काठमाडौं । संगीतमा रमाउँदै फुटबललाई जीवनशैली बनाएको एउटा सामान्य मानिसले जीवनमा कहिलेकाहीँ देख्दै नदेखेको सपना अनायास पूरा भएको अनुभव गर्न पाउँदो रहेछ । कल्पनासमेत नगरेको सुखद क्षण वास्तविकता बनेर आउँदो रहेछ अनि मनभित्र भावनाको आँधीबेरी चल्दोरहेछ । आँखाको बाटो भएर त्यही भावना तप तप चुहिँदो रहेछ, आफैलाई थाहै नदिई ।
हो, मेरो जीवनले दुई साताअघि त्यस्तै नदेखेको सपना पूरा भएको क्षण आत्मसात गर्याे । जुन मेरो जीवनमा एउटा अविस्मरणीय अनुभव बनेर अभिलेखीकरण भयो । प्रसंग हो, एउटा सांगीतिक कार्यक्रमका लागि लन्डन जाँदा पाएको चेल्सी फुटबल क्लबको घरेलु मैदान स्टामफोर्ड ब्रिज भ्रमणको ।
फुटबलप्रतिको मेरो लगाव बाल्यकालदेखि नै थियो । तर चेल्सी फुटबल क्लबप्रतिको प्रेम अझ विशेष रह्यो । जसले मेरो जीवनमा एक विशेष स्थान बनाएको छ । चेल्सीको खेल हेर्नु मेरा लागि अरू धेरै चिजभन्दा बढी लगावको विषय हो । खासगरी यो क्लबका खेलाडीहरूको समर्पणले मलाई सधैं प्रेरित गरेको छ । आफ्नो कार्यक्षेत्रमा अविचलित भएर कसरी लाग्नुपर्छ भन्ने शिक्षा मलाई यही क्लबका खेलाडीको प्रतिबद्धताले दिएको छ ।
लन्डनको मेट्रो स्टामफोर्ड ब्रिजको ठ्याक्कै मुनि फुलह्याम ब्रोडवे स्टेसन पुग्दै गर्दा मनले पत्याउन सकिरहेको थिएन । सुगम दाइ (गायक सुगम पोखरेल) सँग स्टामफोर्ड ब्रिज र चेल्सीकै विषयमा गफिँदै आश्वस्त हुन खोजें । किनकि म मनभित्र चेल्सीको घरेलु मैदान पुग्न लाग्दा उर्लिएका भावनाहरू लुकाउन चाहिरहेको थिएँ ।
जीवनमा उकाली–ओराली आइरहन्छन् । राम्रा र कठिन समय आइरहन्छन् । राम्रा दिनमा कसरी नमात्तिइकन आफूलाई काममा प्रतिबद्ध बनाइरहने र कठिन दिनलाई पनि कसरी बढीभन्दा बढी उपलब्धिमूलक बनाउने भन्ने कुरा मैले यही क्लब र त्यहाँका खेलाडीबाट सिकेको हो । मेरो जीवनमा चेल्सी र त्यसका खेलाडीले खासगरी कठिन समयमा समेत देखाएको धैर्य र प्रतिबद्धताबाट धेरै प्रभाव मिलेको छ । यसकारण पनि चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजलाई प्रत्यक्ष रूपमा हेर्ने मेरो सपना साकार हुनु एक अविस्मरणीय क्षण रह्यो । तीर्थस्थल पुगे जस्तै ।
