खेल भावना

खेलकुदको पर्दाले नढाकिएका अपराध

काठमाडौं । ब्राजिलका स्टार फुटबल खेलाडी डानी आल्भेसमाथि एक महिलामाथि दुर्व्यवहार गरेको आरोप छ । अनुसन्धान अघि बढाउन उनलाई हाल स्पेनको बार्सिलोनामा थुनामा राखिएको छ । गत जनवरी २० मा बर्सिलोनाको स्थानीय अदालतले उनलाई थुनामा पठाएको थियो ।  

गत डिसेम्बर ३० को रात बार्सिलोनाको एक नाइट क्लबमा आल्भेसले २३ वर्षीया महिलामाथि दुर्व्यवहार गरेको बताइएको छ । आल्भेसले भने आरोप स्वीकार गरेका छैनन् । ती महिलाले आफ्ना साथीहरुसँग नाइट क्लब पुगेको र त्यहाँ मेक्सिकनको समूहले आफूहरुसँगै बस्न निम्तो दिएको दाबी गरेकी छन् । मेक्सिकनको समूहमा आल्भेस पनि रहेको र उनले आफ्नो अनुमतिबिना शरीरमा जथाभावी हात हालेको ती महिलाको आरोप छ ।

आल्भेस थुनामा पर्नासाथ मेक्सिकन क्लब पुमाज यूएनएएमले उनलाई टिमबाट तत्काल बर्खास्त गरेको थियो । बार्सिलोनाका लागि ४ सय ८ खेल खेलेकाआल्भेसले अदालतसमक्ष धरौटीमा रिहा गर्न निवदेन दिएका थिए । तर, अदालतले उनको आग्रहलाई अस्वीकार गरिसकेको छ ।

इलेक्ट्रोनिक ट्याग लगाउने, पासपोर्ट बुझाउने जस्ता प्रस्ताव राखे पनि आल्भेसलाई धरौटीमा रिहा गरिएन । ती महिलाले लगाएको आरोप पुष्टि भएमा अदालतले आल्भेसलाई १२ वर्षसम्म जेल सजाय सुनाउन सक्नेछ ।


    
बेन्जामिन मेन्डी (क्लब, म्याचचेस्टर सिटी)

बेन्जामिन मेन्डीलाई नोभेम्बर २०, २०२० मा बेलायती प्रहरीले गिरफ्तार गरेको थियो । आरोप थियो, मेन्डीले चेसाइरस्थित आफ्नो घरमा अक्टोबर २०, २०२० का दिन एक महिलामाथि तीन पटक बलात्कार गरेको ।

अगस्ट, २०२१ मा उनले अन्य महिलालाई पनि बलात्कार गरेको उजुरी पर्यो । यो आरोप तीन महिलाले लगाएका थिए । त्यसपछि उनी फेरि पक्राउ परे । उनलाई तत्कालै थुनामा राखियो । त्यसपछि ११४ दिन लिभरपुल सहरस्थित जेल पठाइयो । अनुसन्धान चलिरहेकै थियो, अगस्ट २६, २०२१ मा उनलाई म्यानचेस्टर सिटीले टिमबाट निलम्बन गर्यो ।

मेन्डीका अनुसार उनले सेप्टेम्बर, २०२१ बाट सिटीबाट तलब पाउन छाडेका थिए । जुलाई, २०१७ मा सिटीसँग आबद्ध हुँदा उनले साताको एक लाख पाउन्ड पाउने गरी ६ वर्षका लागि सम्झौता गरेका थिए ।

सिटीका लागि अगस्ट १५, २०२१ मा अन्तिम खेल खेलेका उनको करिब १५ साताभित्र सुनुवाइ सकिने तालिका थियो । उनले आफ्नो घरमा ‘पार्टी’ आयोजना गरेको र त्यहीं महिलालाई बलात्कार गरेको आरोप थियो । त्यस ‘पार्टी’ मा सहभागी सिटीका अन्य खेलाडी रियाद महारेज, ज्याक ग्रिलिस, जोन स्टोन्स र रहिम स्टर्लिङसँग पनि बयान लिइएको थियो । उनीहरुमाथि भने आरोप थिएन ।

अगस्ट, २०२१ देखि थुनामा परेका उनी आखिरमा जनवरी, २०२२ मा धरौटीमा रिहा भएका थिए । त्यसबेला अदालतसमक्ष पासपोर्ट बुझाउने लगायतका केही सर्त अदालतले राखेको थियो ।

जुन १, २०२२ मा उनीमाथि थप एक महिलाले आरोप लगाइन् । अब उनीमाथि बलात्कारको आरोप लगाउनेको संख्या सात पुग्यो । १० अगस्ट, २०२२ बाट उनीमाथि लागेको बलात्कारका कुल १० आरोपमाथि सुनुवाइ सुरु भएको थियो ।

१३ सेप्टेम्बर, २०२२ मा उनीमाथि लागेको एउटा आरोप प्रमाणित नभएको निर्णय सुनाइयो । १३ जनवरी, २०२३ मा उनीमाथि लगाइएको थप ६ बलात्कार र एक दुर्व्यवहारको आरोप पुष्टि नभएको अदालतले बतायो । अब उनीमाथि दुई आरोप बाँकी छन् । तिनको सुनुवाइ जुन २६ मा हुनेछ ।

