्रश्नको जवाफ उनले अहिले आएर दिएका छन् । त्यो पनि पुस्तक नै तयार पारेर ।

नेपाली खेलकुद पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताइसकेका हिमेशको पुस्तक यही साता सार्वजनिक हुँदै छ । यसको नाम हो, ‘सहारा, दुई दशकको फुटबल यात्रा’ । नामैबाट अनुमान लगाउन सकिन्छ, यो पुस्तक पोखराको सहारा क्लब र यसले आयोजना गर्दै आएको आहा-रारा गोल्डकपसँग सम्बन्धित छ ।  

यही माघ ६ गतेदेखि पोखरा रंगशालामा सुरु हुँदै छ, आहा-रारा गोल्डकप । यसमा आयोजक सहारा क्लब, सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने ८ टिम र अमेरिकाबाट आएको एक पाहुना टिमले सहभागिता जनाउँदै छन् ।

आहा-रारा गोल्डकपले यतिबेला २०औं वर्षमा पाइला टेक्दै छ । तथ्यांकको कुरा गर्ने हो भने पुस्तकका लेखक हिमेशको पत्रकारिता यात्रा अहिले २१ औं वर्षमा छ । यस अर्थमा दुईको यात्रा लगभग सँगसँगै छ ।

तथ्यांक शब्दलाई यहाँ किन उल्लेख गरिएको हो भने लेखक हिमेशलाई नेपाली खेलकुद पत्रकारितामा गहिरो तथ्यांक राख्ने पत्रकारका रूपमा चिनिन्छ । उनका प्रायः स्टोरी अरू पत्रकारले हेक्का नराखेको तथ्यांकहरूले सुसज्जित हुन्छन् । त्यसैले हुनसक्छ उनले लेखेको यो पुस्तक पनि तथ्यांकमा धनी छ ।

पुस्तकमा आहा-रारा गोल्डकपको इतिहास र योसँग जोडिएका सबै तथ्यांक समावेश गरिएको छ । प्रतियोगिताका प्रत्येक संस्करणको बयानमात्रै होइन, गोलकर्ताको नाम र गोल भएको समय प्रस्टसँग राखिएको छ । अनि सबै प्रतियोगितामा लेखकले देखेका रोचक घटनाहरू पनि पुस्तकमा समावेश गरिएका छन् ।

पुस्तकमा उल्लेख गरिएझै आहा-रारा गोल्डकपको सुरुवात क्याराभानको नामबाट भएको थियो । आयोजक सहाराले दोस्रो संस्करण वा २०५९ सालमा भने प्रतियोगिताको फेरि न्वारन गर्‍यो । र, यहीबेला देखि यो प्रतियोगितालाई भन्न थालियो आहा गोल्डकप । त्यसको १० वर्षपछि एउटा शब्द थपियो । जसले प्रतियोगिताको नामलाई केही लामो बनायो आहा-रारा गोल्डकप ।

नेपाली खेलकुदबारे विभिन्न गुनासा छँदै छन् । त्यसमध्ये एउटा गुनासो हो, खेलकुदलाई विषय बनाएर पुस्तक लेखिने गरिँदैन । यो गुनासो सुनेका हिमेशले पुस्तक नै लेखेका छन् । तर यो पुस्तकले एउटा प्रतियोगितालाई मात्रै समेटेको छ । लेखक आफैंले भनेका छन्, ‘एउटा सिंगो प्रतियोगितालाई लिएर लेखिएका पुस्तक छैनन् । यस अर्थमा आहा-रारा गोल्डकप फुटबलबारे मात्र लेखिएको यो पुस्तक धेरै अर्थमा विशेष हुने विश्वास छ ।’

मोफसलमा हुने प्रतियोगिताहरूको महत्व ठूलो छ । जतिबेला नेपालमा लिग हुन सकिरहेको थिएन, त्यतिबेला नेपाली फुटबल थाम्ने मोफसलका प्रतियोगिताहरू नै थिए । तर, यी प्रतियोगिताहरूमध्ये सबैभन्दा महत्वपूर्णचाहिँ आहा-रारा नै भएको हिमेशको जिकिर छ ।

‘यो प्रतियोगिता निरन्तर आयोजना भइरहेको छ । यसका आयोजक प्रतियोगिता र फुटबललाई लिएर गम्भीर छन् । यसकारण यो प्रतियोगिता अरूभन्दा व्यवस्थित पनि छ । अहिलेसम्म नेपाली फुटबलमा यति लामो समयसम्म निरन्तरता पाएको पनि यो एकमात्र प्रतियोगिता हो । अर्को त मोफसलमा हुने सबै प्रतियोगितामध्ये गहिरो रिपोर्टिङ हुने पनि आहा-राराकै हो,’ हिमेश भन्छन् ।

