काठमाडौं । नेपाली महिला फुटबल टोलीले अबको १५ दिनपछि उज्वेकिस्तानमा अहिलेसम्मकै महत्त्वपूर्ण प्रतियोगिता खेल्दै छ । जुन २९ मा सुरु हुने एएफसी एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपालले घरेलु टोली उज्वेककिस्तानसँगै लाओस र श्रीलंकाविरुद्ध खेल्नेछ ।
राउन्ड रोबिन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ । यसअघि पनि नेपालले एसियन कप छनोट प्रतियोगिता नखेलेकोे होइन । तर, अहिले नेपाली महिला फुटबल ‘गोल्डेन जेनेरेसन’को प्रदर्शनमा रमिरहेको छ । भन्नेले के पनि भन्छन् भने नेपालमा अब यत्तिको टिम जन्मदैन । त्यसमाथि यो समूहमा नेपाल उज्वेकिस्तानपछिको बलियो टोली हो । त्यसैले सन् २०३१ सम्म फिफा विश्वकप पुग्ने सपना बुनेको नेपाली टोलीसँग उज्वेकिस्तानमा चुनौतीसँगै अवसर उत्तिकै छ ।

उज्वेकिस्तान भ्रमण यस अर्थमा पनि खास छ कि लाओसविरुद्धको पहिलो खेल नेपाली महिला फुटबलको एक सय अन्तर्राष्ट्रिय खेल हुनेछ । सन् १९८६ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको नेपाली टोलीले झन्डै चार दशकपछि यो कोसेढुंगा छुन लागेको हो । नेपालले यो चार दशकको अन्तरालमा समर्थकलाई अन्तर्राष्ट्रिय उपाधिको खुसी भने दिन सकेको छैन । साफ च्याम्पियनसिपमा मात्र नेपाल ६ पटकको उपविजेता टोली हो । यसबाहेक नेपाल अन्य ७ अवसरमा चुकेको छ । तर, उज्वेकिस्तानको यात्रा केही खास छ ।
वर्ष २०८१ महिला फुटबलका लागि सुःखद रह्यो । सुखद यस कारण कि खेलाडीहरू लगभग ८–९ महिना घरेलु फुटबलमा व्यस्त रहे ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत साता मात्र महिला टोलीको जिम्मेवारी बेल्जियम प्रशिक्षक प्याट्रिक डे विल्डेलाई दिएको छ । युइएफए प्रो लाइसेन्सप्राप्त विल्डेले गत वैशाखमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा काठमाडौं रेजर्सको प्रशिक्षण सम्हालेका थिए । विल्डे महिला टोली सम्हाल्ने दोस्रो विदेशी प्रशिक्षक हुन् । यसअघि अस्ट्रेलियाका ग्यारी फिलिप्सले नेपाली टोली सम्हालेका थिए ।

कम समयको प्रशिक्षण बावजुत डे विल्डे चुनौतीको सामना गर्न तयार देखिन्छन् । उनी भन्छन्, ‘फुटबलमा जहिल्यै सकारात्मक हुनुपर्छ । सर्वप्रथम हामी लाओस र श्रीलंकासँगको खेलमा बढी ध्यान केन्द्रित गर्नेछौं । उज्वेकिस्तानसँगको खेल जित्छौं जित्दैनौं अहिले नै भन्न सकिँदैन । हामी रियालिस्टिक हुन आवश्यक छ ।’
वर्ष २०८१ महिला फुटबलका लागि सुःखद रह्यो । सुखद यस कारण कि खेलाडीहरू लगभग ८–९ महिना घरेलु फुटबलमा व्यस्त रहे । खेलाडीले आराम गर्ने समय नै पाएनन् । महिला फुटबलको बढ्दो क्रेजबीच पूर्वी झापादेखि पश्चिम नेपालगन्जसम्म घरेलु प्रतियोगिता भए । दुई वर्षपछि आयोजना भएको राष्ट्रिय महिला लिग पनि झन्डै ६ महिना सञ्चालन भयो । यसबीच घरेलु भूमिमा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता पनि भए ।

अब यिनै खेलाडीमाझ सबैभन्दा ठूलो चुनौती आइपुगेको छ । उज्वेकिस्तान भ्रमणले यी खेलाडीको आगामी दिनको रेखा कोर्नेछ । एसिया कपमा छनोट भए वर्ष २०८२ मा पनि उनीहरूले आराम गर्ने फुर्सद पाउने छैनन् । एसिया कपकै तयारीस्वरुप थप अन्तर्राष्ट्रिय एक्सपोजरको अनुमान गर्न सकिन्छ । सर्वप्रथम नेपालले उज्वेकिस्तानमा इतिहास रच्न आवश्यक छ । तब तीन अनुमानले पनि सार्थकता पाउनेछ ।
तर यसो भनिरहँदा नवनियुक्त प्रशिक्षक विल्डेले भनेजस्तै नेपाली महिला फुटबल, फुटबल प्रशासन र समर्थकहरु रियालिस्टिक हुनु पनि उत्तिकै जरुरी छ ।