बेन्फिका

खेलाडी बेचेरै अर्ब कमाउने व्यापारी बेनफिका

काठमाडौं । बेनफिका, एफसी पोर्टो र स्पोर्टिङ लिस्बनलाई पोर्चुगलमा ‘बिग थ्री’ भनिन्छ । सामान्य भाषामा भन्दा यी त्यहाँका तीन ठूला क्लब हुन् । तीनमध्येको पनि ठूलो चाहिँ बेनफिका । सर्वाधिक ३७ पटक लिग जितेको बेनफिका दुई पटक युरोपियन च्याम्पियन पनि बनिसकेको छ । त्यो पनि सन् १९६१ र १९६२ मा लगातार दुई पटक ।

आधुनिक युरोपियन क्लब फुटबलमा बेनफिकाको परिचय अर्को पनि छ । त्यो भनेको सफल व्यापारी । उसोत त फुटबल आफैंमा व्यापार हो, अर्थतन्त्र हो । वर्षको दुई पटक खेलाडी किनबेच हुन्छ । बेनफिका मात्र होइन अरु क्लब पनि खेलाडी किनबेच गर्छन् । तर यो मामलामा अरु धेरै क्लबभन्दा बेनफिका अगाडि छ ।

युरोपियन क्लब फुटबल मात्र होइन विश्व फुटबलमै नाम चलेका खेलाडीले बेनफिकाबाट खेलेका छन् । जस्तै, पोर्चुगलका लेजेन्ड इयुसेबियो, मारियो कोलुना, लुइसाओ, एञ्जल डी मारिया, नुनो गोमेज, रुबेन डियाज, डेभिड लुइज आदि ।

खेलाडी उत्पादन र तिनको वृत्तिविकास गर्न माहिर छ, बेनफिका । दक्षिण अमेरिका र अफ्रिकाबाट किशोर खेलाडी पोर्चुगल ल्याउने र तिनलाई परिपक्व बनाउने कला बेनफिकासँग छ । यति मात्र होइन, बेनफिका एकेडेमीकै उत्पादन भन्न मिल्ने कयौं खेलाडीले युरोपका ठूला क्लबमा आफूलाई स्थापित गरेका छन् । केही उदाहरण हुन्, जाओ फिलिक्स, रेनाटो सान्चेस, यान ओब्लाक र भिक्टर लिन्डलोफ ।

२१औँ शताब्दीमा बेनफिकाले खेलाडी बिक्रीबाट एक अर्ब युरोभन्दा बढी आम्दानी गरिसकेको छ । बेनफिकाले गरेका पछिल्ला दुई ठूला बिक्री इन्जो फर्नान्डेज र डार्विन नुनेज हुन् । उरुग्वेका नुनेजलाई ६ महिनाअघि आठ करोड युरोमा लिभरपुलले अनुबन्ध गरेको थियो । फर्नान्डेज भने केही दिनअघि मात्र चेल्सी पुगे । उनका लागि चेल्सीले १२ करोड युरोभन्दा बढी तिरेको छ । यो स्थानान्तरण रकमका कारण फर्नान्डेज इङ्लिस प्रिमियर लिगका सर्वाधिक महँगा खेलाडीका रुपमा दर्ज भएका छन् ।  

यस आलेखमा हामी बेनफिकाले पूरा गरेका १० महँगा स्थान्तरणबारे चर्चा गर्नेछौंः

रेनाटो सान्चेज, २०१६

बेनफिका एकेडेमीका उत्पादन रेनाटो सान्चेज सन् २०१६ मा बार्यन म्युनिखसँग आबद्ध भएका थिए । उनका लागि जर्मन च्याम्पियनले तीन करोड ५० लाख युरो तिरेको थियो ।