दुई साताअघि मैले बेलायतमा आयोजित गोर्खा कप फुटबल कार्यक्रममा सहभागी हुने मौका पाएको थिएँ । यो कार्यक्रम बेलायतमा बसोबास गर्ने मलाई नेपाली समुदायसँग जोडिनुको अर्थमा यादगार रह्यो नै । साथमा म जस्तो फुटबलप्रेमीका लागि फुटबलकै जन्मभूमिमा पाइला राख्ने अवसर पनि दियो । हामीजस्ताका लागि अर्को तीर्थस्थल ‘फुटबलको घर’ भनेर चिनिने वेम्बलीको दर्शन गर्ने मौका जुर्यो । गोर्खा कपकै कारण यति विशेष अवसरहरूको हिस्सा बन्न पाउनु मेरा लागि ठूलो गर्वको विषय थियो । यसकारण पनि मैले यसलाई आफूजस्तै फुटबल मन पराउनेहरूसँग बाँड्न चाहेको हो ।
गोर्खा कपको कार्यक्रम सकिएपछि मैले स्टामफोर्ड ब्रिज भ्रमण गरी आफ्नो जीवनकै एक ठूलो सपना पूरा गर्ने मौका पाएको थिएँ । जब म स्टामफोर्ड ब्रिज नजिक पुग्दै थिएँ, मेरो मुटुको चाल बढ्दै थियो । ‘निकै भाग्यमानी रहेछु, स्टामफोर्ड ब्रिज पुग्दैछु’ भन्ने लाग्न थाल्यो । साँच्चै हो र जस्तो लाग्न थाल्यो ।
लन्डनको मेट्रो स्टामफोर्ड ब्रिजको ठ्याक्कै मुनि फुलह्याम ब्रोडवे स्टेसन पुग्दै गर्दा मनले पत्याउन सकिरहेको थिएन । सुगम दाइ (गायक सुगम पोखरेल) सँग स्टामफोर्ड ब्रिज र चेल्सीकै विषयमा गफिँदै आश्वस्त हुन खोजें । किनकि म मनभित्र चेल्सीको घरेलु मैदान पुग्न लाग्दा उर्लिएका भावनाहरू लुकाउन चाहिरहेको थिएँ । आफूलाई सकेसम्म सामान्य देखाउन खोजिरहेको थिएँ ।
दिमागले सामान्य देखिन आदेश दिइरहेको थियो । तर, जब मेट्रो स्टेसनमा रोकियो । मेट्रोबाट ओर्लिएर लिफ्ट चढेर बाहिर निस्किन हतार थियो । सुरुङबाट निस्किएर जब चेल्सीको आँगनमा खुला आकाशमुनि पुगियो, मैले सबथोक बिर्सिएँ । स्टामफोर्ड ब्रिज भ्रमणका लागि २ बजेको टिकट लिएको हामी आधा घण्टाअघि नै पुगिसकेका थियौं ।
लन्डनको समरमा घाम उसै प्यारो हुने । मेरा लागि त तीव्र गतिको हावाको चिसो छेड्दै आएको न्यानो घाम झन प्यारो भयो । किनकि म त्यो बेला स्टामफोर्ड ब्रिजमा थिएँ । अनि मलाई सामान्य छु जस्तो देखाउने चाहना ढोङ लाग्न थाल्यो । म त त्यहाँ आफ्नो अभूतपूर्व उत्साह अनुभूत गर्न पो पुगेको थिएँ । अनि मसँग थिए, मलाई निकै माया गर्ने सुगम दाइ, बेलायतमै बसोवास गर्ने गिरी (गुरुङ) दाइ, दीपेश (राई) दाइ, मनोज पुलपुले दाइ र उमेश महर्जन ब्रो । आफ्नैहरूका बीचमा केको अभिनय ?
