मंसिर ६, २०८१ बिहीबार | १४:४२:४०
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन किशोर झापाली

किशोर ‘झापाली’ले फर्काउलान् पूर्वेली साख

काठमाडौं । ‘क्याप्टेनसिप’ विना खेल्न नमान्ने खेलाडी । प्रसंग ०४७ सालतिरको हो । भारतको सिलिगुडीमा नेपाली मूलका खेलाडी दर्शकको मन आफूतिर लोभ्याइरहेका थिए । कप्तान, त्यसमा जर्सी नम्बर १० थपौं । फेरि झापाली भनेपछि के नै चाहियो र ? हिरो भइहाल्ने ।

किशोर राई ‘झापाली’ यो नेपाली फुटबलको स्थापित नाम हो । लामो समयदेखि पूर्वेली फुटबल, एक हिसाबले राष्ट्रिय फुटबलकै नेतृत्वमा रहेका राईको खेलाडी जीवन त्यति बेला चाहेअनुरुप थियो ।

करियरको शिखरमा रहेका बेला राई सिलिगुडीको स्थानीय क्लब जी टेस्टबाट खेल्थे । माथि उल्लेख गरिएजस्तै नेतृत्व उनकै हातमा थियो । मिडफिल्डमा खेल्ने राई असाधारण खेल प्रस्तुत गर्थे । राईको खेल कौशलता अरूभन्दा भिन्न थियो । त्यसैले अरू खेलाडीभन्दा बढी रकम लिन्थे ।

भारतमा राई प्रतिमहिना भारु २० हजार बुझ्थे । उनलाई लिन क्लबको गाडी घरसम्मै आइपुग्थ्यो । आउन नपाए गाडी भाडास्वरुप ३ सय भारु दिइन्थ्यो । गाडी घरसम्मै आउँदा राई गाउँका अरू केटाहरूलाई पनि खेल्न लैजान्थे । उनीहरूले भने ५ हजारमात्र बुझ्थे ।

जी टेस्टबाट राईले तीन वर्ष खेले । त्यसपछि रामकृष्ण स्पोर्टिङ क्लबमा दुई वर्ष बिताए । त्यसमा पनि उनी कप्तान नै थिए ।

उनले ४० सालदेखि व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए । फुटबल सुरु गरेको तीन वर्षमै उनी बग्गीखानामा रहेको विभागिय टोली पुलिस क्लबमा आबद्ध भए । पुलिसपछि आरसिटीमा गए । आरसिटीपछि उनी भारततिर लागेका हुन् ।

किशोर राई भारतीय क्लबमा आबद्ध हुनुको एउटै कारण थियो अवसरको मोह ।

‘नेपालमा त्यति बेला ५ हजारमा तीन महिना खेल्नुपर्थ्याे । तर, भारतमा खेल्दा मोटो रकम पाइन्थ्यो । फेरि त्यहाँको सुविधा पनि राम्रो । सामान्य दोस्रो रोजाइका खेलाडीको पारिश्रमिक पनि एकदमै राम्रो हुन्थ्यो । अझ जागिरे, त्यो पनि सरकारी । तर, नेपालमा त्यस्तो थिएन । त्यसैले पैसा पर्याप्त नहुँदा अवसरका लागि भारत गएँ,’ राई पुराना दिन सम्झन्छन् ।

भारतबाट फर्केपछि फुटबलर राई राजनीतितिर होमिए । २०५४ सालमा भएको स्थानीय चुनावमा वडाध्यक्षमा निर्वाचित पनि भए । वडाध्यक्षको जिम्मेवारी सम्हालेको एक वर्षसम्म पनि उनले फुटबल खेलिरहे ।

व्यावसायिक जीवनबाट संन्यास लिएपछि उनले २०५५ सालमा धरान फुटबल क्लबको स्थापना गरे । धरान उपमहानगरपालिका–१२ मा अवस्थित धरान फुटबल क्लबले अहिले २५ वर्ष पार गरिसक्यो । त्यतिबेला उनले ४ सय रुपैयाँमा कोठाभाडा लिएर क्लबको गतिविधि सुरु गरेका थिए । राईकै नेतृत्वमा क्लबले सोही वर्ष बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । जुन आज देशकै प्रतिष्ठित गोल्डकपमध्ये एक बनेको छ । गत फागुनमा मात्र गोल्डकपले २३ औं संस्करण पूरा गरेको थियो ।

