नेपाल सुपर लिग

नेपाल सुपर लिगः ९ टोलीका मार्की खेलाडी कस्ता ?

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण मंसिर ८ देखि सुरु हुँदै छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले यस संस्करणमा ९ टोलीको सहभागिता गराउँदै छ । अन्तिम समयमा विराटनगर सिटी एफसीले असन्तुष्टिबीच नाम फिर्ता लिएपछि १० टोली सहभागी गराउने आयोजकको योजना असफल भएको छ ।

अघिल्लो संस्करण खेलेका ५० भन्दा बढी खेलाडी रोजगारी खोज्दै अस्ट्रेलियासहित विभिन्न देश पुगेका छन् । यसपालि नयाँ खेलाडीको बाहुल्यता हुने पक्का छ । अघिल्लो संस्करण मार्की रहेका विशाल श्रेष्ठ, विकेश कुथु र अञ्जन विष्ट मात्रै यसपल्ट हुनेछन् । 

सहिद स्मारक लिग ‘ए’ डिभिजनका ८ क्लबको विरोध र अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको राजनीतिमा एनएसएल मुछिन पुग्दा दोस्रो संस्करण पटक–पटक मिति तोक्दै सरेको थियो ।

निरन्तर आयोजना भएको भए यसपालि चौथो संस्करण तयारी हुने थियो । तर, विभिन्न विवादबीच प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । दशरथ रंगशालामा हुने उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

धनगढी एफसीका आशिष चौधरी र च्याम्पियन काठमाडौं रेजर्सका हिसुब थपलिया मार्कीमा नयाँ अनुहार हुन् ।

तर, दोस्रो संस्करण हुनैलाग्दा माहोल भने पहिलो संस्करणको जस्तो हुन सकेको छैन । सहभागी टोलीले कुनै चासोका प्रतियोगितालाई लिएका छैनन् । बढ्दो आर्थिक संकट प्रतियोगितामा समेत पर्ने देखिन्छ ।

अघिल्लो संस्करण मार्की खेलाडी अनुबन्धमै क्लबहरूको ठूलो प्रतिस्पर्धा र चहलपहल थियो । ठुल्ठूला होटलमा कार्यक्रम आयोजना गरिएको थियो । तर, यसपालि ९ टोलीले नै मार्की खेलाडी अनुबन्ध र सार्वजनिक गर्न सामाजिक सञ्जालको प्रयोग गरेका छन् । क्लबहरू सकभर पैसा खर्च नगर्ने मुडमा छन् ।

अघिल्लो संस्करण खेलेका ५० भन्दा बढी खेलाडी रोजगारी खोज्दै अस्ट्रेलियासहित विभिन्न देश पुगेका छन् । यसपालि नयाँ खेलाडीको बाहुल्यता हुने पक्का छ । अघिल्लो संस्करण मार्की रहेका विशाल श्रेष्ठ, विकेश कुथु र अञ्जन विष्ट मात्रै यसपल्ट हुनेछन् । धनगढी एफसीका आशिष चौधरी र च्याम्पियन काठमाडौं रेजर्सका हिसुब थपलिया मार्कीमा नयाँ अनुहार हुन् । अधिकांश खेलाडी अस्ट्रेलिया पुग्दा उमेर हदका कारण केही खेलाडी मार्की त परको कुरा श्रेणी ‘बी’ मा झरेका छन् ।

यस्ता छन् ९ क्लबका मार्की खेलाडी ?

विकेश कुथुः स्पोर्टिङ इलाम एफसी 


विकेश साबिक च्याम्पियन काठमाडौं रेजर्सबाट बिदाइ लिँदै नयाँ टोली इलाम पुगेका छन् । गत सिजन काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो । उनी टोलीको मार्की र कप्तान दुवै भूमिकामा थिए । धगनढीविरुद्ध प्लेअफबाहेक फाइनलसहित ८ खेल खेलेका थिए । तेज तामाङ अस्ट्रेलिया पुगेपछि इलामले विकेशलाई रोजेको हो । यसपालि इलामले सिन्धुपाल्चोकका यी खेलाडीबाट ठूलो आस राखेको छ ।

अञ्जन विष्टः झापा एफसी 


पहिलो पटक एनएसएल खेल्ने तयारीमा रहेको झापाले अनुभवी अञ्जन विष्टलाई मार्की खेलाडी बनाएको छ । दोस्रो संस्करणको पहिलो अक्सनमा पनि अञ्जन झापामै थिए । नेपाली फुटबलको उर्वरभूमिको माहोललाई हेटौैंडाका अञ्जनले तताउने क्लबको बुझाइ छ । अञ्जन नेपालमा रहेका एट्याकरमध्ये उत्कृष्ट एकमा गनिन्छन् । उनी हरि खड्का र नीराजन रायमाझीको राष्ट्रिय टोलीमा सर्वाधिक १३ गोलको कीर्तिमान तोड्ने लक्ष्यमा छन् । राष्ट्रका लागि १२ गोल गरिसकेका अञ्जनले पहिलो संस्करण ललितपुर सिटी एफसीबाट खेलेका थिए । मार्की खेलाडी रहेका अञ्जन प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएका थिए ।

