सहिद स्मारक ‘ए’ डिभिजन लिग

जावलाखेलको जोसिलो सिजन

काठमाडौं । नेपाली घरेलु फुटबलमा ‘डार्क हर्स’को छवि बनाएको जावलाखेल युथ क्लब अहिले इतिहास रच्ने दाउमा छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १०औं चरणका खेल सकिँदा शीर्षस्थानमा बस्दै जावलाखेलले यसपालि सबैलाई आश्चर्यमा पारेको छ । टोलीले डार्क हर्स छवि व्यवहारमै प्रमाणित गरेको छ ।

गत सिजनको नतिजासँग तुलना गर्दा जावलाखेलले यसपालि अहिलेसम्म गरेको प्रदर्शन नै ठूलो उपलब्धि हो । गत सिजन जावलाखेलले लिगको उत्तरार्धमा आएर मात्र ‘ए’ डिभिजन हैसियत जोगाएको थियो । गत सिजनझै यसपालि जावलाखेलमा नाम चलिसकेका र राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरिसकेका कुनै खेलाडी छैनन् तर टोलीको प्रदर्शन एकरुपले अब्बल छ ।

लिगको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा जावलाखेलका प्रशिक्षक सुनील श्रेष्ठले अन्य प्रतिस्पर्धीलाई चुनौती दिएका थिए, ‘प्रतियोगितामा हामी हार्नका लागि आएका होइनौं । आफ्नो टोली कमजोर छ भनेर कोही पनि आएका हुँदैनन् । टोलीले उपाधिकै आसमा खेलेको हुन्छ । हामी पनि यसपालि जित्नैका लागि आएका हौं । युवा टोली भए पनि मलाई मेरो टोलीप्रति पूर्ण रूपमा विश्वास छ ।’

श्रेष्ठको विश्वासजस्तै लिगमा जावलाखेलको सुरुआत पनि दमदार रह्यो । पहिलो खेलमै जावलाखेलले साबिक विजेता मछिन्द्र फुटबल क्लबमाथि पुनरागमनमा ३-१ को जित निकाल्यो । छैटौं चरणमा सातदोबाटोलाई स्तब्ध पार्दै शीर्षस्थानमा उक्लिएको जावलाखेलले नवौं चरणमा मनाङ मर्स्याङ्दीलाई हराउँदै पुनः शीर्षस्थानमा पुनरागमन गर्यो। १०औं चरण समाप्तिसम्म जावलाखेल ६ जित, २ बराबरी र २ हार नतिजासँगै २० अंक बटुलेर शीर्षस्थानमा छ । दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेड र तेस्रो स्थानको थ्री स्टारको समान खेलमा १८ अंक छ ।

‘युवा टोलीको मनोबल बढाउन मछिन्द्रमाथिको जित विशेष थियो । फुटबल कुनै एक खेलाडीको प्रदर्शनमा निर्भर हुने खेल होइन । यो टिम गेम हो । यो खेलाडी, प्रशिक्षक टिम र क्लब व्यवस्थापनको संयुक्त प्रयास हो,’ श्रेष्ठ अहिलेसम्म सफलताको रहस्य सुनाउँछन्, ‘हामीले प्रत्येक खेलमा स्वाभाविक प्रदर्शन गरिरहेका छौं । यो नै अहिलेसम्मको सफलताको कारण हो । यसमा हामी सन्तुष्ट छौं र यसलाई निरन्तरता दिने योजनामा मिहिनेतका साथ लागिपरेका छौं ।’

गत सिजन राम्रो प्रदर्शन गर्दागर्दै पनि फिनिसिङमा चुकेको जावलाखेलले यसपालि त्यही कमजोरीमा सुधार गरेको छ । स्ट्राइकर मोसाबी, युसुफ थपलिया र फोडे फोफानाले जावलाखेलको जितमा निर्णायक भूमिका खेलिरहेका छन् ।  

प्रशिक्षक श्रेष्ठ गत सिजन उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएपछि टोलीको लयमा ब्रेक लाग्ने चिन्तामा थिए । तर, त्यही हारबाट पाठ सिकेर टोली थप सुधारका साथ प्रस्तुत भएको उनको बुझाइ छ ।

‘आर्मीविरुद्धको खेल हाम्रा लागि लिगकै खराब प्रदर्शन भयो जस्तो लाग्छ । त्यो खेलमा टोलीको मनोबल निकै कम थियो,’ श्रेष्ठले राहत महसुस गरे, ‘त्यो खेल गुमाएको चिन्ता त थियो नै । खेलाडीहरूले आगामी खेलमा पनि लय बिर्सन्छन् कि भन्ने चिन्ता थपिएको थियो । तर खेलाडीहरूले त्यो हारपछि पाठ सिके । मनोबल उच्च बनाइरहे । यही कारण शीर्षताको दौडमा रहेको मनाङमाथि सहज जित निकाल्न सफल भयौं । त्यसले थप हौसला बढेको छ ।’

फुटबलमा आश्चर्यजनक नतिजा आइरहने बताउँदै प्रशिक्षक श्रेष्ठले थपे, ‘पुलिस यसपालि लिगमा निकै कमजोर देखिए पनि शीर्षस्थानको दौडमा रहेको सातदोबाटोलाई गोलरहित बराबरीमा रोक्न सफल भयौं । बुधबार हामीले पुलिसलाई लिग इतिहासकै फराकिलो हार चखाउन सफल भयौं ।’

प्रतियोगिताका लागि तयारी गर्दै गर्दा सुरुआत कस्तो होला भन्ने चिन्ता रहेको जावलाखेललाई अहिले शीर्षस्थानमाथिको पकड कायम गरिरहनुपर्ने दबाब छ । प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘खेलाडीले उनीहरूलाई क्लबले गरेको विश्वास प्रमाणित गरेका छन् । टोलीले थप सुधारिएको प्रदर्शनका साथ यसपालि क्लब इतिहासमै पहिलो पटक उपाधि जित्नेमा म आशावादी छु ।’

जावलाखेलले ऐतिहासिक सफलता हासिल गरिरहँदा क्लबका अध्यक्ष महेन्द्र क्षेत्री आफ्नो टोलीप्रति गौरवान्वित छन् ।

उनी भन्छन्, ‘गत सिजनको तुलना गर्ने हो भने यसपालि अहिलेसम्मको नतिजा नै ठूलो उपलब्धि हो । हामी अहिले शीर्षस्थानमा छौं । अबको चुनौती यसलाई कायम राख्ने हो । किनभने यसपालि हामीले राम्रो टिम बनाएका छौं र अरू पनि सबै टोलीको स्तर उस्तै छ । शीर्षस्थान र त्योभन्दा तल रहेका टोलीबीच खासै फराकिलो अन्तर छैन । यस्तो रस्साकस्सीमा हामीले शीर्षस्थान गुमाउनुहुन्न ।’

निकै प्रतिस्पर्धात्मक लिगमा शीर्षस्थानमाथिको पकड कायम राख्न क्लब बाँकी खेलमा विशेष योजनासाथ प्रस्तुत हुने पनि उनले सुनाए । ‘मुख्य कुरा हाम्रो सम्पूर्ण टिमको सोच यसपालि निकै सकारात्मक छ । क्लब व्यवस्थापन उत्साहित छ । टिम व्यवस्थापन उत्साहित छ । प्रशिक्षकहरू उत्साहित हुनुहुन्छ । खेलाडीहरू उत्साहित छन् । इतिहासमै पहिलो पटक सहिद स्मारक लिगको ट्रफी भित्र्याउनका लागि समग्र जावलाखेल उत्साहित छ ।’