काठमाडौं । आधुनिक फुटबलमा प्रशिक्षक फगत प्रशिक्षक मात्र रहेनन् । अब उनीहरु व्यवस्थापकमा रुपन्तरित भइसके । विश्वले सबैभन्दा बढी हेर्ने इङ्लिस प्रिमियर लिगमा प्रशिक्षकभन्दा व्यवस्थापक बढी छन् । प्रशिक्षक र व्यवस्थापकबीच फरक के ? यसमा गहिरो छलफल गर्न सकिन्छ ।
तर अहिलेलाई यति बुझौँ, व्यवस्थापकको काँधमा टिम निर्माण पनि हुन्छ । उनीहरु खेलाडी किनबेच गर्छन् । यति मात्र कहाँ हो र, उनीहरु त समग्र क्लबकै नेतृत्व गर्छन् । म्यानचेस्टर युनाइटडका एलेक्स फर्गुसन र आर्सन वेंगर यसका उदाहरण हुन् ।फर्गुसन र वेंगर अहिले प्रशिक्षणमा छैनन् । फर्गुसन संन्यास जीवनमा रमाइरहेका छन् । वेंगर चाहिँ फिफाको जागिरे । यीनलाई टचलाइनमा देखिन छाडेको निकै भइसक्यो । तर टेलिजिभनमा जब जब ओल्ड ट्राफोर्ड र इमिरेट्स रंगशाला देखिन्छ, तब तब यी दुईको मुहार मस्तिष्कमा छाइहाल्छ । किनभने इङ्ल्यान्डका दुई कलात्मक रंगशाला निर्माणमा अगुवा फर्गुसन र वेंगर थिए ।
के भनिन्छ भने, लिभरपुलका योर्गान क्लोप क्लबभित्र शक्तिशाली छन् । कसलाई कति तलब दिने, सम्झौता नवीकरण गर्ने वा नगर्ने लगायतका निर्णयमा उनको भूमिका हुन्छ । उता चेल्सीले ग्राहम पोर्टरलाई व्यवस्थापक होइन, मुख्य प्रशिक्षकको पद दिएको छ । सैद्धान्तिक रुपमा के भन्न सकिन्छ भने, चेल्सीले खेलाडी किनबेच गर्दा पोर्टरको सुझाव नसुन्न पनि सक्छ ।
कुरा फेरि आर्सनलकै । डिसेम्बर, २०१९ मा आर्सनलले मिकेल आर्टेटालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । सेप्टेम्बर, २०२० आइपुग्दा उनी व्यवस्थापकमा बढुवा भए । ‘मिकेल आर्सनल आएको नौ महिना भयो । कठिन परिस्थितिका बाबजुद उनले यो क्लबलाई मजुबत नेतृत्व प्रदान गरेका छन् । लन्डन कोल्ने (आर्सनलको अभ्यास केन्द्र भएको स्थान) लाई मात्र होइन, विश्वभरका आर्सनल समर्थकको मानसिकता परिवर्तन गरेका छन्,’ आर्टेटाको बढुवाबारे कार्यकारी अधिकृत भिनाई भेनकाटसनले भनेका थिए ।
अब नेपाली फुटबलमा अवतरण गरौँ । घरेलु फुटबलको नयाँ सिजन सुरु भएको एक महिना पनि पुगेको छैन । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाँच चरणका खेल सकिएका छन् । शीर्षस्थानमा सातदोबाटो युथ क्लब छ भने दोस्रो स्थानमा मनाङ मर्स्याङ्दी क्लब । नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले तेस्रो स्थान ओगट्दा चौथो स्थानमा जावलाखेल युथ क्लब अडिएको छ ।