आहा-रारा नेपाली फुटबलका लागि महत्वपूर्ण प्रतियोगिता त हुँदै हो । विशेष पनि हो । किनभने यो प्रतियोगिताको निश्चित उद्देश्यका साथ सुरु गरिएको हो । उद्देश्य विशुद्ध नाफा मात्र कमाउने होइन । बरू प्रतियोगिताबाट जम्मा भएको पैसा एकेडेमी सञ्चालनमा लागि खर्च गर्ने हो ।

हाल सहाराको एकेडेमीमा १४ जिल्लाका २४ बालक छन् । जसलाई फुटबलमात्र सिकाइँदैन, औपचारिक शिक्षाका लागि विद्यालय पनि पठाइन्छ । यो कार्यप्रति सहारा गर्व गर्छ । पूरा पोखराले गर्व गर्छ । अनि सिंगो नेपाल हर्षित हुन्छ । सहाराले गर्व गर्नुपर्ने अर्को उपलब्धि पनि छ । त्यो हो, दोबिल्लास्थित आफ्नै मैदान । यही मेसोमा सोध्नुपर्ने हुन्छ, नेपालमा एकेडेमी र मैदान भएको एक्लो क्लब कुन हो ? जवाफमा सहाराबाहेक नाम लिइयो भने त्यो जवाफ स्वतः खारेज हुन्छ ।

पुस्तकमा उल्लेख गरिएको छ, सहारा एकेडेमी सञ्चालन गर्नुको अप्ठ्यारो स्थिति । यसको मुख्य कारण त आर्थिक स्रोतको सीमितता हो । हाल एकेडेमी सञ्चालनमा मासिक दुई लाख रुपैयाँ खर्च छ । आम्दानीको मुख्य स्रोत आहा-राराको आयोजनाबाट हुने नाफा हो । हुन त क्लबका मनकारी सहयोगीहरू पनि छन् । जो देशमा मात्रै होइन, विदेशमा पनि छन् । उनीहरूकै सहयोगमा सहाराले २०६३ मा दोबिल्लामा २६ रोपनी जग्गा किनेर एकेडेमी र मैदान तयार पारेको हो ।

एकेडेमी चलाउन सहाराले दुई करोड रुपैयाँको अक्षयकोष स्थापनाको लक्ष्य राखेको छ । अक्षयकोषमा पैसा जम्मा हुनेक्रम जारी छ । सहारालाई सहयोग गर्नेको संख्यामा कमी आएको छैन । यसको कारण लेखक हिमेशले पनि उल्लेख गरेका छन् । जुन हो, सहाराले देखाउने पारदर्शिता र खटिएका निःस्वार्थी समाजसेवीको टिम ।

सहारा एकेडेमी सञ्चालन र प्रतियोगिता आयोजनामा मात्रै सीमित छैन । क्लबले अन्य सामाजिक कार्य पनि गरेको छ । पोखरा बसपार्क क्षेत्रमा सरसफाइ गर्नेदेखि विभिन्न विद्यालयका लागि भौतिक पूर्वाधार निर्माण गरिदिने काम गरेको छ ।

नेपाली फुटबलका लागि आवश्यक पर्ने खेलाडी उत्पादन गर्नेदेखि समाजका लागि कर्मठ र योग्य नागरिक तयार पार्न सहारा सक्रिय छ । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङ, संकटा क्लबका प्रशिक्षक विष्णु गुरुङजस्ता प्रतिभा दिएर सहाराले नेपाली फुटबललाई गुन लगाएको छ ।

अभिभावकत्व नपाएर कुलत र दुव्र्यसनमा फस्न सक्ने बालकहरूलाई कर्मठ नागरिकमा रूपान्तरण गरी समाजप्रति गुन लगाउने कार्यमा सहारा सक्रिय छ । सहाराको यस्तो पवित्र कामलाई पुस्तकमा उतारेर पत्रकार हिमेशले गुनिलो काम गरेका छन् । र, भन्नैपर्छ सहाराको पवित्रताबारे सबैतिर खबर फैल्याउने अभियानमा यो पुस्तक महत्वपूर्ण सहयात्री ठहरिने छ ।