काठमाडौं । साफ च्याम्पियनसिप २०२४ को पहिलो खेलमा नेपालले भुटानविरुद्ध खेल्दै थियो । खेलको ६९औं मिनेटमा विपक्षी फरवार्ड देकी ल्हाजोमको आक्रमणलाई रोक्ने क्रममा मिडफिल्डर दीपा शाही मैदानमा लडिन् । दायाँ खुट्टाबाट नमिठो आवाज आयो । त्यतिबेलै दीपाले थाहा पाइसकेकी थिइन्, मेरो एसिएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट, घुँडामा लाग्ने एकप्रकारको गम्भीर चोट) गयो भनेर ।
एसिएल इन्जुरीका बारेमा दीपा त्यति जानकार थिइनन् । उनलाई यतिमात्र थाहा थियो कि एसिएल चोट लाग्यो भने फेरि ठिक भएर लयमा फर्किन धेरै संघर्ष गर्नुपर्छ । फिजियोथेरापिस्ट नवीना श्रेष्ठले यस्तै भनेकी थिइन् । अनि एसिएल चोट लागेको संकेत बुझ्ने परिस्थितिहरूबारे पनि नवीनाले जानकारी गराएकी थिइन ।
यही कारण हो, खुट्टाबाट आवाज आउनेबित्तिकै नवीनाले भनेका कुरा दीपाको दिमागमा झ्ल्यास्स आइहाल्यो । त्यसपछि दीपाले मन थाम्न सकिनन् । ‘नवीना म्यामले खुट्टाबाट आवाज आयो कि एसिएल जाने सम्भावना धेरै हुन्छ भन्नुभएको थियो । म डराएँ,’ दीपा घाइते हुँदाको त्यो दिन सम्झिन्छन् ।

दीपालाई स्ट्रेचरमा राखेर मैदानबाट बाहिर निकालिएको थियो । त्यस दिन स्ट्रेचरको सहायतामा मैदान छाड्ने दीपा दोस्रो नेपाली खेलाडी थिइन् । दीपाअघि पहिलो हाफको इन्जुरी समयमा नेपालले हिराकुमारी भुजेललाई एसिएलकै कारण गुमाएको थियो । विपक्षी फरवार्ड छिरिङ याङ्देनको बल हेडमार्फत क्लियरेन्स गर्न गएकी लेफ्ट ब्याक हीरा ल्यान्डिङ नमिल्दा घाइते भएकी थिइन् ।
नेपालले लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजय बहोर्यो । त्यो हारले दीपा र हिरालाई सहनै नसक्ने चोटको पीडामा नुन छर्किदिने काम गर्यो ।
‘खेलमा त्यस्तो दबाब थिएन । खेल स्लो नै थियो । खासै महत्त्वपूर्ण पनि थिएन । मेरो हकमा म अभागी साबित भएँ । त्यो दिनलाई सम्झन पनि चाहन्न,’ हिरा सुनाउँछिन् ।
दुवैको दुई दिनपछि ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा शल्यक्रिया भयो । दुवै ९ महिना मैदान बाहिर रहने भए । नेपालले लगातार दोस्रो पटक साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजय बहोर्यो । त्यो हारले दीपा र हीरालाई सहनै नसक्ने चोटको पीडामा नुन छर्किदिने काम गर्यो ।

सेमिफाइनल र फाइनलका लागि भनेर अस्पतालले बिरामी कोठामै प्रोजेक्टरको सुविधासहित खेल हेर्ने वातावरण मिलाइदिएको थियो । विवादास्पद सेमिफाइनलमा चिरप्रतिद्वन्द्वी भारतलाई टाइब्रेकरमा हराउँदै नेपालले छैटौं पटक फाइनलको यात्रा गरेको थियो । सेमिफाइनलमा साम्बा (सावित्रा भण्डारी)को त्यो बराबरी गोल सम्झँदा हिरा अहिले पनि जिउ सिरिङ्ग पार्छिन् ।
सावित्राको त्यो गोल वास्तवमै हेर्नलायक थियो । त्यो गोलका कारण दीपाले एकैछिन भए पनि आफ्नो चोटको दुखाइ बिर्सिएकी थिइन् ।
नेपालले खेलेको इतिहासकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय खेलमा स्ट्राइकर सावित्राले मिडफिल्डर प्रीति राईको सुन्दर थ्रु पासलाई सनसनीपूर्ण तरिकाले बराबरी गोलमा परिणत गरेकी थिइन् । गोलपछि सावित्राले नेपाली फुटबल इतिहासमै बिरलै देखिने खालको आइकोनिक सेलिब्रेसन गरिन् । मनै लोभ्याउने खालको ।
उनको सेलिब्रेसनले विश्व फुटबलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको झलक दिइरहेको थियो । सन् २०१८ को एल क्लासिकोमा रोनाल्डोले बार्सिलोनाविरुद्ध आइकोनिक जर्सी सेलिब्रेसन गरेका थिए । सावित्राले पनि त्यही गरिन् । सुरुमा जर्सी फुकालेर फालिन् अनि सहकर्मीसँग खुसी साटिसकेपछि दर्शकलाई जर्सी देखाइन् । पछि टाइब्रेकरमा नेपालले भारतलाई ४-२ ले हराएको थियो । यसअघि रेफ्रीको विवादास्पद निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाली खेलाडीले मैदान छाडेपछि खेल करिब सवा एक घण्टा रोकिएको थियो ।

