एउटा खेलाडी किन रुन्छ ? यसको सामान्य जवाफ यही हुनसक्छ, जित्दा वा हार्दा । जितले औधी खुसी हुँदा आँसु खस्छ । हारले दिने पीडा आँसुको मुहान हुनु स्वाभाविक हो । फेरि कुनै पनि खेल वा नतिजालाई ‘ब्लाक एन्ड ह्वाइट’ चस्माले हेर्न मिल्दैन । कतिपय हारमा पनि टिमले प्रगति गरिरहेका हुन सक्छन् ।
यस्तै सन्देश थियो नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाको । जब कप्तान एन्जिला तुम्बाप्पो सुब्बा रोइन् ।
कुरा ओलिम्पिक महिला फुटबल छनोटको । थापाको नेतृत्वमा नेपाली राष्ट्रिय महिला टिमले ओलिम्पिक छनोट खेल्यो । दशरथ रंगशालामा भएको छनोटमा नेपालको प्रतिद्वन्द्वी थियो, भियतनाम । पूर्वी एसियाली टिमसँगको दुवै खेलमा नेपाल पराजित भयो । पहिलो खेल ५-१ ले गुमाएको नेपालले दोस्रो खेलमा २-० को हार बेहोर्यो ।
महिला फुटबलमा भियतनामको ताजा परिचय हो, विश्वकपमा छनोट भएको टिम । आयोजक अस्ट्रेलियाबाहेक पाँच एसियाली टिमले विश्वकप २०२३ खेल्दैछन् । यसले भियतनामलाई स्वतः एसियाका पाँच बलिया टिममध्येको एक बनाइहाल्छ । फिफा विश्व वरीयताकै कुरा गर्ने हो भने पनि भियतनामको स्थान हो ३३ औं । अनि एसियाभरीमा पाँचौं ।
भियतनामको तुलनामा नेपालको पहिचान निर्धो छ । नेपालले गर्व गर्ने सर्वाधिक ठूलो उपलब्धि भनेको साफ च्याम्पियनसिपको उपविजेता हो । अब त यही सफलता पनि नेपालका लागि मुस्किल भइसक्यो । बंगलादेशको उदय र भारतको पारम्पारिक क्षमतासँग जुध्न नेपाल तयार छैन, यो तथ्य हो । कम्तीमा यथास्थितिमा ।
यो धरातल नबिर्सी ओलिम्पिक छनोटमा नेपाली महिला खेलाडीबाट के आशा राख्न सकिन्थ्यो ? सायद बराबरी । यो पनि अधिकतम आशा भयो । नेपाली फुटबल जानेका, बुझेकाले त सायद बराबरी पनि अपेक्षा गरेका थिएनन् होला । हुनसक्छ, साँघुरो पराजय नै औसत आशा थियो ।
दोस्रो खेलको कुरा गर्ने हो भने नेपालले औसत आशालाई न्याय गर्यो । पहिलो खेलमा नेपालको हार फराकिलो थियो । भनिन्छ नि, नतिजाले खेलको पूर्ण कथा भन्न सक्दैन । पहिलो खेलको हकमा ठ्याक्कै यही भयो । पाँचमध्ये एक गोल पेनाल्टीमा भएको थियो । अर्को एक गोलको कारण थियो, अमृता जैशीसँग डिफ्लेक्सन ।
निरन्तर गोल खाइरहँदा पनि नेपाली खेलाडीले हिम्मत हारेनन् । लगातार मेहनत गरिरहे । केही अवसर पनि सिर्जना गरे । सावित्रा भण्डारीले ७९ औँ मिनेटमा गोल फर्काइन् । गोलबाहेक कयौँ यस्ता क्षण सिर्जना भए, जो साँच्चै आहा भन्न लायकका थिए । आखिरमा फुटबल भनेको यस्तै आहा भन्न लायकका क्षणको सँगालो पनि त हो ।
मुख्य प्रशिक्षक थापाले पहिलो खेलअघि भनेका थिए, ‘भियतनामले खेलेको हेर्न पाएको छैन । इन्टरनेटमा भेटेको केही फुटेजका आधारमा रणनीति बनाउनु परेको छ ।’ दशरथ रंगशालामा पहिलो पटक भिडेपछि त उनले थाहा पाइहाले, भियतनामी खेलाडीको स्तर, खेल कौशल आदि ।
