काठमाडौं । दुई पटकको साबिक विजेता मछिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको खेल सकिएपछि फोर्थ अफिसियल ज्ञानबहादुर मोक्तान ‘टनल’बाट रेफ्री कक्षमा प्रवेश गर्दै थिए ।
दशरथ रंगशालाको सेन्थेटिक ट्र्याक छोडेर के भित्र पसेका थिए, उनै मोक्तानको टाउकोमा एपिएफका सहायक व्यवस्थापक जीवेश पाण्डेको मुक्का बर्सियो । मोक्तान प्रतिक्रियाविहीन भए । प्रतिवाद गरेनन् ।
खेलको इन्जुरी समयमा मछिन्द्रका रक्षक देवेन्द्र तामाङ र एपिएफका मिडफिल्डर आभाष लामिछानेबीच समय व्यतित गरेको विषयमा वादविवाद हुँदै थियो । एपिएफका सहायक व्यवस्थापक पाण्डेले देवेन्द्रलाई कार्ड दिनुपर्ने मागसहित अपशब्द बोले । पूर्व राष्ट्रिय खेलाडी पाण्डेको यो व्यवहारबारे फोर्थ अफिसियल मोक्तानले खेल सञ्चालन गरेका फिफा रेफ्री प्रज्वल क्षेत्रीसँग आफूमाथि दुर्व्य्वहार भएको बताए । क्षेत्रीले सहायक रेफ्री किशन कन्हैया यादव र मोक्तानसँगको छलफलपछि पाण्डेलाई सिधै रातो कार्ड देखाइदिए ।
त्यसपछि पाण्डेलाई तत्काल बेन्चबाट प्यारापिटमा पठाइयो । त्यसबाट क्रुद्ध भएका पाण्डे बेन्चबाट प्यारापिट उक्लिएनन् । मैदानमा उपस्थित सुरक्षाकर्मीले पनि उनलाई माथि पठाउन आवश्यक ठानेन । रातो कार्डपछि टनलमै बसे । खेल सकिएपछि आफ्नो कक्षमा प्रवेश गर्दै गरेका फोर्थ अफिसियल मोक्तानलाई पाण्डेले अपशब्द प्रयोग गर्दै मुक्का प्रहार गरेका थिए ।
मोक्तानमाथिको भौतिक आक्रमण एउटा उदाहरणमात्र हो । दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्समा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेफ्रीहरू चौतर्फी आक्रमणको निशाना बनिरहेका छन् । रेफ्रीप्रति अधिकांश टिमका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूको व्यवहार उस्तै छ । खेलाडी, अफिसियलहरू बारम्बार रेफ्रीमाथि जाइलाग्दै आएका छन् । तर, रेफ्रीका पीडा सुन्ने कुनै निकाय छैन ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को सांगठनिक संरचनामा रेफ्रीका हित संरक्षण गर्न अनि रेफ्रीका आवाज बुलन्द पार्न रेफ्री संघ, रेफ्री विभाग र एन्फाको रेफ्री कमिटी छन् । तर, सबै मौन । दैनिक मैदानमा सिठी बोकेर दौडिने रेफ्रीहरूप्रति कसैको कुनै दायित्व नै नभए जस्तो अवस्था छ ।
एक रेफ्रीले गुनासो पोखे, ‘रेफ्री संघ अध्यक्ष (बुद्धिबहादुर गुरुङ) लाई दुःख सुनाउन कल गर्दा उहाँले अचेल हाम्रो फोन समेत उठाउन छाड्नुभएको छ । रेफ्री विभागका संयोजक (गोकुल थापा)लाई हाम्रो समस्यासँग कुनै लेनादेना छैन । जारी लिगमा रेफ्रीको हालत के छ ? के गर्दैछन् भन्ने जस्ता कुरामा उहाँहरूको कुनै चासो रहँदैन ।’
लिगको पाँचौं चरण जारी रहँदा फिफा रेफ्री प्रज्वल क्षेत्रीलाई एपिएफका रक्षक एडामा डौम्बियाले आँखा घोचिदिए । रेफ्रीले तत्काल उनलाई रातो कार्ड देखाएर मैदानबाहिर पठाए । रेफ्रीले म्याच रिपोर्टमा पनि यो घटना प्रस्तुत गरे । तर, एन्फाले घटना लुकाउने प्रयास गर्यो ।
गोप्य रूपमा रक्षक एडामालाई एक खेलको प्रतिबन्धमात्रै गर्यो । त्यसले क्लबका पदाधिकारी र खेलाडीलाई एकखालको हौसला प्रदान गर्यो । अनि त के चाहियो र ? रेफ्रीमाथिको आक्रमण शृंखला सुरु नै भयो ।
