फिफा विश्वकप

कतार विश्वकपका उत्कृष्ट आठ

दोहा । दुई ६ बाट ३२, अनि ३२ बाट १६ हुँदै अब, आठ । कतार विश्वकपले क्वार्टरफाइनल खेल्ने आठ टोली पाइसकेको छ । शनिबार बिहानसम्ममा सेमिफाइनल खेल्ने दुई र क्वार्टरफाइनलबाट बाहिरिने दुई टोलीको पनि टुंगो लागिसकेको छ ।

शुक्रबार खेलबाट ब्राजिल र नेदरल्यान्ड्सको यात्रा क्वार्टरफाइनलमा सीमित भैसकेको छ । अर्जेन्टिना र क्रोएसियाले सेमिफाइनल भेट पक्का गरिसकेका छन् ।इङ्ल्यान्ड, फ्रान्स, मोरक्को र पोर्चुगलले आज क्वार्टरफाइनलमा प्रतिस्पर्धा छन् ।

जारी विश्वकपको सुरुआती चरणमा अप्रत्यााशित नतिजाहरु निस्किए । साना टोलीहरु ठूलामाथि हाबी भए । विशेष गरि एसियन टोलीको खेलले सबैलाई प्रभावित गर्यो । स्पेन, जर्मनी जस्ता फुटबलका महारथी जापानसँग पराजित हुँदा साउदी अरेबियाले अर्जेन्टिना र दक्षिण कोरियाले पोर्चुगललाई निराश पार्यो ।

अफ्रिकी टोली पनि कम थिएनन् । साविक विजेता फ्रान्स ट्युनिसियासँग पराजित हुँदा क्यामरुनले उपाधिको प्रबल दाबेदार ब्राजिललाई हरायो । त्यस्तै मोरक्कोले स्टारहरुले भरिएको बेल्जियमलाई स्तब्ध पारेको थियो ।

तर मोरक्को बाहेक यी कुनै पनि टोलीले अन्तिम आठको यात्रा गर्न सकेनन् । कोरिया र जापान अन्तिम १६ बाट बाहिरिंदा क्यामरुन, ट्युनिसिया र साउदी अरबियाले समूह चरण पनि पार गर्न सकेनन् । तसर्थ केही नौलो टिमले जारी विश्वकपमा प्रभुत्व जमाउने अनुमान गरिरहँदा फेरि पनि त्यही पुराना अनुहार नै विश्वकपको क्वार्टरफाइनल समिकरणमा हावी भए । क्वार्टरफाइनलमा ब्राजिलमाथि जित हासिल गरेर क्रोएसियाले फेरि अर्को विश्वकपमा सनसनीपूर्ण यात्रालाई निरन्तरता दिएको छ । 

मोरक्को, नेदरल्यान्ड्स, क्रोएसिया र पोर्चुगल बाहेक क्वार्टरफाइनल पुगेका सबै राष्ट्रले कम्तिमा पनि एकपटक विश्वकप उचालेका छन् । पोर्चुगल र मोरक्कोवाहेक बाँकी सबैले विश्वकप फाइनलको अनुभव बटुलिसकेका छन् ।

नेदरल्यान्ड्स

११औं पटक विश्वकप खेलिरहेको नेदरल्यान्ड्स उपाधिको सदाबाहर दाबेदार हो । तीन पटक उपविजेता भएको टोलीसँग आफूले भाग लिएका विश्वकपका सबैसंस्करणमा पहिलो चरण कटाएको इतिहास छ ।

नेदरल्यान्ड्सले १९७४, १९७८ र २०१० मा विश्वकपको फाइनल गुमाएको थियो । नेदरल्यान्ड्सले खेलेको पछिल्लो विश्वकप हो २०१४ ब्राजिल विश्वकप । ब्राजिलमा नेदरल्यान्ड्स तेस्रो भएको थियो । चार वर्षअघि रुसमा भएको विश्वकपमा भने नेदरल्यान्ड्स छनोट हुन सकेको थिएन । पुराना खेलाडीहरुमा धेरै निर्भर हुनु र उनीहरुको प्रतिस्थापन नहुनु नेदरल्यान्ड्सले रुस विश्वकप गुमाउनुको मुख्य कारण थियो ।