मनोज दाइ, दीपेश दाइ र उमेश ब्रोका बारेमा थाहा भएन । सुगम दाइ फुटबलप्रेमी, तर क्लब फुटबलमा खासै चासो नराख्ने । गिरी दाइ चाहिँ आर्सनलका कट्टर समर्थक । म चेल्सीको जस्तै । सायद गिरी दाइले मेरो भावना अलि बढी बुझिरहनुभएको थियो । अनि सुगम दाइ मलाई धेरै माया गर्ने भएकाले उहाँबाट पनि स्टामफोर्ड ब्रिज भ्रमण दौरान नजानिकनै मभित्र आएको चुलबुलपन लुक्न सकेको थिएन । त्यसैले मैले जति लुकाउन खोज्दा पनि उहाँहरूले मेरो भावना पढिसक्नुभएको थियो ।
त्यसैले त हो, आर्सनलको समर्थक भए पनि उहाँले मलाई चेल्सीको घरेलु मैदान भ्रमणमा पूरासाथ दिनुभएको थियो, जुन एउटा साँचो मित्रताको उदाहरण हो । फुटबलको स्पिरिट हो ।
यही कारण मलाई आफ्नो दुनियाँमा स्वतन्त्र छोड्नका लागि होला, उहाँहरू स्टामफोर्ड ब्रिज छेवैको क्याफेमा बर्गर खान थाल्नुभयो । भोक लाग्ने बेला पनि भइसकेको थियो । उहाँहरूले यही बहाना बनाउनुभयो र मलाई आदेश दिनुभयो, ‘जाऊ तिमी पशुपतिनाथ घुम्दै गर । हामी एकछिनमा ज्वाइन गर्छौं ।’ मैले पनि सबैखाले औपचारिकता बिर्सिएँ । खासमा म त्यस्तो लापरवाह मानिस होइन । तर स्टामफोर्ड ब्रिज पुगेको उत्साहले सबथोक बिर्सायो । मैले उहाँहरूलाई बाहिरै छोडेर पाइला भित्रतिर हुत्याउन थालें ।
त्यहाँको वातावरण साँच्चै विशिष्ट थियो । मेरो कल्पनाभन्दा बढी रहेछ । मैदानको हरियाली, ऐतिहासिक स्ट्यान्डहरू, र समर्थकको उत्साहले मलाई गहिरो प्रभाव पा¥यो । पहिलाभन्दा बढी । जब मैले स्टामफोर्ड ब्रिजको मैदानमा पाइला राखें, मेरो आँखामा आँसु आइसकेको रहेछ । धन्न त्यो देखेर पछिसम्म मलाई हाँसोको पात्र बनाउनका लागि त्यहाँ सुगम दाइहरू हुनुहुन्नथ्यो । त्यो क्षण मेरा लागि अत्यन्तै भावुक थियो । सधैं टेलिभिजनमा हेर्ने मैदानमा आफैंलाई उभ्याउन पाउँदा सपना साकार भएको थियो ।
मैदानको प्रत्येक कुनाको एउटा कथा छ, एउटा इतिहास छ । चेल्सीलाई विश्वस्तरीय बनाउने त्यहाँका ऐतिहासिक खेलहरू दिमागले भ्याएसम्म मेरो स्मरणमा फेरि ताजा हुन थाले । मेरो फुटबल प्रेममा उत्प्रेरकको भूमिका निर्वाह गरेको चेल्सी क्लबमा कुनै दिन पुगौंला भनेर मैले कल्पना गरेको थिएँ । तर यो त्यही समय थियो, जहाँ मेरो कल्पना वास्तविकतामा परिणत भइरहेको थियो । यसकारण पनि मलाई सपना पूरा भएको त्यो क्षण व्यक्त गर्न शव्दहरू छैनन् । उसै पनि मेरो शब्दभण्डार फराकिलो छैन । यतिमात्र भन्न सक्छु, ‘म अत्यन्तै भावुक भएँ । त्यहाँ पुग्दाको प्रत्येक क्षणले चेल्सी फुटबल क्लबप्रतिको मेरो प्रेम र सम्मान झनै बढायो ।’
