हाम्रा लिगका तथ्यांकहरू भताभुंग छन् । छरपस्ट छन् । नत्र ठोकेर भन्न मिल्यो, नेपाली लिग इतिहासमा कुमार थापा जत्तिको खेलाडी अरू कोही छैनन् । लिगका तथ्यांक दुरुस्त नहुँदा पनि हामी भन्न सक्छौं, उनी सहिद स्मारक लिग ‘ए’ डिभिजनका ‘लेजेन्ड’ हुन् । उनी सर्वाधिक संस्करणका लिग खेल्ने खेलाडी हुन् । यस्तोमा उनी माथिल्लो डिभिजनमा सर्वाधिक लिग खेल्ने खेलाडी हुन् । त्यति मात्र होइन, उनी सर्वाधिक सफल कप्तान पनि हुन् ।
‘ए’ डिभिजनसँग उनको सम्बन्ध अझै टुटेको छैन । यसपल्ट उनी फरक भूमिकामा देखिने छन् । एपीएफका मुख्य प्रशिक्षक हुन् उनी । लिगमा एपीएफको पछिल्लो प्रदर्शनलाई आधार मान्ने हो भने उनका सामु पहाड जत्तिकै ठूला चुनौती छन् । सबैले उनलाई प्रश्न गर्दो हो, के एपीएफ रेलिगेसनबाट बच्ने छ त ? यदि बचेमा कुनै मैदानबाहिरको जुक्ति त लगाइने छैन ? जेहोस् कुमारका लागि फुटबल प्रशिक्षकको जिम्मेवारी कुनै नयाँ नौलो होइन ।
उनको जमानामा ठ्याक्कै प्रशिक्षक भन्ने नै हुँदैनथ्यो । त्यसैले कुमारले नै ‘घोस्ट कोच’ भएर लामै समय मनाङ मर्स्याङदी हाँके, त्यो पनि खेल्दाखेल्दै । उनी त नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक पनि भइसके । सन् २०१६ देखि एक वर्षका लागि उनले महिला टिम हेरे । यसक्रममा उनको पहिलो खेल सातदोबाटोमा थियो, मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल । त्यो नेपाली महिला राष्ट्रिय टिमले आफ्नो भूमिमा खेलेको पहिलो अन्तर्राष्ट्रिय खेल पनि हो ।
त्यो खेल किन सम्झेको भन्दा त्यसमा उनी बकाइदा ‘थ्री पिस’ सुटको अवसरमा प्रस्तुत भए । खेलका क्रममा नेपाली प्रशिक्षकहरू ‘टु पिस’ सुटमा देखिँदैनन्, उनी साँच्चै ‘थ्री पिस’ सुटमा देखिए । गजब सान झल्केको थियो उनको । फेरि प्रश्न के यसपल्ट एपीएफको ‘डगआउट’ मा बस्दा कुनै न कुनै बेला उनी के फेरि यस्तै ठाँटको अवतारमा देखिने छन् त ? हामीले भन्ने त यतिमात्र हो, हाम्रा प्रशिक्षकका व्यक्तित्व पनि खुलोस् त ढंगले ।
हामीले गर्न लागेको चर्चा भने खेलाडी कुमारको नै हो । खासमा उनी एकभन्दा बढी पुस्ताका नेपाली खेलाडीबीचका सेतु हुन् । उनले खेल्दा राजुकाजी शाक्य पुस्ताका खेलाडीले पनि खेलिरहेकै थिए । उनले खेल्न छाड्दा एन्फा एकेडेमीको पहिलो पुस्ताका खेलाडी पनि लगभग हराउने क्रममा थिए । कुमारले खेलेको पहिलो ‘ए’ डिभिजन संस्करण ०५२ सालको हो । उनी भर्खरका ठिटा थिए । मनाङका लागि खेल्ने अवसर पाए । यो क्रम २०६२ सम्म जारी रह्यो, उनले मनाङका लागि ६ संस्करण लिग खेले ।
