फुटबल

मुस्किलमा बायर्न

काठमाडौं । जुलियन नागेल्समनलाई प्रतिस्थापन गरेका थोमस टुचलले बायर्न म्युनिखलाई यो सिजन जिताउन सक्ने एउटै उपाधि हो, बुन्डेसलिगा । जुन बायर्नले लगातार १० सिजनयता जित्दै आएको छ । उसो त बायर्न च्याम्पियन्स लिगको सेमिफाइनल दौडबाट बाहिरिइसकेको छैन ।

तर क्वार्टरफाइनलको दोस्रो लेगमा इङ्लिस च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउन भने सजिलो छैन । त्यो पनि फराकिलो अन्तरमा । सेमिफाइनलमा पुग्न बायर्नले सिटीविरुद्ध कम्तीमा चार गोल गर्नुपर्नेछ । घरेलु मैदानमा उसलाई एक गोल खाने पनि छुट हुने छैन । यति हुँदाहुँदै पनि बायर्नका समर्थकले आश मारिसकेका छैनन् ।

तर परबाट हेर्दा, बायर्नका लागि यो बाधा पार गर्न कठिन छ । यद्यपि असम्भव छैन । फेरि च्याम्पियन्स लिगमा बारम्बार नपत्याउँदा पुनरागमन हुने गरेकै छन् ।

बायर्नको जर्मन कप यात्रा भने अन्त्य भइसकेको छ । यस्तोमा बुन्डेसलिगा मात्र यस्तो प्रतियोगिता हो, जहाँ बायर्नलाई साँच्चैको दाबेदार मानिएको छ । र बुन्डेसलिगा नजिते बायर्नमा भूकम्प जाने निश्चित छ ।  

परिक्षक परिवर्तन, च्याम्पियन्स लिगमा हार लगायतका कठिन परिस्थितिबाट गुज्रिएको बायर्नमा अर्को समस्या थपिएको छ । त्यो हो, लेरियो साने र साडियो मानेबीचको झगडा । सिटीसँगको खेल दौरान भएको भनाभन खेलपछि हानाहानमा रुपान्तरित भएको थियो । यही सिजन लिभरपुलबाट म्युनिख पुगेका मानेले सानेलाई हिर्काएको बताइन्छ ।

यस्तो दाबी बायर्नले मानेमाथि गरेको कारबाहीबाट पनि पुष्टि भइसकेको छ । मानेमाथि एक खेलको प्रतिबन्ध लगाएको छ, बायर्नले । सँगसँगै पाँच लाख युरो जरिबाना पनि तिराउने निर्णय गरेको छ । भलै जरिबानाबारे बायर्नले औपचारिक रुपमा केही बताएको छैन ।

रोबर्ट लेवान्डोस्की बार्सिलोना लागेपछि बायर्नले मानेलाई अनुबन्ध गरेको थियो । लिभरपुलबाट च्याम्पियन्स लिग र इङ्लिस प्रिमियर लिग जितेका माने दुई पटक अफ्रिकी वर्ष खेलाडी घोषित भएका फुटबलर हुन् । बायर्नसँग अनुबन्धित हुँदा उत्साहित देखिएका उनले जर्मन बसाइको सुरुआत मजबुत ढंगमा गरेका थिए । सुरुआती सात खेलमा ६ गोल गर्न सकेका माने त्यसपछि भने सुस्ताए ।

बायर्नमा माने मुख्य स्टारका रुपमा स्थापित हुन नसक्नुको कारण चोट पनि हो । गत नोभेम्बरम उनी वेर्डेर ब्रेम्यानसँगको खेलमा घाइते भएका थिए । त्यसपछि उनले बुन्डेसलिगाका ९ खेल मात्र होइन विश्वकप २०२२ नै गुमाए । यति हुँदाहुँदै पनि मानेले बायर्नका लागि ३२ खेलमा ११ गोल गरेका छन् ।

मानेले जर्मनीमा अचम्मको कीर्तिमान पनि राख्न भ्याइसके । त्यो हो, सर्वाधिक संख्यामा अफसाइड गोल । उनले गरेका ६ गोललाई मान्यता दिइएन । बुन्डेसलिगामा यसअघि कसैले यत्तिका अफसाइड गोल गरेको थिएन ।  