सावित्राको त्यो गोल वास्तवमै हेर्नलायक थियो । त्यो गोलका कारण दीपाले एकैछिन भए पनि आफ्नो चोटको दुखाइ बिर्सिएकी थिइन् ।
‘सर्जरी गर्दा जुन पीडा थियो, साम्बा दिदीको गोलले त्यसलाई बिर्साइदियो,’ दीपा फिस्स हाँस्छिन् ।
सावित्राले पनि खेलपछि आफ्नो गोल सहकर्मी दीपा र हिरालाई समर्पित गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘मैले दीपा र हिराले भोगेको पीडा महसुस गरेको छु । म पनि यो ‘डार्क फेज’ पार गरेर आएको खेलाडी हुँ । यो गाह्रो समयमा उनीहरूको अभिभावक भनेको हामी नै हौं । हामी नै हुनुपर्छ । आज दीपा र हिराका लागि भए पनि जित्नुपर्छ भन्ने थियो ।’
झन्डै आठ महिनाको ‘रिकभरी पिरियड’ पछि दीपा र हिराले ‘ग्राउन्ड रिह्याब’ सुरु गरिसकेका छन् । एन्फाको होस्टेलमै बस्दै आएकी हिरा पछिल्लो समय यु-१९ महिला टोलीका बहिनीहरुसँग मिलेर ‘बल फिलिङ’ गरिरहेकी छिन्
बिएन्डबीमा १४ दिन बिताएपछि दीपा र हिरालाई अखिल नेपाल फुटबल संघ (एन्फा) होस्टेलमा सार्यो । दुवैको दैनिकी अब एन्फाले गत वर्षदेखि सञ्चालनमा ल्याएको ‘फिजियोथेरापी एन्ड रिह्याबिलिटेसन डिपार्टमेन्ट’मा फिजियोमार्फत चाँडै मैदान फर्किने प्रयासमा समर्पित हुन थाल्यो । डिपार्टमेन्टको नेतृत्व फिजियोथेरापी र रिह्याबिलिटेसन सेवामा एक दशकभन्दा बढीको अनुभव भएकी डाक्टर नवीनाले गरिरहेकी छन् । जहाँ सिनियर, उमेर समूहका राष्ट्रिय खेलाडी र क्लब स्तरका फुटबल खेलाडीको उपचार हुने गर्छ ।

झन्डै आठ महिनाको ‘रिकभरी पिरियड’ पछि दीपा र हिराले ‘ग्राउन्ड रिह्याब’ सुरु गरिसकेका छन् । एन्फाको होस्टेलमै बस्दै आएकी हिरा पछिल्लो समय यु-१९ महिला टोलीका बहिनीहरुसँग मिलेर ‘बल फिलिङ’ गरिरहेकी छिन् । दीपा भने आफू हिँड्न सक्ने भएयता आमासँग कपनस्थित कोठामै बस्दै आएकी छन् । पूर्ण फिटनेसमा आउन यी दुईलाई अझै दुई महिनाको समय लाग्नेछ ।
यो रिकभरी पिरियडमा दुवैले भावनात्मक, मानसिक र शारीरिक पीडासँग ठूलो लडाईं लड्नुपरेको छ । मनमा खेल्ने अनेकौं कुराहरूसँग जुध्नुपरेको छ ।
‘खुट्टा एकदमै दुख्थ्यो । सर्जरीपछिको दुई तीन महिना राम्ररी सुत्न पनि सकिन । राती खुट्टा उचालेर बस्थें,’ दीपा भावुक हुन्छिन्, ‘सोचमग्न हुन्थें । मनमा प्रश्नहरू उब्जिरहन्थे । मलाई मात्र यस्तो हो कि सबैलाई यस्तै हुन्छ भन्ने लाग्थ्यो ।’
वर्ष २०८१ महिला फुटबलका लागि सुखद रह्यो । सुखद यस अर्थमाकि खेलाडीहरू लगभग ८-९ महिना घरेलु फुटबलमा व्यस्त रहे ।
हिरालाई पनि कमब्याक हुनै सक्दिनँ कि भन्ने चिन्ताले सताइरह्यो । पछिल्लो समय भने स्वास्थ्यमा सुधार आएपछि आत्मविश्वास बढ्न थालेको छ । भन्छिन्, ‘यो मेरो दोस्रो सर्जरी हो । सुरु सुरुमा धेरै गाह्रो भयो । कमब्याकलाई लिएर नकारात्मक कुरा मनमा खेल्थे । अहिले अवस्था फेरिएको छ । बल फिलिङ गर्दा पनि सकारात्मक उर्जा मिलिरहेको छ ।’

