कतार विश्वकप २०२२

नेपाली खेलाडीको रोजाईमा ब्राजिल र पोर्चुगल

काठमाडौं । मध्यपूर्वी एसियाली मुलुक कतारमा फिफा विश्वकपको २२औं संस्करण सुरु भइसकेको छ । बिहीबार रातिका खेलसँगै पहिलो चरणका खेल सम्पन्न भएका छन् । कुल ६४ खेलको महाकुम्भले लगभग एक तिहाईको यात्रा तय गरिसकेको छ ।

विश्वभरका उत्कृष्ट ३२ टोलीबीचको प्रतिस्पर्धाले शंसार नै फुटबलमय भएको छ । खेलाडी र खेलकर्मीसँगै व्यवसायिक घरना र राजजीतिकर्मीसमेतलाई अहिले विश्वकपको माहोलले तताएको छ । देश प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको थियो । तर पनि विश्वकपको माहोल कम हुन पाएन । समूह समूहमा रहेर विश्वकप हेर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

नेपालले अहिलेसम्म खेल्न नसके पनि यो विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता नेपाली फुटबलका लागि निक्कै महत्वपूर्ण रहँदै आएको छ । यही प्रतियोगिताका कारण पूरा देश प्रत्येक चार वर्षमा एक महिनाका लागि फुटबलमय बन्ने गर्छ ।

नेपालको हकमा विश्वकप खेल्ने प्रयास सधै निम्छरो रहँदै आएको छ । नेपालले अहिलेसम्म विश्वकप छनोटमा दोस्रो चरणभन्दा माथि उठन सकेको छैन । त्यसकारण नेपाली फुटबल समर्थकसँगै खेलाडीले पनि विश्वकपको मञ्चमा समर्थन गर्ने टिम र बोक्ने झण्डा साझा छैन ।

आफूलाई मन पर्ने खेलाडी र टिमको आधारमा पूरा नेपाल अहिले ३२ टिममा विभाजित भएको छ । अन्तर्राष्ट्रिय फुटबलको मैदानमा नेपालको झण्डालाई प्रतिनिधित्व गर्ने खेलाडीहरु पनि समर्थनका हिसावले जारी विश्वकपमा विभाजित छन् । विभिन्न समूहमा बसेर विश्वकपका खेलहरुको मज्जा लिइरहेका नेपाली राष्ट्रिय टिमका खेलाडीहरु पनि देशका लागि आफै खेल्दा जस्तो एकमत छैनन् ।

नेपालका लागि मैदानमा सधै डटिरहने राष्ट्रिय खेलाडीहरुसँग कतारमा विश्वकप जारी रहँदा खेलाडी डटकमले उनीहरुलाई मन पर्ने खेलाडी र टिमको बारेमा सोधेको थियो । यसैगरी एसियामा भएको दोस्रो विश्वकपको उपाधि कस्ले जित्ला भनेर पनि हामीले सोधेका थियौं ।

राष्ट्यि टोलीका वर्तमान २३ खेलाडीमध्ये २२ जनासँग सोध्दा धेरैजसो नेयमारको ब्राजिल र क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको पक्षमा देखिए । नेपाली राष्ट्रिय टोलीको रोजाईमा परेका विश्वकपका टिम र खेलाडीहरुः

किरण चेम्जोङ
मनपर्ने टिमः ब्राजिल
मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो
म आफू गोलकिपर खेल्ने भए पनि मलाई अहिले विश्वमा सबभन्दा मन पर्ने खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो हुन् । विश्वकप खेल्ने सबै ३२ टिम नै माथिल्लो स्तरको फुटबल खेल्न सक्षम हुन्छन् । तर तिमध्ये पनि ब्राजिलको टिम सबभन्दा राम्रो छ । उनीहरुको टिम अत्यन्तै सन्तुलित र क्षमतावान छ । त्यसैले यसपाली ब्राजिलले विश्वकप जित्ने सम्भावना बलियो छ र म पनि ब्राजिलले नै जितोस भन्ने चाहन्छु । 

विमल घर्तिमगर
मनपर्ने टिमः ब्राजिल 
मनपर्ने खेलाडीः नेयमार
यसपाली विश्वकप कस्ले जित्ला भन्ने प्रश्नको उत्तर अहिल्यै भन्न सकिँदैन । ब्राजिललाई समर्थन गरेर साथीहरुसँग बसेर हेरिरहेको छु । उसैले जितोस् भन्ने कामना गरेको छु । टिम र त्यहाँ भएका खेलाडी अनि उनीहरुको क्षमता हेर्दा ब्राजिलले पक्कै जित्छ भन्ने लाग्छ । तर सँगै अर्जेन्टिना, इङ्ल्यान्ड, बेल्जियम, फ्रान्सहरु पनि दाबेदार हुन् ।

