नेपाली क्रिकेट

के नेपालको ब्याटिङ सुध्रिएकै हो ?

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शृंखला खेल्न संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहँदा नेपालले खराब ब्याटिङका कारण अपेक्षित नतिजा ल्याउन सकेन ।

तर, अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पिएनजी) र मलेसियासम्मिलित त्रिदेशीय ट्वान्टी–२० शृंखला र त्यसअघि पिएनजीसँग दुई एकदिवसीय शृंखलामा भने नेपालले ब्याटिङमा सुधारिएको प्रदर्शन देखायो ।

एकदिवसीय शृंखलामा पिएनजीले ‘क्लिन स्विप’ गरे पनि नेपालले दुवै खेलमा २ सय ५० रनको आँकडा पार गरेको थियो । जुन योगफल एकदिवसीय क्रिकेटमा नेपालले बिरलै छोएको वा पार गरेको पाइन्छ ।

लिग २ अन्तर्गत एकदिवसीय शृंखलामा घरेलु टोली यूएई र पिएनजीविरुद्ध ४ खेल खेलेको नेपालले २ खेलमा जित निकाल्दा २ खेलमा पराजय भोगेको थियो ।

शृंखलाको पहिलो खेलमा पिएनजीविरुद्धको २ विकेटको जित निकाले पनि नेपाललाई २ सय ५ रनको लक्ष्य छुन हम्मे–हम्मे परेको थियो । दोस्रो खेलमा यूएईविरुद्ध एक सय ६८ रनको लक्ष्य पछ्याएको नेपाल १ सय २० रनमै समेटिएपछि ४८ रनले हार्यो । तेस्रो खेलमा यूएईले प्रस्तुत गरेको २ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल एक सय तीन रनमै समेटिएको थियो । यस्तै, चौथो खेलमा भने नेपालले पिएनजीलाई ७ विकेटले हराएको थियो ।

शृंखलाको अन्तिम खेलबाहेक नेपालको ब्याटिङ बाँकी तीनै खेलमा सम्झनलायक रहेन । यद्यपि अहिले घरेलु मैदानमा जारी शृंखला हेर्ने हो भने नेपालले भिन्नै छवि बनाएको छ । 

सधैं बलिङलाई आफ्नो हतियार बनाउने नेपालले यस शृंखलामा भने ब्याटिङमा पनि उत्तिकै प्रभावशाली प्रदर्शन गरिरहेको छ ।

ट्वान्टी–२० शृंखलाअघि नेपाल एकदिवसीय शृंखलामा पिएनजीसँग क्रमशः ६ रन र ३ विकेटले हारेको थियो । तर, एकदिवसीय शृंखलाको पहिलो खेलमा २ सय ९२ रनको लक्ष्य पछ्याएको नेपालले २ सय ८६ रन जोडेर झिनो रनअन्तरको हार भोगेको हो । दोस्रो खेलमा ३ विकेटले पराजित हुँदा पनि नेपालले पिएनजीसामु २ सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

यस्तै, ट्वान्टी–२० शृंखलामा ३ खेलमा शतप्रतिशत नतिजा निकाल्दै नेपाल अन्तिम खेलअगावै फाइनल पुगेको छ । शृंखलाको पहिलो खेलमा पिएनजीविरुद्ध १ सय ८४ रनको योगफल खडा गरेको नेपाल १५ रनले विजयी भयो । दोस्रो खेलमा मलेसियाले दिएको १ सय १४ रनको लक्ष्य नेपालले १४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । तेस्रो खेलमा पिएनजीविरुद्ध ३७ रनको जित निकाल्दा नेपालले २ सय ३ रनको योगफल तयार पारेको थियो ।

दुई एकदिवसीय र तीन ट्वान्टी–२० खेल खेल्दा नेपालका दुई ब्याटरले शतक र तीन ब्याटरले अर्धशतक बनाएका छन् ।

यसबाट नेपालको ब्याटिङ प्रदर्शन राम्रो हुँदै गइरहेको देखिए पनि पूर्वराष्ट्रिय खेलाडी (बलर) महबुब आलम भने नेपालले ब्याटिङमा सुधार भएको मान्दैनन् । उनले शृंखलामा सहभागी दुवै टोली नेपालभन्दा कमजोर रहेकाले ब्याटिङ राम्रो देखिएको बताए ।