त्यसमा थप ०५४, ०५७, ०६०, ०६१ र ०६२ रह्यो । त्यसमा पनि उनले तीनपल्ट लिग उपाधि जिते, तीनैपल्ट कप्तान भएर । यस्तो सफलता पहिला ०५७ मा जुरेको थियो । पछि ०६० र ०६२ मा दोहोरियो । नेपाली घरेलु फुटबलमा मनाङको समृद्ध इतिहास छ । यो कुमारको उल्लेखबिना लेख्न सकिन्न । मनाङले ०४३ यता तीनपल्ट लगातार ‘ए’ डिभिजन उपाधि थियो, कप्तान अञ्जित बस्नेतको नेतृत्वमा । त्यो टिम गजब थियो भनिन्छ ।
कुमारको नेतृत्वमा रहेको टिम सायद त्योभन्दा पनि गजब थियो । यत्तिको टिम सायद बिरलै पछि बनेको छ । कि बन्ने नै छैन ? त्यो टिममा को–को मात्र थिएनन् ? जस्तो, अगाडि वसन्त थापा र राजन रायमाझी । बीचमा कुमारसँगै वसन्त गौचन, राजेश शाही र दीपक लामा । रक्षापंक्तिमा प्रकाश देवान, उमेश उप्रेती, अनिल सुब्बा र राजेन्द्र तामाङ अनि गोलपोस्टको जिम्मामा विनोद डंगोल । एक समय यो टिमले नेपाली घरेलु फुटबलमा साँच्चै एकछत्र राज गरेको थियो ।
यो टिमले ०६० सालमा त चमत्कार नै गरेको थियो । टोलीले त्यस वर्ष पाँच उपाधि जितेको थियो । त्यो पनि लगातार । खेल्यो कि जित्यो जस्तो भएको थियो । लिगसँगै त्यो वर्ष मनाङ आहा–रारा गोल्डकप, बुढासुब्बा गोल्डकप, हृदयेन्द्र गोल्डकप र खुकुरी कप जित्न सफल भएको थियो । आहा–रारा गोल्डकप जित्दा उनलाई यस संवाददाताले पोखरा रंगशालाबाहिर भेट्ने अवसर पाएको थियो । उनी भन्थे, ‘के गर्नु, हामीलाई अचेल जित्ने बानी परेको छ ।’
यो टिम यत्तिको बलियो कसरी भयो त ? लिगको पूर्वसन्ध्यामा एक साँझ उनै कुमार थापासँग एकाध घण्टा बाक्लै गफिने अवसर पाइयो । कुरा गर्न साह्रै मज्जाका छन् उनी । वर्ण अलि बढी कालो छ । मुख भने अलि छुच्चो छ । तर जतिबेला उनी मुसुक्क हाँस्छन्, त्यसको मूल्य लाखौंमा पुग्छ । उनी ती पुराना दिन सम्झेर भन्छन्, ‘त्यो खास टिमका अधिकांश सदस्य राष्ट्रिय टिममा थिए । नियमित खेल्थे । खेलाडी आफैंमा तगडा थिए । एकले अर्कोलाई राम्रोसँग बुझ्थे ।’
वर्ष ०६३ बाट उनी एपीएफ लागे । मनाङमा रहेर कमाएको सानसौकत बोकेर एपीएफ लाग्नुको अर्थ भविष्यको सुनिश्चिता नै थियो । एपीएफबाट उनले चार लिग खेले । ०६३ त भयो नै, त्यसपछि ०६६–०६७, ०६९ र ०७० । एपीएफमा खेलाडी भएर धेरै केही गर्न सकेनन् । एक त उनी आफ्नो खेलजीवनको अन्त्यतिर पुगिसकेका थिए । मनाङले राम्रो खेले जस्तै, एपीएफले नराम्रो खेल्नुका पनि उनीसँग कारण होलान् । पक्कै छ । उनी भन्छन्, ‘खेलाडीको स्थायित्व रहेन, राम्रा खेलाडी आउने र छाडेर अन्यत्र जाने मात्र भयो ।’