सन् २०१५ मा बेनफिकाको सिनियर टिममा बढुवा भएका मिडफिल्डर सान्चेज बायर्न पुग्दा मात्र १८ वर्षका थिए । बढुवा भएको सिजन नै सनसनी मच्चाएका सान्चेजलाई अनुबन्ध गर्न युरोपका अन्य ठूला क्लबहरु पनि चाहन्थे । तर उनले रोजे, बायर्न । उनका लागि खर्च गरिएको रकम त्यसबेला पोर्चुगिज लिग खेल्ने खेलाडीका लागि गरिएको सबैभन्दा ठूलो खर्च थियो ।

युरोपका प्रतिभावान् युवा खेलाडीलाई दिइने प्रसिद्ध पुरस्कार ‘गोल्डन ब्वाई अवार्ड’ जितेको केही महिनापछि नै सान्चेज युरो २०१६ च्याम्पियन बनेका थिए । दुर्भाग्यवश बायर्नमा उनी टिक्न सकेनन् । बीचमा विभिन्न क्लब पुगेका उनी हाल फ्रान्सको लिलमा छन् । जहाँ उनको साख फर्किएको छ । फलतः एकपटक फेरि उनी युरोपका ठूला क्लबसँग जोडिन थालेका छन् ।

भिक्टर लिन्डेलोफ, २०१७

भिक्टर लिन्डेलोफ १७ वर्षका थिए, जब उनलाई बेनफिकाले आफ्नो बनायो । सन् २०१२ मा स्विडेन छाडेर पोर्चुगल पुगेका किशोर लिन्डेलोफ सुरुमा रिजर्भ टिमका सदस्य बने । त्यसको केही समयपछि त उनलाई सिनियर टिममा बढुवा गरिहालियो ।

सन् २०१६-१७ सिजन उनका लागि निर्णायक ठहरियो । बेनफिकाले लिग जित्दा उनी टिमका स्टार खेलाडी थिए । युरोपभर चर्चा भयो बेनफिकासँग एक उमदा युवा रक्षक छन् भनेर । त्यसपछि प्रिमियर लिगका ठूला क्लबहरु स्थान्तरण प्रस्ताव बोकेर बेनफिकाको ढोकामा पुग्न थाले । आखिरमा लिन्डेलोफ म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध भए । सन् २०१७ को त्यो स्थान्तणका लागि युनाइटेडले तीन करोड ५० लाख युरो तिर्नु परेको थियो ।

नेल्सन सेमेडो, २०१७

नेल्सन सेमेडो पनि बेनफिका एकेडेमीको गर्व गर्न लायक उत्पादन हुन् । सन् २०१२ मा स्थानीय क्लब सिन्ट्रेन्सेबाट राजधानी लिस्बन गएका सेमेडो केही सिजन बेनफिकाको रिजर्भ टिममा रहे । केही वर्षपछि नै यी राइटब्याकलाई सिनियर टिमका प्रशिक्षकले खोसिहाले ।

सन् २०१६/१७ उनका लागि ‘ब्रेकथ्रु’ सिजन रह्यो । प्राविधिक रुपमा निपुर्ण सेमेडो रक्षापंक्तिमा मात्र होइन आक्रमण गर्ने मामलामा पनि उत्तिकै सबल थिए । एक सिजन गरेको प्रदर्शनकै आधारमा उनलाई बार्सिलोनाले अनुबन्ध ग¥यो । सन् २०१७ मा भएको त्यो सरुवामा बार्सिलोनाको तीन करोड ५७ लाख खर्च भयो ।

बार्सिलोनामा सेमेडोले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । कुरा के पनि हो भने बार्सिलोनाले उनमाथि धैर्य राख्न सकेन । आखिरमा उनी प्रिमियर लिगको उल्भरह्याम्पटनतिर सर्नुपर्यो । बार्सिलोनामा तीन सिजन बिताएपछि उनी सन् २०२० मा उल्भरह्याम्पटनसँग अनुबन्धित भएका हुन् ।

