काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को अधिकांश खेलमा एउटै समानता छ । त्यो हो, टस जित्ने टोलीले फिल्डिङ रोज्ने ।
हरेक टोलीका कप्तानलाई तपाईंले टस जितेर पनि किन फिल्डिङ रोज्नुभयो ? भन्दा सबैको एउटै जवाफ आउँछ, यो पिचमा पहिला ब्याटिङ गर्न निकै कठिन छ ।
एनपिएलका लागि भनेर ८ वटा पिच तयार पारेको थियो । सबै पिच प्रयोगमा आइसकेको छ । सबै पिच ब्याटिङका लागि निकै कठिन देखिएको छ ।
एपिएलको पहिलो संस्करणमा हालसम्म २३ खेल सकिँदा ८ पटक मात्रै टस जित्ने टोलीले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
यसैगरी हालसम्म १३ खेलमा पहिलो इनिङ्समा ब्याटिङ गर्ने टोलीले जित हात पारेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एनपिएलका लागि भनेर ८ वटा पिच तयार पारेको थियो । सबै पिच प्रयोगमा आइसकेको छ । सबै पिच ब्याटिङका लागि निकै कठिन देखिएको छ । तर, पिचको व्यहार खेलअनुसार परिवर्तन भइरहेको छ । यसले टोलीहरुलाई गाह्रो बनाइरहेको छ ।
काठमाडौं गुर्खाजका मुख्य प्रशिक्षक वसन्त शाही कीर्तिपुर मैदानको पिचलाई बुझ्नै गाह्रो भएको बताउँछन् । ‘हामीले पिचको अवस्था बुझ्नै सकेनौं । अघिल्ला खेलहरूमा पछि ब्याटिङ गर्ने टोलीलाई केही सहज हुने गरेको थियो । हामीले त्यहीअनुसार योजना बनायौं । तर त्यसले काम गरेन । सुदूरपश्चिम रोयल्सले १० ओभरसम्म राम्रो प्रदर्शन गरेको थियो । त्यो हेर्दा १९० सम्मको स्कोर हुने देखिएको थियो । तर, पछि हामीले राम्रो पुनरागमन गर्यो । उनीहरूलाई सामान्य योगफलमा रोक्न सफल भयौं । हामीले पुनरागमन गर्न थालेदेखि नै पिच ब्याटिङका लागि कठिन बन्दै गएको मैले अनुभव गरेको थिएँ । मलाई थाहा भइसकेको थियो दोस्रो इनिङ्स गर्न सहज हुने छैन । भयो पनि त्यस्तै, यो हिजोअस्तिको जस्तो पिच थिएन,’ सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि प्रशिक्षक शाहीले भनेका थिए ।
उक्त खेलमा १० ओभरमा १ विकेट गुमाएर ८८ रन जोडेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । काठमाडौं गुर्खाज १५.५ ओभरमा ९४ रनमै समेटिएको थियो ।
जनकपुर बोल्ट्सका ओपनर आसिफ शेख पनि कीर्तिपुरको पिचमा ब्याटिङ गर्न सहज नरहेको स्वीकार्छन् । ‘टियुको पिच निकै स्लो छ । त्यसैले हामीलाई थाहा थियो यहाँ ब्याटिङ गर्न निकै कठिन छ । पहिला ब्याटिङ गर्दा पावर प्लेको भरपूर सदुपयोग गर्ने लक्ष्य थियो । तर सोचेअनुसार प्रदर्शन हुन सकेन । तर यो पिचअनुसार १३७ रनको लक्ष्य पनि राम्रै हो,’ लुम्बिनी लायन्सविरुद्ध जित निकालेपछि आसिफले भनेका थिए ।
सुरुआतमा १९२ रनको लक्ष्य पूरा भएको पिचमा अहिले १५० को योगफलसम्म पुग्न पनि कठिन हुन थालेको छ ।
पछिल्ला केही खेलमा पिचले आफ्नो व्यवहार परिवर्तन गरिरहेको छ । अहिले दोस्रो इनिङ्स ब्याटिङ गर्ने टोलीलाई गाह्रो हुन थालेको छ । त्यसैले १२४, १०४ जस्ता सामान्य लक्ष्यहरू पार गर्न पनि टोलीलाई गाह्रो भइरहेको छ ।
प्रतियोगिताका अघिल्ला चार खेलमा सानदार प्रदर्शन गरेको जनकपुर बोल्ट्स बुधबार सुदूरपश्चिमसँग १२४ रनको लक्ष्य पछ्याउने क्रममा ५१ रनमै समेटियो ।
सोही दिन लुम्बिनी लायन्सले काठमाडौंले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछि पूरा गर्न सकेन । यसबाट पनि थाहा हुन्छ कि पिच ब्याटरका लागि कति कठिन बन्दै गएको छ ।
सुरुआतमा १९२ रनको लक्ष्य पूरा भएको पिचमा अहिले १५० को योगफलसम्म पुग्न पनि कठिन हुन थालेको छ ।
प्रतियोगिताको सातौं खेलमा विराटनगर किंग्सले लुम्बिनीविरुद्ध १९२ रनको लक्ष्य पूरा गरेको थियो । ११औं खेलमा पोखरा एभेन्जर्सले लुम्बिनीविरुद्ध नै १६७ रनको लक्ष्य कुनै पनि विकेट नगुमाई पूरा गरेको थियो ।
टियुको पिच स्थिर नरहे पनि हालसम्मका खेलबाट के अनुमान गर्न सकिन्छ भने यहाँ ब्याटिङ सहज छैन । पिच विशेषगरी स्पिनरलाई मद्दत गर्ने खालको छ । त्यसैले ठूला स्कोर देख्न सकिएको छैन ।