मेरो भ्रमणलाई अझै रमाइलो बनाउने अर्को एक रोचक कुरा थियो, मलाई स्टामफोर्ड ब्रिज घुमाउन टिकट आर्सनलका समर्थक गिरी दाइले काटिदिनुभएको थियो । हामी दुवैको फुटबलप्रतिको प्रेम र समर्थन फरक–फरक क्लबप्रति भए पनि मित्रता र खेलप्रतिको उत्साहले हामीलाई एकसाथ ल्यायो । खासमा फुटबल भनेको भाइचारा र मित्रता नै त हो नि ।
त्यसैले त हो, आर्सनलको समर्थक भए पनि उहाँले मलाई चेल्सीको घरेलु मैदान भ्रमणमा पूरासाथ दिनुभएको थियो, जुन एउटा साँचो मित्रताको उदाहरण हो । फुटबलको स्पिरिट हो ।
स्टामफोर्ड ब्रिजको भ्रमणका क्रममा क्लबको इतिहास र उपलब्धिहरूका बारेमा धेरै जानकारी प्रत्यक्ष रूपमा प्राप्त गरें । जुन टेलिभिजनमा कमेन्टेटरको आवाजबाट सुनेको र इन्टरनेटबाट पाएको जानकारीभन्दा धेरै बढी थिए । सबैभन्दा मुख्य त चेल्सीकै अधिकारीहरूले प्रत्यक्ष रूपमा विशेष महत्वका साथ मलाई यी सबथोक बयान गरिरहेका थिए ।
चेल्सी फुटबल क्लबको इतिहास अत्यन्तै रोचक र प्रेरणादायी छ । सन् १९०५ मा स्थापना भएको यो क्लबले विस्तारै विश्व फुटबलको मञ्चमा आफ्नो स्थान बनायो । क्लबले बितेका दशकहरूमा विभिन्न उतारचढाव झेल्यो, तर सधैं दृढ रह्यो । यो क्लबको सफलताको कहानी केबल खेलाडीहरूको प्रतिभा र कडा परिश्रमको परिणाममात्र होइन, बरू समर्थकहरूको अटुट समर्थन र प्रेमको प्रतिफल पनि हो ।
मैले चेल्सी फुटबल क्लबको विभिन्न स्मृति चिन्हहरूको संग्रहालय पनि भ्रमण गरें । त्यहाँका ट्रफीहरू, ऐतिहासिक फोटोहरू र खेलाडीहरूको सम्झना चिन्हहरूले मलाई अत्यन्तै प्रभावित गर्यो । मैले क्लबका विभिन्न युगका खेलाडीहरूका बारेमा धेरै कुरा बुझें, जसले क्लबको सफलतामा महत्त्वपूर्ण योगदान गरेका छन् । भित्तामा सजिएका मैले सक्रियतापूर्वक फुटबल हेर्न थाल्दाका सुपरस्टारहरु डिडियर ड्रोग्बा र फ्रान्क लाम्पार्डहरूका विशाल पोस्टर मलाई आफूभन्दा पनि प्यारो लागे । मैले महसुस गरें कि यो क्लब केवल एक फुटबल टोली मात्र होइन, बरु यो एउटा परिवार हो, जसले विश्वका कुना कन्दरामा छरिएर रहेका आफ्ना समर्थकलाई एकअर्कासँग जोडिरहेको छ ।
त्यो अविस्मरणीय भ्रमणले मलाई अर्को एउटा नयाँ प्रेरणा दियो । म केवल संगीत र फुटबलको मात्र प्रेमी होइन, बरू मैले यी दुईलाई जीवनका महत्त्वपूर्ण अंग बनाएको छु । नेपाली संगीत र फुटबल दुवै मेरो जीवनका महत्त्वपूर्ण हिस्सा हुन् ।
स्टामफोर्ड ब्रिज भ्रमणका क्रममा क्लबका केही समर्थकसँग पनि भेट्ने अवसर जुर्यो । उनीहरूको उत्साह र समर्थनले मेरो प्रेरणा झनै वृद्धि गरायो । एउटा प्रशंसकको नाताले मैले देखेको छु कि कसरी क्लबले हरेक चुनौती सामना गरेर अघि बढेको छ । समर्थकको निस्वार्थ मायाले क्लबलाई सधैं ऊर्जा प्रदान गरेको छ । मैले आफैंलाई त्यो समर्थक परिवारको एक हिस्सा महसुस गरें र मलाई गर्व भयो कि म चेल्सी फुटबल क्लबको प्रशंसक हुँ ।
