स्येन गोरान एरिक्सन

एरिक्सनको लिभरपुलमा पूरा भएको सपना

काठमाडौं । स्येन गोरान एरिक्सन । उनी कुनै समय इङ्लिस फुटबल टिमका प्रशिक्षक थिए । त्यतिबेला इङ्लिस टिम एकसेएक स्टार खेलाडीले भरिएको थियो । त्यो त भयो डेविड बेकहम, स्टेफन जेरार्डदेखि उनका साथी खेलाडीको जमाना ।

स्विडेनी एरिक्सन इङ्लिस फुटबल टिम सम्हाल्ने पहिलो विदेशी थिए । त्यसैले उनको नियुक्तिसँगै इङ्लिस फुटबलमा बहस छेडिएको थियो । के इङ्ल्यान्डमा कोही आफ्नै भरपर्दो प्रशिक्षक रहेन त ?

पछिल्लो समय एरिक्सनबारे एउटा नयाँ समाचार आयो, जुन दुःखद थियो । उनलाई टर्मिनल क्यान्सर भएको रहेछ । उनले आफैं मिडियालाई भनेका छन्, ‘अब धेरै बाँचिन्न । सायद एकाध वर्षमात्रै ।’

अहिले उनी ७६ वर्षका भए । फेरि अहिले नै उनको चर्चा किनभन्दा उनले सानैदेखि साँचेको एउटा सपना पूरा भएको छ । यसका लागि उनी असाध्यै खुसी छन् ।

‘अब मर्दा पनि खुसी–खुसीले मर्न सक्छु,’ भावनामा बगेर उनले यस्तै आशय दिएर बोलेका छन् । भएको के थियोभन्दा उनले इङ्लिस टिममात्र होइन, अरू ठुल्ठूला क्लबको व्यवस्थापन पनि सम्हाले । जस्तो बेन्फिका, एएस रोमा, फिओरेन्टिना, साम्पडोरिया, लाजियो, म्यानचेस्टर सिटीदेखि लेस्टर सिटीसम्म ।

तर, उनले आफूलाई सबैभन्दा मनपर्ने क्लब लिभरपुल भने सम्हाल्न पाएनन् । कुरा नचलेको पनि होइन, तर यो कहिल्यै सम्भव भएन । उनका बुवाको नाम पनि स्येन नै हो । उनी लिभरपुलका जबरदस्त समर्थक रहेछन् । लिभरपुलको कुनै खेल नछुटाउने । बुवाकै प्रभावले छोरा स्येन लिभरपुलकै समर्थक भए । यो तथ्य सबैलाई थाहा थियो ।

साता दिनअगाडि लिभरपुलको घरेलु मैदानमा एउटा मैत्रीपूर्ण खेल भयो । जसमा भिडेका थिए लिभरपुल र आयाक्सका पूर्वखेलाडीहरू । त्यो खेलको नतिजा के नै महत्त्वपूर्ण रह्यो र ? महत्त्वपूर्ण के रह्यो भने त्यस भेट्रान लिभरपुल टिमका प्रशिक्षकको भूमिका थिए तिनै एरिक्सन । फेरि एकपल्ट एनफिल्ड भरिभराउ थियो । यी सबै समर्थक एरिक्सनको सम्मानमा त्यहाँ आएका थिए ।

एनफिल्डलाई विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित मैदान मान्नेमा एरिक्सन पनि रहेछन् । भनिन्छ, विपक्षी टिमका लागि एनफिल्डमा जत्तिको खेल्न गाह्रो अन्यत्र कतै हुन्न । जेहोस्, खेल लिभरपुलले ४–२ ले जित्यो । त्यही खेलपछि एरिक्सनले भनेका हुन्, ‘मेरो त ठूलै सपना पूरा भएको छ, जुन मैले सानैदेखि साँचेको थिएँ ।’

एरिक्सनलाई पहिला जस्तो देखिएको थियो, अहिले पनि उनी त्यस्तै छन् । अलि बिरामी नै देखिए । तर खेलका क्रममा जति पटक उनीमाथि क्यामरा तेर्सियो, उनको अनुहारमा हाँसो र खुसी छचल्कन्थ्यो । उनी जत्तिको फुटबल लिजेन्डलाई यसरी प्रशन्न मुद्रामा देख्न पाउनु ठूलो हो । सबैको एउटै कामना हो, चिकित्सा विधालाई स्तब्ध बनाएर उनी धेरैभन्दा धेरै बाँचुन् ।