तर आज नेदरल्यान्ड्ससँग नयाँ टिम छ । टिम युवा छ र लयमा छ । विश्वकपको युरोपेली छनोटमा नेदरल्यान्ड्सले आप्mनो समूहमा पहिलो भएर सोभैm कतार विश्वकपको टिकट काटेको थियो । सम्भावित ३० अंकमा नेदरल्यान्ड्सले २३ अंक जोडेको थियो । छनोट अभियानमा फरवार्ड मेम्फिस डिपेले इङ्ल्यान्डका स्ट्राइकर ह्यारी केनसँगै सर्वाधिक १२ गोल गरेका थिए ।

जारी विश्वकपमा क्वार्टर फाइनल पुग्ने पहिलो टोली हो, नेदरल्यान्ड्स । समूह चरणको पहिलो खेलमा सेनेगललाई २–० ले पराजित गरेको नेदरल्यान्ड्सले दोस्रो खेलमा इक्वेडरसँग १–१ को बराबरी खेलेको थियो । अन्तिम खेलमा आयोजक कतारलाई २–० ले पराजित गरेको नेदरल्यान्ड्सले अन्तिम १६ मा अमेरिकालाई ३–१ ले हराएको थियो ।

अन्तिम आठसम्मको यात्रामा नेदरल्यान्ड्सका लागि कोडी गाक्पोले सर्वाधिक तीन गोल गरेका छन् । उनले समूह चरणका सबै खेलमा गोल गरेका थिए ।

यद्धपी अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-३ ले निराश भएसँगै नेदरल्यान्ड्सको यात्रा यस पटक पनि अन्तिम आठमा सीमित भयो । 

अर्जेन्टिना

दुई पटकको विश्वकप विजेता अर्जेन्टिना जारी विश्वकपको प्रबल दाबेदार हो । १९७८ मा ड्यानियल पासारेला र १९८६ मा डिएगो म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले विश्वकप उचालेको थियो । यसपाली लियोनेल मेसीसँग त्यो अवसर छ । त्यसोत मेसी २०१४ मा उपाधिको एकदमै नजिक पुगेका थिए । तर फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो ।

उपाधिको प्रबल दाबेदार भनिरहँदा अर्जेन्टिना आफ्नो पहिलो खेलमै एसियाली राष्ट्र साउदी अरेबियासँग २–१ ले स्तब्ध भएको नतिजा पनि विर्सन मिल्दैन ।  तर त्यसपछि उत्कृष्ट पुनरागमन जनाउने क्रममा दक्षिण अमेरिकी महारथीले समूह चरणका बाकी दुई खेलमा समान २–० को जित हासिल गर्दै नकआउट चरण प्रवेश गरेको थियो । अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ ले पराजित गरेको अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमै हराउँदै  सेमिफाइनलमा स्थान बनाइसकेको छ । 

साउदी अरेबियाविरुद्ध खेल्नुअघि अर्जेन्टिना ३६ अन्तर्राष्ट्रिय खेलमा अपराजित थियो । यसैबीच अर्जेन्टिनाले कतार विश्वकपको टिकट काटेको हो । १० देश सम्मिलित दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना दोस्रो हुँदै विश्वकपका लागि योग्य भएको थियो । छनोटका १७ खेलमा ११ जित र ६ बराबरी खेलेको अर्जेन्टिनाका लागि स्ट्राइकर लाउटारो मार्टिनेज र कप्तान मेसीले सर्वाधिक ७ गोल गरेका थिए ।

 कतारमा मेसीले चार खेलमा तीन गोल गरिसकेका छन् ।

इङ्ल्यान्ड

इङ्ल्यान्डले जारी विश्वकपमा १२ गोल गरिसकेको छ । खेल हेर्ने हो भने इङ्ल्यान्ड अन्य टोलीभन्दा बलियो देखिन्छ । पहिलो खेलमा इङ्ल्यान्डले एसियन टोली इरानलाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यतीबेला इङ्ल्यान्डका लागि पाँच खेलाडीले गोल गरेका थिए । सबैले व्यक्तिगत पहिलो विश्वकप गोल गरेका थिए ।

दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरी खेलेको इङ्ल्यान्डले  समूहको अन्तिम खेलमा बेलायतकै अर्को देश वेल्सलाई ३–० ले हराएको थियो । अन्तिम १६ मा सेनेगलसँग पनि ३–० को जित निकालेको इङ्ल्यान्डले क्वार्टरफाइनलमा साविक विजेता फ्रान्सको सामना गर्नेछ ।