चेल्सीका खेलाडीहरूको समर्पण र कडा परिश्रम मेरा लागि सधैं प्रेरणास्रोत हो । म क्लबका खेलाडीहरूको अनुशासन, प्रतिबद्धता र दृढताबाट धेरै प्रभावित छु । उनीहरूको खेल कौशल र रणनीतिले मलाई सधैं चकित बनाउँछ । मैले क्लबका धेरै खेलाडीहरूलाई आफ्नो आदर्श मान्दै आएको छु र उनीहरूको अनुशासन र समर्पणबाट धेरै कुरा सिकेको छु ।
त्यो अविस्मरणीय भ्रमणले मलाई अर्को एउटा नयाँ प्रेरणा दियो । म केवल संगीत र फुटबलको मात्र प्रेमी होइन, बरू मैले यी दुईलाई जीवनका महत्त्वपूर्ण अंग बनाएको छु । नेपाली संगीत र फुटबल दुवै मेरो जीवनका महत्त्वपूर्ण हिस्सा हुन् । मैले यी दुईलाई एकसाथ अनुभव गर्न पाउँदा अत्यन्तै खुसी छु । चेल्सीको भ्रमणले त्यो अनुभूति दिलाएकामा म यो बेलायत भ्रमणका सबै पक्षप्रति अनुग्रहित छु । सबैभन्दा बढी चेल्सीप्रति र चेल्सीको आत्मीय आतिथ्यताप्रति ।
स्टामफोर्ड ब्रिज पुग्नेबित्तिकै चेल्सीका अधिकारीहरूसँग अन्तरक्रिया सुरु भयो । टिकट काटेर भ्रमणमा आउनेलाई त्यहाँका अधिकारीले मजासँग घुमाउँछन् । मैदानको घाँस र प्यारापिटदेखि त्यहाँ भएका प्रत्येक कुनाकाप्चासम्मको जानकारी गराउँछन् । हाम्रो अन्तरक्रिया सुरु हुँदा मैले आफू चेल्सीको समर्थक भएको बताएँ । उनीहरूले पत्याएनन् । पछि सुगम दाइले ‘अल दी वे फ्रम हिमालयाज’ भनेपछि उनीहरूले दिएको सम्मान विशेष थियो ।
तर मलाई सम्मान गरिरहँदा गिरी दाइ आर्सनलको समर्थक भनेपछि उहाँलाई गिज्याइएका घटना पनि कम रोमाञ्चक थिएनन् । तथापि गिरी दाइलाई गिज्याइरहँदा पनि चेल्सीका अधिकारीहरूले उहाँको सम्मानमा कुनै ठेस पुर्याएका थिएनन् । बरु बढाएकै थिए । फुटबल मन पराउने मानिसलाई दिनुपर्ने सम्मान र मायामा कुनै कञ्जुस्याईं थिएन । त्यसपछि मलाई लाग्यो, ‘यही कारण त हो, मेरो प्रिय क्लब चेल्सी एउटा महान क्लबमा दर्ज भएको अनि विश्वस्तरमा सम्मानित र प्रिय बनेको ।’
मैले सुगम दाइको संगीत यात्रा र चेल्सी फुटबल क्लबको इतिहासबाट धेरै कुरा सिकें । यी दुई कुराले मलाई अनुशासन, समर्पण र कडा परिश्रमको महत्व बुझाएको छ । मैले क्लबका खेलाडीहरूको संघर्ष र सफलता देखेर धेरै कुरा सिकको छु ।
चेल्सीको भ्रमण र पाएको आतिथ्यता यति प्रिय थियो कि मैले त्यहाँ पुग्दा सबथोक बिर्सिएँ । सुगम दाइलाई समेत बिर्सिएँ । मेरो फुटबल र चेल्सीप्रतिको प्रेम उहाँलाई थाहा थियो । यही कारण उहाँले आफूहरू बर्गर खाएर मलाई मेरै दुनियाँमा रमाउने छुट दिनुभएको थियो । तर म कति स्वार्थी भएछु, मेरो बेलायत यात्रादेखि स्टामफोर्ड ब्रिज भ्रमणको आधार बनाइदिने आदरणीय सुगम दाइलाई नै बिर्सिएछु ।
