जोजे मोउरिन्हो

बर्खास्तगीमा परेका माउरिन्हो जान्छन् कता ?

काठमाडौं । विश्व फुटबलका चर्चित प्रशिक्षक जोजे माउरिन्हो फेरि एक पटक क्लबबाट बर्खास्त भएका छन् । आफ्नो पहिलो सिजनमै एएस रोमालाई युइएफए कन्फरेन्स लिगको उपाधि दिलाएका माउरिन्हो इटालियन क्लबबाट बर्खास्तगीमा परेका हुन् । बर्खास्त गर्नुको एउटै कारण थियो, घरेलु लिग सिरी ‘ए’ मा गरिरहेको कमजोर प्रदर्शन ।

रोमा अहिले अंकतालिकाको नवौं स्थानमा छ । अर्को वर्षको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने हो भने रोमालाई बाँकी खेलहरूमा जितको विकल्प छैन । यसका लागि क्लबले पूर्वखेलाडी डानियल डी रोसीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिइसकेको छ ।

विश्व फुटबलमा जोजे माउरिन्हो ‘द स्पेसल वान’का रूपमा चिनिन्छन् । प्रशिक्षण करिअरको सुरुआती १० वर्षभित्रै उनले क्लब फुटबलमा जित्नुपर्ने सबै उपाधि जितेका छन् । यसबीच उनले एफसी पोर्टो, चेल्सी र इन्टर मिलानमा छँदा १७ उपाधि जितेका थिए । त्यसमा दुई च्याम्पियन्स लिग उपाधि पनि समावेश छ । त्यसैले पनि माउरिन्होलाई ‘स्पेसल’ भनिएको हो ।

माउरिन्होले रोमा पुग्नुअघि रियाल मड्रिड, म्यानचेस्टर युनाइटेड र टोटनहम हटस्परको जिम्मेवारी पनि सम्हालेका थिए । टोटनहमबाहेक अन्य क्लबहरूमा पनि माउरिन्हो उपाधि जित्न सफल नै रहे । यसबीच उनले दुई वर्ष पूर्वक्लब चेल्सी हेरेका थिए । उनी छँदा चेल्सीले पुनः एक पटक प्रिमियर लिगको उपाधि जितेको थियो ।

क्लबविहीन बनेसँगै बजारमा माउरिन्होको नयाँ गन्तव्यबारे चर्चा चलेको छ । उनी विवादमा आइरहनुपर्ने प्रशिक्षकमा पर्छन् । तर, एउटा कुरा माउरिन्हो जहाँ गएका छन् क्लबले उपाधि उचालेको इतिहास छ । त्यसैले पनि माउरिन्होलाई क्लबमा भित्र्याउन क्लबहरू लागि परेका हुन्छन् । रोमापछि माउरिन्होको नाम केही चर्चित क्लब तथा टिमसँग जोडिएको छ । यी हुन् सक्छ माउरिन्होको सम्भावित पाँच गन्तव्यः

१. म्यानचेस्टर युनाइटेड
एरिक टेन हागको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेड अहिले खराब लयबाट गुज्रिरहेको छ । इङ्ल्यान्डको सबैभन्दा सफल क्लब युनाइटेड घरेलु लिगको सातौं स्थानमा छ । च्याम्पियन्स लिगको समूह चरणमा पुछारमा रहँदा उसले युरोपा लिगको हैसियत पनि गुमाइसकेको छ । लिगका आगामी खेलमा पनि नतिजा आफ्नो पक्षमा नआउने हो भने टेन हाग बर्खास्तगीमा पर्ने निश्चित जस्तै छ ।

२०१६ मा म्यानचेस्टर युनाइटेडले मोउरिन्होलाई सार्वजनिक गर्दै

पछिल्लो पटक चिसो सम्बन्धका कारण माउरिन्होले युनाइटेड छाडेका थिए । तर, सर एलेक्स फर्गुसनले क्लब छाडेयता क्लबले कुनै ठूलो उपलब्धि हासिल गरेको थियो भने त्यो माउरिन्होले क्लब सम्हालेकै बेला हो । माउरिन्होको नेतृत्वमा युनाइटेडले २०१६–०१७ सिजनमा युरोपा लिग उपाधि जितेको थियो । त्यसको एक वर्षपछि युनाइटेडले दोस्रो स्थानमा रहँदै लिग टुंग्याएको थियो । सम्भावना न्युन रहे पनि वर्तमान परिस्थितिअनुसार माउरिन्हो पुनः युनाइटेडको जिम्मेवारीमा फर्कन सक्छन् ।

२. ब्राजिल

ब्राजिलियन फुटबल महासंघ (सिबिएफ)ले नयाँ प्रशिक्षकलाई हतार नगरेको भए माउरिन्हो ब्राजिलको नयाँ प्रशिक्षक बन्न सक्थे । ब्राजिली फुटबल कार्लो एन्सेलोट्टीलाई नेतृत्व सम्हाल्ने जिम्मेवारी दिने तयारीमा थियो । तर, एन्सेलोट्टीले केही वर्ष रियालमै बस्ने मनसाय बनाएपछि ब्राजिलले माउरिन्होलाई जिम्मेवारी दिने हल्ला चलेको थियो । तर, यो तत्कालका लागि सम्भव भने छैन । एक साताअघि मात्र डोरिभल जुनियर ब्राजिलको नयाँ प्रशिक्षकमा नियुक्त भएका थिए ।

