मंसिर १९, २०८२ शुक्रबार | ०३:१८:२६
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट
शनिबारको दिन सहिद स्मारक लिग

चटारो लिगको, वाचा अलपत्र

महत्वाकांक्षी चर्का नारासहित अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व हत्याएको वर्तमान कार्यसमितिको कार्यकाल अब ६ महिना पनि बाँकी छैन । तर देशभरको फुटबललाई पुनर्संरचना गर्ने उनीहरूको वाचा भने जस्ताको तस्तै छ ।

२०७२ सालको भुँइचालोले देशकै एकमात्र दशरथ रंगशाला चिरा पारेपछि पछिल्ला केही वर्षदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिगका साथै राष्ट्रिय लिग हुन सकेको थिएन । लामो समयदेखिको लिगेसी तोड्दै नेपाली फुटबलको सर्वोच्च निकायमा प्रवेश गर्दा कर्माछिरिङ शेर्पा नेतृत्वको टोलीले लिग सबैभन्दा पहिलो प्राथमिकतामा पर्ने वाचा गरेको थियो ।

सँगै मोफसलका प्रतियोगितालाई पुनर्संरचना गर्ने नारा पनि चर्को रूपमा घन्काइएको थियो । तर, सबैभन्दा बढी महत्व पाउनुपर्ने मैदानभित्रको फुटबल अहिले सबैभन्दा बेहाल अवस्थामा छोडिएको छ । मोफसलका प्रतियोगिताहरू उस्तै भद्रगोल अवस्थामा छन् । राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने लिग त नेतृत्वका लागि झारो टार्ने कर्मकाण्डमै सीमित भएको छ ।

ठुल्ठूला नारा घन्काएर आएको नेतृत्वले लिगको मर्ममै प्रहार गर्दै बिना रेलिगेसन सुरु गरेको सहिद स्मारक लिग कार्यकाल सकिन लाग्दा प्राविधिक रूपमा पुरानो अवस्थामा आइपुगेको छ । अर्थात यसपालिबाट बल्ल शीर्ष डिभिजनको लिगमा दुई टोली रेलिगेसनमा पर्ने तथा ‘बी’ डिभिजनबाट दुई टोली बढुवा हुने व्यवस्था लागु हुँदै छ ।

तर, अघिल्ला कार्यकालमै विजेताले १ करोड रुपैयाँ पुरस्कार पाउन थालिसकेको लिगमा बल्ल यसपालि च्याम्पियन टोलीलाई ७५ लाख रुपैयाँ प्रदान गरिने भएको छ । पुरस्कारको दृष्टिमा त अझै नेपाली लिग पश्चगमनमै छ ।

कार्यकाल सकिँदा पनि पुरानै अवस्थामा किन पुग्न सकेन लिग ? दोहोरो राउन्ड रोबिन लिगको अभ्यास भइसकेको नेपालमा भर्खर आएर एकोहोरो राउन्ड रोबिन लिग आयोजना गरेर नेतृत्वले ठूलो काम गरें भनेर डंका पिट्न मिल्छ ?

कोभिड १९ महामारीका कारण गत वर्ष हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट २०७६ सालमा पुछारको एक टोलीलाई मात्र रेलिगेसनमा पारिएको थियो । त्यो बेला पुछारमा सीमित सरस्वती क्लबले शीर्ष डिभिजनको हैसियत गुमाएको थियो । २०७५ सालमा शेर्पा कार्यसमितिको नेतृत्वमा पहिलो पटक लिग हुँदा रेलिगेसनको प्रावधान नै थिएन ।

कार्यकाल सकिँदा पनि पुरानै अवस्थामा किन पुग्न सकेन लिग ? दोहोरो राउन्ड रोबिन लिगको अभ्यास भइसकेको नेपालमा भर्खर आएर एकोहोरो राउन्ड रोबिन लिग आयोजना गरेर नेतृत्वले ठूलो काम गरें भनेर डंका पिट्न मिल्छ ?

