चैत्र १३, २०८२ शुक्रबार | ०९:३८:१०
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य
शनिबारको दिन नेपाली फुटबल

दावेदारहरु सुस्त, जावलाखेलको सनसनी

काठमाडौं । सुरुआत च्याम्पियनबाटै गरौं । च्याम्पियनबाटै गर्नुपर्छ भन्ने पनि  होइन । तर, जसरी साविक विजेता मछिन्द्रले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९को सुरुआत गरेको छ । लिग केन्द्रित समाचारको केन्द्रविन्दुमा मछिन्द्र बाहेक अरु रहन सक्दैनन् । त्यसैले सर्वप्रथम मछिन्द्र ।

फागुन २१ गते दशरथ रंगशालामा जावलाखेल युथ क्लबविरुद्ध खेल्दै मछिन्द्रले लगातार तेस्रो पटक उपाधि जित्ने अभियान सुरु गर्यो । तर सुरुआत एकदमै नमिठो भयो । यो किसिमको नतिजा आउँछ भनेर सायदै कसैले सोचेका थिए होला । नतिजा थियो ३-१, जावलाखेल युथ क्लबको पक्षमा ।

पहिलो हाफमा रक्षक देवेन्द्र तामाङको फ्रि किकमा अग्रता लिएको मछिन्द्र मध्यान्तरपछि सुस्त बन्यो । जसको फाइदा जावलाखेलले लियो । जावलाखेलले गरेका तीनमध्ये दुई गोल अनुभवी गोलकिपर विशाल श्रेष्ठको गल्तीका कारण भएको थियो । विशालले गत सिजन जम्मा दुई गोल खाएका थिए । तर यसपाली उनले पहिलो खेलमै तीन गोल खाए ।

हारसँगै मछिन्द्रको लिगमा १९ खेलको अपराजित यात्रामा पूर्णविराम लाग्यो । मछिन्द्रले पछिल्लो पटक २०७६ मा हिमालयन शेर्पासँग पराजय बेहोरेको थियो ।

खेलपछि पत्रकार सम्मेलनमा, प्रशिक्षक प्रवेश कटुवाललाई हारको कारण के हो भनेर सोधियो । जसमा कटुवालले महत्त्वपूर्ण खेलाडी मोफसल प्रतियोगिताका दौरान घाइते भएकाले हार्न पुगेको प्रतिक्रिया दिए । उनले प्रष्ट रुपमा भनेका थिए, ‘सम्भवत लिगको तेस्रो खेलदेखि हाम्रो प्रदर्शन राम्रो हुनेछ ।’

प्रशिक्षक कटुवालको यो प्रतिक्रियाकै कारण दोस्रो खेलमा मछिन्द्रले तीन अंक जोड्ने आश गरिएन । एक अंकको आश पनि कठिन थियो । किनभने मछिन्द्र साविक उपविजेता, विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध खेल्दै थियो । कटुवालले भनेजस्तै र सबैले सोचेजस्तै भयो । पहिलो खेलभन्दा सुस्त देखिएको मछिन्द्रलाई च्यासल मैदानमा आर्मीले २-० को नतिजामा पराजित गर्यो ।

खेलपछि फेरि त्यही प्रश्न दोहोरियो, हार्नुको कारण के हो ? यसपाली पनि कटुवालसँग त्यही जवाफ थियो । उनले पहिलो रोजाइका खेलाडी घाइते हुँदा वैकल्पिक खेलाउनु परेको र तीनले पनि क्षमता अनुसार खेल्न नसकेको प्रतिक्रिया दिए ।

यसबाहेक कटुवालले च्यासल रंगशाला सानो भएको र २/३ पासमा बल पोस्टमा पुग्ने हुँदा खेलाडीले खेललाई नियन्त्रण गर्न नसकेको बताए । हारका बावजुद अझै पनि २४ खेल बाँकी रहेको कारण उपाधि जित्नेमा कटुवाल आशावादी थिए ।

यस्तै हालत प्रशिक्षक राजुकाजी शाक्यको नेतृत्वमा रहेको न्युरोड टिम (एनारटी)को पनि छ । गत सिजन तेस्रो स्थानमा रहेर लिग टुंग्याएको एनआरटी दोस्रो चरण सकिँदासम्म अंकविहिन छ । पहिलो खेलमा सातदोबाटोसँग २-१ ले पराजित भएको एनआरटी दोस्रो खेलमा पनि जावलाखेलसँग समान २-१ कै नतिजाले हार्यो ।

अंकविहिन अर्को क्लब हो, तीन पटकको विजेता, विभागीय टोली नेपाल पुलिस क्लब । पहिलो खेलमा नवप्रवेशी चर्च ब्वाइजसँग २-१ ले पराजित भएको पुलिस दोस्रो खेलमा हिमालयन शेर्पासँग १-० ले हार्न पुग्यो ।

