फाल्गुन ३, २०८२ आइतबार | १६:११:०४
नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद
शनिबारको दिन सन्दीप लामिछाने

संकटमा सन्दीपको परीक्षा

‘आउने बितिक्कै सबै मिलाउन गाह्रो नै हुन्छ । कतिपय स्थितिमा ग्याम्बल (जुवा) नै खेल्नुपर्छ । कुन ओभर कसलाई दिने र कुन पोजिसनमा कसलाई ब्याटिङमा गर्न पठाउनेलगायत दबाब नेतृत्वमा हुन्छ ।’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको प्रतिक्रिया हो यो । गत साता घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट शृंखला उचालेपछि पत्रकारको प्रश्नको जवाफ दिनेक्रममा सन्दीपले यस्तो प्रतिक्रिया दिएका थिए ।

उनले भनेजस्तै हरेक कप्तान या नेतृत्वका लागि टिम व्यवस्थापन गर्न कठिन नै हुन्छ । त्यसमाथि पनि सन्दीपले संक्रमणकालीन अवस्थामा नेपाली क्रिकेट टोलीको नेतृत्व सम्हालेका थिए । अझ भनौं उनी नेपाल क्रिकेट संघ (क्यान)का लागि संकटका सन्दीप पनि भइदिए । किनकि क्यान र उनका सहकर्मीबीचको विवादपछि नै सन्दीपले नेतृत्वको जोखिम लिएका थिए ।

उनको नेतृत्वपछि मैदानमा केही नराम्रा दृश्य पनि देखिए । तथापि सन्दीपले मिलाउने प्रयास नै गरे र पत्रकारमाझ टिममा एकता नै रहेको सन्देश पनि दिइरहे । पत्रकारका हरेक प्रश्न उनले टिममा कुनै मनमुटाव नरहेको जिकिर पनि गरिरहे ।

यसबीच उनको कप्तानीमा नेपालले १९ खेल खेलिसकेको छ । सन्दीपको कप्तानीमा नेपालले पाँच प्रतियोगिता खेल्दा तीन ट्वान्टी–२० शृंखला र दुई एकदिवसीय प्रतियोगिता खेलेको थियो । यसमा १३ ट्वान्टी–२० र ६ एकदिवसीय खेल रहे । ट्वान्टी–२० मा उनले १० जित निकाल्दा तीन खेलको नतिजा सुम्पिएका छन् ।

एकदिवसीयमा भने सन्दीपको कप्तानीमा नेपालले दुई खेलमात्र जितेको छ । यसबीच उपाधि हात नपर्दा सन्दीपले पनि केही दबाब महसुस गरिसकेका थिए । किनकि उनको कप्तानीमा नेपालले विश्वकप यात्रालाई पनि सार्थकता बनाउन सकेको थिएन । अन्य शृंखलामा पनि उपाधिविहीन भइरहेको थियो । आफ्नो कप्तानीमा खेलिएका १३औं ट्वान्टी–२० खेलमा जित निकाल्दै सन्दीपले गत साता घरेलु मैदानमा उपाधि जितेको थियो । जहाँ फाइनलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई हरायो । तर, सफलता सन्दीपका लागि सहज भने थिएन ।

विभाजित टिमलाई हर प्रयासमा एकता बाँध्ने काम उनले गरे र आफ्नो कप्तानीमा नेपाललाई पहिलो शृंखला दिलाए । समग्रमा भने घरेलु भूमिमा नेपालले जितेको यो तेस्रो उपाधि पनि हो । यता, घरेलु भूमिमा आफ्ना समर्थकमाझ नै सन्दीपलाई दुईटा उपाधि उचाल्ने अवसर थियो । यद्यपि नतिजा फरक आइदियो । नेपालले पहिलो पटक पिएनजीसँग हारमात्र बेहोर्नुपरेन, दुई खेलको एकदिवसीय शृंखला नै गुमाउन पुग्यो । त्यसैले पनि उनका लागि थप चुनौती बढ्दै थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको कप्तानी राम्रै थियो । किनकि पछिल्ला ८ खेलमध्ये सन्दीपको कप्तानी नेपालले ५ खेलमा सफलता पाएको थियो ।