‘पछिल्लो खेलहरू हेर्ने हो भने यूएई सधैं आफूभन्दा बलियो टोलीसँग खेल्ने गर्छ । यसैकारण उनीहरूको गेम पनि हामीभन्दा माथि गइरहेको छ,’ उनले भने, ‘हामीचाहिँ मलेसिया, पिएनजीहरूसँग खेलिरहेका छौं । तिनीहरूसँग ब्याटिङ राम्रो गर्नुलाई म नेपालको ब्याटिङ सुध्रिएको मान्दिनँ । उनीहरू हाम्रो लेभलका टिम होइनन् । आफ्नो लेभलको भन्दा कमजोर टिमविरुद्ध हाफ सेन्चुरी, सेन्चुरी बनाउँदा ब्याटिङ सुध्रिएको मान्नु निरर्थक हुन्छ ।’

विश्वकप खेल्ने सपना देखिरहँदा नेपालले विश्वकप खेल्ने टोलीहरूसँग अभ्यास खेलहरू खेल्नुपर्ने महबुबको तर्क छ ।   उनी भन्छन्, ‘हामी विश्वकप खेल्ने सपना देखिरहेका छौं भने त्यसको तयारीका लागि विश्वकप खेल्ने टोलीहरूसँग म्याचहरू खेल्नुपर्छ । हामीले आफूभन्दा माथिको टिमहरूसँग दाँज्नुपर्छ । नेपालले खेल्नुपर्ने टिमहरू भनेको आयरल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड, युएई हुन् । यी टोलीसँगको खेलबाट मात्र नेपालको प्रदर्शन सुध्रिएको वा बिग्रिएको मान्न सकिन्छ । तर, पहिलेभन्दा अहिले खेलाडीहरूमा पोजेटिभ थिङ्किङ् आइरहेको छ । यो सकारात्मक पक्ष हो ।’

नेपालका आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलको प्रदर्शन राम्रो रहेकाले उनीहरूलाई अझ व्यक्तिगत प्रदर्शनमा सुधार ल्याउन उनी सुझाउँछन् ।

‘नेपालका दीपेन्द्र, आसिफ, कुशल र रोहितको प्रदर्शन राम्रो छ । उनीहरूको ब्याटबाट राम्रो रन बनिरहेको छ,’ महबुबले भने, ‘म सबैलाई व्यक्तिगत प्रदर्शन सुधार्न अझ सुझाव दिन्छु । कुशलको ब्याटिङ राम्रो भए पनि कन्सिटेन्सी छैन । उनले यस कुरालाई ध्यानमा राख्नुपर्छ । बलिङ हाम्रो पहिल्यैदेखि बलियो पक्ष थियो । त्यो अझै पनि छ । त्यसमा हामी कमजोर वा खस्किए जस्तो लाग्दैन ।’

यस्तै, टोलीका अर्का पूर्वसदस्य सुवास खकुरेल पनि नेपाली टोलीले अहिले ब्याटिङमा राम्रो प्रदर्शन गरे पनि एकरुपता नभएको बताउँछन् ।

‘विशेषगरी हामी ब्याटिङमा अझै राम्रो गर्न सकिरहेका छैनौं । त्यसमा कन्सिटेन्सी छैन । यसैकारण हामी कुनै खेलमा ब्याटिङमा निकै संघर्ष गरिरहेका हुन्छौं,’ उनले भने, ‘तर पनि कुशल, आसिफसँगै अरू ब्याटरले राम्रो गरिरहेका छन् । नेपालले अझै बलिङ र ब्याटिङ एकनासले लैजान सकेको छैन । जसका लागि खेलाडीहरूलाई अझै धेरै एक्सपोजर आवश्यक छ ।’

उनले बलर र ब्याटरको प्रदर्शन दोष कप्तान र प्रशिक्षकहरूलाई दिन नहुने बताउँछन् ।

‘ब्याटर र बलरले स्वाभाविक प्रदर्शन गर्न नसक्दा हारिन्छ । बाहिर बसेर हामीले यो भयो, त्यो भयो भनेर एनालाइसिस गर्छौं । तर, खेलका लागि टिमले योजना बनाएको हुन्छ । त्यसअनुरुप जान सकेन भने हो टिमले हार्ने । त्यसमा कप्तान, प्रशिक्षकलाई दोष दिनु हुँदैन । नेपाली टिम योङ छ अहिले । सबैको प्रदर्शन राम्रो छ । अझै प्रदर्शनमा एकरुपता ल्याउन आवश्यक छ । खेलाडीहरूलाई आफूसँगको ट्यालेन्ट जस्टिफाइ गर भन्न चाहन्छु,’ सुवासले सुझाए ।