यद्यपि यस वर्ष हुने कोपा अमेरिकामा उपाधि नजित्ने हो भने ब्राजिलले साओ पाउलोका पूर्वप्रशिक्षक जुनियरलाई प्रतिस्थापन गर्दै माउरिन्होलाई जिम्मेवारी दिन सक्छ । यस्तो किन पनि भने माउरिन्होले बजारमा एन्सेलोट्टीको चर्चा आउनुअघि नै ब्राजिलको प्रशिक्षक बन्ने इच्छा देखाएका थिए ।

३. इङ्ल्यान्ड

युरोपियन च्याम्पियनसिप २०२४ मा जे जस्तो नतिजा आए पनि इङ्ल्यान्ड नयाँ प्र्रशिक्षकको खोजीमा हुनेछ । आठ वर्ष भइसक्यो मुख्य प्रशिक्षक गारेथ साउथगेटले ‘थ्री लायन्स’को जिम्मेवारी सम्हालेको । तर, उनको नेतृत्वमा टोलीले कुनै उपाधि जित्न सकेको छैन । डेभिड बेकह्याम, स्टेभन जेरार्ड पुस्तापछि इङ्ल्यान्ड अहिले अर्को सुनौलो पुस्तामा रमिरहेको छ । तर, विगत जस्तै अहिले पनि टोली उपाधिविहीन छ । त्यसैले यो कुरा पक्का हो, नयाँ प्रशिक्षकले साउथगेटलाई प्रतिस्थापन गर्ने छन् नै ।

इङ्ल्यान्डका वर्तमान प्रशिक्षक ग्यारेथ साउथगेट

सन् २००७ मा माउरिन्होलाई इङ्ल्यान्डले मुख्य प्रशिक्षकमा नियुक्त गर्न कोसिस गरेको थियो । तर, त्यतिबेला माउरिन्होले क्लब फुटबलमै रहने मनसाय देखाएका थिए । अहिले क्लब फुटबलमा सबथोक जितिसकेका माउरिन्हो नयाँ अनुभव लिन चाहन्छन् । इङ्ल्यान्डले १९६६ यता कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको छैन, त्यसैले ‘प्रुभन विनर’ माउरिन्हो इङ्ल्यान्डका लागि राम्रो विकल्प हुनसक्छ ।

४. न्युक्यासल युनाइटेड

६ महिनाअघिको कुरा हो न्युक्यासलका प्रशिक्षक एडी होको चर्चा एकाएक चुलिएको थियो । दुई दशकमा पहिलो पटक क्लबलाई च्याम्पियन्स लिगमा छनोट गराएका हो अहिले ‘गर या मर’को स्थितिमा छन् । च्याम्पियन्स लिगबाट बाहिरिइसकेको न्युक्यासल अहिले प्रिमियर लिगको १०औं स्थानमा छ ।

न्युक्यासलसँग अहिले भरपूर पैसा छ । अथाह पैसा भएकै कारण न्युक्यासल खराब प्रदर्शनसँग सम्झौता गर्न चाहँदैन । न्युक्यासलको जिम्मेवारी लिए माउरिन्होलाई पनि गुमेको साख फर्काउने अवसर हुनेछ ।

न्युक्यासल युनाइटेडका वर्तमान प्रशिक्षक एडी हो

५. साउदी प्रो लिग

सबैलाई थाहा भएको कुरा हो, सिजनको सुरुआतमै माउरिन्होलाई साउदीका केही क्लबले अनुबन्धको प्रयास गरेको थियो । माउरिन्होले पनि कुनै बेला भनेका थिए, ‘कुनै दिन साउदी अरेबियामा काम गर्ने मन छ । साउदीको ढोका सधैं खुला रहनेछ ।’ 

उनले एएफसी च्याम्पियन्स लिग जित्ने मनसाय पनि प्रकट गरेका थिए । जब उनका पूर्वक्लब खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी पुगेका थिए, सबैले प्रश्न उठाएका थिए । तर, यसै सिजनमात्र करिअरको उत्तरार्धमा रहेका अधिकांश खेलाडी साउदी पुगे । यसबीच नाम कहलिएका युवा स्टार पनि साउदी पुगेका छन् । यस्तोमा आगामी वर्षहरूमा साउदी प्रो लिगको महत्व अझ बढ्ने अनुमान गर्न सकिन्छ । माउरिन्होले अल नासरको बाहेक अरू चुनौतीपूर्ण प्रस्तावहरू हात पार्न सक्छन् । किनभने रोनाल्डो र माउरिन्होलाई एकै ठाउँमा राख्नु भनेको पैसाको खोला बगाउनु हो । जुन अल नासरले तत्काल यो कुरा गर्न चाहँदैन । 

(एजेन्सीको सहयोगमा)