मैदानमै वा टचलाइन बाहिर ‘मौखिक आक्रमण’ नेपाली लिग फुटबलमा सामान्य जस्तै भइसक्यो । त्यसबाट पनि चित्त नबुझेमात्र हो भौतिक रूपमै आक्रमण गर्ने त । खेलपछि हुने सायदै कुनै त्यस्तो पत्रकार सम्मेलन होला, जहाँ रेफ्रीको आलोचना नभएको होस् ।
लिगको ५८औं खेलमा मछिन्द्र र एनआरटीबीच खेल थियो । इन्जुरी समयको खेल जारी थियो । सहायक रेफ्री मधुकर आचार्यलाई कर्नर नदिएको भन्दै मछिन्द्रका विदेशी खेलाडी आफिज ओलावाले ओलाडिपोले अपशब्द प्रयोग गरे । पहेँलो कार्ड दिइयो । त्यसपछि फेरि अपशब्द बोलेका आफिजलाई रेफ्री श्याम दनुवारले रातो कार्ड देखाए । खेलाडी जाइलागेपछि सहायक रेफ्री आचार्यले ‘एक्लै भिड्न’ बोलाएको एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले पोस्टम्याचमै बताएका थिए ।
यसपछिको घटना हो लिगको ६५औं खेल । जहाँ पाण्डेले मुक्का प्रहार गरेका थिए । एन्फा यो घटना लुकाउन चाहन्थ्यो । तर, सञ्चारमाध्यमले यो घटना प्राथमिकताका साथ बाहिर ल्याएपछि एन्फा बाध्य भएर कारबाही गर्न अघि सर्यो । एन्फाले पाण्डेलाई १० हजार जरिवाना र ८ खेलको प्रतिबन्ध गरेको छ ।
सुरक्षाको हिसाबले मात्रै हैन, अहिले रेफ्रीहरू मानसिक र शारीरिक रूपमा समेत दबाबमा छन् । क्लबले ४८ घण्टामै खेल खेल्नुपर्दा दुखेसो पोखेका छन् । क्लब र खेलाडी त आ-आफ्ना गुनासो मिडियामा पोखिरहेका छन् । कम्तीमा खेलपछि पोख्न पाउँछन् । तर, रेफ्रीले मिडियासँग बोल्न पाउँदैनन् ।
जसका कारण चुपचाप ४८ घण्टाकै फरकमा तीन खेल खेलाउनुपरेको छ । जारी लिगमा सहायक रेफ्रीले ६ खेलसम्म लगातार खेलाएका छन् । उनीहरूले नियामक निकायमा समस्या राखेका छन् । नियमित खेल खेलाउँदा समस्या भयो भनेर सुझाएका छन् । तर, यहाँ जबरजस्ती खेल खेलाउन बाध्य भइरहेका छन् ।
‘लगातार खेल खेलाउँदा हामीबाट पनि गल्ती भएका छन् । तर, फिफा रेफ्रीले लगातार तीन र सहायक रेफ्रीले ६ खेलसम्म खेलाउनुपरेको छ । समस्या यहींबाट आएको हो,’ अर्का सहायक रेफ्री भन्छन् ।
यतिमात्रै हैन, खेल सकिएपछि यसको समीक्षा नहुनु अर्काे समस्या हो । ‘हाम्रोमा खेलपछि कुनै समीक्षा नै हुँदैन । यो चलन नै छैन । यतिमात्रै हैन, रेफ्री विकासका लागि कुनै काम र पहल नै भएको छैन,’ नाम नखुलाउने सर्तमा उनी भन्छन्, ‘लिगअघि एउटै कोर्स भएन । यो अवस्थामा पनि हामीले खेल खेलाइरहेका छौं ।’
दिनहुँ खेलाउँदा शारीरिक रूपमा थाक्ने, घाइते हुनेलगायतका समस्याले रेफ्रीको क्षमता प्रदर्शनमा प्रभाव पारेको तथ्य एकातिर छ । अर्कोतिर यति धेरै समस्याका बावजुद यस्तो ‘थ्यांकलेस जब’ (अपजसे पेसा)मार्फत नेपाली फुटबलको सेवा गरिरहेकाहरूले फागुन १९ देखि सुरु ‘ए’ डिभिजन लिगको पारिश्रमिक र भत्ता पनि पाउन सकेका छैनन् ।
एन्फाले एक खेल सञ्चालन गर्ने ५ जनाको रेफ्री टोलीलाई पारिश्रमिकवापत एकमुष्ठ २० हजार रुपैयाँ दिने गरेको छ । जसबाट रेफ्री, दुई सहायक रेफ्री, फोर्थ अफिसियल र रेफ्री एसेसरले भत्ता पाउने व्यवस्था छ । तर, लिग सुरु भएयता उनीहरूले एउटै खेलको भत्ता पाएका छैनन् । एन्फाले फिफाको सहयोगमा नेपालका फिफा ब्याचप्राप्त १२ रेफ्रीलाई मासिक रूपमा १० हजार रुपैयाँका दरले दिने गरेको भत्ता पाउन छाडेको पनि ६ महिना भइसक्यो ।