अन्जन विष्ट
मनपर्ने टिमः ब्राजिल, पोर्चुगल
मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो, नेयमार
क्रिस्टियानो रोनाल्डो मलाई मन पर्ने खेलाडी हो । पोर्चुगलको पनि समर्थन गर्दैछु । तर, ब्राजिलले विश्वकप जितोस् भन्ने लाग्छ, उसैले जित्ला पनि । ब्राजिलमा पनि मलाई मन पर्ने खेलाडी नेयमार छ, बाँकी टिम पनि राम्रा छन् । ब्राजिल सबभन्दा बलियो दाबेदार भए पनि विश्वकप कस्ले जित्ला भनेर सोच्दा पाँच सातवटा टिमको नाम एकै पटक आउँछ । तिमध्ये जस्ले जिते पनि अचम्म हुँदैन ।  

आयुष घलान
मनपर्ने टिमः ब्राजिल 
मनपर्ने खेलाडीः नेयमार
यसपटक विश्वकप खासै हेर्न पाएको छैन । फाइलन अर्जेन्टिना र ब्राजिलबीच होस् भन्ने लाग्छ । तर, अर्जेन्टिनाले पहिलो खेलमै हारेको छ । ब्राजिलबाट नेयमार मन पर्ने हुँदा छैटौं पटक विश्वकप जितोस् भन्ने कामना छ । उनीहरुको टिम पनि राम्रो भएकाले आशावादी छु ।

नवयुग श्रेष्ठ
देशः पोर्चुगल
मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो
विश्वकप कस्ले जित्छ अहिल्यै भन्न सकिँदैन । यस्तो प्रतियोगितामा जस्तोसुकै नतिजा पनि आउन सक्छ । समूह चरण चलिरहँदा केही राम्रा खेल भए । एसियाली देशले राम्रो गरिरहेका छन् । स्तब्धतापूर्ण नतिजा निस्केका छन् । पोर्चुगल नै फाइनल पुगेर जितोस् जस्तो लाग्छ ।

विकेश कुथु
मनपर्ने टिमः ब्राजिल
मनपर्ने खेलाडीः नेयमार, एन्डर्सन
नेयमार बढि मन पर्छ । तर, गोलरक्षक भएकाले एन्डर्सन पनि मन पर्छ । ब्राजिलका दुवै गोलरक्षक राम्रा छन् । विश्वकप ब्राजिलको समर्थनमा हेरिरहेको छु । फाइनल ब्राजिल र अर्जेन्टिनाबीच होस् भन्ने चाहना थियो । तर त्यसो हुने सम्भावना कम छ । तथापि आफूले समर्थन गरेकोले होला, ब्राजिलले जित्ला भन्ने लाग्छ ।  

तेज तामाङ
मनपर्ने टिमः पोर्चुगल 
मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो 
रोनाल्डोको समर्थनमा विश्वकप हेरिरहेको छु । ट्रफी चहि ब्राजिलले जित्छ जस्तो लाग्छ । उनीहरुको टिम निक्कै राम्रो भएकाले जित्ने सम्भावना बलियो छ । यसो भन्नुको अर्थ पोर्चुगल कमजोर छ भन्न खोजेको होइन । इङ्ल्यान्ड, डेनमार्क, बेल्जियम, स्पेन र जर्मनीजस्ता युरोपेली टिमहरु पनि बलिया छन् । दक्षिण अमेरिकाकै अर्जेन्टिना पनि बलियो टिभम हो । तर, यसपाली सबै पक्षमा ब्राजिल माथि छ ।

अनन्त तामाङ
मनपर्ने टिमः जर्मनी
मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो
मलाई मन पर्ने टिम जर्मनी भए पनि यसपाली जर्मनीको सम्भावना कम देख्छु । यसैगरी रोनाल्डोले विश्वकप जितुन भन्ने लाग्छ । तर उनको पनि सम्भवाना त्यति देखिन्न । यसपाली विश्वकपमा ब्राजिल सबभन्दा बलियो देखिएको छ । ब्राजिलले फेरि यसपालीको विश्वकप जित्ला भन्ने लागेको छ । तर यति ठूलो प्रतियोगितामा यसै भन्न सकिन्न ।

सुजल श्रेष्ठ
मनपर्ने टिमः पोर्चुगल 
मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो
अहिलेसम्मको खेलको अवस्था हेर्दा इङ्ल्यान्ड बलियो देखिएको छ । पोर्चुगल पनि राम्रो छ । त्यसैले यिनै दुई टिमको सम्भावना बलियो देखिन्छ । तर, इङ्ल्यान्डले जित्ने सम्भावना अली बढि देखेको छु । इङ्ल्यान्डको टिममा लामो समयदेखि सँगै खेलेका खेलाडीहरुको बाहुल्य छ । उनीहरुसँग एउटा टिमको रुपमा र व्यक्तिगत खेलाडीको रुपमा पनि अनुभवको कमी छैन ।

