आहा रारा पाेखरा गोल्ड कप

इतिहास कोर्ने होडमा आर्मी र थ्री स्टार

पोखरा । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करणको उपाधिका लागि शीर्ष डिभिजनका दुई क्लब त्रिभुवन आर्मी र थ्री स्टार क्लब भिड्दै छन् । पोखरा रंगशालामा शनिबार हुने फाइनल खेल दिउँसो १ बजे सुरु हुँदैछ ।

शुक्रबार पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधिमाथि बलियो दाबेदारिता गरेका छन् । आर्मीका प्रशिक्षक मेघराज केसीले आर्मी यसपालि पोखरामा इतिहास दोहोर्याउन नभएर बनाउन आएको बताएका छन् ।

‘हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौं । सन्तुलित टोली लिएर आर्मी पोखरा आएको छ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसाथ मैदान उत्रन्छौं । हामी इतिहास दोहोर्याउन चाहँदैनौं । आर्मी उपाधिका लागि सक्षम पनि छ,’ प्रशिक्षक केसीले भने ।

उनले प्रायः सबै टोलीले युवा खेलाडीलाई मौका दिएको बताए । उनले भने, ‘उनीहरूले राम्रो प्रदर्शन गरिरहेका छन् । हामी नयाँ खेलाडीसाथ पोखरा आएका हौं । मैले प्रशिक्षकको रूपमा दुई पटक उपाधि जितिसकेको छु । अब तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्य छ । त्यसमा आर्मीको नाम जोड्न चाहन्छु ।’

आर्मीका कप्तान भरत खवास र चर्च ब्वाइजका कप्तान कमल श्रेष्ठ, तस्विर सुदर्शन रञ्जित

आहा रारा गोल्डकपमा यसपालि आर्मीले राइजिङ स्टार एफसीलाई १-०, साबिक विजेता संकटालाई ३-० र चर्च ब्वाइज युनाइटेडलाई २-१ ले पराजित गर्दै फाइनलसम्म पुगेको हो । आर्मीका दिनेश हेन्जनले सर्वाधिक ३ गोल गरिसकेका छन् ।

आर्मीका कप्तान भरत खवास पनि विगतका गल्तीहरूलाई सुधार्दै उपाधि उचाल्ने लक्ष्य रहेको बताउँछन् । ‘सबै टोलीको उपाधि जित्ने लक्ष्य हुन्छ । यसअघि पटक–पटक फाइनल पुगेर पनि उपाधि जित्न सकेका थिएनौं । विगतमा केही मिहिनेत नपुगे जस्तो लाग्छ । तर यसपालि फाइनलमा आफ्नो तर्फबाट सकेको दिने प्रयास हुनेछ,’ कप्तान भरतले भने ।

आर्मी कप्तान भरत दाबी साथ भन्छन्, ‘थ्री स्टार पनि उपाधि जित्ने लक्ष्यमै छ । उनीहरूले शतप्रतिशत दिन्छन् भने हामीले २ सय प्रतिशत दिनुपर्छ । टोलीमा तालमेल मिलिरहेको छ । हामी फेरि उपविजेतामै सीमित हुन चाहँदैनौं । अरू क्लबले खेलाडी बटुलेर टोली तयार पारेको हो । तर, हामीसँग सेट टोली छ । त्यसको फाइदा उठाउँदै जसरी पनि उपाधि जित्ने छौं ।’

थ्री स्टारले आयोजक सहारा क्लबलाई २-१, भुटानको पारो एफसीलाई २-० र जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो । थ्री स्टारबाट आशिष चापागाईंले २ गोल गरेका छन् ।

थ्री स्टारका प्रशिक्षक विक्रम लामाले आफ्नो गुरुको टिमविरुद्ध फाइनल खेल्न पाउनु सुनौलो अवसर रहेको बताए ।