स्टामफोर्ड ब्रिजमा छिरेपछि घण्टौं आफ्नै धुनमा म हराइरहँदा दाइहरूको ध्यान नै भएनछ । उहाँहरू भने मलाई कतै नदेख्दा आत्तिइसक्नुभएको थियो । किनकि मसँग त्यहाँको सिमकार्ड थिएन । न त इन्टरनेटकै पहुँचमा थिएँ । अचानक धेरैबेरपछि हामी फेरि स्टामफोर्ड ब्रिजको प्रवेशद्वार नजिकै थियागो सिल्भाको फोटो टाँसेको ठाउँमा भेटियौं । त्यो बेला मसँग भेटिएकामा मभन्दा धेरै खुसी सुगम दाइ हुनुहुन्थ्यो । उहाँको आँखाले भनिरहेको थियो, ‘धन्न भाइ भेटियो । हराएन ।’
मैले त बिर्सिइसकेको थिएँ । तर, उहाँहरू मलाई मात्र खोजिरहनुभएको रहेछ । सरी सुगम दाइ । सरी दाइहरू । सरी उमेश ब्रो । हेर्दा बोलक्कड देखिए पनि म अलि अन्तरमुखी स्वभावको छु । त्यसैले त्यहाँ प्रत्यक्ष रूपमा माग्न नसकेको माफी यही लेखमार्फत माग्दैछु । किनकि म खासगरी सुगम दाइप्रति कृतज्ञ छु । मेरो बेलायत भ्रमण र स्टामफोर्ड ब्रिज पुग्ने सपना उहाँकै कारण पूरा भएको थियो । खासमा गोर्खा कपको अवसरमा लन्डनमा भएको सांगीतिक कार्यक्रममा प्रस्तुतिका लागि सुगम दाइ निम्त्याइँदा उहाँले मलाई पनि सँगै लानुभएको थियो ।
मेरो जीवनमा फुटबलसँगै उत्तिकै महत्व बोक्ने अर्को विधा भनेको संगीत हो र सुगम दाइ मेरा आदर्श गायक । उहाँका लागि पनि म निकै प्यारो भाइ । यही भएर त हो, दाइले मलाई निःस्वार्थ माया मात्र गर्नुहुन्छ । सधैं मेरो हित र प्रगतिका लागि प्रार्थना गरिरहनुहुन्छ । मलाई जीवनको बाटोमा अगाडि बढाउन हरदम अभिभावकको भूमिकामा प्रस्तुत भइरहनुहुन्छ । जीवनका सबैखाले उकाली–ओरालीमा सही मार्गदर्शन गरिरहनुहुन्छ । यसकारण चेल्सी पुग्दा उहाँलाई नै बिर्सेकोमा मेरो मनले अहिले आफैंलाई गर्ने गाली म यहाँ उल्लेख गर्न सक्दिनँ । तर मलाई विश्वास छ, सुगम दाइले यो सब बुझ्नुभएको छ ।
म क्लबप्रतिको आफ्नो प्रेम र समर्थन सधैं कायम राख्नेछु र म गर्वका साथ भन्छु कि म चेल्सी फुटबल क्लबको समर्थक हुँ । स्टामफोर्ड ब्रिज भ्रमणको यो अविस्मरणीय अनुभवले मलाई जीवनभर प्रेरित गरिरहने छ ।
मैले सुगम दाइको संगीत यात्रा र चेल्सी फुटबल क्लबको इतिहासबाट धेरै कुरा सिकें । यी दुई कुराले मलाई अनुशासन, समर्पण र कडा परिश्रमको महत्व बुझाएको छ । मैले क्लबका खेलाडीहरूको संघर्ष र सफलता देखेर धेरै कुरा सिकको छु । उनीहरूको खेलकौशल र रणनीतिले मलाई सधैं प्रेरित गरिरहेको छ । मैले क्लबका धेरै खेलाडीलाई आफ्नो आदर्श मान्दै आएको छु । उनीहरूको अनुशासन र समर्पणबाट धेरै कुरा सिकको छु ।
म क्लबप्रतिको आफ्नो प्रेम र समर्थन सधैं कायम राख्नेछु र म गर्वका साथ भन्छु कि म चेल्सी फुटबल क्लबको समर्थक हुँ । स्टामफोर्ड ब्रिज भ्रमणको यो अविस्मरणीय अनुभवले मलाई जीवनभर प्रेरित गरिरहने छ ।
धन्यवाद सुगम दाइ ! धन्यवाद गोर्खा कप ! धन्यवाद चेल्सी ! धन्यवाद स्टामफोर्ड ब्रिज !