लिग निर्देशक सञ्जीव मिश्र भन्छन्, ‘कोभिड १९ महामारीको प्रभावले गर्दा विश्वभर नै खेलसंख्या घटाइएको छ । महामारीका कारण फुटबल सिजन नै ढिलो सुरु गर्नुप¥यो । त्यसको प्रभावस्वरुप डबल लिग गर्न सकिएन ।’

उनका अनुसार डबल लिग गर्न नसके पनि एन्फाले सिंगल लिग खेलाएपछि शीर्ष आठ टिमलाई च्याम्पियन्स लिग र पुछारका ६ टिमलाई रेलिगेसन लिग खेलाउने योजना बनाएको थियो । तर सुरुमा सहमति जनाएका क्लबहरूले पछि लामो लिग खेल्न अस्वीकार गरेका कारण सिंगल लिग गर्नुपरेको हो ।

‘क्लबहरूसँगको पहिलो बैठकमा माइन्युट नै गरिसकेका थियौं । अर्को बैठकमा क्लबहरूले लामो लिग खेल्न असमर्थता जनाउँदै अनुरोध गरेपछि सिंगल लिग गर्न लागेका हौं,’ मिश्रले भने ।

अन्तर्राष्ट्रिय क्यालेन्डरबाहेक मैदानभित्रको फुटबल निष्क्रिय भए पनि मैदानबाहिर भने फुटबल निकै सक्रिय छ । एन्फाका शीर्ष पदाधिकारीदेखि क्लब र जिल्लासम्मका अधिकारीहरूलाई आगामी वैशाखमा हुने चुनाव रौनक लागिसकेको छ । प्रत्येक दिन फरक गुटका चुनावकेन्द्रित भेला र छलफलहरू भइरहेका छन् ।

तर मैदानभित्रको फुटबलको हकमा भने डेढ वर्षे कोभिड महामारीको बहाना गरेर चारवर्षे कार्यकाल एन्फाले खेर फालिसकेको छ ।

डेढ वर्षे कोभिडको बहाना गरेर चारवर्षे कार्यकाल खेर फाल्न पाइन्छ त ?

मिश्र तर्क गर्छन्, ‘स्थापित भएको ठाउँमा डेढ वर्षले केही असर गर्दैन । तर नेपालमा संस्था स्थापित थिएन । भुँइचालोले पूर्वाधार भत्किएका थिए । महत्वाकांक्षी नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने आधार थिएन । सबथोक व्यवस्थित गर्ने क्रममा नेपालजस्तो देशमा त्यो डेढ वर्षले पनि चार/पाँच वर्ष बिथोल्छ ।’

लिग यसै महिनाबाट

१४ टिमको सहभागिता रहने शीर्ष डिभिजनको लिग यो वर्ष कात्तिक २९ गते सुरु गर्ने एन्फाले घोषणा गरेको छ । राउन्ड रोबिन पद्दतिमा हुने लिगमा सबै टोलीले एक-अर्कासँग एक पटक प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले ७५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५० लाख तथा तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । तर, त्यसपछिका टोलीले भने नगद पुरस्कार पाउने छैनन् । विगतमा शीर्ष ६ टोलीले नगद पुरस्कार पाउने गरेका थिए ।

विदेशी खेलाडीको हकमा भने एक पटकमा दक्षिण एसियाका एकसहित चारसम्म खेलाडीलाई मैदान उतार्न पाउने व्यवस्था गरिएको छ ।

विगतको तुलनामा यसपालि व्यक्तिगत पुरस्कारमा परिवर्तन गरिएको छ । विगतमा उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, रक्षक, गोलकिपर, प्रशिक्षक र सर्वोकृष्ट खेलाडी गरी ६ जना व्यक्तिगत पुरस्कारको हकदार बन्ने गरेकामा यसपालि भने तीन खेलाडीमात्र पुरस्कृत हुनेछन् । प्रशिक्षकको विधा हटाइएको छ ।

लिग निर्देशक मिश्रका अनुसार अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडी गोल्डेन बल, उत्कृष्ट गोलकिपर गोल्डेन ग्लोभ्स, उत्कृष्ट युवा खेलाडी राइजिङ प्लेयरको उपाधिबाट विभूषित हुनेछन् । उनीहरूले पाउने पुरस्कारबारे भने निर्णय भइसकेको छैन ।

फागुन १४ सम्म चल्ने लिगका लागि यसपालि तयारी खर्चस्वरुप सबै सहभागी टोलीले २० लाख रुपैयाँका दरले पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार पाउनेछन् । पुरस्कारमा कटौती गरे पनि सहभागी सबै टिमलाई म्याच फी दिइने मिश्रले बताए । उनका अनुसार वागमती प्रदेश सरकारको प्रायोजनमा प्रत्येक खेलमा जित्ने टिमले ५० हजार रुपैयाँ थप पाउनेछ भने बराबरी भए दुवै टिमले २५-२५ हजार रुपैयाँ पाउनेछन् ।

