मंसिर २०, २०८२ शनिबार | १४:२१:५०
सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ
शनिबारको दिन वर्ष २०७९

किन प्रश्नबाट भागिरहेछ नेपाली फुटबल ?

काठमाडौं । प्रश्न यत्तिमात्रै हो, ‘भुटानसँग बराबरी खेलेपछि नेपाली फुटबल इतिहासले तपाईंलाई अपजस दिने छ नि ?’ 

कुन भावनाबाट यो ‘देशद्रोही’ पाराको प्रश्न हो भन्ने । तर, नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई भने यो ‘देशद्रोही’ प्रश्न लाग्छ । भलै, उनी नेपाली राष्ट्रिय टिममा कसरी कहाँबाट के के गरेर आइपुगे, त्यसबारे थप प्रश्न बाँकी नै छ । यो त भुटानविरुद्ध नेपाली टिमको खराव प्रदर्शनबाट भाग्ने साह्रै खराब बहानामात्र न हो । सारमा नेपाली फुटबल वर्ष ०७९ मा यस्तै रह्यो ।

एकपछि अर्को प्रश्न आइरहे । नेपाली फुटबल, यसलाई सञ्चालन गर्ने सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा), यसका पदाधिकारी अनि तिनै प्रशिक्षक अल्बर्टोलाई प्रश्न तेर्सिइरहे । त्यसबाट सबै भागिरहे । प्रश्नबाट भाग्नु भनेको जिम्मेवारीबाट भाग्नुको सबैभन्दा उत्तम उपाय हो । नेपाली फुटबलमा साँच्चै यस्तै भइरहेको छ । यसबीच नेपाली फुटबलमा चर्को न चर्को विवाद, आरोप प्रत्यारोप, आक्रोश, अनिश्चितता, अन्योल र बेतिथि मात्र रहे । 

वर्षको सुरुआत नै नेपाली टिमका तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध १० को हाराहारीमा रहेका राष्ट्रिय टिमका खेलाडीको विद्रोहबाट भएको थियो । सायद विद्रोह शब्द उपयुक्त नहुन सक्छ । जेहोस्, राष्ट्रिय टिमको तयारी चलिरहँदा केही प्रमुख खेलाडी त्यसबाट बाहिरिएका थिए । तिनले प्रशिक्षक अल्मुताइरीमाथि अनेक आरोप लगाए । अल्मुताइरी तिनै प्रशिक्षक हुन्, जसको प्रशंसा गर्न कुनै समय खेलाडी नै थाक्दैन थिए ।

घटनाक्रमको केही समयअगाडिसम्म कप्तान किरण लिम्बूले आफूहरुका लागि अल्मुताइरी ‘पिता’ समान रहेको बताएका थिए । यिनै विवाद र प्रमुख खेलाडीविना नेपालले एसिया कप छनोट खेल्यो । नतिजा राम्रो रहेन नै । पछि अल्मुताइरीमाथि छानबिन गर्न कमिटी गठन भयो । कालान्तरमा प्रशिक्षक आफैंले पद छाडे । 

प्रश्न हो, यो सबै घटनाक्रममा दोषी को हो त ? खेलाडी ? प्रशिक्षक ? वा त्यसमा राजनीति गर्न खोज्नेहरू ? 

प्रश्न ज्युँका त्युँ छ । यही समय मैदान बाहिर उत्तिकै फोहोरी राजनीति भइरह्यो, निहुँ थियो, एन्फा कार्यसमितिको चुनाव । यस चुनावबाट एन्फा अध्यक्षमा पंकज नेम्वाङको उदय भयो भने कर्माछिरिङ शेर्पा बाहिरिए । चुनाव आफैंमा अनौठो रह्यो । नारा त परिवर्तनको थियो । तर, नेपाली फुटबलमा कसले कस्तो परिवर्तन गर्न खोजेको हो, त्यो कहिले पनि प्रस्ट भएन । चुनावी समीकरणमा तीन पक्ष थिए । एक त नेम्वाङ, अर्को शेर्पा अनि थप एक पूर्वअध्यक्ष गणेश थापाको । 

