सहिद स्मारक लिग

त्यो थ्री स्टार, यो थ्री स्टार

ललितपुर मंगलबजारको टोली थ्री स्टार क्लब नेपाली फुटबलका सबैखाले प्रतियोगितामा सदाबहार उपाधिको दाबेदार थियो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगदेखि मोफसलमा हुने प्रत्येक प्रतियोगितामा सहभागी सबै टोलीको साझा चाहना हुने गर्थ्यो, थ्री स्टारलाई सकेसम्म प्रतिद्वन्द्वीका रूपमा सामना गर्नु नपरोस् ।

बडो तामझामका साथ जारी शीर्ष डिभिजनको लिगमा पनि थ्री स्टारलाई उपाधिको दाबेदारमध्ये एकका रूपमा हेरिएको थियो । पहिलो खेलमै च्यासल युथ क्लबमाथि ३-० को प्रभावशाली जित दर्ता गराउँदा थ्री स्टारले थुप्रै स्टार खेलाडी अनुबन्धन गरेर उपाधि रक्षा गर्ने अभियानमा रहेको मछिन्द्र एफसीदेखि सदाबहार महारथी मनाङ मस्र्याङदी क्लब र गत सिजनको उपविजेता त्रिभुवन आर्मीको चुनौती पाखा लगाउने संकेत देखाएको थियो ।

तर, जारी लिगमा चार चरणका खेल सम्पन्न हुँदा थ्री स्टारको त्यो छवि नराम्ररी धर्मराएको छ । ४ खेलमा पाटने टोलीले ५ अंकमात्र आफ्नो खातामा जोड्न सकेको छ । छैटौं स्थानमा सीमित टोली ४ खेलबाट हासिल गरेको अंकका आधारमा शीर्षस्थानभन्दा रेलिगेसन क्षेत्रसँग नजिक छ । शीर्ष स्थानको मछिन्द्रभन्दा ६ अंकले पछि रहेको थ्री स्टार रेलिगेसन क्षेत्रका जावलाखेल र एपिएफभन्दा चार अंकलेमात्र माथि छ ।

एक खेल बढि खेलेको मछिन्द्र ११ अंकसहित शीर्ष स्थानमा रहँदा मनाङ समान १० अंककासाथ दोस्रो स्थानमा छ । समान ९ अंकका साथ त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब तेस्रो तथा चौथो स्थानमा छन् । पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्दै गरेको सातदोबाटो आठ अंकसहित पाँचौं स्थानमा छ ।

ठूला टोलीविरुद्ध चुनौती बनेको नवप्रवेशी सातदोबाटो युथले शुक्रबार शुक्रबार आर्मीलाई १-१ को बराबरीमा रोकिदिएको थियो भने मछिन्द्रले संकटासँग गोलरहित बराबरी नतिजामा चित्त बुझाएको थियो ।

मछिन्द्र, आर्मी, संकटा र सातदोबाटोले पाँच खेल खेलिसकेका छन् ।

यसैगरी पुछारतर्फ एपिएफ र जावलाखेल समान एक अंकका साथ रेलिगेसन क्षेत्रमा छन् ।

फर्कौं, थ्री स्टारतिरै ।

पहिलो चरणमा स्पष्ट जितहासिल गर्ने थ्री स्टार एक्लो टोली थियो । तर च्यासलमाथि जित हासिल गर्दा तीन गोल भए पनि ती कुनै गोल फरवार्डले गरेका थिएनन् । थ्री स्टारका सबै तीन गोल रक्षकबाट सम्भव भएका थिए ।

निशान खड्का, राफाइल रिम र अनन्त तामाङको गोलमा पाएको जितपछि टोलीका प्रशिक्षक उज्जन श्रेष्ठले सुखद सुरुआतमा खुसी जनाए पनि टोलीको अट्याकिङ थर्डमा समस्या रहेको भन्दै गुनासो गरेका थिए ।

थ्री स्टारको दोस्रो खेलमा प्रतिद्वन्द्वी थियो, सातदोबाटो युथ क्लब । यसै सिजन ‘ए’ डिभिजनमा बढुवा भएको सातदोबाटोले पहिलो खेलमा फ्रेन्डस क्लबलाई गोलरहित बराबरीमा राख्दै अंकको खाता खोलेको थियो ।

सातदोबाटोको प्रशिक्षण गत सिजन( २०७६) मा थ्री स्टारको प्रशिक्षण सम्हालेका मेघराज केसीले सम्हालेका छन् । नेपालको घरेलु फुटबलमा अत्यन्तै चतुर रणनीतिकारका रूपमा परिचित आफ्नै पूर्वप्रशिक्षकको टोलीविरुद्धको खेल थ्री स्टारका लागि पक्कै महत्वपूर्ण थियो, जहाँ टोली चुक्यो ।