यसअघिका डेविड बेकह्याम पुस्ताले पूरा गर्न नसकेको विश्वकप जित्ने सपना ह्यारी केन पुस्ताले पूरा गर्नेमा इङ्ल्यान्ड समर्थक आशावादी छन् । १९६६ मा बबी मूर विश्वकप जित्ने पहिलो इङ्लिस कप्तान बनेका थिए । त्यसयता इङ्ल्यान्डको जर्सीमा कसैले विश्वकप उचाल्ने सौभाग्य पाएको छैन । यो पाली भने ह्यारी केन र टिमप्रती सबैको आशा रहेको छ ।

तर महादेशीय विश्वकप छनोट अभियानमा मेम्फिस डिपेसँगै सर्वाधिक १२ गोल गरेका कप्तान ह्यारी केन यसपाली त्यति जम्न सकेका छैनन् । केनले इङ्ल्यान्डको १२ मध्ये जम्मा एक गोलमा नाम लेखाएका छन् ।

छनोट अभियानमा केनकै प्रेरणामा इङ्ल्यान्डले १० खेलमा ८ जित र २ बराबरी खेलेर आफ्नो समूहमा पहिलो स्थान हासिल गर्दै सोझै कतार विश्वकपको टिकट काटेको थियो ।

अल बायात रंगशालामा हुने क्वार्टरफाइनलमा इङ्ल्यान्डका तीन खेलाडी सबैभन्दा महत्वपूर्ण रहनेछन् । बुकायो साका, मार्कुस रसफोर्ड र ज्युड बेलिङघममा इङ्लिस समर्थकको आशा टिकेको हुनेछ । फरवार्डद्वय साका र रसफोर्डले जारी विश्वकपमा तीन–तीन गोल गरिसकेका छन् ।

मिडफिल्डर बेलिङहम उच्च प्रदर्शनका कारण चर्चाको शिखरमा छन् । उनले पनि एक गोल गरेका छन् । फ्रान्सविरुद्ध खेल्दा इङ्ल्यान्डलाई एउटै नामले सताउन सक्छ, त्यो हो किलियन एम्बाप्पे ।

प्रतियोगितामा पाँच गोल गरिसकेका एमबाप्पेलाई रोक्न कुनै पनि टिमलाई गाह्रो भइरहँदा इङ्ल्यान्डलाई पनि यो कुरा टाउको दुख्ने विषय हो । यस्तोमा गारेथ साउथगेटको इङ्ल्यान्डले एम्बाप्पेलाई रोक्न सक्छन् वा सक्दैनन्, त्यो हेर्न रोचक हुनेछ ।

फ्रान्स

साविक विजेता फ्रान्स यो संस्करणमा पनि उपाधिको प्रबल दाबेदार हो । केही प्रमुख खेलाडी विना विश्वकप खेलिरहेको फ्रान्सले राम्रो प्रदर्शन गरिरहेको छ ।

अन्तिम १६ मा पोल्यान्डमाथि ३–१ को प्रभावशाली जित हासिल गरेको फ्रान्सले समूह चरणको पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ ले पराजित गरेको थियो । दोस्रो खेलमा डेनमार्कलाई २–१ ले पराजित गरेर नकआउट चरणमा स्थान सुरिक्षत गरेको फ्रान्सले तेस्रो खेलमा पहिलो रोजाइका अधिकांश खेलाडीलाई आराम दिँदा ट्युनिसियासँग १–० ले पराजित भएको थियो । क्वार्टरफाइनलमा फ्रान्सले अल बायात रंगशालामा गारेथ साउथगेटको सामना गर्नेछ ।

दुई पटकको विश्वविजेता फ्रान्सले आफ्नो पहिलो विश्वकप घरेलु भुमिमा २४ वर्ष अगाडि जितेको थियो । दोस्रो विश्वकप जित्न फ्रान्सलाई २० वर्ष लाग्यो । रुसमा फ्रान्सले उपाधि जित्दाका नायक किलियन एमबाप्पे यसपाली पनि उत्कृष्ट लयमा छन् । एमबाप्पे जारी विश्वकपमा उच्च गोलकर्ताको सुचिमा पाँच गोलका साथ सबभन्दा अगाडि छन् । त्यस्तै स्ट्राइकर ओलिभिर जिरौडले तीन गोल गरेका छन् ।

छनोट अभियानमा फ्रान्सले पाँच जित र तीन बराबरी खेल्दै समूह विजेताको हैसियतमा कतार विश्वकपको टिकट काटेको थियो । छनोट चरणमा फ्रान्सका लागि सर्वाधिक ६ गोल गरेका एन्टोनी ग्रिजम्यान जारी विश्वकपमा फरक भूमिकाका साथ प्रस्तुत भएका छन् । फरवार्डभन्दा पनि प्लेमेकरको भूमिकामा रहँदा उनले कतारमा एक गोल पनि गर्न सकेका छैनन् । तर, टिमका प्रत्येक जितमा उनको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।

