काठमाडौं । विश्व फुटबलमै पुरुषको तुलनामा महिला फुटबल पछाडि छ । अवसर नै कम । अवसर पाउँदा पनि विभेदसहित । अन्तर्राष्ट्रिय फुटबलमै देखिने गरी विभेद भोगेका महिलाले नेपालमा झेलेको अवस्था झन कति दर्दनाक होला ?
धेरै दर्दनाक छ । नेपालमा महिला फुटबलको घरेलु लिग नभएको नै दुई वर्षभन्दा बढी भइसक्यो । योभन्दा बढी व्याख्या अरू के चाहियो र ? देशभित्र जति अपहेलित भए पनि बितेको वर्ष नेपाली महिला टोलीले पाएको सफलता पूरा देशले गर्व गर्न लायक छ । त्यसले नेपाली महिला फुटबलमात्र नभई समग्रमा नेपाली खेलकुदकै इज्जत झन बढाएको छ ।
अवसरको सीमिततामा खुम्चिन बाध्य महिला फुटबलले त्यसका बावजुद गर्विला प्रदर्शनहरू गरेर आफ्नो नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)लाई भने गतिलो झापड दिएको छ ।
वर्ष २०८० मा पुरुष फुटबल टोलीले मात्र दुई अन्तर्राष्ट्रिय खेलमा जित हात पार्यो । महिला फुटबलको स्थिति भने ठ्याक्कै उल्टो रह्यो । महिला टोलीले बितेको वर्ष कुल १० खेल भयो । जसमा मात्र दुई खेलमा हार बेहोर्यो । त्यो पनि विश्वकप खेलिसकेको टोलीविरुद्ध । दुवै चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा भियतनाम र जापानविरुद्ध थियो ।
एसियाली ओलम्पिक छनोटको पहिलो चरणमा भियतनामविरुद्ध ७–१ को समग्र हार बेहोरेको नेपाली महिला टोलीले वर्ष २०७९ को अन्त्य गरेको थियो । दुवै लेग काठमाडौंमै भएको थियो । त्यसपछि तीन महिनाको विश्राम लिएको नेपाली टोलीले असार अन्तिम साता बंगलादेशविरुद्ध उसकै मैदानमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको शृंखला खेलेको थियो ।
जहाँ पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो भने अर्को खेलको नतिजा गोलरहित बराबरी थियो । अन्तिममा शृंखलाको निर्णय टाइब्रेकरमा गरिएको थियो । जहाँ वैकल्पिक गोलकिपर अञ्जना राना मगरको प्रभावशाली प्रदर्शनप्रेरित नेपालले घरेलु टोलीलाई ४–२ को नतिजामा निराश पारेको थियो । अञ्जनाले दुई पेनाल्टी बचाएकी थिइन् ।
आधिकारिक प्रतियोगिता नभए पनि महिला फुटबलले उपाधि जितेको यो नै पहिलो अवसर थियो । बंगलादेशपछि हाङचाउ एसियाली खेलकुदका लागि टोली दुई महिना बन्द प्रशिक्षणमा रह्यो । तर, चीनमा बलिया टोलीसँग पराजय बेहार्दा नेपालको यात्रा पहिलो चरणभन्दा माथि जान सकेन ।
पहिलो खेलमा भियतनामसँग २–० ले निराश बनेको नेपालले दोस्रो खेलमा विश्वकपको पूर्वविजेता जापानसँग ८ गोल खाँदा १ गोल पनि गर्न सकेन । समूहको अन्तिम खेलमा नेपालले बंगलादेशसँग लगातार तेस्रो बराबरी खेल्यो । खेल फेरि पनि १–१ को बराबरीमा सकिएको थियो ।
यसबीच पहिलो खेलमा बायाँ खुट्टाको एसिएल मेनिस्कसमा चोट लागेपछि मिडफिल्डर सरु लिम्बुले बाँकी खेल गुमाएकी थिइन् । चीनमै शल्यक्रिया गरेकी सरु आजसम्म पनि मैदानमा फर्कन सकेकी छैनन् ।
मिडफिल्डरद्धय कप्तान रेनुका नगरकोटे र सरु लिम्बुको अनुपस्थितिबीच नेपालले डेढ महिनाअघि वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ)ले आयोजना गरेको वाफ महिला च्याम्पियनसिप खेल्यो । जहाँ टोलीले सबैको मन जित्यो ।