यी सबै समस्याका बावजुद बायर्नलाई मैदानमा फर्कनु नै छ । टुचलको टिम शनिबार होफेनहाइमसँग खेल्दैछ । बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न र दोस्रो स्थानको बोरुसिया डर्टमन्ड एकै समयमा मैदान ओर्लदैछन् । होफनहाइमसँग घरेलु मैदानमा खेलिरहँदा बायर्नका खेलाडीको मनमा डर्टमन्डले हारे हुने भन्ने भाव दौडिरहेको हुनेछ ।

किनभने डर्टमन्डलाई १६ औं स्थानको स्टुटगार्टले घरेलु मैदानमा रोके, बायर्नले शीर्षस्थानमाथिको पकड झनै बलियो बनाउनेछ । बुन्डेसलिगामा सात खेल बाँकी रहँदा बायर्न र डर्टमन्डबीचको दूरी दुई अंक छ । जसरी भए पनि रेलिगेसनबाट बच्ने लक्ष्यमा रहेको स्टुटगार्टले डर्टमन्डलाई स्तब्ध बनाए, अनि बायर्नले १४ औं स्थानको होफनहाइमलाई पन्छाए, बुन्डेसलिगा उपाधि होड नयाँ मोडमा प्रवेश गर्नेछ ।

तर होफनहाइसँगको खेल बायर्नका लागि सजिलो हुने छैन । अंक तालिकामा तल रहे पनि होफनहाइम अमेरिकी प्रशिक्षक पेलेग्रिनो माटाराज्जोको प्रशिक्षणमा उत्साहित छ । गत फेब्रुअरीमा मात्र होफनहाइमको प्रशिक्षक बनेका माटाराज्जोले पछिल्ला तीन खेलमा जित दिलाएका छन् ।

माटाराज्जो हुनै समय स्टुटगार्टको प्रशिक्षक थिए । त्यसबेला उनी नेतृत्वको स्टुटगार्टले आलियान्ज एरिनामा भएका पछिल्ला दुई खेलमा बायर्नलाई बराबरीमा रोकेको थियो ।

यस्तो तथ्यांकका बाबजुद होफनहाइमका खेलाडी बायर्नसँगको खेललाई लिएर असाध्यै सचेत छन् । यसको कारण हो, सिटीसँग बायर्नको हार । होफनहाइमका खेलाडीलाई के लागेको छ भने, बायर्न त्यो हारको रिस शनिबारको खेलमा पोख्न चाहन्छ । होफनहाइमका मिडफिल्डर क्रिस्टोफ बाउमगार्टनर बायर्नविरुद्ध डटेर खेल्नेबाहेकको विकल्प नरहेको बताउँछन् । ‘म्युनिखमा हामीलाई बायर्नले श्वाससमेत फेर्न दिने छैन । यसकारण हामी डटेर खेल्न आवश्यक छ,’ बाउमगार्टनरले भनेका छन् ।

संयोग कस्तो भने, बायर्नले शनिबार सामना गर्न लागेको विपक्षी होफाइनहाइमका पूर्वप्रशिक्षक सेबेस्टियन होइनेस स्टुटगार्टका प्रशिक्षक बनेका छन्, जो डर्टमन्डसँग भिड्दैछ । होइनेस गत शुक्रबार मात्र स्टुटगार्टको प्रशिक्षक बनेका हुन् । उनको नेतृत्वमा स्टुटगार्टले जम्मा दुई खेल मात्र खेल्न भ्याएको छ । ती दुवै खेलमा स्टुटगार्ट विजयी भएको थियो ।

डर्टमन्डका प्रशिक्षक एडिट ट्रेजिकले स्टुटगार्टलाई सजिलो विपक्षी मानेका छैनन् । उनले स्टुटगार्ट ‘रेलिगेसन ब्याटल’ मा रहनु पर्ने टिम नभएको पनि बताएका छन् । ‘खासमा स्टुटगार्ट यो सिजन अभागी देखिएको छ । कयौं खेलमा स्टुटगार्ट साँघुरो अन्तरमा पराजित भयो । कति खेल त उसले जित्ने खालका थिए,’ ट्रेजिकले भनेका छन्, ‘स्टुटगार्टको खेल शैली पनि प्राविधिक छ । बल नियन्त्रणमा राखेर खेल्छ । यसकारण हाम्रा लागि यो टिम सजिलो विपक्षी होइन ।’