राउल जिमिनेज, २०१९

मेक्सिकोका राउल जिमिनेज उल्भरह्याम्पटनका मुख्य स्ट्राइकर हुन् । ३१ वर्षीय जिमिनेज मेक्सिकोबाट सन् २०१४ मा एट्लेटिको मड्रिड पुगेका थिए । तर उनको नाम चल्न थालेको भने बेनफिका गएपछि हो ।

जिमिनेज सन् २०१५ देखि २०१९ सम्म बेनफिकामा रहे । बेनफिकामा एक सय २० खेलमा ३१ गोल गरेपछि उल्भरह्याम्पटनले उनलाई सन् २०१८ मा ऋण सम्झौतामा लग्यो । पछि यो स्थान्तरण स्थायी बसाइमा परिणत भयो । त्यसवापत उल्भरह्याम्पटनले बेनफिकालाई तीन करोड ८० लाख तिर्यो।

इङ्ल्यान्डमा जिमिनेज स्तरीय स्ट्राइकरमा परिणत भएका छन् । यसको प्रमाण हो, ८८ खेलमा २७ गोल ।

एक्सेल विट्सल, २०१२

एक्सेल विट्सल सन् २०११ मा बेनफिका पुग्दा २२ वर्षका थिए । सुरुमा विंगर बनेर खेल्ने विट्सल पछि सेन्ट्रल मिडफिल्डरमा परिणत भए । जम्मा एक सिजन खेलेपछि उनलाई बेनफिकाले बेच्यो । खरिदकर्ता थियो, रुसको जेनिट सेन्ट पिटर्सबर्ग । स्थान्तरण रकम चाहिँ चार करोड युरो ।

करिब चार वर्ष रुसी मैदानमा रहेपछि विट्सल चीनतर्फ लागे । जहाँ उनी एक वर्षभन्दा बढी समय टिकेनन् । एसियाबाट युरोप फर्किएका विट्सल बोरुसिया डर्टमन्डमा ६ वर्ष खेले । ३४ वर्ष पुगिसकेका विट्सल हाल एट्लेटिको मड्रिडमा छन् ।

एडरसन, २०१७

खेलाडी सरुवा बजारमा गोलरक्षकको मूल्य अन्य पोजिसनका खेलाडीको जस्तो उच्च हुने गर्दैन । तर एडरसनका लागि म्यानचेस्टर सिटीले सन् २०१७ मै चार करोड युरो हालेको थियो । पेप ग्वार्डिओलाका अनुसार एडरसन सबैभन्दा फुर्तिला गोलरक्षक हुन् । उनी के पनि भन्छन् भने, एडरसन स्पेनिस प्रशिक्षकको रणनीतिमा सर्लक्कै फिट हुने गोलरक्षक हुन् ।

एडरसनले बेनफिकामा जम्मा दुई सिजन मात्र खेले । सन् २०१५ मा बेनफिका पुगेका ब्राजिलियन एडरसन सन् २०१६/१७ सिजनमा पहिलो रोजाइको गोलरक्षकका रुपमा स्थापित भएका थिए । त्यस सिजन लिगसहित तीन उपाधि जितेका एडरसन सिटी हानिए । जहाँ उनले जितेका उपाधिको सूची लामो छ ।

रुबेन डियाज, २०२०

रुबेन डियाज बेनफिका एकेडेमीका उत्पादन हुन् । सन् २०२० मा सिटीसँग अनुबन्धित हुँदा उनी विश्व फुटबलको महँगा रक्षकमध्ये एक बने । उनको स्थान्तरणका लागि सिटीले ६ करोड ८० लाख युरो तिरेको थियो ।

सन् २०१७ मा बेनफिकाको सिनियर टिममा ‘डेब्यु’ गरेका डियाजलाई टिमको मुख्य रक्षक बन्न धेरै समय लागेन । बेनफिकामा उनले सन् २०१८ मा लिग र अर्को वर्ष घरेलु कप जिते । बेनफिकामा गरेको प्रदर्शनका आधारमा उनलाई अनुबन्ध गर्न चाहने क्लबहरुको लाइन लामो थियो । तर आखिरमा सिटीले बाजी मार्यो ।