दीप कार्कीः वीरगन्ज युनाइटेड एफसी


विशेषतः मधेशतर्फ फुटबल माहोल फर्काउने योजनासहित वीरगन्ज युनाइटेड एफसी एनएसएलमा होमिँदै छ । पछिल्लो समय शीर्ष डिभिजनमा विशेषतः मधेशबाट प्रतिनिधित्व गर्ने क्लब नै छैन । यस्तो अवस्थामा वीरगन्जको योजना नै त्यहाँको बालबालिकालाई फुटबलको माध्यमबाट अगाडि बढाउने छ । वीरगन्जको यो योजनालाई राष्ट्रिय टोलीका गोलकिपर दीप कार्कीले साथ दिनेछन् । गत सिजन पोखराबाट खेलेका दीपले ६ खेल नै पूरा खेलेका थिए । दीपको नाममा तीन क्लिनसिट छ ।

विशाल श्रेष्ठः एफसी चितवन


गोलकिपर विशाल श्रेष्ठ एफसी चितवनको मार्की हुन् । गत सिजन चितवनको मार्कीमा स्ट्राइकर भरत खवास थिए । यसपटक आइएमइ ग्रुपको  स्वामित्वमा रहेको चितवनले घरेलु फुटबलमा लगातार सफल गोलकिपर विशाललाई रोजेको छ । गत सिजन बुटबल लुम्बिनीका मार्की र कप्तानी भूमिका खेलेका पिशालले ७ खेल खेलेका थिए ।

हिसुब थपलियाः काठमाडौं रेजर्स


साबिक विजेता काठमाडौंले आफ्नो मार्की खेलाडीमा नयाँ नाम हिसब थपलियालाई रोजेको छ । म्यानमारविरुद्ध डेब्यु गर्दै हिसुबले राष्ट्रिय टोलीबाट दुई खेल खेलेका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेलबाट उत्कृष्ट प्रदर्शन गरेपछि हिसुबको चर्चा चुलिएको थियो । पहिलो सहभागितामै हिसुब एनएसएल टोली काठमाडौंको मार्की बनेका हुन् ।

अनन्त तामाङः ललितपुर सिटी एफसी


गत सिजन घाइते भएपछि एनएसएल खेल्न नपाएका रक्षक अनन्त तामाङ दोस्रो संस्करण ललितपुर सिटीको मार्की भएका छन् । गत सिजनका अञ्जन विष्टले टोली छाडिसके । विमल घर्तीमगर मार्की हुने चर्चा चले पनि सुखद भविष्यको खोजीमा उनी अस्ट्रेलिया पुगे । नेपाली फुटबलमा राम्रो रक्षकको भूमिका निर्वाह गरिरहेका अनन्त डेब्यु प्रतियोगितामा सानदार प्रदर्शन गर्ने लक्ष्यमा छन् ।

आयुष घलान   –पोखरा थन्डर्स


गतसिजन सुजल श्रेष्ठ पोखरा थन्डर्सको मार्की थिए । तर, अन्तिममा घाइते हुँदा नवयुग श्रेष्ठ कप्तान र मार्की दुबै रहे । यसपटक दुबै खेलाडी पोखरासँग आबद्ध छैनन् । सुजल त अस्ट्रेलिया पुगेका छन् । पहिलो संस्करण पोखरा थन्डर्सबाट उदायका आयुष घलान दोस्रो संस्करणको मार्की बनेका छन् । पोखराबाट घरेलु फुटबलमा उदायका आयुष सिधै राष्ट्रिय टोलीमा छनोट भएका थिए । त्यसपछि फर्केर पछि हेर्न परेको छैन । पोखराले चार खेलाडीबाट आयुषलाई अक्सनको अघिल्लो रातमात्रै मार्कीमा छनोट गरेको हो ।

 

एरिक विष्टः बुटवल लुम्बिनी एफसी


२३ वर्षीय एरिक विष्टलाई बुटवल लुम्बिनी एफसीले मार्की बनाएको छ । सहिद स्मारक लिग ‘ए’ डिभिजनमा चर्च ब्याइज युनाइटेड डेब्यूमै च्याम्पियन बन्दा एरिकले महत्त्वपूर्ण योगदान गरेका थिए । गत सिजन एरिकले ललितपुर सिटीबाट खलेका थिए । जहाँ पूरा सात खेल खेलेका थिए । बुटवल लुम्बिनीले गत सिजन प्लेअफ खेलेको थियो । टोलीको मार्की खेलाडीको रूपमा गोलकिपर विशाल श्रेष्ठ रहेका थिए ।  

आशिष चौधरीः धनगढी एफसी 


नेपाली राष्ट्रिय टोलीका २३ वर्षीय स्ट्राइकर आशिष चौधरी धनगढी एफसीको नयाँ मार्की हुन् । गत सिजनका विशाल राई अस्ट्रेलिया पुगेका छन् । जसका कारण क्लबले आशिषलाई डेब्यू गराउन लागेको हो । आशिष सहिद स्मारक लिग ‘ए’ डिभिजनमा चर्च ब्याइज युनाइटेडबाट  खेल्ने गर्छन् । चर्च ब्वाइज डेब्यू सिजनमै लिग च्याम्पियन बन्दा आशिषले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।  सन् २०२२ को सेप्टेम्बर २७ मा बंगलादेशविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका लागि डेब्यू गरेका आशिषले ६ खेल खेलेका छन् ।