विदेशी खेलाडीको हकमा भने एक पटकमा दक्षिण एसियाका एकसहित चारसम्म खेलाडीलाई मैदान उतार्न पाउने व्यवस्था गरिएको छ ।

राष्ट्रिय लिग नहुने

वर्तमान नेतृत्वले चुनावअघि उठाएको अर्को चर्को नारा राष्ट्रिय लिगको थियो । तर कार्यन्वयनमा उदासीनताका कारण राष्ट्रिय लिगको नारा झनै अलपत्र परेको छ । यही कार्यकालमा राष्ट्रिय लिग सुरु हुने सम्भावनासमेत टरेको छ ।

एन्फाले गएको भदौ ३० देखि राष्ट्रिय लिग गर्ने घोषणा गरेको थियो । तर कोभिडको बहानामा अझैसम्म त्यो सुरु हुन सकेको छैन । भदौमा सुरु नभएको राष्ट्रिय लिगको नयाँ मिति पनि तोकिएको छैन ।

‘एन्फाकै कार्यक्रमअनुसार फागुन मध्यसम्म सहिद स्मारक ‘ए’ डिभिजन लिग हुनेछ । त्यसपछि वैशाखमा त एन्फाको चुनाव गर्नुपर्छ । राष्ट्रिय लिग कहिले गर्ने ?’ एन्फाका एक वरिष्ठ पदाधिकारीले भने, ‘अब यो कार्यकालमा राष्ट्रिय लिग सम्भव छैन ।’

सहिद स्मारक ‘ए’ डिभिजन लिगका शीर्ष ६ टोलीसँग मोफसलका चार टिम मिसाएर होम एन्ड अवे पद्दतिमा प्रतिस्पर्धा गराउने अवधारणा थियो राष्ट्रिय लिग । त्यसैका लागि एन्फाले प्रदेशका टिम छान्न एन्फा प्रेसिडेन्ट्स कप आयोजना गरेको थियो ।

सात प्रदेशका च्याम्पियन क्लबहरूबीच गराइएको प्रेसिडेन्ट्स कपबाट गण्डकीको त्रिवेणी युथ क्लब, प्रदेश २ को मनकामना युथ क्लब, लुम्बिनी प्रदेशको धम्बोजी स्पोर्टस क्लब र सुदूरपश्चिमको स्टार सिटी क्लब राष्ट्रिय लिगलाई छानिएका थिए ।

प्राविधिक रूपमा अब राष्ट्रिय लिग सम्भव छैन । सहिद स्मारक लिग सुरु भइसक्यो । अब फागुनपछि वैशाखअघि राष्ट्रिय लिग गर्ने हो भने पनि त्यतिबेलासम्म सहिद स्मारक लिगको शीर्ष ६ मा नयाँ टिम आइसक्छन् ।

‘तर एन्फा केन्द्रको अकर्मण्यताका कारण जिल्ला, प्रदेश र प्रेसिडेन्ट्स कप हुँदै छानिएका चार टोलीले राष्ट्रिय लिगको गन्तव्य पाउने सम्भावना रहेन,’ एन्फाका एक उच्च अधिकारी भन्छन् ।

ती अधिकारीका अनुसार प्राविधिक रूपमा अब राष्ट्रिय लिग सम्भव छैन । सहिद स्मारक लिग सुरु भइसक्यो । अब फागुनपछि वैशाखअघि राष्ट्रिय लिग गर्ने हो भने पनि त्यतिबेलासम्म सहिद स्मारक लिगको शीर्ष ६ मा नयाँ टिम आइसक्छन् ।

‘जसले गर्दा कसलाई राष्ट्रिय लिगमा सहभागी गराउने भन्ने विवाद हुन्छ । त्यसैले यो वर्षलाई राष्ट्रिय लिग सम्भव छैन,’ उनले भने ।

कानुनी उपचार खोज्ने क्लबको तयारी

राष्ट्रिय लिगको मिति घोषणा नहुँदा यसका लागि छनोट भएका टिमहरू अन्योलमा रहेको प्रेसिडेन्ट्स कप च्याम्पियन स्टार सिटी क्लबका अध्यक्ष कुमार शाहीले बताए ।

