काठमाडौं । नेपालले गत वर्ष पुरुष तथा महिलाका उमेर समूहका विभिन्न ८ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाएको थियो ।
साफ यु-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाल यु-१७ पुरुष र महिला साफ च्याम्पियनसिपमा उपविजेता बन्यो । यु-२० मा पनि पुरुष र महिला टोलीले साफ च्याम्पियनसिप र एसियन कप छनोट खेले । दुवै टोलीको यात्रा औसतमा रह्यो ।
आफ्नो एकेडेमी नभएको र भएका एकेडेमीबाट समेत उत्कृष्ट खेलाडी उत्पादन गर्न चुकिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राथमिकतामा नरहँदा गत वर्षमात्र देशलाई विभिन्न उमेर समूहमा प्रतिनिधित्व गरेका कुनै पनि टोलीका खेलाडी अहिले निरन्तर प्रशिक्षणमा छैनन् ।
त्यसो त अन्तर्राष्ट्रिय प्रतियोगिता आउनु केही साताअघि मात्र उमेर समूहको प्रतियोगिताका लागि खुला छनोटमार्फत खेलाडी छनोट गर्ने ‘कर्मकाण्डी’ पद्धति नेपालमा नौलो होइन ।
एन्फाले विगतमा एन्फा एकेडेमीका उत्पादित खेलाडीबाट यु-१४ बाटै टिम निर्माण प्रक्रिया सुरु गर्थ्यो । किशोर खेलाडीलाई देशभित्र आफैले आयोजना गर्ने र विदेशमा हुने उमेर समूहका प्रतियोगिताहरू खेलाएर प्रतिभा निर्खाने गरिन्थ्यो ।
नेपाली टोलीले १४ र १६ वर्षमुनिको प्रतिस्पर्धामा भारतको प्रतिष्ठित सुब्रतो मुखर्जी कपमा उपाधि जित्ने गरेको इतिहास धेरै पुरानो भएको छैन ।
एन्फा एकेडेमीकै उत्पादन अञ्जन विष्ट, विमल घर्तीमगर र अनन्त तामाङ राष्ट्रिय टोलीका अहिलेका प्रमुख खेलाडी हुन् । उनीहरू अगाडि प्रशान्त गिरी, विकास मल्ल, प्रदीप महर्जन, विजय गुरुङ, लोकबन्धु गुरुङ, अञ्जन केसी, प्रलय राजभण्डारी र सुसन भण्डारीदेखि सन्दीप राई, भरत खवास, किरण चेम्जोङ, रोहित चन्दलगायत नेपाली फुटबलको सुन्दर भविष्य संकेत गर्ने धेरै खेलाडी एन्फा एकेडेमीबाट निस्किएका थिए ।
तर, नेपाली फुटबलको बागडोर सम्हालेको एन्फा नेतृत्वले आफ्नै केही वर्षअघिको इतिहास पनि बिर्सिइसकेको छ । व्यक्तिगत तथा गुटगत स्वार्थकेन्द्रित रहँदा एकेडेमी धराशायी भइसक्यो । कुनै पनि उमेर समूहको राष्ट्रिय टोली अहिले अस्तित्वमा छैन ।
जहाँसुकै पनि उमेर समूहलाई भविष्यको राष्ट्रिय टोलीको रूपमा लिइन्छ । तर, नेपालको हकमा भने अझै त्यो लागू हुन सकेको छैन । अझ भनौं, एन्फामा उमेर समूह हुँदै भविष्यको बलियो राष्ट्रिय टिम निर्माणका लागि सुरु गरिएको संस्कार पनि विस्थापित भइसक्यो ।
युवा खेलाडी उत्पादनमा मौन बसेको एन्फा विकास प्रक्रियाको निरन्तरताप्रति कति उदासीन छ भन्ने यु-२३ को एसियन कप छनोटमा सहभागिता नजनाउनुले प्रस्ट्याउँछ । अझ टिम दर्ता गर्न एएफसीले बारम्बार ताकेता गर्दा समेत एन्फाले नचाहेर नभई नजानेर गर्न सकेन भन्ने सत्य सुन्दा त लाज पनि लजायो होला ।
तर, टिम दर्ता गर्नुपर्छ भन्ने थाहा भएन भन्न लजाएर एन्फाले फिफाबाट रकम निकासा नभएको र आर्थिक संकटमा रहेको बहाना गर्यो । रकमकै बहानाले पनि उम्कन त मिल्ने थिएन नै ।
‘वर्तमान एन्फा नेतृत्व क्लब फुटबलको विकासमा होस् वा युवा खेलाडी उत्पादनमा मौन बसेको देखेका छौं,’ एन्फाका पूर्व महासचिव एवं संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर भन्छन्, ‘ए डिभिजन लिग क्लबहरूले युथ एकेडेमी सञ्चालन गरिरहेका छन् । एन्फाले त्यसलाई लक्षित गर्दै कार्यक्रम ल्याउनुपर्ने हो । तर, एन्फा यसप्रति गम्भीर छैन ।’
