काठमाडौं । मध्य बानेश्वरस्थित हिमालयन ह्वाइट हाउस कलेजको पुरानो भवन अगाडिबाट थापागाउँतिर डेढ सय मिटर अघि बढेपछि लाखेमार्गमा एउटा नयाँ चिया पसल भेटिन्छ, ‘चिया टाइम’ । जहाँ ग्राहकलाई विभिन्न प्रकारका चिया, कफी र कन्टिनेन्टल खाजा पस्किइन्छ ।
काठमाडौंमा हजारौं चिया पसल छन् । चिया पसलकै विभिन्न ब्रान्ड बनिसकेका छन् । यस्तोमा एउटा चिया पसलको चर्चा किन ? किनकि यो चिया पसल विशेष छ । अझ फुटबलप्रेमीका लागि त पुग्नैपर्ने गन्तव्य ।
यस्तो चाहिँ किन त भन्ने अर्को प्रश्न उठ्न सक्छ ।
‘चिया टाइम’ नामको यो चिया पसल यसकारण विशेष छ कि त्यहाँ ग्राहकको प्रतीक्षामा हुन्छन्, नेपाली राष्ट्रिय फुटबल टोलीका कीर्तिमानी कप्तान किरण चेम्जोङ र उमेर समूह टिमका पूर्वकप्तान मानसाजन राजभण्डारी ।
किरण वर्तमान नेपाली फुटबलमा पोस्ट सम्हाल्नका लागि मात्र नभई नेतृत्व गर्ने मामिलामा पनि निर्विवाद स्टार हुन् ।
वर्षौंदेखि राष्ट्रिय टिमको जर्सीमा सजिएर पर्खालझै पोस्टको सुरक्षा गरिरहेका किरणलाई त्यहाँ फरक भूमिकामा देख्न पाइन्छ । रुप नै बेग्लै हुन्छ । मैदानमा जस्तो पसिनाले डुबेको वा हिलोमा लतपतिएको किरण चेम्जोङ ‘चिया टाइम’मा हुँदैनन् । त्यहाँ त आकर्षक पहिरनमा सजिएका किरण चेम्जोङलाई भेटिन्छ । जहाँ उनी ग्राहकको अतिथि सत्कारमा व्यस्त हुन्छन् । समर्थकसँग फोटो पोज दिन उनलाई भ्याइनभ्याई हुन्छ ।
नेपाली फुटबलका सुपरस्टारलाई ‘चिया टाइम’मा भुईं पुछिरहेको, कुचो लगाइरहेको वा भाडा माझिरहेको अवस्थामा भेटियो भने पनि अचम्म मान्नुपर्दैन । किनकि उनी सरसफाइको मामिलामा निकै पोख्त छन् । थोरैमात्र पनि धुलो वा फोहोर देख्यो कि उनको पारो तात्छ । अनि मैदानमा जस्तै आफै अघि सर्छन्, कुचो, पोछा वा झुम्रा लिएर ।
एउटा खेलाडी, त्यसमाथि टिमको नेतृत्व गर्नुपर्ने कप्तान । ‘लिडिङ फ्रम दी फ्रन्ट’ भनेजस्तै ‘चिया टाइम’मा पनि उनी कर्मचारीलाई अर्ती दिएर नभई आफैंले गरेर हौस्याउँछन् । सिकाउँछन् । मैदानमा कहिलेकाहीँ अत्यन्तै दबाबमा भएका बेला टिमलाई आवश्यकता पर्दा १८ यार्डको लक्ष्मण घेरा नाघेर गोल गर्न उनी आफैं अगाडि बढेजस्तो ।
नेपालको फुटबलमा दुवैको क्षमता र योगदान आ-आफ्नो ठाउँमा उल्लेख्य छ । तर फुटबलप्रेमीमाझ किरणको लोकप्रियता थेगिनसक्नु छ । नेपालमा फुटबल लोकप्रिय भएकाले किरणको ख्याति पनि लोभलाग्दो छ ।
मानसाजनले फुटबल खेल्न छोडेको दुई दशक हुन लागिसक्यो । सन् २००८ बाट अन्तर्राष्ट्रिय करिअर सुरु गरेका किरणको यात्रा अविरल छ । १६ वर्षदेखि राष्ट्रिय टोलीको पोस्ट सुरक्षामा डटिरहेका किरण अन्तर्राष्ट्रिय खेल संख्या सय पुर्याउने पहिलो नेपाली फुटबलर बनिसकेका छन् । सामान्यतया फुटबलमा गोलकिपरको करियर आउटफिल्ड खेलाडीभन्दा लामो हुने गर्छ । तथापि ३४ वर्षे किरण पञ्जा थन्क्याउने दिनको नजिक पुग्दै छन् ।
किरण वर्तमान नेपाली फुटबलमा पोस्ट सम्हाल्नका लागि मात्र नभई नेतृत्व गर्ने मामिलामा पनि निर्विवाद स्टार हुन् । आफ्नो जमानामा मिडफिल्डमा मानसाजनको खुबीको निकै प्रशंसा हुन्थ्यो । यु-१९ राष्ट्रिय टिमका पूर्वकप्तान मानसाजनले यु-२३ टिमबाट दक्षिण एसियाली खेलकुद पनि खेले । मैदानको मध्यभागमा रहेर रक्षापंक्तिलाई सघाउने र आक्रमणका सुन्दर मुभ बुन्नेमा उनी माहिर थिए । एउटा आर्किटेक्ट इन्जिनियरले जस्तै उनी खेललाई सुन्दर रूप दिन्थे ।
