कतार विश्वकप २०२२

अफ्रिकी टिम, अफ्रिकी प्रशिक्षक

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप २०२२ मा पहिलो पटक सबै अफ्रिकी टिममा घरेलु प्रशिक्षक हुने भएका छन् । विश्वकपमा यसपालि सबै अफ्रिकी टिम स्थानीय प्रशिक्षक सम्हालेका छन् । यसले भविष्यमा अफ्रिकी प्रशिक्षकका लागि थप अवसरको बाटो खोलेको छ ।

क्यामरुन, घाना, मोरक्को, सेनेगल र ट्युनिसिया कतारका मैदानमा विश्वकपको प्रतिस्पर्धामा उत्रँदा घरेलु प्रशिक्षकको नेतृत्व साथमा हुनेछ । अफ्रिकी फुटबल महाद्वीपका फुटबल प्राविधिकमा देखिएको परिवर्तनले पहिलोपल्ट यो सम्भव भयो ।

यसपालि कतारमा क्यामरुनलाई पूर्वखेलाडी रिगोबर्ट सङ र घानालाई ओट्टो अड्डोले नेतृत्व गर्नेछन् । अड्डो पनि घानाका पूर्वखेलाडी हुन् । यसैगरी ट्युनिसिया जलेल काद्री, मोरक्को पूर्वखेलाडी वालिद रेग्राग्वी र सेनेगल एलियु सिसेको नेतृत्वमा हुनेछ ।

यसअघिका विश्वकपमा अफ्रिकी टिमहरू सधैं युरोपियन वा ल्याटिन अमेरिकी प्रशिक्षकको नेतृत्वमा हुन्थे । सन् २०१० विश्वकपमा ६ अफ्रिकी टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसबेला अल्जेरियाको मुख्य प्रशिक्षकमात्रै स्थानीय थिए ।

सन् १९९८ मा सबै (पाँच) अफ्रिकी टिमका युरोपियन प्रशिक्षक थिए । दशकौंदेखि महाद्वीपभन्दा बाहिरका प्रशिक्षक ल्याउने प्रचलन थियो, चाहे क्लबमा होस् वा राष्ट्रिय टिममा । तर, पछिल्लो समय यसमा निरन्तर प्रश्न उठ्न थालेको छ ।

‘अफ्रिका महादेशमा प्रशिक्षकको स्तमा सुधार भइरहेको छ,’ लगातार दोस्रो पटक सेनेगलललाई विश्वकप खेलाउने तयारीमा रहेका प्रशिक्षक एलियु सिसेले भनेका छन्, ‘यसपालि अफ्रिकी फुटबलका लागि विश्वकपको एउटा सुन्दर पक्ष यहाँका सबै टिममा स्थानीय प्रशिक्षक हुनु पनि हो । यसले अफ्रिकी फुटबलमा लामो समयदेखि योगदान गरिरहेका फुटबल प्राविधिकहरूको हौसला वृद्धि गर्छ र नयाँ पुस्ताका लागि सुनौलो सन्देश दिनेछ ।’

विश्वकपमा अफ्रिकी टोलीले राम्रो नतिजा हासिल गर्न सके त्यसले दीर्घकालसम्मका लागि महादेशीय फुटबलको विकासमा योगदान गर्ने ट्युनिसियाका प्रशिक्षक जलेलको विश्वास छ । ‘हामीले विगतमा अन्य महादेशका प्रशिक्षकको नेतृत्वमा अफ्रिकी टिमले हासिल गरेभन्दा राम्रो नतिजा ल्याउन सक्यौं भने वा उनीहरूकै बराबर मात्र नतिजा ल्याउन सक्यौं भने पनि त्यसले लामो समयसम्म अफ्रिकी प्रशिक्षकहरूलाई प्रेरित गरिरहने छ,’ उनले अफ्रिकी फुटबलको भविष्य सुनाए ।

विश्वकपको पछिल्लो संस्करणमा सिसे अफ्रिकाका दुई प्रशिक्षकमध्ये एक थिए । उनीबाहेक ट्युनिसियाका नाबिल मोलुल पनि घरेलु प्रशिक्षक थिए । बाँकी चार टिमका प्रशिक्षक अर्जेन्टिना, फ्रान्स र जर्मनीबाट आएका थिए ।