एन्फाले फिफाबाट रकम प्राप्तिसँगै असार ३० देखि यु-१६ लिग आयोजना गर्दै छ । करिब ६ महिना हुने लिग नेपाली युवा खेलाडी उत्पादनमा सहयोगी प्रतियोगिता बन्न सक्छ । तर, एन्फाको उदासीनता अनि सबै क्लबले सहभागिता नजनाउने निर्णय भएबाट प्रतियोगिताले सोचेजति सफलता नपाउने देखिन्छ ।
शीर्ष डिभिजनका सबै १४ क्लबले खेल्नुपर्ने भए पनि हिमालयन शेर्पा, जावलाखेल युथ, थ्री स्टार र सातदोबाटो युथ क्लबले प्रतियोगितामा भाग नलिने जनाएका छन् ।
‘हाम्रोमा युवा खेलाडी उत्पादनको योजना नै भएन,’ राष्ट्रिय यु-१७ टोली सम्हालिसकेका प्रशिक्षक उर्जन श्रेष्ठ भन्छन्, ‘यहाँ प्रतियोगिता आउन केही दिनअघि मात्र खुला छनोटमार्फत टोली निर्माण गरिन्छ ।’
एक साताको प्रशिक्षणबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा ठूलो आस राख्न नसकिने उनको बुझाइ छ । गत वर्ष उनकै नेतृत्वमा नेपाली युवा टोलीले यु-१७ साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोट प्रतियोगिता खेल्दा कमजोर तयारीका कारण त्यहीअनुसारको नतिजा आएको थियो ।
‘टोलीमा तालमेल नै मिलेको हुँदैन । गत वर्ष हामीले छोटो समयको तयारीका बाबजुत श्रीलंकामा यु-१७ साफ च्याम्पियनसिप खेल्यौं । समूह चरणमा भारतजस्तो बलियो टोलीलाई हरायौं । तर फाइनलमा हामी त्यही भारतसँग हार्यौं,’ श्रेष्ठ चुक्चुकाउँछन्, ‘त्यसलगत्तै हामीले यु-१७ एसियन कप छनोट खेल्यौं । त्यहाँ बलिया टोलीविरुद्ध हामीले राम्रो प्रदर्शन गर्न सकेनौं । हाम्रा लागि त्यो प्रतियोगिता अनुभव बटुल्नमात्र सीमित भयो ।’
गत वर्षमात्र नेपालसँग पराजित भारतको स्तर अहिले धेरै माथि पुगेकोतर्फ संकेत गर्दै प्रशिक्षक श्रेष्ठ थप्छन्, ‘हामीसँग प्रतिस्पर्धा गरेको भारतको स्तर अहिले माथि पुग्नुमा निरन्तर प्रशिक्षण नै मुख्य कारण हो ।’उनले साफ च्याम्पियनसिप र एसियन कप छनोट खेलेको युवा टोलीलाई निरन्तर प्रशिक्षणको व्यवस्था गर्न एन्फा नेतृत्वसमक्ष पटक-पटक आग्रह गरे पनि त्यसमा सुनुवाइ नभएको गुनासो सुनाए ।
‘प्रतियोगिता खेलेर आएपछि अहिले यु-१७ टोली अस्तित्वमै छैन । त्यो टोलीमात्र होइन, विभिन्न उमेर समूहका प्रतियोगिता खेलेर आएका टोली अहिले कहाँ छन् कसैलाई थाहा छैन,’ श्रेष्ठले भने, ‘केही खेलाडीहरू लिगमा देखिए त केही खेलाडी राष्ट्रिय टोलीमा छन् । निरन्तर प्रशिक्षण भए भविष्यमा बलियो राष्ट्रिय टोली नै बन्न सक्थ्यो ।’
उनको विचारमा नेपाली फुटबलको दिगो विकासका लागि पुरुष र महिला दुवैतर्फ १२ र १४ वर्षमुनिको लिग निरन्तर गरिनुपर्छ । सबै उमेर समूहका लिग जिल्ला, प्रदेश र केन्द्र गरी तीन तहमै गरिनुपर्छ ।
यसरी तीन तह लिगको प्रदर्शन र सम्भावनाका आधारमा प्रतिभा पहिचान गरी तिनलाई एकेडेमीमा राखेर निरन्तर प्रशिक्षण र प्रतिस्पर्धाको व्यवस्था गर्न उनी सुझाउँछन् ।
प्रशिक्षक श्रेष्ठले केही दिनअघि मात्र यु-१६ लिग आयोजनाअघि नै युथ टोलीको प्रशिक्षकको नियुक्तिलाई एन्फासँग आग्रह गरे पनि कुनै जवाफ नआएको बताए ।
‘ए डिभिजन क्लबस्तरीय यु-१६ लिगको आयोजना हुँदै छ, यो राम्रो हो । तर त्यहाँबाट आएका राम्रा खेलाडी छनोट गर्ने प्रशिक्षक र टेक्निकल कमिटी खोइ त ? फेरि पनि उमेर समूहको प्रतियोगिता आयोजना गर्न खुला छनोट नै गर्नुपर्ने हो भने यस्तो प्रतियोगिताको औचित्य रहन्न,’ श्रेष्ठ प्रश्न गर्छन्, ‘फिफाले बजेट दिएमात्र कार्यक्रम गर्ने भन्ने हुँदैन । अन्य समयमा प्रायोजक जुटाएर कार्यक्रमहरू गर्न नसक्नु नेतृत्वको कमजोरी हो । एन्फा नेतृत्वले फुटबल विकासका लागि टेक्निकल कमिटीलाई जिम्मेवारी दिनुपर्छ र हस्तक्षेप गर्नुहुन्न । उहाँहरूले पदीय राजनीति र फुटबल विकासलाई अलग राख्नु आवश्यक छ ।’