नेपाल सुपर लिग

‘रोलर कोस्टर’पछिको यो फाइनल

काठमाडौं । ‘रोलर कोस्टर’ मा कति धेरै सनसनी हुन्छ, त्यसमा बसेकाहरूलाई थाहा हुन्छ । अझ हेर्दा नै पुग्छ बुझ्नमात्र । यसमा एकपल्ट माथि नै पुगिन्छ, तल पनि आइन्छ । त्यो पनि एकै क्षणमा ।

यो ‘रोलर कोस्टर’ को चर्चा किनभन्दा ललितपुर सिटी एफसीका प्रशिक्षक इयान एन्ड्रयु गिलानले एउटा प्रश्नमा ठ्याक्कै यही उत्तर दिएका थिए । प्रश्न थियो त, ललितपुरको नेपाल सुपर लिगको फाइनल यात्रा कस्तो रह्यो ?

त्यसको आशय त यही (रोलर कोस्टर) जस्तै रह्यो नि ललितपुर सिटी एकपछि अर्को उतारचढाव सहँदै दोस्रो नेपाल सुपर लिगको फाइनल पुगेको हो ।

पोखराविरुद्धको त्यस खेलमा धनगढी एकपल्ट होइन, दुईपल्ट होइन, तीनपल्ट पछाडि परेको थियो । सुरुमा १-० ले । त्यसपछि २-१ ले । अन्त्यमा टाइब्रेकरमा ३-२ ले । तर तीनै अवसरमा टिम खेलमा फर्कन सफल रह्यो । 

आज प्रतियोगिताको फाइनल । दशरथ रंगशालामा हुने यो उपाधिको भिडन्तमा छन् यही ललितपुर सिटी र धनगढी एफसी । धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराएको थियो ।

संयोग कस्तो भने जुन टिमले निर्णायक मोडको प्लेअफ खेलमा पोखरालाई हरायो, त्यही टिम फाइनल पुग्यो । ललितपुरले भने दोस्रो क्वालिफायरमा उही पोखरालाई हराएको हो । धनगढीको फाइनल यात्रा पनि ठ्याक्कै ‘रोलर कोस्टर’ नै रह्यो ।

पोखराविरुद्धको त्यस खेलमा धनगढी एकपल्ट होइन, दुईपल्ट होइन, तीनपल्ट पछाडि परेको थियो । सुरुमा १-० ले । त्यसपछि २-१ ले । अन्त्यमा टाइब्रेकरमा ३-२ ले । तर तीनै अवसरमा टिम खेलमा फर्कन सफल रह्यो । सबैभन्दा पहिले निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगियो । त्यसपछि अतिरिक्त समयको खेल २-२ मा पुग्यो । टाइब्रेकरमा भने धनगढी ४-३ ले विजयी रह्यो । यो खेलपछि धनगढीका प्रशिक्षक युगलकिशोर राईले माने, ठूलै राहत पो मिल्यो यो जितमा ।

यो खेल पूरा प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट रह्यो । अझ सके पछिल्लो समय जहाँसम्म सम्झनामा रहन्छ, दशरथ रंगशालामा भएको एक उत्कृष्ट खेल । यस्तो खेलको विशेषता कस्तो हुन्छ भने जित्ने टिममा अपार खुसी छाउँछ । हार्नेमा त्योभन्दा धेरै दुःख ।

पोखरा थन्डर्स दोस्रो क्वालिफायरमा हारेको पनि त्यही हारको पीडामुक्त हुन नसकेकाले त हो । जेहोस्, फाइनलअगाडि त्यही जितमा टिकेर धनगढी सकारात्मक रहनेछ । टोलीलाई हुने सबैभन्दा ठूलो फाइदा हो, चार दिनको आराम ।

यो खेल सोमबार भएको थियो । फाइनल हुँदै छ शनिबार । यस्तोमा धनगढीसँग सबैभन्दा बलियो पक्ष चार दिन आराम लिएर ताजा महसुस गरिरहेका खेलाडी हुनेछन् । यो तथ्य त ललितपुर सिटीका कप्तान अनन्त तामाङले पनि मज्जाले बुझेका छन् । त्यसैले भनेका छन्, ‘यसरी लगातार फुटबल खेल्नु त खेलाडीका लागि अन्याय हो । मेरो अनुरोध छ, खेलाडीलाई यति धेरै व्यस्त पनि नराख्नु ।’ त्यसको अर्थ हो, ललितपुरका खेलाडीलाई आराम भन्ने नै हुने छैन ।

सुरुमा काठमाडौं रेजर्समाथि ३ गोलको उत्कृष्ट जित निकाल्यो, त्यसपछि पोखरालाई माथ दियो । त्यो पनि १० खेलाडीमा सीमित रहेर ।

ललितपुरको पछिल्लो खेल बिहीबार थियो अनि फाइनल शनिबार । जम्मा एक दिनको आराम । ललितपुरलाई ताजा महसुस गरिरहेका खेलाडी तयार पार्न गाह्रो हुनेछ । सायद त्यही भएर होला, ललितपुरसँग तीन जना फिजियो छन् । उनीहरूले दिनरात २४ घण्टै काम गरिरहेका छन् । त्यसो भए लतिलपुरको एक बलियो पक्ष के त ? यो हो, लय । अझभन्दा ‘मोमेन्टम’ । लिग चरणमा टोलीका लागि खासै राम्रो रहेन । चौथो स्थानमा रहेर ललितपुर प्लेअफमा पुगेको हो ।

तर, त्यहाँ पुगेपछि ललितपुरले मज्जाले खेलेको छ । सुरुमा काठमाडौं रेजर्समाथि ३ गोलको उत्कृष्ट जित निकाल्यो, त्यसपछि पोखरालाई माथ दियो । त्यो पनि १० खेलाडीमा सीमित रहेर । टोलीले यसअघि काठमाडौं र पोखरा दुवैलाई हराएकै थिएन । तर, लगातार दुई टिमविरुद्ध पहिलो जित निकाल्यो । यही त हो लय भनेको ।

त्यस अर्थमा फाइनल हुनेछ फरक बाटोबाट आएका दुई उत्कृष्ट टिमको । त्यो भनेको धनगढी भर्सेस ललितपुर । अझ भन्दा ‘रोलर कोस्टर’ पछिको फाइनल । जसले जिते पनि नेपाल सुपर लिगले नयाँ च्याम्पियन पाउने छ । ७० लाख रुपैयाँ पुरस्कार जित्नेछ । जुन अघिल्लो संस्करणभन्दा डबल पनि हो ।