डार्विन नुनेज, २०२२

डार्विन नुनेजलाई लिभरपुलले सन् २०२२ मा आठ करोड युरोमा खरिद गरेको हो । सन् २०२० मा मात्र बेनफिका पुगेका नुनेज लगभग एकै सिजनमा बेनफिकामा स्थापित भए । सन् २०२१-२२ सिजनमा उनले ४१ खेलमा ३४ गोल गर्दा युरोपका सबैजसो ठूला क्लब छक्क परे ।

च्यामिपयन्स लिगमा लिभरपुलविरुद्ध गोल गरेका नुनेजलाई योर्गान क्लोपले तुरुन्तै मन पराए । लिभरपुलको प्रतिद्वन्द्वी युनाइटेड पनि उरुग्वेका यी स्ट्राइकरलाई अनुबन्ध गर्न चाहन्थ्यो । तर यो प्रतिस्पर्धाको विजेता लिभरपुल बन्यो ।

इन्जो फर्नान्डेज, २०२३

इन्जो फर्नान्डेज बेनफिका पुगेको सन् २०२२ को जुनमा मात्र हो । उनलाई अनुबन्ध गर्न बेनफिकाले अर्जेन्टिनाको रिभरप्लेटलाई एक करोड युरो मात्र तिरेको थियो । लिस्बनमा फर्नान्डेज चाँडै चम्किए । विश्वकपमा अर्जेन्टिनाका लागि गरेको प्रदर्शनले त झन् उनलाई विश्व फुटबलको नयाँ स्टारमा परिणत गर्यो ।

त्यसैले त विश्वकपमा फर्नान्डेज उत्कृष्ट युवा खेलाडी घोषित भए । मिडफिल्डर फर्नान्डेजलाई जनवरी ट्रान्सफर विन्डोमा अनुबन्ध गर्न केही ठूला क्लबहरुले बेनफिकासँग सम्पर्क गरेका थिए । तर स्थान्तरण रकम प्रस्ताव चाहिँ चेल्सीले मात्र गर्यो । सुरुमा त उसको प्रस्ताव बेनफिकाले अस्वीकार गरिरह्यो । तर अन्ततः १२ करोड १० लाख बराबरको प्रस्तावमा बेनफिका राजी भयो ।

जाओ फिलिक्स, २०१९

जाओ फिलिक्सको उदयले पोर्चुगल मात्र होइन विश्व फुटबल नै अवाक् बनेको थियो । सन् २०१८ मा मात्र हो उनले सिनयर टिममा खेल्न पाएको । पहिलो सिजन नै उनले २६ खेलमा १५ गोल गरे । त्यो पनि स्ट्राइकर होइन, विंगर वा अट्याकिङ मिडफिल्डर बनेर ।

सन् २०१९ मा एट्लेटिकोले उनलाई १२ करोड ७० लाख खर्च गरेर अनुबन्ध गर्यो । एकै सिजनमा स्टार बनेका फिलिक्स बेनफिकाले बिक्री गरेका सबैभन्दा महँगा खेलाडी हुन् । अनि विश्व फुटबलका दोस्रो महँगा किशोर खेलाडी । समग्रमा चाहिँ चौथो महँगा ।

एट्लेटिकोमा फिलिक्सले कुल चार सिजन खेले । पहिलो सिजन ला लिगामा ६ गोल गरेका उनले त्यसपछिका तीन सिजनमा सात, आठ र चार गोल गरे । सन् २०२२/२३ सिजनमा १४ खेलमा चार गोल गरेपछि उनी प्रिमियर लिग पुगेका छन्, बाँकी रहेका आधा सिजन खेल्न । चेल्सीले उनलाई ऋण सम्झौतामा अनुबन्ध गरेको हो । चेल्सीमा गर्ने प्रदर्शनले उनलाई अर्को सिजन कहाँ पुर्याउँछ टुंगो छैन ।

(एजेन्सीहरुको सहयोगमा)