नेपाली टोलीका पूर्वखेलाडी राजु बस्न्यात भने यूएईको पिच बलिङमैत्री भएकाले नेपालको ब्याटिङ राम्रो हुन नसकेको बताउँछन् ।

‘ब्याटिङ सुध्रिएको वा खस्किएको भन्ने होइन । यूएईमा पिच बलिङ फ्रेन्ड्ली थियो । जसमा हामीले अलि चाँडैदेखि प्रशिक्षण सुरु गर्नुपथ्र्यो । तर, त्यसो हुन सकेन । यसैकारण नेपाली ब्याटरहरूले खुलेर खेल्न सकेनन् । ब्याटिङमा हामी पहिला जस्तो थियौं त्यस्तै नै छौं,’ उनले भने, ‘जुन देशको भ्रमण जाने हो त्यहाँको कन्डिसन बुझ्न अलि चाँडैदेखि प्रशिक्षण सुरु गर्नुपर्छ । हामी त्यसमा चुकिरहेका छौं । नेपाली ब्याटरसँग क्षमता भए पनि कन्सिटेन्सी छैन ।’

उनले नेपालको ब्याटिङमा दीपेन्द्र, रोहित, कुशल, आसिफ, देव खनाल र आदिलले राम्रो प्रभाव देखाएको बताए ।

‘व्यक्तिगत प्रदर्शन हेर्दा दीपेन्द्रले पछिल्लो केही समयदेखि नेपालको मध्यक्रम सम्हालिरहेका छन् । अहिले रोहितले पनि आफूलाई प्रमाणित गरेका छन् । ओपनिङ जोडीमा आसिफ र कुशलले आस देखाए पनि एकरुपता देखाउन सकेका छैनन् । यही ट्वान्टी–२० शृंखलाबाट देव र आदिल पनि आफूहरूलाई विकल्पका रूपमा उभ्याएका छन्,’ बस्न्यातले भने ।

‘तर स्पिन बलिङमा हामीलाई अलिकति समस्या छ । जस्तो अफ स्पिनमा दीपेन्द्रले पार्टटाइम बलरमा राम्रो गरिरहेका छन् । तर उनी रेगुलर बलर होइनन् । लेग स्पिनमा सन्दीप छन् । हामीसँग जेन्युन लेफ्ट आर्म स्पिनर छैनन् । जसले ट्वान्टी–२०मा चार र वानडेमा १० ओभरको कोटा पूरा गर्न सकोस् । जस्तो हिजोको दिनमा वसन्त (रेग्मी) थिए ।’

उनले नेपालमा रेगुलर लेफ्ट आर्म स्पिनर नभएकाले अहिले नेपाल बलिङमा केही कमजोर देखिएको बताए ।

‘अहिले हामीले मिडियम पेस बलिङमा एक्सपेरिमेन्ट धेरै गरिरहेका छौं । करण, सोमपालले राम्रो गरिरहेका छन् र उनीहरूको ब्याकअपमा अविनाश बोहरा र कमलसिंह ऐरी छन् । मिडियम पेसमा हामीलाई समस्या छैन,’ उनले भने, ‘तर स्पिन बलिङमा हामीलाई अलिकति समस्या छ । जस्तो अफ स्पिनमा दीपेन्द्रले पार्टटाइम बलरमा राम्रो गरिरहेका छन् । तर उनी रेगुलर बलर होइनन् । लेग स्पिनमा सन्दीप छन् । हामीसँग जेन्युन लेफ्ट आर्म स्पिनर छैनन् । जसले ट्वान्टी–२०मा चार र वानडेमा १० ओभरको कोटा पूरा गर्न सकोस् । जस्तो हिजोको दिनमा वसन्त (रेग्मी) थिए ।’

उनी पनि आफूभन्दा कमजोर टिमसँग शृंखला खेलेर नेपालको स्तर कहिल्यै नबढ्ने बताउँछन् । उनी भन्छन्, ‘हामी मलेसिया र पिएनजीसँग शृंखला खेलेर अघि बढ्न भने सक्दैनौं । मलेसियालाई घरमा बोलाउन हामीलाई भन्दा उनीहरूलाई फाइदा छ । नेपालले माथिको सपना देख्छ भने आफूभन्दा माथिल्लो स्तरका टोलीसँग शृंखला खेल्न आवश्यक छ ।’