गुजराज टाइटन्स

गुजरातको गौरवशाली लय

मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासका सबैभन्दा सफल टोली हुन् । विश्वको ठूलो फ्रेन्चाइज क्रिकेट लिग आइपिएलले १४ संस्करणको इतिहास बनाउँदा मुम्बईले मात्र पाँचपल्ट उपाधि जितेको छ भने चेन्नई चारपल्ट च्याम्पियन भइसकेको छ ।

खेलकुदमा इतिहासको ठूलो अर्थ रहने गर्छ । त्यही कारण आइपिएल २०२२ सुरु हुनुपूर्व मुम्बई र चेन्नईलाई यसपालि पनि उपाधिको मुख्य दाबेदारका रूपमा लिइएको थियो । तर सिजनका झन्डै आधा खेलको नतिजा आइसक्दा त्यो अनुमान गलत देखिएको छ । अर्थात मुम्बई र चेन्नई आफ्नै स्वाभाविक लयका लागि संघर्ष गरिरहेका छन् । बरू यसै सिजनबाट थपिएको गुजरात टाइटन्सले भने गजबको प्रदर्शन गरिरहेको छ ।

लिगमा हालसम्म ६ खेल खेलेको गुजरातले ५ जित निकालेको छ । गुजरातसँगै यसपालिबाट थपिएको अर्को टोली लखनउ सुपर जायन्ट्सले पनि ७ खेलमा ४ जित निकाल्दै प्रतियोगितामा आफ्नो महत्व प्रमाणित गर्न भ्याइसकेको छ ।

हालसम्मका नतिजा  

गुजरातले पहिलो खेलमा यस सिजनको नयाँ टोली लखनउलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा दिल्लीलाई १४ रनले हराएको गुजरातले अर्को खेलमा पन्जाबमाथि ६ विकेटको जित रच्यो । चौथो खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले नतिजा सुम्पिएको गुजरातले पाँचौं खेलमा राजस्थान रोयल्सलाई ३७ रन र छैटौं खेलमा चेन्नई सुपर किंग्सलाई ३ विकेटले हराएको थियो । चौथो खेलमा हैदराबादसँग भोगेको हार जारी प्रतियोगितामा गुजरातको एकमात्र निराशाजनक नतिजा हो ।

आइपिएलका नयाँ टोली

सन् २००८ मा आठ फ्रेन्चाइज टोलीको सहभागिताबाट सुरु आइपिएलको १५औं संस्करण चलिरहँदा यसले थुप्रै उतारचढाव बेहोरेको छ । प्रतियोगितामा नयाँ टिम थपिने र कटौती हुने सिलसिलाले यसपालि पनि निरन्तरता पायो ।

आठ टोलीसहित सुरु आइपिएल क्रिकेटमा पहिलो तीन सिजनपछि सन् २०११ मा दुई टोली थपिए । २०१२ को सिजन एक टोली घटाएर ९ मा पु¥याएको भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई)ले २०१३ मा पनि ९ टोली नै राख्यो । तर, २०१४ बाट भने आइपिएलमा ८ टोलीमात्र सहभागी हुने नियम बिसिसिआईले बनायो ।

आठ टोलीको सहभागितामा लगातार आठ सिजन सम्पन्न भएपछि यसै सिजनका लागि भने १० टोली राख्ने निर्णय गरिएको हो ।  

यसअघि ‘होम एन्ड अवे’ पद्धतिमा हुँदा यस सिजन भने चार रंगशालामा खेल भइरहेका छन् ।

नयाँ टोलीको इतिहास  

यसअघि सन् २०१७ मा मुम्बई इन्डियन्सले उपाधि जित्दा त्यतिबेला नयाँ टोली राइजिङ पुने सुपर जायन्ट्सलाई फाइनलमा पराजित गरेको थियो । त्यसअघि सन् २०११ मा आएको कोची टुस्कर्स केरला त्यो सिजन आठौं स्थानमा रहेको थियो । सन् २०११ देखि नै आएको पुने वारियर्सले तीन सिजन खेल्दा क्रमशः नवौं, नवौं र आठौं स्थान हासिल गरेको थियो ।

सन् २०१६ देखि २०१८ सम्म दुई सिजन खेलेको गुजरात लायन्सले पहिलो सिजन तेस्रो स्थान हासिल गर्दा दोस्रो सिजन सातौं भएको थियो भने पहिलो सिजन सातौं स्थानमा रहेको पुने भने दोस्रो सिजनमा उपविजेतामा समेटिएको थियो ।

गुजरात टाइटन्स

यस सिजन लयमा देखिएको गुजरातको नतिजाले पनि टोली सन्तुलित रहेको देखाउँछ । गुजरातले टिम निर्माणका लागि आइपिएल अक्सनमा कुल ९० करोड भारुमध्ये ८९ करोड ८५ लाख खेलाडी अनुबन्धनमा खर्च गरेको थियो ।

गुजरातले अलराउन्डर तथा टोलीका कप्तान हार्दिक पाण्डे्य र स्पिनर राशिद खानका लागि सर्वाधिक १५–१५ करोड भारु खर्च गरेको थियो ।

गुजरातका लागि हालसम्म कप्तान पाण्डे्यले नै सबैभन्दा धेरै रन बनाएका छन् । पाँच खेलमा दुई सय २८ रन बनाएका पाण्डे्य उच्च रन बनाउने खेलाडीको सूचीको आठौं स्थानमा छन् । टोलीबाट सर्वाधिक विकेट लिने खेलाडीमा भने मोहम्मद सामी छन् । सामीले ६ खेलमा ८ विकेट लिएका छन् । सामी पनि प्रतियोतिगाको सर्वाधिक विकेट लिने खेलाडी शीर्ष सूचीमा छैनन् । सामी यो सूचीको १४औं स्थानमा छन् ।

गुजरात टाइटन्सको मुख्य प्रशिक्षक पूर्वदक्षिण अफ्रिकी क्रिकेटर ग्यारी क्रिस्टन छन् । संन्यासपछि पछिल्लो १४ वर्षदेखि प्रशिक्षण करियर अघि बढाइरहेका ग्यारीले यसअघि सन् २००८ देखि २०११ सम्म भारतीय क्रिकेट टिमको प्रशिक्षण सम्हालेका थिए । उनकै प्रशिक्षणमा भारतले सन् २०११ को एकदिवसीय विश्वकपको उपाधि समेत जितेको थियो ।

त्यसयता दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीसँगै बिग बास लिग (बिबिएल) को फ्रेन्चाइज टोली होबार्ट हरिकेन्स र आइपिएलकै टोली रोयल च्यालेन्जर्स बैंग्लोरको प्रशिक्षण सम्हालिसकेका ग्यारी गुजरातमा पर्दा पछाडिका हिरो हुन् ।