‘ए’ डिभिजन लिगका सबै १४ क्लबमध्ये १३ क्लबमा नेपाली प्रशिक्षक छन् । चर्च ब्वाइजले भने अमेरिकी नागरिक प्रदीप हुमागाईंलाई टिमको जिम्मा दिएको छ । यी सबै प्रशिक्षकसँग एसियाली फुटबल महासंघ (एएफसी) को ‘ए’ लाइसेन्स छ । लाइसेन्स प्रशिक्षकको एकेडेमिक योग्यता नाप्ने प्राविधिक आधार हो । सामान्य भाषामा भन्दा, एउटा प्रशिक्षकलाई आवश्यक गुणको विकास गराउने माध्यम नै लाइसेन्सका लागि हुने तालिम हो ।अब प्रश्न उठ्न सक्छ, प्रशिक्षकमा खोजिने गुण के के हुन् ? सूची लामो बन्नसक्छ । तर सरसर्ती केलाउने हो भने, खेल रणनीति, दिनहुँको अभ्यासमा नेतृत्वदायी भूमिका आदि । यी त भए प्राविधिक पक्ष । अप्राविधिक पक्ष पनि त छन् । जस्तै टिमको मुख्य ‘फेस’ बन्ने जिम्मेवारी । यो जिम्मेवारी प्रशिक्षकले पत्रकार सम्मेलनमा उपस्थित भएर पूरा गर्न सक्छन् । पत्रकार सम्मेलनका पनि दुई जात छन्, प्रि म्याच र पोस्ट म्याच कन्फरेन्स वा खेलअघि र खेलपछि । यो त देखिने जिम्मेवारी भयो । अदृश्य जिम्मेवारी पनि छ । त्यो हो, ‘म्यान म्यानेजमेन्ट’ ।‘ए’ डिभिजनका अधिकांश क्लब आफैँ टिम बनाएर अन्तिममा प्रशिक्षक नियुक्त गर्छन् । यसको ठ्याक्कै उल्टो प्रक्रियामा जाने क्लब पनि छन् । जस्तै मनाङ । प्रशिक्षक किरण श्रेष्ठका अनुसार, मनाङको टिम जिम्मेवारी उनकै थियो ।
हामी यहाँ चर्चा देखिने जिम्मेवारीको गर्नेछौँ । ‘ए’ डिभिजन लिगका धेरैजसो क्लबका प्रशिक्षक पत्रकार पोस्टम्याच कन्फ्रेन्समा उपस्थित हुने गरेका छन् । चर्च ब्वाइजका प्रदीप चाहिँ देखिएका छैनन् । उनले सहायक प्रशिक्षक रमेश दंगाललाई पठाउने गरेका छन् । वर्क पर्मिट नपाइसकेका कारण प्रदीप पत्रकार सम्मेलनमा नआउने गरेको रमेशको भनाइ छ । उसो त एन्फाले पत्रकारलाई बाँड्ने ‘प्लेयिङ सिट’ मा प्रदीपलाई चर्च ब्वाइजले ‘टिम अफिसियल’ का रुपमा उल्लेख गरेको हुन्छ ।
उता च्याम्पियन मछिन्द्र फुटबल कलबका प्रवेश कटवाल पनि पाँचै खेलपछिका पत्रकार सम्मेलनमा उपस्थित भएनन् । चर्च ब्वाइजसँगको खेलपछि मछिन्द्रका सहायक प्रशिक्षक सन्तोष न्यौपाने देखिए । प्रवेश राष्ट्रिय टिमसँग आबद्ध भइसकेकाले आफू आएको सन्तोषको भनाइ थियो । कतिपय पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक उपस्थित नहुँदा दिइने सूचना हो, ‘उहाँ अस्वस्थताका कारण आउन सक्नु भएन। ’ त्यस्तोबेला सहायक प्रशिक्षक उपस्थित हुने गरेका छन् ।
सहायक प्रशिक्षकलाई कमै प्रश्न तेर्स्याइन्छ । अनौपचारिक कुराकानीमा फुटबल पत्रकार के भन्छन् भने, ‘सहायक प्रशिक्षकलाई प्रश्न सोध्ने जाँगर चल्दैन ।’ यसको एउटा कारण हुनसक्छ, सहायक प्रशिक्षकले सोधिएका प्रश्नको स्पष्ट जवाफ दिननसक्नु । अधिकांश सहायक प्रशिक्षक सिकाईकै क्रममा रहने, ‘बी’ वा ‘सी’ लाइसेन्स मात्र गरेका हुनाले पत्रकार सम्मेलनमा प्रस्तुत हुन तयार भइनसकेको अनुमान गरिन्छ ।