नेपालको फुटबलमा दुवैको क्षमता र योगदान आ-आफ्नो ठाउँमा उल्लेख्य छ । तर फुटबलप्रेमीमाझ किरणको लोकप्रियता थेगिनसक्नु छ । नेपालमा फुटबल लोकप्रिय भएकाले किरणको ख्याति पनि लोभलाग्दो छ ।
नेपाली फुटबलमा मानसाजनको यात्रा अलि अघि सुरु भयो, २०५४ सालमा एन्फा एकेडेमीको स्थापनासँगै । किरण भने त्यही एकेडेमीको तेस्रो ब्याचका खेलाडी हुन् । एकेडेमीबाट २०६० सालमा दीक्षित भएपछि मानसाजनले केही वर्ष एपिएफ क्लबबाट घरेलु फुटबल खेले । अन्तर्राष्ट्रिय फुटबलमा उमेर समूहबाट खेलेको एएफसी यु-२० छनोट चरण मानसाजनको सबैभन्दा ठूलो प्रतियोगिता हो । जहाँ उनी कप्तान थिए ।
सन २००६ मा श्रीलंकामा दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत फुटबलमा कांस्य पदक जित्दा उनी टिमका सदस्य थिए । सेमिफाइनलमा श्रीलंकाविरुद्ध अञ्जन केसीबाट एउटा दुर्भाग्यजनक आत्मघाती गोल भएका कारण नेपाल फाइनल प्रवेशबाट वञ्चित भएको थियो । त्यसपछि एन्फाले विशेष प्रशिक्षणका लागि भनेर जर्मनी पठाएका सात प्रतिभावान खेलाडीको सूचीमा मानसाजन पनि थिए । जुन उनको करियरमा खेलाडीको रूपमा अन्तिम गतिविधि बन्यो ।
त्यसपछि मानसाजनले व्यवसाय रोजे । मध्यबानेश्वरमै उनको एउटा स्पोर्टस सेन्टर छ, बानेश्वर रिक्रिएसन सेन्टर नामको । जहाँ सुविधाजनक पौडी पोखरी, फुटसल मैदान, साउनालगायतका सुविधा छन् ।
मानसाजनको खेलाडी करिअरमा पूर्णविराम लागेको धेरै भइसक्यो । किरण पनि करिअरको उत्तरार्धमा छन् । मानसाजनका लागि ‘चिया टाइम’ एउटा नयाँ व्यवसाय हो भने किरणका लागि यो पोस्ट रिटायर्डमेन्ट प्लान हुनसक्छ ।
एन्फा एकेडेमीबाटै फुटबल करियर सुरु गरेका किरणले घरेलु फुटबलमा नेपाली क्लबसँग लामो आबद्धता भए पनि देशभित्र खासै खेल्न पाएनन् । विदेशमा खेलेको व्यावसायिक फुटबल नै उनको करियरका हाइलाइट्स हुन् । उसो त २०६५ सालमा मछिन्द्रबाट घरेलु फुटबल करियर सुरु गरेका किरणले त्यसपछि २०६६ देखि २०७३ सालसम्म थ्री स्टारमा बिताए । २०७४ सालमा उनी मनाङ मर्स्याङ्दीसँग अनुबन्धित थिए । उनले घरेलु फुटबलमा करियर सुरु गरेपछिको समय देशभित्र फुटबलले नियमितता पाउन सकिरहेको थिएन । यसक्रममा उनले पुलिसबाट केही नकआउट प्रतियोगिता खेले । र, फ्रेन्चाइज लिग एनएसएलमा धनगढी एफसीबाट एक सिजन खेले ।
घरेलु फुटबलबाटै सुरु भए पनि किरणको करियरले भारत र माल्दिभ्समा उत्कर्ष हासिल गर्यो । व्यावसायिक फुटबलको राजमार्गमा रफ्तार लिन थाल्यो । भारतमा आइ लिगको मिनर्वा पन्जावबाट खेल्दै २०७४ सालमा विदेशी लिगको अनुभव सुरु गरेका किरण लगत्तै वर्ष माल्दिभ्सको टिसी स्पोर्टस क्लबमा अनुबन्धित भए । माल्दिभ्सको लिग सकिने बित्तिकै अर्को सिजनको आइ लिगका लागि फेरि मिनर्वाले उनलाई फर्कायो । भारतको आइ लिग सकिएपछि फेरि उनी माझिया एफसीबाट माल्दिभ्सको लिग खेल्न मालेतर्फ लागे । गत सिजन पन्जाव एफसीबाट आइएसएल खेलेका किरण अचेल भने क्लबविहीन छन् ।
