आश्विन २९, २०८२ बिहीबार | १७:०६:५५
राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र सन् २०३० को कमनवेल्थ गेम्स भारतमा हुने विश्वकपमा छनोट हुँदाको खुसी शब्दमा बयान गर्न सक्दिनँः कप्तान रोहित भेट्रान फुटबलः फ्रिडमलाई उपाधि चेल्सीका प्रशिक्षक एन्जो मारेस्कालाई एक खेलको प्रतिबन्ध ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र सन् २०३० को कमनवेल्थ गेम्स भारतमा हुने विश्वकपमा छनोट हुँदाको खुसी शब्दमा बयान गर्न सक्दिनँः कप्तान रोहित भेट्रान फुटबलः फ्रिडमलाई उपाधि चेल्सीका प्रशिक्षक एन्जो मारेस्कालाई एक खेलको प्रतिबन्ध ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी
शनिबारको दिन

इतिहास फेर्ने दिन

काठमाडौं । आज जुलाई ५, शनिबार । नेपाली फुटबलका लागि विशेष दिन । खुलेर भन्न गाह्रो भएको मात्र हो, आज नेपाली महिला फुटबलको मुहार फेर्ने दिन हो । साढे दुई दशक लामो समयको प्रतीक्षा समाप्त हुने दिन हो । इतिहास फेर्ने दिन हो । ऐतिहासिक पहिलो पटक एसियन कपमा स्थान बनाउने दिन हो ।

आज उज्वेकिस्तानको राजधानी तास्केन्दमा नेपालले घरेलु टोलीसँग एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको निर्णायक खेल खेल्दैछ । खेलको नतिजा आफ्नो पक्षमा पारे नेपालले अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान पक्का गर्नेछ । यो भनेको २०२७ मा ब्राजिलमा हुने फिफा विश्वकपको १०औं संस्करणको नजिक पुग्नु हो । त्यसैले आजको दिन नेपाली फुटबलका लागि खास छ ।

तर नेपाली फुटबलको यो विशेष दिनको व्याख्या गरिरहँदा खुलेर बोल्न नसक्ने कारण चाहिँ के ? जवाफ सबैलाई थाहा छ । नेपाली महिला राष्ट्रिय फुटबल टोली जहिल्यै अन्तिममा आएर चुक्ने गरेको इतिहास छ । टोलीले सरोकारवालाहरुलाई कहिल्यै खुसी पार्न सकेको छैन । ४० वर्षे अन्तर्राष्ट्रिय इतिहासमा नेपाली महिला टिमले एक दर्जनभन्दा बढी फाइनलमा निराशा भोगेको छ । उपाधिबाट वञ्चित हुनु परेको छ । उज्वेकिस्तानसँगको खेल पनि नेपालका लागि फाइनल जस्तै हो । अझ त्योभन्दा पनि बढी महत्वपूर्ण ।

कप्तान सावित्रा भण्डारी एक्लैको नाममा ७ गोल छ । सावित्राले दुवै खेलमा ह्याट्रिक गरिन् । 

सन् १९८६ मा हङकङमा सम्पन्न एएफसी महिला च्याम्पियनसिपको छैटौं संस्करणदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन थालेको नेपालले त्यसपछि १९८९ र १९९९ को संस्करण खेल्यो । जतिबेला टोली सोझै एएफसी च्याम्पियनसिपमा छनोट हुने गर्थे ।

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा लाओसको अवसरमा बाधक बन्दै नेपाली गोलकिपर अन्जना रानामगर, तस्वीर सौजन्यः लाओ फुटबल महासंघ ।

सन् २००६ मा अस्ट्रेलियामा भएको १५औं संस्करणदेखि छनोट चरण पार गर्ने टोलीले मात्र एसियन कपमा स्थान बनाउने नियम लागू भयो । अघिल्लो संस्करण नेपालले अन्तिम केही मिनेट सम्हालिन नसक्दा फिलिपिन्सविरुद्ध हार बेहोरेको थियो । जसका कारण एसियन कप पुग्न नेपालले थप चार वर्ष कुर्नुपरेको हो । शनिबार उज्वेकिस्तानलाई हराउन नसके नेपालले अर्को चार वर्ष यही प्रतिक्षामा खेर फाल्नेछ ।

छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई ९-० ले हरायो । दोस्रो खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्धन्द्धी श्रीलंकाको पोस्टमा ८ गोल गर्यो । कूल १७ मध्ये कप्तान सावित्रा भण्डारी एक्लैको नाममा ७ गोल छ । सावित्राले दुवै खेलमा ह्याट्रिक गरिन् । पछिल्लो एक दशक अन्तर्राष्ट्रिय मञ्चमा जितको मुख्य आधार बन्दै आएकी सावित्रासँग आज पनि नेपाली टोलीले भर गर्नेछ ।

