नेपाली फुटबल

कहिले खेल्छ नेपालले विश्वकप ?

काठमाडौं । सन् २००२ को विश्वकपका बेला मायोज चाउचाउको एउटा विज्ञापन नेपाल टेलिभिजनमा निकै घन्कन्थ्यो । त्यो विज्ञापनमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान गणेश थापाले फुटबल मैदानमा आफ्ना छोरा अभिषेकलाई भनिरहेका थिए, ‘हामीले त पाएनौं । अब तिमीहरूको पालो । पालो नयाँ पिँढीको ।’

थापा त्यतिबेला अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पनि थिए । उनकै नेतृत्वमा एन्फाले देशभरका प्रतिभावान बालकहरु छनोट गरेर एकेडेमी चलाउन सुरु गरेको थियो । सायद विज्ञापनका निर्देशकलाई कुनै दिन नेपालले पनि विश्वकप खेल्नेछ भन्ने विश्वास त्यो एकेडेमीले दिएको थियो होला । छिमेकी मुलुक चीनले त्यस्तै युवा विकास परियोजनामा लगानी गरेर सन् २००२ मा पहिलो पटक विश्वकपसम्मको यात्रा गरेको थियो । विज्ञापनका निर्देशक त्यहींबाट प्रेरित भएर त्यो विज्ञापन बनाए होलान् र नेपाली फुटबलका सर्वोत्कृष्ट खेलाडीमध्ये एक र त्यस्तै युवा विकासमा काम गरिरहेका थापालाई मुख्य भूमिका दिए होलान् ।

मैदानमा आफ्ना छोरासँग जर्सी लगाएर फुटबल अभ्यास गरिरहेका थापाले विज्ञापनमा आफ्नो पुस्ताले फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेल्न नपाएको गुनासो गरेका छन् । साथमा उनले अब छोरा पुस्ताले खेल्नुपर्छ भन्ने सन्देश दिएका छन् ।

तर, थापाका छोरा पुस्ता पनि विश्वकप नखेलिकनै मैदानबाट टाढिइसक्यो । उनका छोरा पुस्ताका सबै खेलाडी अहिले राष्ट्रिय टोली हाँक्ने प्रशिक्षक भइसकेका छन् । र, उनीहरु पनि आफ्ना छोरा पुस्तालाई सम्बोधन गरेर भन्दैछन्, ‘हामीले त सकेनौं, अब तिमीहरुले खेल्नुपर्छ ।’

सायद थापाका नाति पुस्ताले पनि अबको दुई दशकपछि भन्लान्, ‘हाम्रो पुस्ताबाट सम्भव भएन, अब तिमीहरुले गर्नुपर्छ ।’

के नेपालले विश्वकप खेल्न सक्दैन त 

जवाफ नमीठो हुनसक्छ । तर, यही पाराले चाँही कहिल्यै सक्दैन । फुटबल विश्लेषक सञ्जीव मिश्र नेपाली फुटबलको विकासक्रम यही पारामा अगाडि बढे थापाले अभिनय गरेको विज्ञापन जस्तै हुने बताउँछन् ।

भन्छन्, ‘फिफाले फुटबलको विश्वव्यापीकरणमा अझै प्रभावकारी नीतिहरु लिँदै अगाडि बढिरहेको छ । यहीक्रममा सन् २०२६ को अर्को संस्करणदेखि विश्वकपमा ३२ देशको साटो ४८ देशले भाग लिनेछन् । यसैगरी फिफाले त्यो संख्या अझै बढाएर ६४ पुर्यायो भने नेपालको सम्भावना हुनसक्छ ।’

तर त्यसका लागि पनि देशको फुटबल विश्वकपको सपना बोकेर दीर्घकालिन योजनासहित अगाडि बढ्नुपर्ने आवश्यकता देख्छन् मिश्र । खेल्नका लागि पर्याप्त भौतिक पूर्वाधार निर्माण गर्ने, देशको फुटबललाई पूर्ण व्यावसायिक बनाउने, गाउँगाउँसम्म फुटबल संस्कार स्थापना गर्ने, खेलेरै सहज र सम्मानजनक जीवनयापन सम्भव गराउने, नयाँ पुस्तालाई बढीभन्दा बढी फुटबलप्रति आकर्षित गर्नेजस्ता काम गर्न सके आगामी केही दशकभित्र नेपालले व्यवहारिक रुपमै विश्वकपको सपना देख्नसक्ने मिश्रको विश्वास छ ।