आमन्त्रित टोलीका रूपमा प्रतियोगितामा सहभागिता जनाएको टोलीले फाइनलसम्म यात्रा गरेर सनसनी मच्चायो । तर, विडम्बना ११औं पटक टोली उपाधिको नजिक पुगेर पनि फाइनलमा पराजित भयो ।
प्रतियोगितामा स्टार स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर प्रीति राईले सबैको ध्यान आफूतिर तान्न सफल रहे । सावित्राले प्रतियोगितामा सर्वाधिक ९ गोल गरिन् । दक्षिण एसियाली फुटबलमा एकछत्र राज गरेकी सावित्राले पहिलो खेलमा कमजोर टोली सिरियाविरुद्ध दुई गोल गरेकी थिइन् । जहाँ नेपाल ४–१ ले विजयी भएको थियो । अन्य गोल फरवार्डद्वय अमिशा कार्की र रेखा थापा तथा मिडफिल्डर अनिता बस्नेतले गरेका थिए ।
इराकविरुद्धको खेलमा नेपालले ५–० को जित हासिल गर्दा सबै गोल सावित्राको नाममा रह्यो । यही खेलमार्फत सावित्राले देशका लागि ५० गोल पूरा गरेकी थिइन् । उनले यो उपलब्धि ४४ खेलमा पूरा गरेकी हुन् ।
एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको नेपालले समूहको तेस्रो खेलमा प्यालेस्टाइनलाई ४–० ले हरायो । उक्त खेलमा सावित्राको दुई गोल रह्यो भने अन्य गोल रेखा र रक्षक गीता रानाको नाममा रह्यो ।
सेमिफाइनलमा एक गोलले पछि परेको स्थितिमा सावित्राले बराबरी गोल फर्काएकी थिइन् । पछि इन्जुरी समयमा प्रीति राईको दर्शनीय गोलप्रेरित नेपालले फाइनल यात्रा गर्यो ।
व्यावसायिक फुटबल फ्रेन्च लिगबाट खेलिरहेकी सावित्रा क्लबमा फर्कनुपर्ने भएपछि नेपालले फाइनलमा आफ्नो प्रमुख हतियार गुमाएको थियो । सावित्राको अनुपस्थितिका बावजुद आत्मविश्वासका साथ मैदान उत्रिएको टोलीले फाइनलमा आफूभन्दा माथिल्लो वरीयताको जोर्डनलाई कडा चुनौती दिएको थियो । नेपालकी फरवार्ड सविता राना मगरको गोलमा अगाडि बढेको थियो । तर, निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदासम्म जोर्डनले खेलमा २–१ को अग्रता लिइसकेको थियो । तर, खेल अझै कहाँ सकिन्थ्यो र ? इन्जुरी समयको अन्तिमतिर नेपालले पेनाल्टी पायो र पाएको मौकालाई गीताले गोलमा परिणत गरिन् ।
तर, नेपालले फेरि एक पटक पाएको अवसर सदुपयोग गर्न सकेन । फेरि पनि टोली अभागी साबित भयो । टाइब्रेकरमा अनुभवी रक्षक अमृता जैसीको पेनाल्टी विपक्षी रक्षकले बचाएपछि नेपालको ३८ वर्षमा पहिलो प्रतियोगिता जित्ने सपना अधुरै रह्यो । यसअघि नेपालले १० वटा प्रतियोगितामा फाइनल खेले पनि उपाधि जित्न सकेको थिएन ।
यसबीच प्रतियोगितामा अनिता र प्रीतिको गोलले सबै दंग परे । सिरियाविरुद्ध अनिताले कर्नर र प्रीतिले लेबनानविरुद्ध पेनाल्टी बक्सबाहिरबाट दर्शनीय गोल गरेका थिए । प्रतियोगितामा नेपालले कुल १७ गोल गर्यो ।
एकै वर्ष तीन फरक प्रशिक्षकले नेपाली टोलीको नेतृत्व गरे । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा टोलीका प्रशिक्षक थिए, अनन्तराज थापा । त्यसपछि टोलीको जिम्मेवारी बालगोपाल महर्जनले लिए । महर्जनको नेतृत्वमा टोलीले चीन यात्रा गरेको थियो । वाफ च्याम्पियनसिपमा टोली राजेन्द्र तामाङको नेतृत्वमा थियो ।