 उज्वेकिस्तानका लागि फरवार्ड निलुफर कुद्राटोभाले ६ गोल गरेकी छन् । 

उज्वेकिस्तान भ्रमण सावित्राका लागि आफैंमा खास रह्यो । लाओसविरुद्ध सावित्राले पहिलो पटक कप्तानको आर्मब्यान्ड लगाइन् । उनले देशको ११औं महिला फुटबल कप्तान बन्ने सौभाग्य पाइन् ।

करिअरकै विशेष क्षणलाई थप यादगार बनाउन उनी तयार छिन् । भन्छिन्, ‘दुई खेलमा हामीले स्पष्ट ६ अंक बटुलेका छौं । यसले खेलाडीमा सकारात्मक उर्जा थपिदिएको छ । अब अन्तिम पाइला बाँकी छ । हामी उज्वेकिस्तानसँग लड्न तयार छौं ।’

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा लाओसको आक्रमणलाई रोक्ने प्रयासमा नेपाली रक्षक गीता राना, तस्वीर सौजन्यः लाओ फुटबल महासंघ ।

उज्वेकिस्तानले पनि विपक्षी पोस्टमा १७ गोल गरेको छ । पहिलो खेलमा श्रीलंकामाथि १०-० को फराकिलो जित हासिल गरेको उज्वेकिस्तानले त्यसपछि लाओसलाई ७-० ले हरायो । उज्वेकिस्तानका लागि फरवार्ड निलुफर कुद्राटोभाले ६ गोल गरेकी छन् । एसियन कपको टिकट काट्ने हो भने नेपालले कुद्राटोभासँगै चार गोल गरेकी अर्की फरवार्ड डियोराखोन काबिबुलाभाको आक्रमणलाई रोक्न आवश्यक छ । यस्तोमा एकदशकयता आफ्नो उपस्थितिले राष्ट्रिय टोलीको रक्षात्मक पर्खाललाई बलियो बनाएकी सेन्टरब्याक गीता रनामाथि गहिरो जिम्मेवारी हुनेछ ।

उज्वेकिस्तानले बेलारुसविरुद्ध दुई तथा जाम्बियासँग एक खेलमा पराजय बेहोरेको थियो । बेलारुस र जाम्बिया दुवै फिफा वरीयतामा उज्वेकिस्तानभन्दा तल रहेका टोली हुन् । 

मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले पछिल्ला दुई खेलमा ३-२-३-२ को फर्मेशनमा टिम उतारेका थिए । जुन नेपाली महिला फुटबलको हकमा नितान्त नौलो फर्मेशन हो । बलियो उज्वेकिस्तानविरुद्ध नेपाल कसरी मैदानमा उत्रिनुपर्छ ?

घरेलु लिग च्याम्पियन एपिएफ फुटबल क्लबका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डे यसो भन्छन्, ‘हामी अझै पनि ३-२-३-२ मा अडप्ट भइसकेका छैनौं । उज्वेकिस्तान बलियो टोली हो । त्यसैले तीन जनाको डिफेन्सिभ वालमा खेलाउँदा खतरा बन्न सक्छ । उज्वेकिस्तानविरुद्ध शनिबार हामीलाई जित आवश्यक छ । पूरै डिफेन्सिभ नै खेल्नुपर्ने भन्ने छैन । हामी ४-४-२ को सन्तुलित शैलीमा जान सक्छौं ।’

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंकाविरुद्ध गोल गरेपछि नेपाली स्ट्राइकर सावित्रा भण्डारीको सेलेब्रेसन, तस्वीरः सरोज सापकोटा/खेलाडी

याे छनाेटअघि उज्वेकिस्तानले पिछल्ला ११ खेलमा सात खेलमा हार बेहोर्दा मात्र तीन खेलमा जित हासिल गरेको थियाे । उज्वेकिस्तानले पछिल्लो महिना भारतसँग दुई मैत्रीपूर्ण खेलमा जित हासिल गर्दा फेब्रुअरीमा जोर्डनलाई पराजित गरेको थियो । भारत र जोर्डन दुवै वरीयतामा उज्वेकिस्तानभन्दा तल छन् ।

उज्वेकिस्तानको छनोट चरण पार गर्न नसकेको इतिहासले पनि नेपाली टोलीको मनोविज्ञानमा ठूलो अर्थ राख्छ ।