सन् १९८२ बाट अन्तर्राष्ट्रिय फुटबल खेल्न थाले पनि नेपालले अहिलेसम्म औपचारिक रुपमा विश्वकपको सपना नै देखेको छैन । विश्वकपमात्र होइन, एसियन कप पनि नेपालको सपना होइन । नेपाली फुटबलले अहिलेसम्म देखेको सबैभन्दा ठूलो सपना भनेको दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप जित्ने हो । त्यसमा पनि अहिलेसम्म सफलता हासिल भएको छैन । तत्काल साफ च्याम्पियनसिप समेत जित्ने व्यवहारिक आधार देखिँदैन ।

घरेलु लिग व्यवस्थित रुपमा नभएको वर्षौं बितिसक्यो । खेलेर बाँच्न सकिन्न भन्ने त्रासले विदेसिने खेलाडीको लर्को ठूलै भइसक्यो । राष्ट्रिय टिमका खेलाडीहरु अचेल रंगशालाभन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर बढी भेटिन थालेका छन् । खेल्नका लागि ढंगको रंगशाला छैन । एकेडेमीहरु सञ्चालनमा छैनन् । भएको एन्फा एकेडेमी पनि कोमामा पुगिसकेको छ । राजनीतिको ऐजेरुले फुटबल प्रशासनलाई गालिसकेको छ । राष्ट्रिय टिममा समेत खुलेआम भागबण्डा सामान्य हुन थालिसकेको छ । समग्रमा भन्नुपर्दा नेपाली फुटबल व्यक्तिगत÷गुटगत स्वार्थको भूमरीमा नराम्ररी जाकिइसकेको छ ।

राष्ट्रिय टोलीका एक प्रभावशाली खेलाडी भन्छन्, ‘कुनै कुरा बोल्न पनि डर हुन्छ । एन्फाको नेतृत्वलाई मनपरेन भने टिमबाट बाहिरिनुपर्छ । यही पाराले विश्वकप त के केही वर्षमा साफ च्याम्पियनसिप जित्ने कुरा पनि भाषणमा मात्र सीमित हुन्छ । एन्फाका मान्छेलाई मैदानभित्रको फुटबलबारे कुनै चासो छैन । जानकारी पनि छैन । उनीहरुले त अमूर्त भाषण गर्न मात्र जानेका छन् । आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न मात्र जानेका छन् ।’

नेपालका लागि वर्तमानमा विश्वकप सपना पूर्ण रुपमा एउटा राम्रो साहित्यकारले लेख्ने उपन्यासजस्तै भएको ती खेलाडी बताउँछन् । ‘हामीले अहिले विश्वकप खेल्ने बारेमा कुरा गर्ने पनि होइन । त्यसका लागि पनि हामी लायक छैनौं । कम्तीमा साफ च्याम्पियनसिप पनि साँच्चिकै जित्न चाहने हो भने सबैभन्दा पहिला देशमा फुटबलको संस्कार विकास गर्नुपर्छ । त्यो भनेको सरकारदेखि नीतिनिर्माणको तहमा बसेकालाई फुटबलको बहुआयामिक महत्व बुझाउनुपर्छ । साना बालबालिकालाई यो खेलमा आकर्षित गर्नुपर्छ । त्यसका लागि सबभन्दा पहिला एन्फामा बसेकाले फुटबल बुझ्नुपर्छ । त्यो नै भएको छैन । त्यसैले नेपालको अन्तर्राष्ट्रिय फुटबलमा कुनै सम्भावना छैन ।’

जापानले सन् २०५० मा विश्वकप जित्ने लक्ष्य बनाएको छ । एसियाली फुटबलको महारथी भएर पनि जापानले सन् २००० को सुरुमै यस्तो लक्ष्य बनाएको थियो । त्यसका लागि २०५० सम्ममा ५ लाख व्यावसायिक खेलाडीको पिरामिड तयार गर्ने र त्यसबाट सर्वोत्कृष्ट राष्ट्रिय टोली बनाउने जापानी योजना छ । यही योजनाअनुरुप हो, जापानले त्यहाँको जे लिगलाई व्यावसायिक बनाउँदै लगेको । युवा फुटबलमा दुई दशकसम्म लगानी गरेको फलस्वरुप चीनले २००२ को विश्वकप खेलिसक्यो ।