बलात्कारका कुनै पनि आरोप पुष्टि नहुँदै उनले लामो समय जेलमा बिताउनुपर्यो । कुनै समय विश्व फुटबलका महँगा रक्षक उनलाई सिटीले तत्काल टिममा फिर्ता बोलाउने सम्भावना छैन । उसो त आउँदो जुनमा उनको सिटीसँगको सम्झौता सकिँदै छ ।  

अदालतबाट पूर्ण रुपमा क्लिनचिट पाए मेन्डीको भविष्य के हुन्छ भन्ने कौतूहल छ । यसको जवाफ तत्काल दिन सम्भव छैन । इङ्ल्यान्डमा उनलाई बाँकी दुई मुद्दामा जेलको सजाय सुनाइनुपर्ने आमधारणा छ । चेसाइरको सरकारी वकिल कार्यालयका अधिकारीहरु बाँकी मुद्दामा मेन्डीमाथि जेल सजाय हुने आस व्यक्त गरिरहेका छन् ।  

म्यासन ग्रिनउड (क्लब, म्यानचेस्टर युनाइटेड)

३० जनवरी, २०२२ मा एक महिलाले सामाजिक सञ्जालमा तस्बिर र भिडियोसम्मिलित लामो पोस्ट गर्छिन् । ती तस्बिर तथा भिडियोमा उनको मुहार चोटग्रस्त देखिन्छ । ती महिलाले सार्वजनिक गरेको अडियोमा एक पुरुष उनीमाथि धम्काइरहेको सुनिन्छन् । यौन सम्पर्क गर्न नदिए कुटपिट गर्ने धम्की दिन्छन् ।

उक्त अडियोमा सुनिएका व्यक्ति अरु कोही नभई म्यानचेस्टर युनाइटेडका युवा स्ट्राइकर म्यासन ग्रिनउड हुन्छन् । सामाजिक सञ्जालमा ग्रिनउडले गरेको यौन दुर्व्यवहारको प्रमाण छरपस्ट भएसँगै युनाइटेडले उनलाई जनवरी ३० मै निलम्बन गर्छ । बलात्कार गर्ने प्रयास गरेको शंकामा म्यानचेस्टर प्रहरीले ग्रिनउडलाई गिरफ्तार गर्छ । उनीमाथि प्रहरीले अभियोग थप्छ, ज्यान मार्ने धम्कीको ।  

ग्रिनउड पक्राउ पर्नासाथ उनको प्रायोजक नाइकीले प्रायोजन रद्द गर्यो । भिडियो गेम कम्पनी इए स्पोर्ट्सले उनीसँग सम्बन्धित सामग्री हटायो । फेब्रुअरी २ का दिन ग्रिनउड धरौटीमा रिहा भए । तर धरौटी सर्त पालना नगरेको भन्दै ग्रिनउड १५ अक्टोबर, २०२२ मा फेरि गिरफ्तारीमा परे । उनले पीडितलाई सम्पर्क गर्ने कोसिस गरेको प्रहरीको भनाइ थियो ।

त्यही दिन उनीमाथि २२ अक्टोबर, २०२१ मा एक महिलामाथि बलात्कारको प्रयास गरेको र डिसेम्बर, २०२१ मा कुटपिट गरेको भन्दै मुद्दा चलाइयो । २१ नोभेम्बर, २०२२ सम्म उनलाई थुनामै राख्ने अनुमति प्रहरीले पाएको थियो । तर, १९ अक्टोबरमा पीडितसँग सम्पर्क नगर्ने सर्तमा उनलाई धरौटीमा रिहा गरियो । फेब्रुअरी २ का दिन पीडितले मुद्दा फिर्ता लिएपछि ग्रिनउड रिहा भए ।

ग्रिनउडलाई युनाइटेडमा भविष्यको स्टार मानिन्थ्यो । ६ वर्षको उमेर युनाइटेडसँग आबद्ध भएका उनले मार्च, २०१९ मा सिनियर टिममा ‘डेब्यु’ गरेका थिए । १८ वर्ष नपुग्दै च्याम्पियन्स लिग खेल्न पाएका ग्रिनउडले प्रिमियर लिगमा ८३ खेलमा २२ गोल गरेका थिए । युनाइटेडसँको उनको सम्झौता जुन, २०२५ मा मात्र सकिनेछ ।

ग्रिनउडमाथि लागेको मुद्दा फिर्ता भइसकेको भए पनि उनलाई युनाइटेडले टिममा फिर्ता बोलाएको छैन । मुद्दा फिर्ता भएपछि उनीबारे युनाइटेडले सार्वजनिक रुपमा केही टिप्पणी पनि गरेको छैन । उनीमाथि लागेको आरोपबारे आन्तरिक छानबिन भने गरिरहेको युनाइटेडको भनाइ छ ।

युनाइटेडभित्र ग्रिनउडका विषयमा एकमत छैन । उनलाई टिममा फिर्ता बोलाउन नहुने धारणा बलियो छ । उनलाई टिममा फिर्ता लैजान नहुने अडान युनाइटेडका प्रायोजकले राखेको इएसपिएनले लेखेको छ । यो विषयमा युनाइटेडले आफ्ना २५ प्रायोजकसँग छलफलमा रहेको बताइन्छ । ग्रिनउडलाई टिममा फिर्ता लैजाँदा समर्थकबाटै विरोध हुने डरमा युनाइटेड छ ।