यद्यपि उज्वेकिस्तानले आफूभन्दा तल्लो स्तरका टोलीसँग पनि नतिजा सुम्पिएको छ । सात हारमध्ये उज्वेकिस्तानले बेलारुसविरुद्ध दुई तथा जाम्बियासँग एक खेलमा पराजय बेहोरेको थियो । बेलारुस र जाम्बिया दुवै फिफा वरीयतामा उज्वेकिस्तानभन्दा तल रहेका टोली हुन् । बेलारुससँगको दुई मैत्रीपूर्ण खेल तास्केन्दमा भएको थियो । बेलारुसको यो जितले नेपाली खेलाडीलाई उर्जा दिन सक्छ । घरेलु समर्थकको फाइदाबीच पनि उज्वेकिस्तानलाई हराउन सकिन्छ भन्ने आँट भर्न सक्छ ।

उज्वेकिस्तानले एएफसी छनोट प्रतियोगिताको तयारीस्वरुप दक्षिण एसियाली प्रतिद्वन्द्वी भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेलमा नतिजा आफ्नो पक्षमा आए पनि भारतमाथि जित निकाल्न उज्वेकिस्तानलाई गाह्रो भएको थियो । दुवै खेलमा उज्वेकिस्तानले १-० को जित हासिल गरेको थियो । वरियतामा नेपालभन्दा ४९ स्थान माथि रहेको उज्वेकिस्तानलाई हराउन सक्ने अर्को आधार यही नै हो ।

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा लाओसविरुद्ध उज्वेकिस्तान, तस्वीर सौजन्यः लाओ फुटबल महासंघ ।

उज्वेक फुटबल अहिले पुरुष फुटबल टोलीको सफलतामा रमाइरहेको छ । उज्वेकिस्तानले दुई साताअघि मात्र फिफा विश्वकप २०२६ मा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । उत्तरी अमेरिकामा अर्को वर्ष हुने विश्वकप उज्वेक फुटबलको इतिहासमा पहिलो हुनेछ । यो हर्षोल्लासका बीच निश्चय पनि उज्वेक महिला टोलीले आफ्ना समर्थकलाई निराश बनाउन चाहने छैन । टोलीले अहिलेसम्म छनोट चरण पार गरेर एसिया कपमा स्थान बनाउन सकेको छैन । यसपालि घरेलु समर्थकको साथ पाएको उज्वेकिस्तानसँग पहिलो पटक एसियन कपमा पुग्ने अवसर छ । महिला टोलीले पनि ऐतिहासिक उपलब्धि हासिल गर्ने हो भने उज्वेकिस्तानी फुटबलमा ‘डबल सेलेब्रेसन’ हुनेछ ।

उज्वेकिस्तानको छनोट चरण पार गर्न नसकेको इतिहासले पनि नेपाली टोलीको मनोविज्ञानमा ठूलो अर्थ राख्छ । यद्यपि दुई वर्षअघि चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा उज्वेक महिला टोलीले चौथो स्थान हासिल गरेको थियो । उता नेपाली टोली भने समूह चरणबाटै बाहिरिएको थियो ।

अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल र उज्वेकिस्तान अहिलेसम्म एकपटक मात्र आमने-सामने भएका छन् ।

उज्वेकिस्तानले एसियन कपको अर्को संस्करण आफैं आयोजना गर्दैछ । घरेलु भूमिमा प्रतियोगिता हुने भएकाले उज्वेक टोली स्वतः प्रतियोगिताका लागि छनोट हुनेछ । यस्तोमा उज्वेक टोली घरेलु भूमिमा हुने एसियन कपअघि कम्तीमा पनि एक पटक छनोट चरण पार गरेर फाइनल चरण खेल्न चाहन्छ ।

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा लाओसविरुद्ध उत्रिएको उज्वेकिस्तानको पहिलो रोजाई, तस्वीर सौजन्यः लाओ फुटबल महासंघ ।

अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल र उज्वेकिस्तान अहिलेसम्म एकपटक मात्र आमने-सामने भएका छन् । उज्वेकिस्तानसँग नेपाली फुटबलको इतिहास पनि जोडिएको छ । नेपालले उज्वेकिस्तानविरुद्ध नै पहिलो अन्तर्राष्ट्रिय गोल गरेको थियो । सन् १९९९ मा फिलिपिन्समा सम्पन्न एएफसी महिला च्याम्पियनसिपमा नेपालले एउटै मात्र गोल गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग ६–१ को हार बेहोर्दा पेमा डोल्मा लामाले देशका लागि ऐतिहासिक पहिलो गोल गरेकी थिइन् । शनिबार अर्को ऐतिहासिक उपलब्धि हासिल गर्ने दिन हो । जहाँ नेपाली समर्थकलाई यसपालि हार स्वीकार्य हुने छैन ।