फ्रान्सलाई इङ्ल्यान्डविरुद्दको क्वार्टरफाइनलमा ज्युड बेलिङहम, फिल फोडेन, मार्कुस रसफोर्ड र बुकायो साकाको प्रदर्शन चुनौतीपूर्ण रहनेछ । इङ्ल्यान्डसँग भिड्दा फ्रान्सलाई अर्को पनि चिन्ता हुनेछ । त्यो हो, फ्रान्सले विश्वकपका पछिल्ला चार खेलमा एउटै क्लिन सिट राख्न सकेको छैन । प्रत्येक खेलमा एक–एक गोल खाएको टोलीका तर्फबाट जम्मा तीन खेलाडीले गोल गरेका छन् । समूह चरण र अन्तिम १६ का गरि चार खेलमा ९ गोल गरेको टोलीले चार गोल खाँदा गोलकर्तामा एमाबप्पे, जिरौड र एड्रियन राबियोले मात्र नाम लेखाएका छन् ।

ठिक विपरित इङ्ल्यान्डले तीन खेलमा गोल खाएको छैन । चार खेलमा दुई गोल मात्र खाएको टोलीका तर्फबाट आठ खेलाडीले १२ गोल गरेका छन् । इङ्ल्यान्डका लागि जारी विश्वकपमा बुकायो साका र मार्कुस रसफोर्डले तीन–तीन गोल गर्दा जोर्डन हेन्डरसन, कप्तान ह्यारी केन, फिल फोडेन, ज्युड बेलिङ्घम, रहिम स्टर्लिङ र ज्याक ग्रिलिसले गोलमा नाम लेखाएका छन् ।

क्रोएसिया

विश्वकपको छनोट चरणमा क्रोएसियाले सात जित, एक हार र दुई बराबरी नतिजाका साथ समूहको शीर्ष स्थानमा रहँदै कतारको टिकट काटेको थियो । छनोट अभियानमा साविक उपविजेता क्रोएसियाका लागि कप्तान लुका मोडरिच, इभान पेरिसिच र मारियो पालासिचले सर्वाधिक तीन–तीन गोल गरेका थिए ।

कतार विश्वकप क्रोएसियाको छैटौं विश्वकप हो । १९९८ फ्रान्स विश्वकप क्रोएसियाको पहिलो विश्वकप थियो । पहिलो सहभागितामै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको थियो । त्यसपछि क्रोएसियाले २००२, २००६ र २०१४ मा विश्वकप खेल्यो । सबैमा समूह चरणभन्दा अगाडि बढ्न सकेन ।

तर चार वर्षअघि रुसमा भने क्रोएसियाको सुनौलो पुस्ताले फाइनल सम्मकै यात्रा गरेको थियो । फाइनलमा फ्रान्ससँग ४–२ पराजित भएको क्रोएसियाले यसपाली पनि लामो यात्रा गर्ने लक्ष्य बनाएको छ । आफूहरु पनि उपाधि दाबेदार रहेको कुरा क्रोएसियाली खेलाडीहरुले जापानलाई अन्तिम १६ मा हराएपछि भनेका थिए । ब्राजिललाई क्वार्टरफाइनलमा पराजित गरेर क्रोएसियाले त्यो कुरा प्रमाणित गरेको छ । 

जारी विश्वकपमा अपराजित क्रोएसियाले आफ्नो पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा क्यानडामाथि ४–१ को प्रभावशाली जित निकालेको क्रोएसिया अन्तिम खेलमा बेल्जियमलाई गोलरहित बराबरीमा रोक्दै समूहको दोस्रो भएको थियो । क्रोएसियाले त्यसपछि अन्तिम १६ मा स्पेन र जर्मनी जस्ता फुटबलका हस्तीलाई पराजित गरिसकेको जापानलाई टाइब्रेकरमा पराजित गर्यो । यसैगरी अन्तिम आठको प्रतिस्पर्धामा पनि क्रोएसियाले ब्राजिललाई टाईब्रेकरमै निराश पार्यो ।

ब्राजिल

उपाधिको मुख्य दाबेदारको हैसियतमा कतार आइपुगेको ब्राजिल प्रतियोगिताबाट बाहिरिइसकेको छ । शुक्रबार राति क्रोएसियासँग टाई ब्रेकरमा पराजित भएपछि लगातार दोस्रो विश्वकपमा ब्राजिलको यात्रा क्वार्टरफाइनलमै टुंगियो । 