उपाधिको दावेदारका रुपमा हेरिएको संकटा र नेपाली फुटबलको शीर्ष क्लब थ्री स्टारको खातामा दुई खेलबाट जम्मा एक अंक छ । दुवैले एक खेलमा हार बेहोरेका थिए ।

थ्री स्टारले पहिलो खेलमै विभागीय टोली एपिएफ फुटबल क्लबसँग २-० को हार बेहोर्यो । मेघराज केसीको नेतृत्वमा रहेको थ्री स्टारमा अनुभवको कमी प्रष्टैसँग देखिन्थ्यो । जुन कुरा पछि प्रशिक्षक केसीले पनि स्विकारे ।

‘आज अलिकति अनुभव नपुगेका खेलाडीहरुबाट सानो गल्ती हुन पुग्यो । जसका कारण दुई गोल खायौं । लिगको पहिलो खेल खेलेका छौं । आउने दिनमा गल्तीहरु सच्याउनेछौं,’ हारपछि केसीले भने ।

तर केसीले भनेजस्तो गल्तीहरु तुरुन्तै सच्चिने वाला थिएन । दोस्रो खेलमा पनि खेलाडीहरुको तालमेल नमिल्दा थ्री स्टारले दुई सहज गोल खायो । तीन पटक सम्म खेलमा अग्रता लिएको थ्री स्टार अन्तिममा सहरी प्रतिद्धन्द्धी फ्रेन्ड्स क्लबसँग ३-३ को बराबरी खेल्न बाध्य भयो । फ्रेन्ड्सले गरेका तीन मध्ये दुई गोल बल क्लियर गर्न नसक्दा सेट पिसमा भएको थियो ।

उता पाएको अवसर उपयोग गर्न नसक्दा संकटाले दुई खेलमा एक गोल पनि गर्न सकेको छैन । संकटा वाहेक सहभागी सवै टोलीले कमसेकम एक गोल गरेका छन । पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरी खेलेको संकटा दोस्रो खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भयो । यसबीच यसै सिजनका लागि मात्र अनुबन्ध भएका कप्तान सुनिल बलले आफ्नो भविष्य सुरक्षित गर्न अस्ट्रेलियाको बाटो रोजे । मनाङविरुद्धको हारपछि प्रशिक्षक सल्यान खड्गीले टिममा स्तरीय खेलाडीको कमी नभएको र आफूहरु उपाधिको शीर्ष दावेदार रहेको प्रतिक्रिया दिए ।

आर्मी, मनाङ र हिमालयन शेर्पाले ४ अंक जोड्दा एपिएफ र नवप्रवेशी खुमलटार एएफसीको तीन अंक छ । त्यस्तै थ्री स्टारसँग बराबरी खेलेको फ्रेन्ड्सको एक अंक छ । चर्च ब्वाइज, जावलाखेल र सातदोबाटोले स्पष्ट ६ अंक जोडेका छन् ।

मछिन्द्रविरुद्ध म्यान अफ दी म्याच चुनिएका जावलाखेलका स्ट्राइकर हिसुब थपलियाको खेलले सबैको मन लोभ्यायो । शीर्ष श्रेणीमा पहिलो पटक खेलेका हिसुबले मछिन्द्रविरुद्ध एक गोल र एक असिस्ट गरेका थिए । हिसुबले यसअघि सुनाकोठी एफसीबाट ‘सी’ डिभिजन छनोट खेलेका थिए ।

त्यस्तै जावलाखेलकै कप्तान सिमान्त थापा, चर्च ब्वाइजका आशिष चापागाईं, मनाङका रोशन राना मगरको खेल पनि हेर्नलायकको रहयो ।

कागजी प्रक्रिया र श्रम स्वीकृतिका कारण विदेशी खेलाडीलाई मैदानमा उतार्न ढिलाइ भइरहेको गुनासो क्लबहरुको छ । देशका अधिकांश राम्रा खेलाडीहरु विदेशी भूमिमा पलायन भएकाले पनि क्लबहरुलाई विगतभन्दा यसपालीको सिजन असहज छ । विदेशी खेलाडीहरु आउने क्रम जारी छ । यस्तोमा दुई खेलको नतिजाका भरमा को बलियो, कसको सम्भावना कम भन्ने मुल्यांकन अहिले नै गर्न गार्हो छ । लामो लिगमा उपाधि जोसुकैको पोल्टामा पनि पर्न सक्छ । रेलिगेसनको नियति भोग्नेको पनि निर्क्योल गर्न हतार हुन्छ । तर सुरुआत भनेको त सुरुआत नै हो । हुने विरुवाको चिल्लो पात भनेजस्तो ।