नेपालगन्ज । नेपालगन्ज रंगशाला । यो त्यही मैदान हो, जहाँ दुई दशकअघि निरु थापाले फुटबल हान्न सुरु गरेकी थिइन । यही मैदानबाट नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तानले फुटबल कलालाई फैलाएकी थिइन ।
बाँकेको जानकी गाउँपालिका १, शिवपुरी गाउँमा जन्मिएर नेपालगन्ज रंगशालाबाट फुटबल करियर थालेकी निरु अहिले नेपाली फुटबलमा चिनाइरहनुपर्ने नाम होइन । देशकै प्रतिष्ठित विभागीय टोली नेपाल पुलिस क्लबकी कप्तान निरुले राष्ट्रिय टिमकै कप्तान भएर नेपाली फुटबलको नेतृत्व गरिसकेकी छन् । उनले ४५ अन्तर्राष्ट्रिय क्याप जित्दै ११ गोल गरेकी छिन् ।
दुई दशकभन्दा लामो समयदेखि नेपाली फुटबलमा समर्पित भइरहँदा ११ अन्तर्राष्ट्रिय गोल गरेर राष्ट्रिय गौरव स्थापनामा ठूलो योगदान गरेकी निरु समग्र नेपाली खेलकुदकै शिर उँचो बनाउने खेलाडी हुन् ।
राष्ट्रिय टोलीबाट एक दशक खेलेकी पुलिस क्लबकी कप्तान निरुबाट विभागीय टोलीका लागि भएका गोलको हिसाबकिताब महिला फुटबल पछ्याउने समर्थकले राम्रैसँग राखेका छन् ।
नेपाल पुलिस क्लब तथा राष्ट्रिय टिमबाट देश तथा विदेशका विभिन्न मैदानमा डटेर नेपाली जातिकै लागि थुप्रै गौरवगाथा रचे पनि निरुका लागि नेपालगन्जको यो मैदान विशेष छ । किनकि उनलाई फुटबल खेलाडीको रूपमा जन्म दिने ‘आमा’ यही मैदान हो । यही मैदानको काखबाट उनले फुटबलमा बामे सर्न थालिन् ।

नेपालगन्ज मैदानबाट उठेकी निरुले नेपाल पुलिस क्लब र राष्ट्रिय टिमका लागि थुप्रै योगदान गरेर नेपालगन्जले आफूलाई लगाएको गुनको भार तिरिसकेकी छन् । राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढ्ने क्रममा नेपालगन्ज र बाँकेलाई सँगै काँधमा बोकेर हिँडेकी निरुको गुन पनि नेपालगन्जले कसरी बिर्सन सक्थ्यो र ?
हो, पूरा जीवन फुटबलमा समर्पित भएर गरेको योगदानको कदरस्वरुप नेपालगन्जवासीबाट लुम्बिनी कप फाइनल दौरान आफू हुर्किएकै रंगशालामा निरुले भव्य सम्मान थापिन् । बाँके जिल्ला फुटबल संघको अगुवाइमा भएको सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, लुम्बिनी कपको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फाका केन्द्रीय सदस्य भोजराज शाही, महासचिव कमल खत्री, महिला फुटबल संघ बाँके अध्यक्ष नितु चन्द शाह लगायतले सम्मानसहित २५ हजार रुपैयाँ प्रदान गरेका थिए । जहाँ ४० डिग्रीको प्रचण्ड गर्मीलाई बेवास्था गर्दै निरुको सम्मानका लागि रंगशालाको प्यारापिटमा हजारौं दर्शक खचाखच थिए ।
नेपाली महिला फुटबलमा झन्डै दुई दशक बिताइसकेकी फरवार्ड निरुले आफ्नो व्यावसायिक करियरमा थुप्रै रंगशालामा आफ्नो कौशल प्रस्तुत गरेकी छन् ।
फाइनलमा उपाधिका लागि आमनेसामने हुने तयारीमा रहेका नेपाल पुलिस र नेपाल एपिएफ क्लबका खेलाडीको ‘गार्ड अफ अनर’ बीच हाल सक्रिय सबै नेपाली महिला खेलाडीकी आदरणीय दिदी निरु सम्मानित भइन् । जहाँ प्यारापिटमा उपस्थित हजारौं दर्शकले दिएको स्ट्यान्डिङ ओभिएसनले माहोललाई थप भावुक बनाएको थियो ।
राष्ट्रिय टोलीबाट एक दशक खेलेकी पुलिस क्लबकी कप्तान निरुबाट विभागीय टोलीका लागि भएका गोलको हिसाबकिताब महिला फुटबल पछ्याउने समर्थकले राम्रैसँग राखेका छन् । राष्ट्रिय टोलीका लागि नै पूर्व कप्तान निरुले ११ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छन् ।

नेपाली महिला फुटबलमा झन्डै दुई दशक बिताइसकेकी फरवार्ड निरुले आफ्नो व्यावसायिक करियरमा थुप्रै रंगशालामा आफ्नो कौशल प्रस्तुत गरेकी छन् ।
तर, शुक्रबार सम्पन्न लुम्बिनी कप उनका लागि केही खास थियो । निरुले आफ्नो जन्मथलो नेपालगन्जमा पहिलो पटक यही प्रतियोगितामार्फत कुनै ठूलो खेल खेलेकी थिइन् ।
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा निरुको कप्तानीमा रहेको पुलिसले नेपालगन्ज रंगशालामा भारतको सिलिगुढी एफसीसँग खेल्दै यात्रा थालेको थियो । जहाँ निरु आफैंले एक गोल गर्दा टोली ४-० को जितसहित सेमिफाइनल पुग्यो ।
निरुले सन् २०१० मा बंगलादेशमा भएको ११औं दक्षिण एसियाली खेलकुद (साग)बाट राष्ट्रिय टोलीमा अन्तर्राष्ट्रिय करियर थालेकी थिइन् । उनले ९ वर्ष राष्ट्रिय टोलीको जर्सी लगाइन् ।
सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबविरुद्धको कठिन खेलमा पनि निरुको पुलिसले जित हासिल गर्यो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले जित हासिल गरेको थियो । जहाँ ९ पेनाल्टीसम्म पुगेर सडनडेथमा आर्मीलाई निरास पार्दै पुलिसले एपिएफविरुद्धको फाइनल यात्रा तय गरेको हो ।