दीनेश राजवंशी
मनपर्ने टिमः पोर्चुगल
मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो
यसपाली पोर्चुगलले नै जितोस् भन्ने लागेको छ । सँगै एसियाका टिमले राम्रो गरुन भन्ने पनि कामना छ । पोर्चुगल फाइनल चाँही पुग्ला, तर कस्ले जित्छ भन्ने चाँही अहिल्यै भन्न कठिन छ । ब्राजिल, इङ्ल्यान्ड, अर्जेन्टिना, स्पेन र बेल्जियम पनि दाबेदार हुन् ।

एरिक विष्ट
मनपर्ने टिमः जापान 
मनपर्ने खेलाडीः थिअगो अल्कान्टारा 
विश्वकपः खासमा एसियाली टिमले राम्रो गरुन भन्ने चाहना छ । बेल्जियमको टिममा विश्वकै उत्कृष्ट खेलाडीहरु छन् । उनीहरुले नै जित्लान जस्तो लाग्छ । टिमका रुपमा पनि संगठित छन् । तर विश्वकप जस्तो प्रतियोगितामा उपाधि जित्नका लागि धेरै खासका संयोग मिल्नुपर्छ । सबै संयोग मिले यसपाली बेल्जियम दाबेदार हो ।

सुरज जिउ ठकुरी
मनपर्ने टिमः स्पेन
मनपर्ने खेलाडीः मार्काे एसेन्सियो
सर्जियो रामोस मन पर्ने खेलाडी थियो । उसकै कारण स्पेन मेरो प्रिय टिम हो । तर, उमेर ढल्किइसकेका रामोसले यसपाली विश्वकपको टिममा स्थान बनाउनै सकेनन् । रामोस नभए पनि फाइनल स्पेनले नै जितोस् जस्तो लाग्छ । स्पेनले पहिलो खेलमा कोस्टारिकासँग जुन खालको फुटबल खेल्यो, त्यसले पनि उनीहरु संगठित छन् भन्ने सन्देश दिएको छ । उनीहरु उपाधिका दाबेदार हुन् ।

विशाल श्रेष्ठ
मनपर्ने टिमः ब्राजिल 
मनपर्ने खेलाडीः म्यानुअल नुयुर
ब्राजिलको टिम राम्रो छ । उनीहरुसँग युरोपमा राम्रो गरिरहेका खेलाडीको समूह छ । टिमवर्क पनि राम्रो भएकाले उनीहरु यसपाली विश्वकपको मुख्य दाबेदार हुन् । ब्राजिलले नै जित्ला भन्ने लाग्छ । सँगै अर्जेन्टिना, इङ्ल्यान्ड, स्पेन र बेल्जियमलाई पनि कमजोर आक्न सकिन्न ।

विशाल राई
मनपर्ने टिमः स्पेन
मनपर्ने खेलाडीः लुका मोड्रिच
इङ्ल्यान्डले यसपाली विश्वकप जित्छ भन्ने मलाई लागिरहेको छ । इङ्ल्यान्ड विश्व फुटबलमा सधै एउटा महत्वपूर्ण शक्ति हो । तर १९६६ यता उनीहरुले कहिल्यै पनि ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका छैनन् । सधै दाबेदार भएर पनि निराश हुँदै आएको इङ्ल्यान्डले पछिल्लो विश्वकपदेखि नतिजा पनि राम्रो ल्याउन थालेको छ । चार वर्षअघि रुसमा राम्रो खेल्नाका बावजुद सेमिफाइनलमा निराश भएको टोली गत वर्षको युरोपियन च्याम्पियनसिपमा फाइनल पुगेको थियो । यसपाली चाँही जित्लान भन्न लागेको छ ।

दीप कार्की
मनपर्ने टिमः पोर्चुगल
मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो
पोर्चुगलको समर्थन हो । रोेनाल्डोको कारण पोर्चुगलले जितोस भन्ने लागेको छ । खासमा रोनाल्डोले जितेर संन्यास लियोस् भन्ने आसा छ । अर्काे टोलीमा ब्राजिल फाइनल पुग्छ जस्तो लाग्छ । तर आफ्नो चाहनाको कुरा एउटा हो, नतिजा अर्कै हुन पनि सक्छ । विश्वकप खेल्ने सबै टिम बलिया हुन्छन् ।

विकास तामाङ
मनपर्ने टिमः इङ्ल्यान्ड
मनपर्ने खेलाडीः ह्यारी केन
इङ्ल्यान्ड यसपाली फाइनल पुग्छ भन्नेमा निक्कै आसावादी छु । फाइनल ब्राजिलसँग परोस भन्ने लागेको छ । फुटबलमा यो स्तरमा अनुमान गर्न गाह्रो हुन्छ । मैले नाम लिएका टिम सेमिफाइनल नै नपुग्न पनि सक्छन् । तर ब्राजिलसँग परोस र इङ्ल्यान्डले जितोस भन्ने छ ।