नेपालमा भने त्यस्तो कुनै योजनामा काम भएको एन्फाका लिग निर्देशकसमेत रहेका फुटबल विश्लेषक मिश्रले देखेका छैनन् । ‘हामीले त्यस्तो दीर्घकालीन सोचका साथ काम गर्न सकेका छैनौं । यो तरिकालाई नबदल्ने हो भने गणेश दाइले विज्ञापनमा भनेजस्तै प्रत्येक पुस्ताले आफ्नो छोरा पुस्तालाई त्यो सन्देश पनि पुस्तान्तरण गर्नेबाहेक केही हुने छैन ।’

तर, नेपालभन्दा आर्थिक रुपमा कमजोर तथा भूगोल र जनसंख्यामा नेपालभन्दा साना देशले पनि विश्व फुटबलमा तहल्का मच्चाइरहेको देख्दा भने मिश्र आशावादी हुन्छन् । भन्छन्, ‘हामीले पनि नसक्ने भन्ने होइन । हाम्रो देशमा फुटबल लोकप्रिय छ । अब यसलाई संस्कारमा बदल्न सक्यो भने धेरै आस गर्न सकिन्छ ।’

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का भने विश्वकप खेल्नका लागि फुटबल देशको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताउँछन् । राज्यको पहिलो प्राथमिकता फुटबल भए खेल्ने पूर्वाधारको कमी नहुने, देशभर फुटबल संस्कार स्थापित हुने, खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्था सिर्जना हुने बताउँदै खड्काले त्यसपछि ठूला सपना देख्न सकिने विचार राखे ।

‘एन्फाको वरिष्ठ उपाध्यक्षको भूमिकामा रहेर मैले खेल्नै सक्दैन भन्न मिल्दैन । पक्कै पनि सक्छ । हामीभन्दा साना देशले पनि खेलेका छन् । तर हामीचाहिँ व्यवहारिक रुपमा त्यसका लागि तयार भइसकेका छैनौं,’ खड्काले भने, ‘विश्वकपको सपना देख्नका लागि पनि हामीलाई धेरै समय लाग्छ । त्यसका लागि फुटबल राज्यकै पहिलो प्राथमिकता हुनुपर्छ । अहिले त खेलकुद नै राज्यको प्राथमिकतामा छैन । राज्यको लगानीविना एन्फाको मात्र प्रयासले सम्भव छैन । कुनै देशमा भएको पनि छैन ।’

अरु उपाय के त ?

एन्फाका एक कर्मचारी हासो गर्छन, ‘आफैले आयोजना गरे खेल्न पाइन्छ नी !’

हो, यसअघि कहिल्यै विश्वकप खेल्न नसकेको कतारले यसपाली आयोजक भएकै हैसियतमा विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदैछ । तर त्यसका लागि कतारले जस्तो अर्बौ डलर खर्च गर्न सक्ने हैसियत नेपालको छ त ?

एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको भनाई मान्ने हो भने सम्भव छ । शेर्पाले आफू अध्यक्ष हुँदा २०३४ को विश्वकप दक्षिण एसियाका भारत, बंगलादेश र नेपाल मिलेर गर्ने प्रस्ताब गरेका थिए । त्यसो भए नेपालमा १० खेल गराउन पाउने उनको सोच थियो । शेर्पाले सार्वजनिक भाषणमै यसो भनेका थिए ।

‘मैले सुरुमा साफ (दक्षिण एसियाली फुटबल महासंघ)को बैठकमा विश्वकप आयोजनाको प्रस्ताब गरौं भन्दा सबैले हासेर उडाउथेँ । तर अहिले मेरो प्रस्ताबलाई सबैले गम्भीरताका साथ लिन थालेका छन् । सरकारले सहयोग गर्ने र पूरा दक्षिण एसिया लाग्ने हो भने यो कुरा सम्भव छ,’ गतवर्ष नेपाली राष्ट्रिय टोली साफ च्याम्पियनसिपमा उपविजेता भएर फर्किएपछिको एउटा सम्मान कार्यक्रममा शेर्पाले भनेका थिए ।