टोलीले अन्तिम १६ मा एसियन टोली दक्षिण कोरियामाथि ४–१ को प्रभावशाली जित हासिल गर्यो । समूह चरणको पहिलो खेलमा सर्बियालाई २–० ले पराजित गरेको ब्राजिलले त्यसपछि स्विट्जरल्यान्डलाई १–० ले हराएको थियो । एक खेल अगावै नकआउट चरण पुगेको ब्राजिल समूहको अन्तिम खेलमा भने क्यामरुनसँग १–० ले स्तब्ध बन्यो ।

स्टार खेलाडीहरुको साथमा फिफा विश्व वरियताको शीर्ष स्थानमा रहेर कतार आइपुगेको ब्राजिलसँग गर्विलो इतिहास छ । विश्वपकका सबै संस्करणमा सहभागिता जनाएको एक्लो टोली ब्राजिलले कीर्तिमानी पाँच पटक उपाधि जितिसकेको छ । पछिल्लो पटक ब्राजिलले दक्षिण कोरिया र जापानले संयुक्त रुपमा आयोजना गरेको २००२ को विश्वकपमा उपाधि जितेको थियो ।

छनोट चरणमा ब्राजिलले सम्भावित ५१ अंकमा ४५ अंक जोडेको थियो । दक्षिण अमेरिकाबाट पहिलो हुँदै कतार विश्वकपका लागि योग्य हुने क्रममा ब्राजिलका लागि सुपरस्टार नेयमारले सर्वाधिक आठ गोल गरेका थिए ।

यिनै नेयमार भर्खरै मात्र चोटमुक्त हुँदै खेलमा फर्किएका थिए । सर्बियाविरुद्ध खुट्टामा चोट लागेका कारण नेयमारले त्यसपछिका दुई खेल गुमाएका थिए । कोरियाविरुद्ध पहिलो रोजाइबाट खेलेका नेयमारले ८० मिनेट मैदानमा बिताएका थिए । नेयमारको पुनरागमनसँगै ब्राजिलको छैटौं पटक विश्वकप जित्ने अभियान थप सजिलो हुने अपेक्षा गरिएको थियो । उनले शुक्रबार अतिरिक्त समयमा ब्राजिललाई अग्रता पनि दिलाएका थिए । तर जित दिलाउन भने सकेनन् ।

रिचार्लिसन, भिनिसियस जुनियर, कासेमिरो र राफिन्हा लगायतले राम्रो प्रदर्शन गरिरहेका थिए । तर, क्रोएसियाविरुद्ध उनीहरुको कुनै जोर चलेन ।

मोरक्को

जारी विश्वकपको क्वार्टरफाइनल पुग्ने एक मात्र अफ्रिकी टोली हो, मोरक्को । बेल्जियमको सुनौलो पुस्ता र पछिल्लो संस्करणको उपविजेता क्रोएसियालाई पछि पार्दै मोरक्कोले समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान बनाएको थियो ।

समूह चरणको पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० ले निराश पारेको थियो । अन्तिम खेलमा क्यानाडालाई २–१ ले पराजित गरेपछि मोरक्को जारी विश्वकपमा नकआउट चरण पुग्ने एकमात्र अफ्रिकी टोली बनेको थियो ।

अन्तिम १६ मा लुइस इनरिकेको स्पेनलाई टाइब्रेकरमा पराजित गरेपछि विश्वकप इतिहासमै मोरक्को क्वार्टरफाइनलमा पुग्ने चौथो अफ्रिकी टोली बन्यो । यसअघि क्यामरुन र घानाले सो उपलब्धि हासिल गरेका थिए ।

क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगलको सामना गर्नेछ । पहिलो पटक सेमिफाइनल पुग्ने लक्ष्यसहित मोरक्कोले अल थुमामा रंगशालामा पोर्चुगलविरुद्ध जित हासिल गर्न हरसम्भव प्रयास गर्नेछ ।

पछिल्ला ९ खेलमा अपराजित मोरक्कोले त्यस अवधिमा जम्मा दुई गोल खाएको छ । प्रशिक्षक वालिद रेग्रागुईले गत अगस्टमा मोरक्कोको जिम्मेवारी सम्हालेका थिए । रेग्रागुईले नेतृत्व लिएयता मोरक्कोले प्रभावशाली प्रदर्शन गरिरहेको छ ।