गुट जस्तै भए पनि ती सबै कुनै न कुनै समय थापा नेतृत्वको एन्फामै थिए । उनी सँगै काम गरेकाहरू थिए । अझ केही उनको असाध्यै नजिकका थिए । यस्तोमा परिवर्तनको नारा त लागिरह्यो । तर, पात्र सबै त तिनै थिए । यस्तोमा प्रश्न, के नेपाली फुटबल वास्तवमै परिवर्तनबाट गुज्रिएको छ ? कि यो सस्तो नारामात्रै हो ? अध्यक्षमा रूपमा नेम्वाङको एक वर्ष पनि पूरा हुन बाँकी छ । तर उनको यो कार्यकाल आफैंमा खराब देखिइसकेकोे छ । अध्यक्ष चुनिएयता उनको पहिलो प्रतिवद्धता थियो, एन्फाको आर्थिक स्थितिबारे श्वेतपत्र जारी गर्ने । अध्यक्ष चुनिएको केही मिनेटमै उनले यो घोषणा गरेका थिए । यस्तोमा प्रश्न त बन्छ नै । के कहिलेसम्म त्यस्तो श्वेतपत्र जारी हुन्छ ?

अहिले तत्काल एन्फाको स्थिति दुई प्रकारले ब्याख्या गर्न सकिन्छ । पहिलो, एन्फाको केन्द्रीय समितिको बैठक नै बस्न सक्ने स्थिति छैन । पदाधिकारीहरू एकले अर्कोलाई घात गरिरहेका छन् । त्यसैले प्रश्न बन्छ, अहिलेका एन्फा पदाधिकारीलाई फुटबलको मतलब पनि छ र ?

अनि यससँगै जोडिएर आउँछ, एन्फाभित्र भइरहेका आर्थिक चलखेल, अनियमितता र अपारदर्शिता । सबैभन्दा मुख्य तथ्य के हो भने एन्फालाई आउनुपर्ने फिफा र एएफसीको आर्थिक सहयोग किन ठीक ढंगले हुन सकेको छैन । यसअघि कोही कसैले एन्फाभित्र आर्थिक सुशासन छैन भनेर यस्तो सहयोग रोक्ने प्रयास गरेका थिए । रोकियो पनि । तर, अहिलेसम्म यो खुलेको छैन । अनि प्रश्न बन्दैन त, यसमा दोषी को त ? एन्फालाई टाट पल्टिने स्थितिमा पुर्याउने को हो ? 

वर्ष ०७९ मै कतारमा विश्वकप पनि भयो । यससँगै जोडिएको विवादबारे प्रस्ट कुरा बाहिर आएका छैनन् । फिफाले नेपालका लागि भनेर विश्वकपका केही निश्चित टिकट एन्फालाई दिएको थियो । एन्फाले प्राप्त यी टिकट कति मूल्यमा कसलाई कहिले के प्रायोजनमा दियो त ? प्रश्न त यिनै हुन् । खोइ यसको उत्तर ? द काठमाडौं पोस्टले यसबारे लामो अनुुसन्धान गर्दै समाचार प्रकाशित गरेको थियो । यसबारे एन्फा र यसको नेतृत्व किन वास्तवमै चुपचाप छ ?  

वर्ष ०७९ मा एकपछि अर्को खेलाडी पलायनले साह्रै नमज्जाको स्थिति बनायो । राष्ट्रिय टिमबाट खेलेका, खेलिरहेका र खेल्न तयार रहेका तीन दर्जनभन्दा बढी खेलाडी विदेश गए । धेरै त अस्ट्रेलिया पुगे । जति गए, सबैको एउटै गुनासो थियो, नेपाली फुटबलमा भविष्य नै छैन । हुन पनि हो, कोही कसैले नेपाली फुटबलका लागि आफ्नो भविष्य किन दाउमा लगाउने ? एक मनले भन्छ, विदेश गएका सबै खेलाडीले ठीकै त गरे । तर, यसले नेपाली फुटबलमा कहिले पनि निको नहुने घाउ त पक्कै लगाएको छ ।