पत्रकार सम्मेलनमा केही प्रशिक्षक रोचक ढंगमा जवाफ दिन्छन् । कोही चाहिँ लटरपटर जवाफ दिन्छन् । कतिपय प्रशिक्षक थोरै बोल्छन्, तर उनीहरुले दिने जवाफ सटिक हुनेगर्छ । केही यस्ता प्रशिक्षक यसरी प्रस्तुत हुन्छन् कि मानौँ उनीहरु अनौपचारिक बात मार्न आएका हुन् । अनि केही यस्ता प्रशिक्षक पनि छन्, जसको प्रत्येक वाक्य समाचारका लिड र हेडलाइन बन्नसक्छन् । निचोडमा के भन्न सकिन्छ भने, प्रशिक्षकहरुको जवाफमा उनीहरुको व्यक्तिगत स्वभाव झल्किन्छ ।
पाँचौं चरणमा नेपाल पुलिस क्लबसँग १-१ को बराबरीपछि न्युरोड टिम (एनआरटी) का मुख्य प्रशिक्षक राजुकाजी शाक्यले प्रत्येक प्रश्नमा दिएको जवाफ आफैँमा ठूला ‘स्टेटमेन्ट’ थिए । ‘मेरा खेलाडी आफ्नै टिमका साथी चिन्दैनन्, जर्सी चिन्दैनन् । दिएको कमाण्ड अनुसारको खेलिरहेका छैनन् । खासमा उनीहरु कसरी र किन यस्तो खेल्दैछन्, बुझ्न सकिरहेको छैन । विपक्षी अनुसारको खेल खेलिरहेका छन्,’ राजुकाजीले भनेका थिए ।
लगातार चार खेल हारेपछि पुलिसले एनआरटीविरुद्ध जुमानु राई र सुमन सुवेदीलाई मैदानभित्र पठाएको थियो । पुलिसका मुख्य प्रशिक्षक चेतन घिमिरेको यो निर्णय देखेर राजुकाजीले ‘टेक्निकल एरिया’ मा मजाक गरेको सुनाए । ‘मैले भोला (सिलवाल) लाई अब म पनि खेलौँ कि क्या हो भनेँ,’ राजुकाजीले ठट्टा गर्दै भने ।
राजुकाजीपछि पत्रकार सम्मेलनमा उपस्थित हुने पालो चेतनको थियो । राजुकाजीले यस्तो भनेर गए नि भनेर चेतनलाई सुनाइँदा चेतन मज्जाले हाँसे । ‘राजु सरले त्यस्तो भन्नुभयो,’ पहिलो अंक बटुलेका कारण त्यसै पनि खुसी देखिएका चेतनले सहज प्रतिक्रिया दिए । टिमको खराब प्रदर्शनका बाबजुद पत्रकारसामु हाँसिलो मुहार लिएर प्रस्तुत हुने बानी छ चेतनको । खेल चलिहरँदा पनि उनी आक्रोश कम पोख्छन्, बरु खेलाडीहरुको मनोबल बढाइरहेको देखिन्छन् ।
मनाङका प्रशिक्षक किरण थोरै बोल्ने प्रशिक्षकका रुपमा चिनिन्छन् । खेलका क्रममा पनि उनको हउभाउ उत्तेजित वा आक्रामक हुँदैन । आफ्ना खेलाडीले गोल गर्दा वा टिमले जित्दा उनी खुलेर मुस्कुराउँछन् । सोधिएका प्रश्नको सटिक जवाफ दिने उनको बानी छ । जवाफ दिँदा उनी केहीहदसम्म प्राविधिक पनि देखिन्छन् । फुटबलका ‘टेक्निकल’ शब्द पनि प्रयोग गर्छन् ।
मनाङ पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिँदा उनको जवाफ खह्रो थियो । ‘आज हिमालयन शेर्पाले भलिबल खेल्यो । उनीहरुको रणनीति लामो लामो पास खेल्ने, अग्ला विदेशी खेलाडीको उचाइको एड्भान्टेज लिने,’ किरणले भनेका थिए ।