थ्री स्टार र जावलाखेल युथ  क्लब प्रतिस्पर्धा गर्दै, तस्विर सुदर्शन रञ्जित

‘आफ्नै गुरुको टिमविरुद्ध फाइनल खेल्न पाउनु मेरा लागि सुवर्ण अवसर हो । म उहाँले सिकाएका कुरालाई फाइनलमा लागू गर्ने प्रयास गर्नेछु । हिजो उहाँको निर्देशनमा मैदानभित्र खेल्ने गर्थे, अहिले मैदानबाहिर खेल्ने अवसर मिलेको छ । यो प्रतियोगिता मेरो प्रशिक्षण करिअरमा अभ्यासको रूपमा रहेको छ,’ थ्री स्टारका प्रशिक्षक लामाले भने, ‘टोलीमा युवा खेलाडी छन् । एकअर्कासँग सँगै खेलेको अनुभव नभएकाले पहिलो खेलमा केही गाह्रो भयो । तर अहिले टोलीको तालमेल मिलिरहेको छ । केही कमी कमजोरीहरू छन् । त्यसलाई सुघार गर्दै फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रयास हुनेछ ।’

थ्री स्टार हालसम्म ६ फाइनल खेल्दा पाँच पटक आहा रारा गोल्डकप च्याम्पियन बनेको छ । आर्मीले यसअघिका चारवटै फाइनलमा पराजय बेहोरेको छ ।

थ्री स्टारका कप्तान विराज महर्जन टोलीमा तालमेल मिलिरहेकाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताउँछन् ।

‘विक्रमले मलाई कप्तानी जिम्मेवारी दिनुभएको छ । त्यो मेरा लागि गौरवको कुरा हो । तर, हामीले युवा खेलाडीलाई मौका दिइरहेका छौं । उनीहरूमा पनि नेतृत्व गर्ने क्षमता बढोस् भन्ने हाम्रो चाहना हो । अन्तिम समयमा मैदान छिरे पनि मैले सिनियर खेलाडीको हैसियतमा अभिभावकको भूमिका निर्वाह गरिहेको छु,’ थ्री स्टारका कप्तान विराजले भने ।

उनी टोलीमा सबै सकारात्मक सोचका खेलाडी रहेको सुनाउँछन् । ‘सबैमा केही गर्नुपर्छ भन्ने जोस छ । प्रतिद्वन्द्वी आर्मी राम्रो टोली हो । ऊ नियमित प्रशिक्षणमा छ । तर हामी पनि कमजोर छैनौं । फाइनल निकै रोमाञ्चक हुने अपेक्षा छ । उत्कृष्ट प्रदर्शन गर्दै फेरि उपाधि जित्ने छौं,’ विराजको दाबी छ ।

आर्मी बदलातिर, थ्री स्टार कीर्तिमानतिर 
त्रिभुवन आर्मी क्लब र थ्री स्टारले पछिल्लो पटक २०७५ को फाइनल खेलेका थिए । त्यसयता यी दुई टोली पहिलो पटक उपाधिसामु पुगेका हुन् ।

ट्रफीका साथ थ्री स्टारका कप्तान विराज महर्जन र आर्मीका कप्ता भरत खवास तस्विर सुदर्शन रञ्जित

त्यतिबेला आर्मीलाई पेनाल्टी शुटआउटमा ५-४ ले पराजित गर्दै थ्री स्टार पाँचौंपल्ट च्याम्पियन बनेको थियो । निर्धारित र अतिरिक्त समयमा २-२ गोल भएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको थियो ।

पाँच वर्षपछि फाइनलमा स्थान बनाएको आर्मी अघिल्लो पटकको हारको बदला लिँदै पहिलो पटक च्याम्पियन बन्ने होडमा छ । त्यसअघि आर्मी २०६५, २०६६, २०७२ सालको फाइनलमा पुगेर पराजित भएको थियो ।

यता, थ्री स्टार पनि आर्मीलाई हराएर सर्वाधिक आहा रारा गोल्डकप जित्ने कीर्तिमान बोकेका नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लबसँग बराबरी गर्न चाहन्छ । दुवै टोलीले समान ६ पटक उपाधि जितेका छन् ।

थ्री स्टार क्लब २०६३, २०६७, २०७९, २०७१ र २०७५ सालमा च्याम्पियन बनेको थियो । २०७४ को फाइनलमा भने थ्री स्टार क्लब नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।