राईले व्यावसायिक जीवनबाट संन्यास लिएको २५ वर्ष भइसक्यो । अवसरको खोजीमा राई नेपाली क्लबको प्रस्ताव अस्वीकार गर्दै भारततर्फ प्रस्थान गरेको कुरा साढे दुई दशकसम्म नौलो कथा बन्नुपर्ने हो । तर, अफसोच त्यस्तो छैन । फुटबलको अवस्था हिजो जस्तो थियो, आजका दिनमा पनि त्यस्तै छ ।

अहिले देशको शीर्ष डिभिजनको सहिद स्मारक लिग चलिरहेको छ । लिग हुँदै गर्दा र लिग सुरु हुनुभन्दा अगाडि करिब पाँच दर्जन खेलाडी विदेशिए । खेलाडीपछि कुरा गरौं पूर्वाधारको । पूर्वाधार विकास २५ वर्षमा जति हुनुपर्ने हो, त्यति हुन सकेको छैन । त्यस्तै दर्शक उपस्थिति पनि कहालीलाग्दो गरी घटिसकेको छ ।

फुटबललाई यो दयनीय अवस्थासम्म पुर्याउने को हो ? दोष कसको ? ठ्याक्कै यसको कारण फुटबलको स्थिति अहिले यस्तो छ भन्न मिल्ला ? नेतृत्व तहमा बसिरहेका जोसुकैलाई पनि तोकेरै दोष दिन मिल्छ । राईलाई त झन् अझ बढी गाली गर्न सकिन्छ ।

गणेश थापा अखिल नेपाल फुटबल संघ (एन्फा) मा रहँदा राईले दुई कार्यकाल उपाध्यक्षका रूपमा काम गरे। कर्माछिरिङ शेर्पाको नेतृत्वमा मानार्थ वरिष्ठ उपाध्यक्ष  रहेका राई हाल पंकजविक्रम नेम्बाङको नेतृत्वमा रहेको एन्फामा पनि सोही पदमा छन् । त्यस्तै राई प्रदेश फुटबल संघको तदर्थ समितिको अध्यक्षसमेत थिए । 

त्यसैले उनलाई पनि दोषको भागिदार गराउन मिल्छ । त्यतिबेला अवसरका लागि भारत गएका राई वर्तमान परिपेक्ष्यमा नेपालमै खेलाडीले जीवन निर्वाह गर्नसक्ने वातावरण मिलाउने कुरामा चुकेकै हुन् । यसमा दुईमत नहोला ।

खैर, यी कुराहरू विगत भइसके । फुटबल नयाँ बिहानीको खोजीमा छ । अब भने कुनै पनि बहाना स्वीकार्य हुने छैन । यसबीच राई पुनः निर्वाचित अध्यक्षका रूपमा फुटबलको कुर्सीमा आएका छन् । फुटबलले उनलाई फेरि पनि नयाँ मौका दिएको छ ।

एक साताअगाडि मात्र राई कोशी प्रदेश फुटबल संघको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनुअघि राईसँगै धनकुटा फुटबल संघका अध्यक्ष मणि चेम्जोङ अध्यक्षको दौडमा थिए । तर, अन्तिममा राईको अनुभव चेम्जोङमाथि हाबी भयो । अर्को शब्दमा भन्दा नेतृत्वमा रहने राईको अट्टेरीले उनी निर्विरोध चयन भए ।

पूर्वेली फुटबल विकासको जिम्मेवारी राईको हातमा छ । कार्यकाल चार वर्षको हुनेछ । पूर्वेली फुटबललाई पहिलेभन्दा चलायमान बनाउने अवसर उनीसामु छ । जसको प्रत्यक्ष असर राष्ट्रियस्तरसम्म पुग्नेछ । यसका लागि उनी तयार छन् । उनीसामु एउटै चुनौती हुनेछ, त्यो हो समावेशीकरण ।