उनी जस्तै सटिक उत्तर दिने अर्का प्रशिक्षक हुन्, सुमन श्रेष्ठ । हिमालयन शेर्पालाई सकेसम्म ‘पासिङ गेम’ खेलाउन खोजिरहेका सुमन पत्रकार सम्मेलनमा पनि मिलाएर जवाफ दिने प्रयास गर्छन् । खेल जित्दा वा हार्दा, उनको हाउभाउ उस्तै हुन्छ । उनी औपचारिक हुने प्रयास गर्छन् । ठिक्क मात्र बोल्न खोज्छन् ।
च्याम्पियन मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश पनि सोधिएका प्रश्नको सीमाबाट बाहिर निस्किँदैनन् । तर उनका जवाफ फगत औपचारिह हुँदैनन् । उनका कतिपय जवाफ पत्रकारका लागि फरक ‘स्टोरी’ को एंगल बन्नसक्छ । उदाहरण, उनी लिग क्यालेन्डरको विषयमा टिप्पणी गरिरहेका हुन्छन् । लगातार खेल्नु पर्दा थाकेका खेलाडीको पीडा सुनाउँछन् ।संकटा क्लबका सल्यान खड्गी पनि सीधा जवाफ दिन्छन् । सन्तुलित जवाफ दिने प्रयास गर्ने सल्यानलाई आधुनिक प्रशिक्षकको उदाहरण मान्न सकिन्छ । उनको जवाफ दिने शैली हेर्दा यस्तो लाग्छ, उनलाई पत्रकार सम्मेलनमा के बोल्नु हुँदैन भन्ने थाहा छ । कप्तान सुनिल बल एक खेल खेलेर विदेसीएकोमा होस् वा आयुष घलानका विषयमा होस्, उनले दिएका जवाफ सटिक थिए ।
‘हामीसँग भएका सबै खेलाडी उत्तिकै प्रतिभावान् छन्, उत्तिकै महत्त्वपूर्ण छन् । एउटा खेलाडी नहुँदा अर्कोले उसको स्थान लिन्छ । एउटा खेलाडी नहुँदा टिम बिग्रिने भन्ने हुँदैन,’ सल्यानले सुनिलबारे सोधिएको प्रश्नको जवाफ दिँदै भनेका थिए । आयुष घलानका विषयमा उनको जवाफ थियो, ‘आयुष यो टिमको एक्लो प्रतिभावान् खेलाडी होइन । अरु पनि प्रतिभावान् भएकै कारण, यहाँसम्म आइपुगेका हुन् ।’
मेघराज केसी सम्भवतः लिगका सबैभन्दा अनुभवी प्रशिक्षक हुन् । वर्षौदेखि ‘ए’ डिभिजन र प्रशिक्षणमा व्यस्त रहेका मेघराजसँग लगभग सबै फुटबल पत्रकारको चिनजान छ । यसकारण उनी पत्रकार सम्मेलनमा सहज महसुस गर्छन् । सोधिएका प्रश्नको जवाफ दिँदा अनावश्यक औपचारिकता देखाउँदैनन् ।नेपाली फुटबलमा देखिएका हरेक समस्याबारे जानकार उनी बेलोबला ती विषय उठाउँछन् पनि । जारी लिगमा विदेसीएका खेलाडीबारे मुख खोल्ने उनी पहिलो प्रशिक्षक हुन् । खेलाडी पलायनका कारण लिगको स्तर घटेको उनको जिकिर छ । उनले दिएको अर्को ठूलो स्टेटमेन्ट हो, ‘विदेसीएका खेलाडीका स्थानमा नयाँलाई ग्रुम गर्न सकिन्छ । तर प्रश्न, उनीहरु कहिलेसम्म यहाँ टिक्छन् भन्ने हो,’ उनको प्रश्न थियो । उनको यो प्रश्नले समग्र नेपाली फुटबलको परिस्थिति वर्णन गर्छ ।