‘नेपालगन्ज रंगशालामा पहिलो खेलका लागि मैदान प्रवेश गर्दा निकै खुसी लागेको थियो । खुसीभन्दा पनि बढी करियरको उत्तरार्धमा आइपुगेपछि आफ्नै ठाउँमा खेल्न पाएकोमा भावुक भएँ । अझ खेल जितेपछि त्यो खुसी र भावना झनै बढ्दोरहेछ,’ निरु मुस्कुराउँछिन्, ‘आफ्नै जन्मथलोमा पहिलो पटक यति ठूलो प्रतियोगिता भयो । आफ्नो टिम फाइनल पुग्यो अनि फाइनलमा बाक्लो संख्यामा दर्शकबीच आफैलाई हुर्काएको मैदानमा सम्मान पाउँदा बल्ल मैले नेपाली फुटबलका लागि केही गरेको रहेछु । बाँके र नेपालगन्जको प्रतिनिधित्व गर्दै केही योगदान गरेको रहेछु भन्ने महसुस भयो । यो मेरा लागि निकै विशेष र भावुक क्षण बन्यो ।’
निरुलाई २०६८ सालतिर नेपाल पुलिसले करारमा क्लबमा अनुबन्ध गरेको थियो । अहिले निरु पुलिस करियरको १५औं वर्षमा छन् । पुलिसमा आउनुअघि नै निरुले राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।
निरुले सन् २०१० मा बंगलादेशमा भएको ११औं दक्षिण एसियाली खेलकुद (साग)बाट राष्ट्रिय टोलीमा अन्तर्राष्ट्रिय करियर थालेकी थिइन् । उनले ९ वर्ष राष्ट्रिय टोलीको जर्सी लगाइन् । संयोग, उनले घरेलु भूमिमा भएको १३औं सागबाटै अन्तर्राष्ट्रिय करियरबाट संन्यास लिइन् ।
उमेरले निरु आउने भदौमा ३५ वर्षमा लाग्दैछिन् । करियरको उत्तरार्धमा रहेकी निरु संन्यासअघि आफ्नो जन्मथलोमा एक न एक दिन खेल्न पाउनेमा आशावादी थिइन् । सपना पूरा भएकोमा निरु हर्षित छिन् ।
यसबीच निरुले देशका लागि स्वर्ण पदक जित्ने सपना भने पूरा गर्न सकिनन् । निरुले २०७५ सालमा चीनसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो पटक कप्तानको आर्मब्यान्ड लगाएकी थिइन । निरुले भारतको भुवनेश्वरमा भएको हिरो गोल्डकप २०१९, सोही वर्ष विराटनगरमा भएको पाँचौं साफ च्याम्पियनसिप र पोखरामा सम्पन्न १३औं सागमा राष्ट्रिय टोलीको नेतृत्व गरिन् ।

यो नौ वर्षको अन्तरालमा उनले आधा दर्जनभन्दा बढी फाइनल खेलिन् । तर, दुर्भाग्यवश कुनै पनि फाइनलमा नतिजा नेपालको पक्षमा आएन । १३औं सागमा संन्यास लिएपछि निरु भक्कानिएको क्षण अझै पनि फुटबलप्रेमीको मानसपटलमा ताजै छ ।
उमेरले निरु आउने भदौमा ३५ वर्षमा लाग्दैछिन् । करियरको उत्तरार्धमा रहेकी निरु संन्यासअघि आफ्नो जन्मथलोमा एक न एक दिन खेल्न पाउनेमा आशावादी थिइन् । सपना पूरा भएकोमा निरु हर्षित छिन् ।
शुक्रबार फाइनल सकिएलगत्तै उनले खेलाडी डटकमसँग भनिन्, ‘मैले आफ्नो करियरमा विभिन्न जिल्ला गएर खेलें । नेपालगन्जमा पनि फुटबल प्रतियोगिता होस् भन्ने चाहन्थें । त्यसैले प्रतियोगिताका लागि गुरुहरूलाई आग्रह गर्थें । आज मेरा लागि विशेष दिन हो । मैले आज आफ्नो सपना पूरा गरें । निकै खुसी छु ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ठूलो सफलता हासिल गर्ने जग हाल्ने क्रममा डकर्मीको काम गरेका थिए बाँके जिल्ला फुटबल संघका वर्तमान अध्यक्ष भोजराज शाहीले । अहिले करियरको उत्तरार्धमा आफूलाई हुर्काउने त्यही मैदान अनि तिनै अभिभावकबाट सम्मानित हुन पाउँदा निरु थप गौरवान्वित भइन् ।
भन्छिन्, ‘जहाँ मैले फुटबल खेल्न सुरु गरें, त्यही मैदानमा अनि जसले मलाई फुटबल खेलाउन सुरु गर्नुभयो, उहाँबाटै सम्मानित हुँदा निकै गौरव महसुस भएको छ । घरको सम्मान र माया निकै विशेष हुँदोरहेछ ।’