काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको महोत्सव सकिएको आज चार दिन भएको छ । १४ दिन लामो साफ च्याम्पियनसिप २०२४ केही हदसम्म विगतका संस्करणभन्दा फरक रह्यो । यसलाई दक्षिण एसिया मुलुकका फुटबलप्रेमीले महिला फुटबलबाट सबैभन्दा मनोरञ्जन पाएको संस्करणको रूपमा लिन सकिन्छ ।
साफ च्याम्पियनसिपको लगातार तेस्रो संस्करण नेपालले आयोजना गर्ने मौका पाएको थियो । चार वर्षमा दुई पटक त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबलको यो महोत्सव हुँदै थियो । सन् २०२२ मा यही मैदानले दक्षिण एसियाका महिला खेलाडीलाई स्वागत गरेको थियो । मैदान उही, टोलीहरू पनि उही । तर, खेलको रौनकतामा भने समर्थकले केही फरक महसुस गर्न पाए । टोली र खेलाडीको प्रदर्शनका हिसाबमा यसपालिको साफ च्याम्पियनसिपलाई ५ तथ्यमा व्याख्या गर्न सकिन्छ । यी पाँच तथ्य यस्ता छन्ः
१. दक्षिण एसियामा बंगलादेश दाबेदार हुँदै
आयोजक नेपाललाई २-१ ले पराजित गर्दै बंगलादेशले उपाधि रक्षा गरेको थियो । गत संस्करण बंगलादेशले नेपाललाई नै हराएर पहिलो पटक उपाधि जितेको थियो । योसँगै दक्षिण एसियाको महिला फुटबलमा नयाँ पावर हाउसका रूपमा बंगलादेशलाई निर्विकल्प दाबेदार मान्न सकिन्छ । यस्तो किनभने यी दुवै संस्करणमा बंगलादेश सर्वाधिक सफल टोली, पाँच पटकको विजेता भारतलाई हराएको थियो । यी दुई संस्करणमा बंगलादेशले भारतको पोस्टमा आधा दर्जन गोल गरेको थियो । जवाफमा भारतले एक गोलमात्र फर्काएको छ । अचम्म त के भने बंगलादेशले ५ गोल त पहिलो हाफमा गरेको छ ।
बुधबार सम्पन्न फाइनलमा बंगलादेशले साढे १५ हजार नेपाली समर्थकमाझ उपाधि जितेको थियो । खेलको अन्तिम ३० मिनेट बंगलादेशले मैदानमा एकल राज नै गर्यो ।
२. फेरिएको भुटान र पाकिस्तानी संकेत
गत संस्करणमा भुटानले ऐतिहासिक पहिलो जित हासिल गरेको थियो । सोही जितमा भुटानले पहिलो पटक अन्तिम चारमा स्थान बनाएको थियो । यसपालि समूह चरणमा भुटानले तीन खेलबाट ७ अंक जोड्यो । पहिलो खेलमा नेपाललाई गोलरहित बराबरीमा रोकेको भुटानी टिम त्यसपछि २ खेलमा १७ गोल गर्न सफल भयो । त्यसमा माल्दिभ्सविरुद्ध १३ गोल र श्रीलंकाविरुद्ध ४ गोल गरेको हो । उसो त सेमिफाइनलमा भुटान बंगलादेशसँग निरीह देखिएको थियो । भुटानको प्रदर्शन तारिफयोग्य थियो । यस्तै प्रदर्शन पाकिस्तानी महिला टोलीबाट पनि देख्न पाइयो ।
पहिलो खेलमा पाकिस्तानले भारतविरुद्ध राम्रो प्रदर्शन गरेको थियो । भारतले खेल ५-२ ले आफ्नो पक्षमा पारे पनि पाकिस्तानले कडा चुनौती प्रस्तुत गरेको थियो । एकसमय ४-२ को स्थितिमा पुग्दा खेलले रोमाञ्चक मोड लिएको थियो । बंगलादेशविरुद्ध दोस्रो खेलमा त पाकिस्तानले हदै पार ग¥यो । पहिलो हाफमै अग्रता लिएको पाकिस्तान निर्धारित समयसम्म साबिक विजेतालाई रोक्न सफल रह्यो । अन्त्यमा इन्जुरी समयको गोलमा पाकिस्तानले अंक बाँडेको थियो । पाकिस्तान र भुटानको यो प्रदर्शनले आगामी साफ च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशलाई थप चुनौती रहने संकेत दिएको छ ।