विकास खवास
मनपर्ने टिमः जर्मनी
मनपर्ने खेलाडीः भर्जिल भान डाइक
मलाई मन पर्ने टोली जर्मनी हो । तर पहिलो खेलमै पराजित भएको छ । पहिलो खेलमा जर्मनीको प्रदर्शनमा पनि अपेक्षा गरेअनुसारको परिपक्वता थिएन । त्यसैले यसै भन्न सकिन्न । सेमिफाइनलसम्म साना टिमले पनि सनसनी मच्चाउन सक्छन् । तर विश्वकपको उपाधि जित्न चाँही क्षमतासँगै परिपक्वता पनि चाहिन्छ । त्यसैले ब्राजिल, अर्जेन्टिना, स्पेन, बेल्जियम, इङ्ल्यान्डहरु मध्येबाटै कसैले उपाधि जित्नेछ 

सेसेहाङ आङदेम्बे
मनपर्ने टिमः अर्जेन्टिना
मनपर्ने खेलाडीः लियोनेल मेसी
लियोनेल मेसी ३५ वर्षको उमेरमा पनि उच्च प्रदर्शन गरिरहेका छन् । जस्तोसुकै परिस्थितीमा पनि नतिजा उल्टाउन सक्ने क्षमता राख्छन् । पहिलो खेलमा अर्जेन्टिना अनपेक्षित रुपमा साउदी अरबसँग पराजित भयो । तर मेसीको प्रेरणा र उत्कृष्ट खेलाडीहरुको समूह भएकाले अर्जेन्टिनाले नै जित्न सक्छ ।

आशिष चौधरी
मनपर्ने टिमः अर्जेन्टिना
मनपर्ने खेलाडीः मेसी 
खेल हो भन्न सकिदैन । त्यसमाथि विश्वकपजस्तो प्रतियोगितामा फुटबल झनै अनपेक्षित हुन्छ । विश्वकपमा जुनसुकै टिमले जोसुकैलाई पनि हराउने क्षमता राख्छन् । अर्जेन्टिना र ब्राजिलबीच फाइनल होला जस्तो लागेको छ । त्यो अवस्थामा जुनसुकै टिमले पनि बाजी मार्न सक्छ ।  

रितिक खड्का
मनपर्ने टिमः ब्राजिल
मनपर्ने खेलाडीः खेलाडी विशेष कोही छैन
म ब्राजिलको समर्थक हो । व्यक्तिगत रुपमा ब्राजिलका सबै खेलाडी मन पर्छ । यहि खेलाडी भन्ने छैन । यसपटक ब्राजिलले उपाधि जितोस भन्ने मेरो कामना छ । तर, इङ्ल्यान्ड र स्पेन पनि बलियो देखिएका छन् । यिनै दाबेदारहरुको बीचबाट कसैले जित्छ ।

पुजन उपरकोटी
मनपर्ने टिमः जर्मनी
मनपर्ने खेलाडीः खास कोही छैन
स्पेन र ब्राजिलमध्ये एउटाले जित्ला जस्तो लाग्छ । दुवैको टिम राम्रो छ । दुवै टिममा उत्कृष्ट खेलाडीहरुको राम्रो तालमेल छ । क्लब स्तरमा ब्राजिल र स्पेनका खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । मलाई चाँही स्पेनको युवा टोलीबाट अली बढि आशा लागेको छ । पहिलो खेलमा पनि उनीहरुले निक्कै उच्चस्तरीय प्रदर्शन गरे । यसअर्थमा उनीहरुले नै जित्लान भन्ने बढि लागेको छ ।

निशान खड्का
मनपर्ने टिमः ब्राजिल
मनपर्ने खेलाडीः लियोनेल मेसी
यसपाली विश्वकपमा ब्राजिल र इङ्ल्यान्ड फाइनल पुग्लान भन्ने लाग्छ । तर उपाधि चाँही ब्राजिलले नै जित्ला । दुवै टिममा राम्रा खेलाडीहरु छन् । राम्रो लयमा छन् । ब्राजिल र इङ्ल्यान्डसँगै स्पेनको टिम पनि राम्रो छ । उनीहरुले राम्रो गरिरहेका छन् । तर स्पेनको टिम निक्कै युवा भएकाले जित्ने सम्भावना कम छ । ब्राजिल विश्वकपमा सधैको दाबेदार हो । यसपाली चाँही उनीहरुको सम्भावना अझै बलियो देखिन्छ । उनीहरुले नै जित्लान ।

(तस्बिरहरुः सामाजिक सञ्जालबाट)