शीर्ष डिभिजनमा नयाँ टोली भए पनि परिपक्व प्रदर्शन थाल्ने प्रशिक्षक केसीको भनाइ पहिलो खेलमै प्रमाणित भइसकेको थियो । ‘नेपाली फुटबलमा कुनै ठूला टिम छैनन्’ जस्ता सनसनीपूर्ण अभिव्यक्ति दिने केसीले शीर्ष डिभिजनमा सातदोबाटोलाई जितको खाता थ्री स्टारको खेलबाटै खोले ।

नवप्रवेशी टोलीमाथि सहज नतिजासहित जित यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रिएको थ्री स्टार सातदोबाटोसँग १-० ले स्तब्ध भयो ।

सिजनको पहिलो हारपछि उज्जनको प्रष्टीकरण थियो, ‘टोलीले स्वाभाविक लयअनुसार प्रदर्शन गर्न सकेन । केही अवसर हामीले पनि पाएका हौं तर फिनिसिङमा चुक्यौं । मिडफिल्डर हेमन्त थापामगर अस्वस्थताका कारण पहिलो रोजाइमा मैदान उत्रन पाएनन् । मिडफिल्डमा उनको अभाव प्रस्ट देखियो । खेलको अन्तिम मिनेटमा हेमन्तलाई मैदान प्रवेश गराए पनि हामीले हारको संकट भने टार्न सकेनौं ।’

तेस्रो खेलमा थ्री स्टार लिगमा लगातार दोस्रो हारको संघारबाट जोगियो । फ्रेन्डसविरुद्ध मिडफिल्डर मिक्चेन तामाङले थ्री स्टारलाई हारको संघारबाट जोगाएका थिए ।

फ्रेन्डससँग अंक बाँडेपछिको पत्रकार सम्मेलनमा उपस्थित भए रवीन्द्र सिलाकार । उनलाई थ्री स्टारले दोस्रो खेलअघि प्रशिक्षकमा नियुक्त गरेको थियो ।

‘हामीले रणनीतिअनुसार खेल्नै सकेनौं । खेलाडीलाई दिइएको निर्देशन पालना भएन । सम्भवतः हाम्रो प्रशिक्षण टोलीमै केही समस्या हुनुपर्छ,’ सिलाकारले जित निकाल्न नसक्नुको कारण सुनाएका थिए ।

पहिलो खेलमा जित, दोस्रोमा हार र तेस्रोमा बराबरीको नतिजापछि थ्री स्टारको व्यवस्थापनसामु आफ्नो महारथी छवि जोगाउनका लागि चर्को दबाबमा पुगिसकेको थियो । यसबीच चौथो खेलमा टोलीका लागि लय समाउने राम्रो अवसर थियो ।

तर, जारी लिगकै सबैभन्दा कमजोर मानिएको सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई प्रतिद्वन्द्वीका रूपमा पाउँदा पनि थ्री स्टार लयमा फर्किन सकेन । लगातार तीन हारपछि अंकतालिकाको पुछारमा रहेको एपिएफले पनि पहिलो अंकका लागि थ्री स्टारविरुद्धकै खेल उपयोग गर्यो‍ ।

निराशाजनक प्रदर्शनमा सीमित थ्री स्टारलाई त्यो खेलमा हारबाट जोगिनै हम्मे भयो । बराबरी नतिजा निस्किए पनि बिरलै मात्र विपक्षी पोस्टमा आक्रमण गरेको थ्री स्टार अधिकांश समय एपिएफको प्रहार विफल पार्नमै व्यस्त हुनुपर्यो‍ ।

उपाधि दाबेदारका रूपमा यात्रा थालेको टोलीले एपिएफसँग अंक बाँडेपछि प्रशिक्षक सिलाकारले पत्रकार सम्मेलनमा ‘पुछारको टोलीसँग एक अंकका लागि खेलेको हो ?’ भन्ने प्रश्न सामना गर्नुपर्यो‍ ।

जहाँ उनले जितका लागि खेलेको भनेर बुझाउन निकै मिहिनेत गर्नुपरेको थियो, ‘हामी लगातार खराब प्रदर्शनबाट चुकिरहेका छौं । हामीले एपिएफलाई पनि दबाबमा राखेका थियौं । हामीले आक्रामक रणनीति लिँदा मिडफिल्ड नभए जस्तो देखिएको मात्र हो । हामीले एक होइन, तीन अंककै लागि खेलेको हो ।’

प्रशिक्षकका प्रष्टीकरण जस्तो भए पनि, कागजमा टिम बलियो देखिए पनि, समृद्ध इतिहास भए पनि थ्री स्टारको प्रदर्शनले त्यसो भन्दैन । टोलीले शनिबार पाँचौं खेलमा एनआरटीको सामना गर्नेछ । छैटौं चरणमा त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै सातौं चरणमा जावलाखेल, आठौं चरणमा हिमालयन शेर्पा र नवौं चरणमा संकटाको सामना गर्नेछ ।