एन्फाका पदाधिकारीहरूले अझै पनि फागुनमा राष्ट्रिय लिग गर्ने मौखिक आश्वासन दिए पनि औपचारिक घोषणा नगर्दा तयारीका लागि आफूहरूलाई अप्ठेरो परेको उनको भनाइ थियो ।

‘राष्ट्रिय लिगको विषयमा हामी अझैसम्म अन्योलमा छौं । एन्फाको आन्तरिक किचलोमा हामी साँढेको जुधाइ बाच्छोको मिचाइ भएजस्तो लाग्छ,’ शाहीले भने, ‘एन्फाले राष्ट्रिय लिगको मिति घोषणा गरे तयारी गर्न हामीलाई सजिलो हुन्थ्यो । प्रायोजक खोज्ने, विदेशी खेलाडी खोज्ने, स्थानीयको प्रशिक्षण सुरु गर्नेलगायतका काम ढुक्कसँग गर्न पाइन्थ्यो । तर, एन्फाले घोषणा नगर्दा एकदमै अन्योल भएको छ ।’

२०७६ सालमा जिल्ला लिग खेलेका टोलीहरूले प्रदेश लिग खेलिसकेपछि कोभिड महामारीका कारण एक वर्ष आरामपछि गत चैतमा मात्र प्रेसिडेन्ट्स कप खेल्न पाएका थिए । त्यसपछि राष्ट्रिय लिगका लागि अर्को एक वर्ष कुर्नुपर्दा आर्थिक रूपमा ठूलो मार परेको शाही गुनासो गर्छन् ।

‘राष्ट्रिय लिगलाई भनेर स्थानीय खेलाडी अनुबन्ध गरेर राखेका छौं । जिल्लाका क्लबहरूलाई पदाधिकारीले घरखेत बेचेर चलाउनुपर्छ । एउटा प्रतियोगिता खेल्नका लागि दुई वर्षदेखि प्रक्रियामै समय बिताइरहेका छौं । ठूलो लगानी भइसकेको छ,’ उनले थपे, ‘यस्तो अवस्थामा राष्ट्रिय लिग नै हुने कि नहुने भन्ने अझैसम्म टुंगो नहुनु दुर्भाग्यजनक हो । राष्ट्रिय लिग भएन भने कानुनी बाटो पनि खोज्नुपर्ने हुनसक्छ । एन्फाले कि राष्ट्रिय लिग गराउनुपर्छ नत्र सबै क्षतिपूर्ति दिनुपर्छ । राष्ट्रिय लिग नगर्ने हो भने जिल्ला, प्रदेश लिग र प्रेसिडेन्ट्स कप गरेको नौटंकीजस्तो भएन र ?’

मोफसलका क्लबले राष्ट्रिय लिग र ‘ए’ डिभिजन लिग सँगै गर्दा सबै खेलाडीको रोजाइमा ‘ए’ डिभिजन लिग पर्ने भएकाले दुई ठूला लिग नजुधाउन अनुरोध गरेका थिए ।

एन्फाले राष्ट्रिय लिग आयोजनाका लागि भन्दै जिल्लाबाट छानिएका चार क्लबका प्रतिनिधिलाई काठमाडौं बोलाएर एउटा बैठक पनि गरेको थियो । एन्फाले ‘ए’ डिभिजन र राष्ट्रिय लिग सँगै गर्ने प्रस्ताव गरेको थियो । जसलाई मोफसलका चारै क्लबले एकै स्वरमा अस्वीकार गरेका थिए ।

मोफसलका क्लबले राष्ट्रिय लिग र ‘ए’ डिभिजन लिग सँगै गर्दा सबै खेलाडीको रोजाइमा ‘ए’ डिभिजन लिग पर्ने भएकाले दुई ठूला लिग नजुधाउन अनुरोध गरेका थिए ।

‘खेलाडीले लामो समयको मान्यता भएका सहिद स्मारक लिगका क्लब रोज्नु स्वाभाविक हो । त्यसैले हामीलाई पनि कि लामो समयको मान्यता दिनुस्, नत्र लिग नजुधाउनुस् हामीले भन्यौं । उहाँहरूले हुन्छ, समय मिलाएर गर्ने भन्नुभयो । तर अहिलेसम्म मिति तोक्नुभएको छैन,’ शाहीले खेलाडीसँग भने ।