१२ मध्ये दुई महिला रेफ्री छन् । महिला रेफ्रीले अहिलेसम्म ‘ए’ डिभिजन लिग खेलाउन पाएका छैनन् । बाँकी १० मध्ये चार रेफ्री र ६ सहायक रेफ्री छन् ।
जारी लिगका लागि एन्फाले ९ रेफ्री खटाएको छ । जसमा दुई (ज्ञानबहादुर मोक्तान र प्रतीक घिमिरे)को भूमिका फोर्थ अफिसियलमात्रै हो । १७ सहायक रेफ्री छन् । तर, घरेलु व्यस्तता तथा फिटनेस समस्याका कारण प्रत्येक दिन कोही न कोही बिदामा बस्ने गर्दछन् । जसका कारण रेफ्री स्तरको विषयमा कुरा गर्ने धरातलमा नेपाली फुटबल छैन । खेल गराउने रेफ्रीको व्यवस्थापन नै प्रशासनका लागि सबभन्दा जटिल विषय हो ।
एन्फाले रेफ्रीका लागि आकर्षक सेवासुविधाको व्यवस्था गर्न नसकेका कारण यो अपजसे पेसाप्रति फुटबलकर्मीको आकर्षण छैन । भएकालाई पनि लिगअघि गराइने फिटनेस टेस्टबाहेक थप कोर्स गराउन नसक्दा रेफ्रीको स्तरमाथि प्रश्न उठाउने थुप्रै ठाउँ छन् ।
‘रेफ्रीको अवस्था यति दयनीय छ कि तपाईंहरूले कल्पना गर्न पनि सक्नुहुन्न,’ एक रेफ्रीले खेलाडी डटकमसँग दुखेसो गरे, ‘लिग सञ्चालन गर्न एन्फाले हामीलाई कुनै उपकरण दिएको छैन । एउटा जर्सीसमेत उपलब्ध गराएन । नयाँ रेफ्रीले जर्सी सेट नै पाएका छैनन् । खेल खेलाउन आउँदा र फर्कदाको यातायात सुविधा पनि छैन । हाम्रो यो माग केही ठूलो होइन । तर, आफ्नै मोटरसाइकलमा खेल खेलाउन आउँदै गर्दा दुर्घटनामा परियो भने के गर्ने भन्ने प्रश्न हो ?’
एन्फाले लिगमा घाइते भएका रेफ्रीको उपचारका लागि समेत कुनै पहल र सहयोग गरेको छैन । २०७६ को लिगमा घाइते भएका रेफ्री राजेन्द्र खड्गी अझैसम्म मैदान बाहिर छन् । उनको स्तरीय उपचार हुन सकेको छैन । यस्तै समस्यामा श्रवण लामा पनि छन् । उनलाई त वाचा गरेको खर्चसमेत एन्फाले दिएको छैन । यसपालि लिगमा घाइते भएका रेफ्रीलाई पनि रिकभरी खर्च नदिइएको रेफ्रीका गुनासा छन् ।
रेफ्रीका गुनासा यत्तिमै सकिँदैनन् । सामान्य डाइट दिनु त कहाँ हो । खेल सकिएपछि खाजाको पनि व्यवस्था हुँदैन । ‘यसअघिको लिगमा हाफटाइममा पनि डाइटको व्यवस्था हुन्थ्यो । तर, यसपालि त खेल सकिएपछि खाजासमेत छैन । चिया र बिस्कुट खाए खा नखाए छैन भन्ने एन्फाको व्यवहार छ,’ अर्का रेफ्री सुनाउँछन् ।
रेफ्री संघका अध्यक्ष पूर्वफिफा रेफ्री गुरुङले भने आफूसमक्ष कुनै गुनासो नआएको बताउँदै तर्किन खोजे । ‘मलाई रेफ्रीले केही भनेका छैनन् । मैले रेफ्रीका कुरा सुन्छु । उनीहरूकै हकहितमा काम गर्न आएका हौं,’ गुरुङ भन्छन् ।
रेफ्रीलाई आवश्यक उपकरण उपलब्ध नगराएको पुष्टि गर्दै उनले त्यसमा एन्फाको वर्तमान दयनीय आर्थिक अवस्थाका कारण रहेको बताए । ‘एन्फा अहिले कुन अवस्थामा छ सबैलाई थाहा भएकै कुरा हो । आर्थिक स्थिति कमजोर छ । जसका कारण प्रतिवद्धता भएअनुसार आवश्यक उपकरण प्राप्त हुन सकेका छैनन् । ढिलोचाँडो आउँछ,’ उनले आशा देखाए ।
तलब र भत्ताको विषयमा भने फिफामा पत्राचार गरेको र चाँडै उपलब्ध हुने रेफ्रीका अध्यक्ष गुरुङ बताउँछन् । ‘हामीले पाँच चरणपछि फिफामा पत्राचार गरेका छौं । को कस्ले कति खेल खेलाए डाटा पठाएका छौं । फिफाबाट आएलगत्तै खातामा हाल्दिने छौं । तर, फिफाबाटै आएको छैन ।’