१३ खेलको प्रतिस्पर्धामा भर्खर ४ खेल सकिएका छन् । एक जित, दुई बराबरी र एक हारको नतिजाबाट पुनरागमन असम्भव पक्कै पनि छैन । तर, अझै पनि लय समाउन ढिलो गर्ने हो भने चाहिँ सदाबहार दाबेदारको छविबाट थ्री स्टार च्युत हुनेमा शंका छैन ।

चार खेलमा अपेक्षित नतिजा निकाल्न नसकेपछि आजका ल दशरथ रंगशालामा थ्री स्टार ओराली यात्रामा लागेको चर्चा चल्न थालिसकेको छ ।

थ्री स्टारलाई २०५० को दशकदेखि नेपाली फुटबलको निर्विवाद महारथीमध्ये एकका रूपमा उभ्याउने अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई यसबीचमा नेपाली फुटबलले गुमाइसकेको छ । २०७२ सालमा एउटा अकल्पनीय घटनामा नेपाली फुटबलका सिपाही श्रेष्ठले ज्यान गुमाउनुपरेको थियो ।

आफ्नै नवनिर्मित घरमा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएपछि थ्री स्टारमात्र नभई नेपाली फुटबलले नै एउटा समन्वयकारी मियोलाई गुमायो । सामुदायिक मायामा हुर्कंदै गरेको क्लबमा श्रेष्ठको समन्वयकारी र प्रतिबद्ध नेतृत्वको अभाव खट्किन थालेको मान्ने धेरै छन् ।

यसैगरी पाटनको फुटबलप्रेमी समुदायको माया थ्री स्टारको मुख्य आधार थियो । त्यसलाई श्रेष्ठले राम्ररी समन्वय गर्ने गरेका थिए । तर अहिले शीर्ष डिभिजनमा च्यासल र सातदोबाटोको उदयले पनि थ्री स्टारको समर्थक आधार खस्किएको विश्लेषण गरिन थालेको छ ।

यो विश्लेषणमा दम छ । केही वर्षअघिसम्म दशरथ रंगशालामा थ्री स्टारको समर्थन गर्न झाँकीसहित उपस्थित हुने समर्थकको ठूलो संख्या च्यासलका वासिन्दाको हुने गरेको थियो । जुन पछिल्लो समय च्यासल युथ क्लबको समर्थनमा उत्रिन थालेको छ ।

थ्री स्टारकै पूर्वकप्तान दिनेश व्यञ्जनकारको नेतृत्वमा शीर्ष डिभिजनको यात्रा थालेको च्यासल तथा थ्री स्टारका पूर्व प्रशिक्षक मेघराज केसीको प्रशिक्षणमा सातदोबाटो युथ क्लबको उपस्थितिले थ्री स्टारका समर्थक बाँडिएका छन् ।

झन्डै चार दशकदेखि खेलाडी तथा प्रशिक्षकका रूपमा नेपाली फुटबलमा नियमित सक्रिय एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य पछिल्लो सिजनदेखि नै थ्री स्टारले आफ्नो स्वाभाविक लय गुमाएको भनाइ राख्छन् ।

‘एक समय थियो नेपाली फुटलबमा मनाङ र थ्री स्टारको दबदबा थियो । लिगमात्र होइन मोफसलका प्रतियोगितामा पनि यी दुई टोली नै दाबेदार हुन्थे । दुवै टोलीमा राष्ट्रिय खेलाडीको बाुहल्य हुन्थ्यो । तर पछिल्लो सिजनदेखि मैले थ्री स्टारलाई स्वाभाविक रूप र लयमा देखेको छैन,’ शाक्यको यो भनाइले थ्री स्टार क्लब ओराली यात्रामा लागेकै संकेत गर्छ ।

तथापि थ्री स्टार ओराली यात्रामा लागेको मान्न सिलाकार तयार छैनन् । उनी शनिबार हुने एनआरटीविरुद्धको खेलबाट टोलीलाई स्वाभाविक लयमा देख्न पाउने दाबी गर्छन् ।

भन्छन्, ‘हाम्रो रक्षापंक्ति र मिडफिल्डमा कुनै समस्या छैन । हाम्रो समस्या भनेकै फिनिसिङमा हो । त्यसलाई ध्यानमा राखेर एक जना विदेशी खेलाडी भित्र्याएका छौं । अभ्यासमा उनको खेल निकै राम्रो छ । पाँचौं चरणबाट थ्री स्टारले आफ्नो स्वाभाविक लयमा फर्र्किएको देख्न पाउनुहुन्छ ।’