पहिलो खेलको अनुभवले दोस्रो खेलका लागि रणनीति बनाउन सजिलो भएको हुनुपर्छ । यति हुँदाहुँदै पनि नेपालले सुरुआती सात मिनेटमा दुई गोल खायो । विपक्षी छ, विश्वकप खेल्ने टिम । त्यसमाथि सात मिनेटमा दुई गोल खानुछ । नेपाली खेलाडी मानसिक रुपमा विक्षीप्त हुनु स्वाभाविक थियो ।
तर यो निराशालाई एकातिर राखेर सबै खेलाडी एकत्रित भए । त्यसपछि उनीहरुले यसरी खेले कि, त्यसले भियतनामी टिमलाई अत्यायो । खेलपछि भियतनामका मुख्य प्रशिक्षक माइ डुक चुङले दिएको प्रतिक्रियाले पनि यसको पुष्टि गरेकै हो । ‘नेपाललाई जित्न सजिलो भएन । यो टिम बलियो छ भन्ने पहिल्यै थाहा थियो । त्यसकारण हामी सचेत थियौं,’ चुङले दोस्रो जितपछि भनेका थिए । प्रशिक्षकले जे प्रतिक्रिया दिए, खेलमा दुई गोल गरेकी फाम हाई येनले त्यसमा सहमति जनाइन् ।
अब प्रश्न उठ्छ, विपक्षी टिमका प्रशिक्षक र खेलाडीले गरेको तारिफलाई आधार मानेर नेपालले साँच्चै राम्रो खेल्यो भन्न मिल्छ ? पक्का मिल्छ । तर कतिपयले भन्लान्, पाहुना टिमका प्रशिक्षक र खेलाडीले घरेलु टिमको प्रदर्शनलाई तारिफ गर्नु कुन ठूलो कुरा भयो र ? यो त सान्त्वना पनि त हुनसक्छ । यसो भन्नेलाई यति सुझाव दिन सकिन्छ, खेल दोहोर्याएर हेर्नु ।
नेपालले यति राम्रो खेलेको भए किन रोइन् त एन्जिला ? उनको आँसुको अर्थ के ? माथि भनेझैँ हारका कारण उनले आँसु खसालेकी हुन् । यो जवाफ असत्य होइन तर अपूरो भने पक्कै हो ।
पहिलो खेलले सञ्चारमाध्यममा स्थान नपाउने कुरै थिएन । लगभग सबै समाचारका शीर्षकको केन्द्रमा गोल अन्तर थियो । सामाजिक सञ्जालले हारको कारण खोज्ने भइगयो । फेरि यो यस्तो जमाना हो, जहाँ हरेक विषयको फैसला सामाजिक सञ्जालले गर्छ । जसलाई सहयोग सञ्चारमाध्यमका समाचार र विश्लेषणको रहन्छ । यसले एन्जिला र उनका साथीहरुलाई थप पीडामा पार्नु स्वाभाविक थियो ।
दोस्रो खेलको पहिलो हाफ मात्र खेलिन्, एन्जिलाले । अनन्तले उनको स्थानमा अन्जना मगरलाई छिराए । संयोग मान्नुपर्छ, अन्जनाले खासै धारिला आक्रमण सहनु परेन । बरु नेपाली खेलाडीहरुले निरन्तर दबाब सिर्जना गरिरहे । आक्रमण पनि बुने । भलै जित भने हात परेन । दोस्रो हारपछि पत्रकार सम्मेलनमा कप्तानको हैसियतमा एन्जिला उपस्थित भइन् । त्यहाँ सोधिने प्रश्नका जवाफ दिन उनी तयार भएरै आएकी थिइन्, सायद । सुरुमै नतिजाले आफू निराश भएको बताइन् ।
‘पहिलो खेल पनि राम्रो भएन । डिफेन्समा कम्युनिकेसन भएन । पाँच मिनेटमै गोल खायौं । दोस्रो हाफमा चाहिँ सबैले राम्रो खेल्नु भयो । पहिलो हाफमा मैले दुई गोल नखाएको भए, सायद हामी बराबर गर्न सक्थ्यौं होला । कहिले काहिँ...,’ एन्जिला बोल्न सकिनन् । घुँक्क घुँक्क मात्र गरिन । आँसुको भेल बग्न थाल्यो । त्यसपछि एन्जिला झुकिरहिन ।
प्रशिक्षक थापाले परिपक्व पारामा माइक आफूतिर सोझ्याए । प्रश्नहरु पनि उनैतिर तेर्साइए । अनन्त परिपक्व जवाफ दिइरहेकै थिए । पत्रकारका प्रश्नले फेरि एकपटक एन्जिलालाई खोज्यो । उनलाई सोधियो, ‘पहिलो हाफपछि प्रतिस्थापन हुँदा तपाईं रोइरहनु भएको थियो...?’