मानसाजनको खेलाडी करिअरमा पूर्णविराम लागेको धेरै भइसक्यो । किरण पनि करिअरको उत्तरार्धमा छन् । मानसाजनका लागि ‘चिया टाइम’ एउटा नयाँ व्यवसाय हो भने किरणका लागि यो पोस्ट रिटायर्डमेन्ट प्लान हुनसक्छ ।
खासमा ‘चिया टाइम’को आइडिया पनि किरणकै हो । किरणले केही वर्षदेखि नै यस्तै केही व्यवसाय खोल्ने योजना बनाएका थिए । मानसाजनसँग कफी सप खोलौं भनेर प्रस्ताब पनि गरिरहेका थिए । आफ्नै छुट्टै व्यवसाय चलाइरहेका मानसाजनको प्राथमिकतामा चिया वा कफी पसल थिएन । तर दसैंअघि एकदिन फेरि अचानक किरणले प्रस्ताब गरे । यसपालि मानसाजन पनि सहमत भए । तुरुन्तै सुरु गर्ने हुटहुटीले दुवैलाई सतायो । रातदिन काम गरेपछि १० दिनको समय र २७ लाख रुपैयाँको लगानीमा ‘चिया टाइम’ तयार भयो । गत कात्तिक ४ मा त उद्घाटन नै भयो ।
किरणको लोकप्रियता लोभलाग्दो थियो । चिया पसलमा त्यो काम लाग्ने अपेक्षा पहिलो दिनबाटै प्रमाणित हुन थाल्यो । एकपटकमा ४० जनाको क्षमता रहेको चिया पसलमा बिहान बेलुका ग्राहकलाई सिट पाउनै मुस्किल हुन थाल्यो । बिहान ७ देखि ११ र बेलुका ३ देखि ९ बजेसम्म ग्राहकको घुइँचो थेगिनसक्नु हुन्छ ।
‘चिया टाइम’ले व्यावसायिक रूपमा त राम्रो संकेत गरिसकेको छ । किरणलाई चाहिँ यो समर्थकसँग जोडिने माध्यम पनि बनेको छ । मैदानमा १०औं हजार समर्थकसँग प्रत्यक्ष भेटघाट भए पनि प्रत्यक्ष रूपमा आफूलाई माया गर्नेको सामीप्य पाइन्न ।
‘हामी आफैं राति २ बजेसम्म पनि काम गर्थ्यौं । गर्ने भनेपछि गरिहाल्नुपर्ने स्वभाव छ, हामी दुवैजनाको’ मानसाजन भन्छन्, ‘किरणको स्टारडमले गर्दा पसल राम्रो चलिरहेको छ । राष्ट्रिय टिमको कप्तानको चिया पसल जाउँ न भन्ने खालका ग्राहक थुप्रै आउनुहुन्छ ।’
‘चिया टाइम’का लागि मध्यबानेश्वरमा चारवटा सटरको भाडा ६० हजार तिर्नुपर्छ । ५ जना कर्मचारी छन् । तर व्यापारले सुरुकै दिनबाट त्यसलाई थेगिसकेको छ । जसले नयाँ व्यवसायमा दुई फुटबलरलाई राम्रै उर्जा दिएको छ । आगामी दिनमा चेन रेस्टुराँको रूपमा लग्ने योजना बुन्न थालिसकेका छन् ।
‘चिया टाइम’ले व्यावसायिक रूपमा त राम्रो संकेत गरिसकेको छ । किरणलाई चाहिँ यो समर्थकसँग जोडिने माध्यम पनि बनेको छ । मैदानमा १०औं हजार समर्थकसँग प्रत्यक्ष भेटघाट भए पनि प्रत्यक्ष रूपमा आफूलाई माया गर्नेको सामीप्य पाइन्न । जसले उनलाई नियास्रो महसुस गराइरहेको रहेछ ।
भन्छन्, ‘चिया टाइमले मलाई समर्थकसँग जोडिने गजबको मौका दिएको छ । समर्थकहरू मलाई भेट्नै भनेर आउनुहुन्छ । मैले खेलाडी भएर कति माया पाएको रहेछु भन्ने कुरा यहाँ आउने समर्थकको कुराबाट अनुभूत गर्ने मौका पाइरहेको छु । समर्थकसँग भेट्न पाउने लोभले गर्दा खेल र अभ्यास नभएको बेला यहाँ आइहाल्छु ।’
देशभित्र फुटबलमा लागेर केही भएन भन्ने निराशा बोक्दै बर्सेनि दर्जनौं खेलाडी विदेसिइरहेका बेला किरण र मानसाजनको यो व्यावसायिक कदमले खेलाडीवृत्तमा सकारात्मक सन्देश प्रवाह गर्ने उनीहरूको अपेक्षा छ । देशभित्रै फुटबलसँगै अरू केही व्यवसाय गरे आकर्षक जीवन जिउन सकिने सन्देश दिँदै प्रतिभा पलायन रोक्न थोरै पनि योगदान गर्न सके किरण र मानसाजनको ‘चिया टाइम’ उद्देश्यले सार्थकता पाउनेछ ।