सबैभन्दा ठूलो नेपाली फुटबल एकाएक कमजोर भएको छ । त्यो स्तरको आधारमा । यसै पृष्ठभूमिमा अर्को प्रश्न उठ्छ । खेलाडी पलायन अनि तिनको भविष्यलाई लिएर किन एन्फा कहिल्यै गम्भीर बनेन ? अझ एन्फाको वर्तमान पदाधिकारीलाई त यो हाँसोको विषय बनेको छ । केहीबाट उल्टै प्रश्न आउने गरेको छ । खेलाडी गए त गए, हामीले कसरी रोक्ने ? यसमा प्रतिप्रश्न, यति साह्रो गैरजिम्मेवारीपूर्ण व्यवहार किन ? राम्रा जति खेलाडी विदेश गइसकेपछि पनि एन्फालाई कसरी निद्रा लाग्छ ?

र, मैदानकै कुरा । अहिले सहिद स्मारक ए डिभिजन लिग चलिरहेको छ । बी डिभिजन कहिले हुने हो, टुंगो छैन । एन्फाले कुनै नकआउट प्रतियोगिता पनि गर्नुपर्दैन र ? महिलाको लिग कहिले नि ? अनि उमेर समूहका प्रतियोगिता ? मोफसलमा हुने बग्रेल्ती प्रतियोगिताहरूको सही व्यवस्थापन कहिले ? प्रश्न कति छन् कति । भइरहेको ए डिभिजन लिग पनि पटक्कै ढंगले भइरहेको छैन । लाग्छ, यो त औपचारिकता पूरा गर्ने प्रतियोगितामात्रै हो, अरू केही पनि होइन ।

नेपालले वर्ष ०७९ मा केही अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको पनि होइन । पुरुष टिमले त थ्री नेसन्स कप नै जित्यो । महिला टिम भने साफ च्याम्पियनसिपमा दोस्रो भयो । पुरुष टिमको उपलब्धि भने पटक्कै खुसी दिने खालको थिएन । यो त आफूभन्दा कमजोर भुटान र लाओससम्मिलित प्रतियोगिता न हो । नेपाली फुटबल यस्तो क्षुद्र उपलब्धिमा खुसी हुने होइन । बरू नेपाली महिला फुटबल खेलाडीले धेरै राम्रो गरेका छन् । तर, उनीहरूकै दोहोरो लिग फुटबल पनि बीचमै टुंग्याउने निर्णय गरियो । किन ?

खासमा नेपालले महिला फुटबलमा लगानी बढाउने हो भने केही अनपेक्षित सफलता नै हात पार्न सक्छ । धेरै सम्भावना छ महिला फुटबलमा ।

समग्रमा भन्दा एन्फा प्रतियोगिता आयोजनालाई लिएर वास्तवमै गम्भीर हुने कहिले त ? यो स्वभाविक प्रश्न भयो । धेरै प्रश्न छन् । तर नेपाली फुटबलको नेतृत्व चुपचाप छ, उत्तर दिन चाहन्न । प्रश्नबाट भागिरहेको छ, जसरी प्रशिक्षक अल्बर्टो भागेका थिए । तिनलाई आफूमाथि प्रश्न गर्नेलाई नै उल्टै ‘देशद्रोही’भन्दा मज्जा आउँछ ।

एउटा चर्चित हिन्दी कविताको सार:मरेको मान्छेले प्रश्न गर्दैन,त्यसैले प्रश्न गर्न छाड्यो भने जिउँदो मान्छे पनि मरेजस्तै हुन्छ !!

नेपाली फुटबललाई माया गर्नेले त हो प्रश्न गर्ने । प्रश्नबाट नेपाली फुटबल प्रशासन भाग्न चाहिँ पाउँदैन । उत्तर दिने जिउँदा मान्छेले नै हुन् ।