डेढ वर्षअघि सम्म पनि महिला खेलाडीको प्रशासनसँग एउटै गुनासो रहने गथ्र्यो । म्याच एक्सपोजर पाएनौं, लिग समयमै भएन जस्ता खेलाडीको आलोचना नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले सुन्दै आएको धैरै भइसकेको थियो । अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको असीमित क्षमता र सम्भावनाका बावजुत महिला फुटबलले एन्फाबाट कहिल्यै महत्व पाएको थिएन । तर, वर्ष २०८१ महिला फुटबलका लागि सुखद रह्यो । सुखद यस अर्थमाकि खेलाडीहरू लगभग ८-९ महिना घरेलु फुटबलमा व्यस्त रहे ।
महिला फुटबलको बढ्दो क्रेजबीच पूर्वी झापादेखि पश्चिम नेपालगन्जसम्म घरेलु प्रतियोगिता भए । दुई वर्षपछि आयोजना भएको राष्ट्रिय महिला लिग पनि झन्डै झण्डै ६ महिना सञ्चालन भयो । यसबीच घरेलु भूमिमा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता भए ।
घरेलु फुटबलमा एक दशकभन्दा लामो समय बिताइसकेकी २९ वर्षीया हिराले यसअघि महिला फुटबलको यस्तो क्रेज कहिल्यै देखेकी थिइनन् । उनका साथीहरू गाउँदेखि सहरसम्म पुगे । देशका विभिन्न ठाउँका समर्थकसँग सेल्फी खिच्न उनीहरूलाई भ्याइनभ्याइ थियो । उनको टोली एपिएफ क्लबले भएजति सबै उपाधि जित्यो । अफसोच ! हिराले यो माहोल मैदानमा डटेर आत्मसात गर्न पाइनन् ।

त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्दै आएकी दीपाको हकमा यसरी लामो समय फुटबलबाट टाढिनुपर्दा उनले जीवनकै अमूल्य पाठ सिकेकी छन् ।
उपाधि जित्दा मैदानमा रहेका साथीहरूलाई सुरक्षाकर्मीको घेरा लगाएर बाहिर ल्याएको दृश्य होस्टेलको ओछ्यानमा बसेर हेर्नुबाहेक हिरासँग अरू विकल्प पनि त थिएन । तर, हिरा निराश छैनन् । यसले त झन् हिरालाई मैदानमा फर्कन उर्जा थपिदिएको छ । हाँस्दै सुनाउँछिन्, ‘जसरी महिला फुटबल अगाडि बढिरहेको छ । मलाई यसले झन् चाँडै कमब्याक हुन प्रेरणा मिलेको छ । नेपाली समर्थकले हामीलाई दिएको मायाले मलाई उर्जा मिलेको छ ।’
त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्दै आएकी दीपाको हकमा यसरी लामो समय फुटबलबाट टाढिनुपर्दा उनले जीवनकै अमूल्य पाठ सिकेकी छन् । २१ वर्षीया दीपा भन्छिन्, ‘मैले यो एसिएलको चोटसँग लडिरहँदा जीवनमा धैर्य भन्ने कुरा एकदमै महत्त्वपूर्ण रहेछ भन्ने बुझें । हामी जहिल्यै आजको भोलि सफलता खोजिरहेका हुन्छौं । तर, सफलता त्यत्तिकै आउँदैन । केही पाउन केही गुमाउनुपर्ने रहेछ । जिरोबाट हिरो बन्न संघर्षका खुड्किला पार गर्नुपर्छ । म अहिले जिरो लेभलमा छु, सफलता हासिल गर्न धैर्यका साथ संघर्ष गर्न तयार छु । मलाई लाग्छ खेलाडी सफल हुने सूत्र नै यही हो ।’
उदयपुरकी हिराले सन् २०१६ फेब्रुअरीमा भारतको सिलोङमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी थिइन् । बंगलादेशविरुद्धको पहिलो खेलमा हिराले अन्तर्राष्ट्रिय डेब्यू गरिन् । त्यसयता उनले राष्ट्रिय टोलीको जर्सीबाट ५५ अन्तर्राष्ट्रिय खेल खेलेकी छन् । नेपाली फुटबलकी अनमोल ‘हिरा’ले एक खेल छाडेर सबैमा पूरा ९० मिनेट मैदानमा बिताइन् ।