३. निरीह माल्दिभ्स
यो संस्करणमा माल्दिभ्स एक गोल गर्न नसक्ने टोली बन्यो । सबैभन्दा बढी गोल खाने टोली पनि माल्दिभ्स नै रह्यो । आउने संस्करणका लागि भए पनि माल्दिभ्सलाई कम्तीमा पनि एक गोल आवश्यक थियो । यो एक गोल टोलीका लागि प्रेरणा बन्न सक्थ्यो । किनभने यसले उनीहरूको गोल खडेरी तोड्ने थियो ।
माल्दिभ्सले २०१६ यता साफ च्याम्पियनसिपमा गोल गर्न सकेको छैन । त्यतिबेला साफ च्याम्पियनसिपमा माल्दिभ्सले सिलिगुढीस्थित कञ्चनजंगा रंगशालामा सम्पन्न समूहको अन्तिम खेलमा भुटानविरुद्ध ३-१ को सहज जित पाएको थियो । सोही नतिजामा माल्दिभ्सले साफ च्याम्पियनसिपमै पहिलो पटक सेमिफाइनल यात्रा गरेको थियो । सेमिफाइनलमा माल्दिभ्सले बंगलादेशसँग ६-० को पराजय भोगेको हो । त्यसयता माल्दिभ्सले ८ खेल खेलेको छ । जसमा माल्दिभ्सले ५२ गोल बेहोर्दा विपक्षी पोस्टमा एक गोल पनि गर्न सकेको छैन । यसपालि माल्दिभ्स टिम श्रीलंकासँग एक, नेपालसँग ११ र भुटानसँग १३ गोल अन्तरले पराजित भयो । घरेलु संरचना कमजोर भएका कारण माल्दिभ्स निरीह देखिएको हो ।
४. फाइनल नफापेको नेपाल
साफ च्याम्पियनसिपले सातौं संस्करण पार गर्दा नेपालले सबैभन्दा धेरै फाइनल खेलेको छ । नेपालका लागि यसपालि छैटौं फाइनल थियो । समग्रमा नेपालको यो १२औं अन्तर्राष्ट्रिय हार रह्यो । नेपालले साफ च्याम्पियनसिपमा चार पटक भारतसँग र दुई पटक बंंगलादेशसँग पराजय बेहोरेको छ । यसबाहेक नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा तीन पटक भारतसँगै हार बेहार्दा २०१९ नाजेज्दा कपमा उज्वेकिस्तानसँग, सोही वर्ष भएको हिरो महिला कपमा म्यानमारसँग र गत वर्ष भएको पश्चिम एसियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपमा जोर्डनसँग हार बेहोरेको हो ।
५. रितु, मोनिका र सावित्राको सानदार प्रदर्शन
बंगलादेशका खेलाडीद्वय विंगर रितुपोर्ना चक्मा र मिडफिल्डर मोनिका चक्मा यसपालिका हेर्नलायक खेलाडी रहे । नेपालकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले त सेमिफाइनलमा तहल्का नै मच्चाइन् । सुरुआती खेलदेखि नै टोलीको प्रदर्शनमा महत्त्वपूर्ण भूमिका खेलेकी रितु प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । फाइनलमा उनकै निर्णायक गोलमा बंगलादेशले नेपाललाई हराएको थियो ।
बंगलादेशी सहकर्मी मोनिकाले पनि प्रतियोगितामा सानदार प्रदर्शन गरिन् । फरवार्डहरूलाई बल निकालिदिने काम गरेकी मोनिकाले एक गोलसमेत गरिन् । सावित्राले भारतविरुद्ध सनसनी गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । यो नेपाली समर्थकले कहिल्यै बिर्सन नसक्ने क्षणमध्ये एक रहनेछ ।