घरेलु भूमिमा नेपालले पिएनजीसहित मलेसियासम्मिलित छोटो फम्र्याटको शृंखला खेल्यो । शृंखलाभर नै अपराजित रहँदै नेपालले उपाधि नै उचाल्यो । जुन सन्दीपका लागि मेडन र घरेलू भूमिमा तेस्रो उपाधि पनि रह्यो । त्यस अवधिभर नेपाली खेलाडीले केही कीर्तिमान पनि बनाए । समग्रमा भन्नुपर्दा शृंखला स्मरणयोग्य नै बन्यो । तथापि यो सफलता सहज थिएन । सन्दीप भने समग्र टिम मिहिनेतबाट यो सफलता मिलेको प्रतिक्रिया दिन्छन् । ‘यो जितमा सबैको उत्तिकै योगदान छ । हामी सबै सिक्दै छौं । सबैजनासँग अलि अलि अनुभव छ । ठूलो नतिजा आउन समय लाग्न सक्छ । हामी आत्तिनु हुँदैन । विस्तारै नतिजा आउँछ र ठूलो उपलब्धिका लागि यो सुरुआत भइसकेको छ,’ उनले भनेका थिए ।

नेपालले उपाधि जित्दा सन्दीपको प्रदर्शन पनि राम्रै रह्यो । दबाबका बीचमा पनि उनले राम्रो प्रभाव छाडे । फाइनलसम्म नेपालले ५ खेल खेल्दा सन्दीपले ११ विकेट लिएका थिए । उनी त्यो शृंखलामा करण केसीपछि धेरै विकेट लिने बलर थिए । सन्दीपले कप्तानीपछि १९ खेलमा ३५ विकेट लिएका छन् । चारदेशीय शृंखलामा तीन विकेट, ट्वान्टी–२० विश्वकप छनोटमा १२ विकेट, विश्व लिग २ को भ्रमण (चार खेल) मा ७ विकेट, घरेलु भूमिमा पिएनजीसँगको एकदिवसीय शृंखलामा २ विकेट तथा ट्वान्टी–२० शृंखलामा ११ विकेट लिएका थिए ।

यो आँकडाले के स्पष्ट गरेको छ भने दबाबबीच पनि उनले आफ्नो स्वाभाविक लय गुमाएका छैनन् । साथै नेपाली टोलीमा एकता ल्याउन पनि उनले राम्रै भूमिका खेलिरहेको घरेलू भूमिमा सम्पन्न शृंखलामा स्पष्ट देखियो ।

संकटका सन्दीप

क्यान र उनकै सहकर्मीबीच विवाद चर्किंदा नेपाली क्रिकेट करिब डेढ महिनासम्म निकै तरंगित बन्यो । जुन विवादमा क्यानले कप्तान ज्ञानेन्द्र मल्ललाई कप्तानीबाट हटाउँदै अन्य खेलाडीलाई पनि कारबाही ग¥यो । त्यो निर्णयपछि क्यान थप दबाब प¥यो । किनकि क्यानले धेरै आलोचना पनि खेपिरहेको थियो । साथै राजनीतिक दबाब पनि उस्तै । तथापि क्यानले त्यसैबीच ग्लोबल स्टार सन्दीपलाई रोज्यो ।

सन्दीपले विश्वभरका व्यावसायिक क्रिकेट खेल्दै ग्लोबल स्टारको छवि बनाइसकेका थिए । सन्दीपलाई कप्तान बनाउँदा आफूमाथिको आलोचना पनि केही कम हुने आँकलन क्यानको थियो । सोहीअनुरुप क्यानले सन्दीपलाई उक्त जिम्मेवारी दिएको हो । तथापि, त्यो निर्णयमा पनि मिश्रित प्रतिक्रिया आए । कतिपयले त्यो जिम्मेवारीले सन्दीपको व्यक्तिगत प्रदर्शनमा पनि प्रभावित हुनुपर्ने तर्क गरे । उनी कप्तानका लागि परिपक्व पनि नभएका कुरा पनि बाहिर आए । तर, क्यानले पछाडि फर्केर हेरेन र सन्दीपलाई सबै फम्र्याटको कप्तान बनायो । अझ भनौं संकटका सन्दीपका रूपमा अपनायो । उनको कप्तानीमा नेपालले पहिलो पटक चारदेशीय ट्वान्टी–२० क्रिकेट शृंखला ओमानमा खेल्यो ।

त्यो शृंखलामा नेपालले तीन बल बाँकी छँदा ओमानलाई तीन विकेटले हराउँदै सुखद सुरुआत गरेको थियो । त्यो जितले आमनेपालीलाई उत्साह दियो नै । तर, सबैभन्दा धेरै सन्दीपका लागि त्यो जित विशेष रह्यो । टुटफुटको नेपाली टोलीबाट त्यो सफलता पाउनु विशेष महसुस हुन्छ पनि । क्यानका लागि झन् नहुने कुरै भएन । खेल मैदानमा विकेट सफलता मिल्दाको समय नेपाली खेलाडीको मन विभाजित भएको स्पष्ट देखिन्थ्यो ।  पछिल्ला समय त्यो दृश्य देखिएका छैनन् । जुन नेपाली क्रिकेटका लागि राम्रो संकेत पनि हो ।