‘हाम्रो सपना भनेको अफ्रिकी विज्ञताको पनि मूल्यांकन होस् । र, अफ्रिकामा पनि राम्रा प्रशिक्षक छन् भन्ने बुझियोस्,’ सिसेले एक अन्तर्वार्तामा भनेका छन् ।

पछिल्लो समय अफ्रिकी फुटबलमा देखिएको परिवर्तनका कारण रिजनल प्रतियोगितामा घरेलु प्रशिक्षकहरूको सफलता पनि हो ।

पछिल्ला दुई अफ्रिकन कप अफ नेसन्स अफ्रिकी प्रशिक्षक भएका टिमले जितेको थियो । त्यस्तै अफ्रिकन च्याम्पियन्स लिगका पछिल्ला सात संस्करण अफ्रिकी प्रशिक्षकले जितेका छन् ।

मोरक्कोले पूर्व डिफेन्डर वालिद रेग्राग्वीलाई दुई महिनाअघि प्रशिक्षक नियुक्त गरेको थियो । वालिदले गत मेमा वाइडाडन कासाब्लान्कालाई अफ्रिकन च्याम्पियन्स लिगमा च्याम्पियन बनाएका थिए ।

यस्तै, क्यामरुन रिगोबर्ट सङको प्रशिक्षण नेतृत्वमा कतार पुग्नेछ । उनी क्यामरुनबाट सर्वाधिक क्याप जित्ने खेलाडीमध्ये एक हुन् । ट्युनिसिया जलेल काद्री र घाना ओट्टो अड्डोको नेतृत्वमा कतार पुग्नेछ ।  

‘यी युरोपमा सफल र राम्रा प्रशिक्षक हुन् । तर, अफ्रिकन फुटबलमा सही समयमा सही प्रशिक्षक हुनुपर्छ,’ गाम्बियाका प्रशिक्षक टम सेन्टफिटले भनेका छन् । अफ्रिकी फुटबलमा बेल्जियन टमले करिब दुई दशकको अनुभव बटुलिसकेका छन् ।

‘जसले अफ्रिकी फुटबल बुझ्छ, संस्कार बुझ्छ, जसले अफ्रिकी टिमसँग काम गर्दाको फाइदा र घाटा बुझ्छ, उसले मात्रै राम्रो नतिजा निकाल्न सक्छन्,’ उनले भनेका छन्, ‘अफ्रिकी फुटबल, त्यहाँको रहनसहन र संस्कारबारे अफ्रिकी प्रशिक्षकहरू नै सबैभन्दा बढी जानकार हुन्छन् ।’

अन्तर्राष्ट्रिय फुटबलमा अफ्रिकी खेलाडीहरूको बलियो प्रभाव रहने गरे पनि प्रशिक्षकमा उनीहरूको प्रतिभा रूपान्तरण नभइरहेको अवस्थामा यसपालिको विश्वकपले नयाँ सन्देश प्रवाह गर्ने विश्वास क्यामरुन फुटबल संघका अध्यक्ष एवं पूर्वखेलाडी सामुइल इटोले लिएका छन् ।

‘अन्तर्राष्ट्रिय फुटबलमा अफ्रिकी खेलाडीको ठूलो प्रभाव छ । युरोपका सबै ठूला लिगमा हाम्रा खेलाडीले राम्रो गरिरहेका छन् । तर, राष्ट्रिय टोलीका रूपमा अफ्रिकी फुटबलले युरोप र दक्षिण अमेरिकाको दाँजोमा राम्रो गर्न सकेको छैन  । हामी खासमा एसियाभन्दा पनि पछाडि छौं,’ अफ्रिकी फुटबलमा महान हस्तीको हैसियत बनाएका इटोले भनेका छन्, ‘फुटबल समग्रमा माथि उठ्नका लागि राम्रा खेलाडीमात्र भएर पुग्दैन । त्यसका लागि प्रशिक्षक, व्यवस्थापक र रेफ्रीजस्ता फुटबलका अन्य प्राविधिकहरू पनि सक्षम हुनु जरुरी छ । कतार विश्वकप अफ्रिकी प्रशिक्षकहरूका लागि एउटा ठूलो अवसर हो ।’