सबै जिल्ला समेट्ने छु: राई

प्रदेश फुटबललाई व्यवसायीकरण गर्न थप एक कार्यकाल जिम्मेवारी लिएको छु ।  सबै जिल्लाका अध्यक्षहरूको आग्रहमा नै मैले यो जिम्मेवारी लिएको हुँ ।

सबै जिल्लालाई समेट्ने छु । कुनै पनि जिल्ला छुटाउने छैन । सबै जिल्लाका पदाधिकारीलाई कार्यसमितिमा राखेर सहमतिमा सहकार्य र एकता गर्नेछौं । फुटबललाई अगाडि बढाउनुपर्छ भनेर आह्वान गरिरहेको छु । चार वर्षभित्रमा प्रदेश फुटबल प्रशिक्षण, प्रदेश लिग र बन्द भएका एकेडेमी सञ्चालन गर्ने सोच बनाएका छौं । अहिले ११ जिल्लाहरू हामीसँग सम्बद्ध छन् । बाँकी तीन जिल्लालाई पनि यसपालिदेखि समावेश गर्छौं । मताधिकारबाहेक अरू सुविधा दिएर समितिमा राख्नेछौं । कोशी प्रदेश फुटबल संघलाई उदाहरणीय बनाउने छौं । अरू प्रदेश संघलाई पनि सहयोग पुर्याउने छौं ।’

अहिले जति पनि सुगम ठाउँ छन्, झापा, मोरङ, सुनसरी इत्यादि । ती जिल्लाहरूमा धेरै पूर्वाधार छन् । आर्थिक रूपमा पनि यी ठाउँहरु सबलीकरण भएका छन् । तर, यी चारवटा ठाउँमात्र विकास भएर हुँदैन । जबसम्म हामीले पहाडी क्षेत्रलाई अब आउने कार्यक्रममा समेट्दैनौं, तबसम्म हामीले सिङ्गो पूर्वेली फुटबलमा परिवर्तन ल्याउन सक्दैनौं ।

अबको चार वर्ष मैले यी पहाडी क्षेत्रहरूलाई कार्यक्रममा जोड्छु । यी ठाउँहरूमा भौतिक संरचना निर्माण गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ । हरेक जिल्लामा रंगशाला निर्माण गर्नेछौं । भएका खेलमैदानहरू स्तरोन्नति गरिनेछ । खाली मैदानलाई स्वीकृति लिएर प्रशिक्षण स्थल बनाउने छौं । प्रदेश, केन्द्र, एन्फा र फिफाबाट आएका रकम सहायताहरू जिल्लाहरूको फुटबल विकासमा लगाउने योजना छ ।      सञ्चालन भइरहेका गोल्डकपहरूलाई प्राविधिक रूपमा थप बलियो बनाउने छौं । चार वर्षको क्यालेन्डर बनाएर त्यति बेलासम्म यो अवस्थामा पुग्छौं भन्ने योजना बनाएर जान्छौं । प्रदेश १ को आफ्नै किसिमको विधान बनाएर बजेट बनाउने योजना छ ।

‘एउटा ठूलो अवसर छ’

उनको नेतृत्वमा कोशी प्रदेश फुटबल संघ उदाहरणीय बन्ला या नबन्ला । पूर्वेलीको साख जोगाउन उनी सक्षम होलान् वा हुँदैनन् । त्यो त समयले भन्ने छ नै । तर, एउटा कुरा प्रशासनिक अर्को इनिङ्समा राई यसपालि विगतभन्दा केही गरौं भन्ने जोसका साथ मैदानमा छन् । उनी आफैंले निर्विरोध निर्वाचित हुनुभन्दा एक साताअगाडि भनेका थिए, ‘हामीले फुटबलमा समर्पित भएर विकास गर्ने दिन आइसक्यो । चार वर्ष मजाक होइन । गर्ने मान्छेका लागि एउटा ठूलो अवसर हो ।’