अब भने उनी यही एपीएफका प्रशिक्षक छन् । केही पक्का बलियो काम गर्न सक्छन् । त्यसमाथि उनी फुटबलमा पढे–लेखेकामध्ये एक हुन् । उही जमानामै कानुनमा स्नातक गरेका थिए । अहिले त उनीसँग युरोपेली फुटबल महासंघको एमआईपी कोर्स गरेको बहुमूल्य अनुभव पनि छ । एमआईपी भनेको फुटबल व्यवस्थापनसम्बन्धी पढाइ हो । यस्तो पढ्ने पाउने उनी एसियाकै पहिलो हुन् । यस अर्थमा उनी फुटबलका विद्वान हुन् ।
त्यही पढाइमा टिकेर उनीसँग लिगलाई लिएर केही ठोस धारणा छ । भन्छन्, लिगमा कम्तीमा २० टिम हुुनुपर्छ । अरू सबै नेपाली ‘ए’ डिभिजनमा १० टिममात्र हुनुपर्छ भनिरहेको बेला उनी २० टिमको कुरा फ्याँक्छन् । भन्छन्, ‘लिगलाई गम्भीर गृहकार्य गर्नुपर्छ । नेपालको भौगोलिक बनावट बुझ्नुपर्छ अनि फुटबल कहाँ कति लोकप्रिय छ, त्यो पनि जान्नुपर्छ । नेपालमा फुटबल जनस्तरमै लोकप्रिय छ, त्यसको फाइदा उठाउनुपर्छ ।’
कतिलाई उनका कुरा नपच्न सक्छ । उनी दायाँ हेर्दैनन्, बायाँ हेर्दैनन्, मनमा लागेको कुरा भनिहाल्छन् । त्यसैले उनले नेपाली फुटबलमा जति साथी कमाएका छन्, भन्न सकिन्छ, शत्रु पनि कम कमाएका छैनन् । कुनै बेला उनलाई देशद्रोहीको आरोप पनि लागेको थियो । किन त ? उनले त खालि नेतृत्वसँग मनमा बिझेका केही प्रश्न गरेका थिए । यत्तिमा कोही देशद्रोही हुन्छ भने केही फरक पर्दैन । कुमार यस्तै छन् । कोही कसैले जसरी कसैप्रति नतमस्तक हुँदैनन् ।
कुमार जे छन्, जस्ता छन्, ठीक छन् । उनी त्यस्तै नभएको बेला कुमार हुनुको मज्जा पनि त के थियो र ? खासमा उनी नेपाली फुटबलका विद्रोही हुन् । प्रश्न सोध्ने हिम्मत गर्छन् । खेल्दा उनको नम्बर नै १३ । किन १३ भन्दा, यो अलच्छिन नम्बर पनि राम्रो हुन्छ भनेर देखाउने मन थियो रे किशोर कुमारमा । अहिले त उनी परिपक्व भइसके । उत्तिकै व्यावहारिक पनि हुँदो हो । खासमा नेपाली फुटबलले उनी जत्तिको जाने बुझेकाबाट केही न केही फाइदा लिन सक्नुपर्ने हो, विशेषतः फुटबल संघले ।
फेरि लिगकै प्रसंगमा फर्कन हो भने फेरि दोहो¥याएर भन्नुपर्छ, लिगका औंलामा गन्न सकिने केही लेजेन्डमध्ये उनी पनि हुन् । लेजेन्डको सूची बनाउँदा शीर्षमै पर्छ भन्दा केही बढी हुन्न । लिग मात्र होइन, उनी मनाङका पनि लेजेन्डरी खेलाडी हुन् । क्लबको स्वर्णिम समयका उनी एक अब्बल खेलाडी र उत्तिकै राम्रा कप्तान हुन् । अब लिगमा उनको काम फेरिएको छ । प्रशिक्षक भएका छन् । यी लेजेन्डलाई हाम्रो शुभकामना, ‘खेलाडी हुँदा जत्तिकै गरेर अब्बल होऊन् ।’