मोरक्को कतार विश्वकपका लागि योग्य भएको चाहिँ प्रशिक्षक वाहिद हलिलहोजिकको नेतृत्वमा हो । उनको नेतृत्वमा मोरक्कोले महादेशीय छनोटको दोस्रो चरणमा सबै ६ खेल जितेको थियो ।

तेस्रो चरणमा कंगोलाई समग्रमा ५–२ ले पराजित गर्दै मोरक्कोले विश्वकपमा स्थान बनाएको थियो । छनोट अभियानमा मोरक्कोका लागि अल एल काबीले सर्वाधिक पाँच गोल गरेका थिए । तर यिनै एल काबीलाई वर्तमान प्रशिक्षक रेग्रागुईले टिममा राखेका छैनन् ।

रेग्रागुईसँग राम्रो सम्बन्ध रहेका स्टार खेलाडीद्वय हाकिमी जियाच र नोसेर माज्रावीको पुनारागमनसँगै टिमले कतार विश्वकपमा प्रभावशाली प्रदर्शन गर्ने अपेक्षा थियो । भयो पनि त्यस्तै ।

अब मोरक्कोको चुनौती भनेको क्रिस्टियानो रोनाल्डोको पोर्चुगल, त्यसपछि इङ्ल्यान्ड र फ्रान्समध्ये एक हो । यसका लागि टोली मानसिक रुपमा तयार छ । स्पेनविरुद्धको जित नै मोरक्कोका लागि प्रेरणाको स्रोत हो ।

पोर्चुगल

अहिलेसम्म विश्वकप जित्न नसकेको पोर्चुगलमाथि यसपाली  समर्थकहरुको आशा छ । पोर्चुगल यसअघिका विश्वकपमा उपाधि नजिक पुगेको भनेको इङ्ल्यान्ड १९६६ र जर्मनी २००६ मा हो । यी दुवै संस्करणमा पोर्चुगलले सेमिफाइनलसम्मको यात्रा गरेको थियो । अन्य विश्वकपमा भने पोर्चुगलको यात्रा तीन पटक समूह चरण र दुई पटक अन्तिम १६ मा टुंगिएको थियो ।

पोर्चुगलले कतार विश्वकपमा छनोट हुन निकै संघर्ष गरेको थियो । महादेशीय छनोटमा पोर्चुगल आफ्नो समूहमा दोस्रो भएको थियो ।  पोर्चुगलले त्यसपछि छनोट चरणको नतिजाका आधारमा अन्य राष्ट्रभन्दा बढी अंक ल्याएकाले प्ले–अफमा स्थान बनायो । जहाँ उसले सेमिफाइनलमा टर्की र फाइनलमा नर्थ मेसेडोनियालाई पराजित गर्यो र विश्वकपका लागि योग्य भयो ।

छनोट अभियानमा कप्तान क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि सर्वाधिक ६ गोल गरेका थिए । तर रोनाल्डो जारी विश्वकपमा जम्न सकेका छैनन् । जारी विश्वकपका चार खेलमा पोर्चुगलले गरेका १२ मध्ये एक गोलमा मात्र रोनाल्डोको नाम छ । त्यो गोल उनले समूह चरणको पहिलो खेलमा घानामागि ३–२ को जित हासिल गर्दा पेनाल्टीमार्फत गरेका थिए ।

दोस्रो खेलमा उरुग्वेलाई २–० ले पराजित गरेको पोर्चुगल अन्तिम खेलमा दक्षिण कोरियासँग २–१ ले स्तब्ध भएको थियो । 
त्यसोत सधैं रोनाल्डो केन्द्रित रहने पोर्चुगल यसपाली भिन्न बल लिएर कतार आएको छ । अन्तिम १६ मा स्विट्जरल्यान्डलाई ६–१ को फराकिलो अन्तरले हराएको पोर्चुगलले ब्राजिल, फ्रान्स र अर्जेन्टिनासँगै आफू पनि उपाधिको प्रबल दाबेदार रहेको कुरा प्रष्ट गरेको छ ।

स्विट्जरल्यान्डविरुद्द ६ गोल गर्दा पोर्चुगलका लागि रोनाल्डोको स्थानमा खेलाइएका २१ वर्षे गोन्सालो रामोसले जारी विश्वकपमै पहिलो ह्याट्रिक गरेका थिए । अन्य खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

क्वार्टरफाइनलमा पोर्चुगललाई ठूला टिमहरुलाई निराश पारिरहेको मोरक्कोको चुनौती छ ।