हुम्लाकी दीपाको अन्तर्राष्ट्रिय फुटबल यात्रा २०२२ सेप्टेम्बरमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपको छैटौं संस्करणबाट सुरु भयो । भुटानविरुद्धको पहिलो खेलमा डेब्यू गरेकी दीपाले अहिलेसम्म देशका लागि १९ खेल खेलेकी छन् ।
राष्ट्रलाई आफ्नो कौशलबाट झन्डै एक दशक योगदान गरिसकेकी हिराको पनि त मन हुँदो हो, यो ऐतिहासिक खेलमा राष्ट्रिय टोलीको जर्सी लगाउने ।
नेपाली टोलीले अबको १५ दिनपछि उज्वेकिस्तानमा अहिलेसम्मकै महत्त्वपूर्ण प्रतियोगिता खेल्दै छ । जुन २९ देखि हुने एएफसी एसियन कप छनोटमा समूह ‘एफ’मा रहेको नेपालले घरेलु टोलीसँगै लाओस र श्रीलंकासँग खेल्नेछ । राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ । उज्वेकिस्तान भ्रमण यस अर्थमा पनि खास छ कि लाओसविरुद्धको पहिलो खेल नेपाली महिला फुटबलको एक सय अन्तर्राष्ट्रिय खेल हो ।
यसअघि नेपालले एसियन कप छनोट प्रतियोगिता नखेलेको होइन । तर, अहिले नेपाली महिला फुटबल ‘गोल्डेन जेनेरेसन’को प्रदर्शनमा रमिरहेको छ । भन्नेले के पनि भन्छन् भने नेपालमा अब यत्तिको टिम जन्मदैन । त्यसमाथि यो समूहमा नेपाल उज्वेकिस्तानपछिको बलियो टोली हो । त्यसैले २०३१ सम्म फिफा विश्वकप पुग्ने सपना बुनेको नेपाली टोलीसँग उज्वेकिस्तानमा चुनौतीसँगै अवसर उत्तिकै छ ।

राष्ट्रलाई आफ्नो कौशलबाट झन्डै एक दशक योगदान गरिसकेकी हिराको पनि त मन हुँदो हो, यो ऐतिहासिक खेलमा राष्ट्रिय टोलीको जर्सी लगाउने । पछिल्लो समयकी भरपर्दो खेलाडी दीपाले पनि आफूलाई राष्ट्रिय टोलीमा नभई नहुने खेलाडीका रूपमा स्थापित गरिसकेकी थिइन् । तर दुर्भाग्य ! दुवैसँग मन मार्नुबाहेक विकल्प छैन । वास्तवमा भन्ने हो भने राष्ट्रिय टोलीले उज्वेकिस्तानमा हिराको अनुभव र दीपाको युवा जोसलाई ‘मिस’ गर्नेमा कुनै शंका छैन ।
अहिलेका लागि दीपा र हिरा सुखद पुनरागमनको तयारीमा छन् । रिकभरी पिरियडको यो अन्तिम दुई महिना दुवैलाई भावनात्मक रूपमा गाह्रो हुनेछ । यो समयमा दुवैले स्वयं आफूलाई सम्हाल्न आवश्यक छ । तर, खेलाडीको भावना खेलाडीले मात्र बुझ्न सक्छ ।
भावुक दीपाको यो भनाइले कसको पो मन रसाँउदैन होला ? उनी भन्छिन्, ‘लामो समय भयो बल हान्न नपाएको । अहिले कमब्याकको नजिक छु । मैदानमा फर्कने दिन जति धेरै नजिकिँदै छ, त्यति नै इमोसनल्ली आफूलाई सम्हाल्न गाह्रो भइरहेछ ।’