‘पहिलो खेलपछि डिफेन्स र मलाई नराम्रो कमेन्ट आइरहेको थियो । गोल खाँदैनौं भनेर....’ यति भनेपछि एन्जिला फेरि रोइिन् । अब उनी बोल्न सक्ने अवस्थामा थिइनन् । भावुक बनिन् । शीर निहुँराइन् । त्यसपछि उनको शीर उठेन । न त बोली नै फुट्यो ।
आफ्नो टिमकी कप्तानको यो हालत देखेपछि प्रशिक्षक अघि सरे। ‘अब म जवाफ दिन्छु,’ अनन्तको उद्घोष थियो । अनन्तले एन्जिलाको बचाउ मात्र गरेनन्, बचाउ गर्नुको कारण पनि फुटबलको दर्शन सिकाउँदै स्पष्ट पारे । ‘उ कप्तान भएकै कारण मात्र मैले डिफेन्ड गरेको होइन । उसले खेलमा खानैपर्ने गोल खाएको हो । यस्तो गोल खाएन भने फुटबलमा गोल नै हुँदैन । प्लिज बुझिदिनुस् । कस्तो गोल खाएको छ, किन गोल खाएको छ, कस्तो कस्तो गोल खाइरहेको छ, भन्ने कुरा बुझिदिनु पर्छ जस्तो लाग्छ,’ थापाले भने ।
थापा यतिमै रोकिएनन् । उनले एन्जिलालाई मानसिक रुपमा मजबुत बन्न सुझाइरहेका थिए । अझभन्दा यो फगत सुझाव मात्र थिएन, यो त एउटा गुरुले चेलीलाई दिएको निर्देशन थियो । पत्रकारहरुले प्रश्न थपिरहँदा अनन्त बेलाबेलामा एन्जिलातिर हेरिरहेका थिए । अनि इशारामा एन्जिलालाई नरुन भनिरहेका थिए ।
‘उसले जस्तो डिजायर, हंगर देखाइरहेको छ नी, यो राम्रो साइन हो । चाँडै विश्वकप खेल्ने संकेत हो । यसलाई नकारात्मक रुपमा नलिनु होला तर खेलाडीमा यस किसिमको हंगर र प्यासन हुनुपर्छ,’ एन्जिलातिर फर्कदै थापा भन्दै थिए ।
हो, नेपालले फराकिलो पराजय भोगेकै हो । गोल खाँदा रक्षापंक्तिको गल्ती भएकै हो । रक्षापंक्ति गोलरक्षकबिनाको हुँदैन । यसकारण गल्ती भाग लगाउँदा एन्जिलालाई पनि गनिन्छ । अनि रक्षापंक्तिले गल्ती नै नगरे फुटबलमा गोल पनि हुँदैन । गल्ती महसुस एन्जिलाले गरेकी छन् । अरु खेलाडीले पनि अवश्य गरेकै होलान् ।
गल्ती नेपाली फुटबल हाँक्नेहरुले बढि गरेका छन् । तर के उनीहरुले आजसम्म महसुस गरेका छन् ? गल्ती महसुस गरेर एक थोपा आँसु झारेका छन् ? सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म, उनीहरुको आलोचना हुने गरेको छ । तर के आलोचनाले उनीहरुको चित्त दुख्ने गरेको छ ? चित्त दुखाएर कहिले भक्कानिएका छन् ? के उनीहरुको शीर कहिल्यै झुकेको छ ?
देशलाई जिताउन नसकेकोमा एन्जिलामा पश्चात्ताप थियो । उनी थकथकी मानिरहेकी थिइन् । उनको बोली सुन्दा यस्तो लाग्थ्यो, दशरथ रंगशालामा १५ हजार दर्शकसामु उनी माफी माग्न चाहन्छिन् । एउटा खेलाडीको तर्फबाट, अनि कप्तानको नाताले पूरै टिमको तर्फबाट । यो भाव उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । फिफा वरीयतामा ६६ स्थानभन्दा माथि रहेको टिमलाई हराउन नसक्दा उनमा देखिएको बेचैनीको बयान गरी साध्य छैन । तर के यस्तो बेचैनीले एन्फा मुख्यालयमा कहिल्यै प्रवेश पाएको छ ? कुनै खेल हारेकोमा एन्फाले माफी मागेको इतिहास छ ? अथवा कुनै खेल जित्ने अवस्था सिर्जना नगरेकोमा थकथकी मानेको छ ? जिम्मेवारी लिएको छ ?
एन्जिला हारेकी होइनन् । नतिजा नेपालको पक्षमा नआए पनि महिला टिम पराजित भएको होइन । हारेको त नेपाली फुटबल प्रशासन हो । जो महिला फुटबललाई आफ्नो जिम्मेवारी ठान्दैन । भइरहेको लिग बीचमै रोकिदिन्छ । अनि आफ्ना क्रियाकलापमार्फत उद्घोष गर्छ, महिलाले धेरै खेल्न आवश्यक छैन ।
एन्जिला रोइन् । सायद उनले ठिक गरिन् । रुनु अपराध हो र ? होइन । यो त परिपक्वताको संकेत हो । यो त त्यही अमृत हो जसले मान्छेलाई बलियो बनाउँछ । भावनालाई मजबुत बनाउँछ । फेरि भावनाबिनाको मान्छेको के काम ? भावनाबिनाको फुटबल के फुटबल ? के यस्तो भावना एन्फामा छ ? त्यहाँका मठाधिशहरूमा छ ? भावनै नभएका उनीहरूको नेपाली फुटबललाई के आवश्यकता ? खेल हार्दा आँसु नआउने एन्फाको के खाँचो ? सायद एन्फा निर्जिव हो । उसको सेतो भवन जस्तै । जहाँ छिर्नेहरूमा आँसु हुँदैन ।