क्रिकेटको व्यस्त र मस्त वर्ष

काठमाडौं । नेपाली क्यालेन्डरमा आजबाट वर्ष २०८१ को रूपमा नयाँ पात्रो फेरिएको छ । स्वभाविक रूपमा नयाँ आशा र उत्साहको सञ्चार गराउँदै नयाँ वर्षको स्वागत गरिरहँदा जुन कुनै क्षेत्रको बितेको वर्षको समीक्षा सान्दर्भिक हुन्छ । बितेको वर्ष भएका कमजोरीबाट पाठ सिक्दै हासिल गरेका उपलब्धिलाई अझ फराकिलो पार्न समीक्षा जरुरी पनि रहन्छ ।

बितेका १२ महिनातिर फर्किने हो भने क्रिकेट एउटा यस्तो खेल हो, जसले पूरा वर्षभरी नै नेपाली खेलकुदलाई उर्जा प्रदान गरिरह्यो । ठूला अन्तर्राष्ट्रिय मञ्चहरूमा सधैं नेपाली झण्डाको उपस्थिति सार्थक र गौरवमय बनाइरह्यो । बितेको वर्षतिर फर्कंदा सधैं सम्झिइरहूँ जस्तो लाग्ने उपलब्धि बनायो ।

इतिहासमै दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट हुने उपलब्धि नेपाली क्रिकेटलाई वष २०८० ले नै प्रदान गर्यो । भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका सदाबहार महारथी छिमेकीहरूसँग खेल्न भनेर नेपाली क्रिकेटले दशकौंदेखि देखेको सपना पनि वर्ष २०८० ले नै पूरा गर्यो । त्यो पनि सम्मानजनक तरिकामा ।

यो वर्ष नेपालको पुरुष टोलीले मुख्य रूपमा एसिसी प्रिमियर कप, आइसिसी एकदिवसीय विश्वकप छनोट, आइसिसी ट्वान्टी–२० विश्वकप छनोट, एसिसी इमर्जिङ टिम्स एसिया कप, एसिसी एसिया कप, एसियन गेम्स र आइसिसी विश्वकप लिग २ को पहिलो शृंखलाजस्ता अति विशिष्ट प्रतियोगिताहरू खेल्यो ।

त्यसमध्ये एसिसी प्रिमियर कपमा च्याम्पियन बन्नुका साथै आइसिसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताको फाइनल पुगेर नेपाली टोली विश्वकपलाई छानियो । नेपाल यसअघि सन २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकपमा सहभागी भएको थियो । यसपालि विश्वकप अमेरिका र वेस्ट इन्डिजमा जुन ४ देखि सुरु हुनेछ ।

यसबीचमा केही अन्तर्राष्ट्रिय तथा अनौपचारिक शृंखलाहरूमा नेपाली टोलीको सहभागिता रह्यो । मैदानभित्र नेपाली क्रिकेट इतिहासमै पहिलो पटक नेपाल ‘ए’ टिम स्थापना गरियो । त्यसले केही शृंखलामा पनि सहभागिता जनायो ।

नेपाली पुरुष टोलीका लागि वर्ष २०८० ले एउटा अनौठो संयोग पनि प्रदान गर्यो । टोलीका लागि बितेको वर्ष एसिसी प्रिमियर कपबाट सुरु भएर सोही प्रतियोगिताबाट समाप्त भएको छ । अर्को अझै रमाइलो संयोग वर्षको पहिलो र अन्तिम खेलको प्रतिद्वन्द्वी पनि उही मलेसिया ।

नेपालले वर्षको पहिलो अन्तर्राष्ट्रिय खेल वैशाख ५ मा मलेसियासँग खेलेको थियो । वर्षको अन्त्य पनि नेपालले मलेसियासँगै चैत ३० गते खेलेर गर्यो ।

एसिसी प्रिमियर कप 
नेपालले एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आयोजना गर्ने अवसर प्राप्त गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि र मूलपानी क्रिकेट मैदानमा वैशाख ५ देखि १९ सम्म भएको प्रतियोगितामा १० टोली सहभागी थिए । समूह ‘ए’ मा नेपालसँगै मलेसिया, ओमान, साउदी अरेबिया र कतार तथा समूह ‘बी’ मा युएई, कुवेत, हङकङ, बहराइन र सिंगापुर थिए ।

नेपाल अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बन्यो । प्रतियोगितामा नेपालले ६ खेल खेल्दा ४ जित निकालेको थियो । दुई खेल भने विना नतिजा टुंगियो । नेपालले समूह चरणमा मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रन र कतारलाई ६८ रनले पराजित गरेको थियो । साउदी अरेबियासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

यसैगरी कुवेतविरुद्धको सेमिफाइनल पनि वर्षाका कारण सम्भव नभएपछि नेपाल समूह विजेताको हैसियतमा फाइनल प्रवेश गरेको थियो । फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बन्यो । च्याम्पियन बनेसँगै नेपाल एसिसी एसिया कपका लागि छनोट भएको थियो ।

यसैगरी यो प्रतियोगिताका शीर्ष तीन टोली नेपाल, युएई र ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि पनि छानिए । प्रतियोगिताअघि वैशाख २ मा भएको अभ्यास खेलमा पनि नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको थियो । यो खेलले भने अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन ।

आइसिसी एकदिवसीय विश्वकप छनोट 
नेपालले जेठ ४ देखि २६ सम्म जिम्बावेमा भएको आइसिसी एकदिवसीय विश्वकप छनोट (ग्लोबल क्वालिफायर)मा सहभागिता जनाएको थियो । नेपालले आइसिसी विश्वकप लिग २ मा तेस्रो स्थानमा रहँदै सिधै विश्वकप छनोट खेल्ने अवसर पाएको हो ।

१० राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा श्रीलंका, स्कटल्यान्ड, ओमान, आयरल्यान्ड र युएई थिए ।

प्रतियोगितामा नेपालले ६ खेल खेल्दा २ जित र ४ हारको नतिजा निकाल्यो । समूह चरणमा जिम्बावेसँग ८ विकेट, वेस्ट इन्डिजसँग १०१ रन र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो ।

यसैगरी प्लेअफमा युएईलाई ३ विकेटले हराएको नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित भयो । प्रतियोगिताअघिको अभ्यास खेलमा नेपालले युएईलाई ३ र ओमानलाई २ विकेटले पराजित गरेको थियो ।

एसिसी इमर्जिङ टिम्स कप  
असार २८ देखि साउन ७ सम्म श्रीलंकाले एसिसी इमिर्जिङ टिम्स एसिया कपको आयोजना गरेको थियो । नेपाल एसिसी प्रिमियर कपको शीर्ष स्थानमा रहँदै यो प्रतियोगिताका लागि छनोट भएको थियो ।

प्रतियोगितामा ८ टोली सहभागी थिए । समूह ‘बी’मा नेपालसँगै भारत, पाकिस्तान र युएई तथा समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान थिए । प्रतियोगितामा नेपालबाहेक अन्य देशका ‘ए’ टोलीले सहभागिता जनाएको थियो ।

नेपालले ३ खेल खेल्दा २ हार र १ जितको नतिजा निकाल्यो । पाकिस्तानसँग ४ र भारतसँग ९ विकेटले पराजित नेपालले युएईलाई ३ विकेटले हराएको थियो ।

एसिसी एसिया कप 
नेपालले भदौ १३ देखि २१ सम्म पाकिस्तान र श्रीलंकामा भएको एसिसी एसिया कप बितेको वर्ष नेपाली क्रिकेटले स्मरण गरिरहने प्रतियोगिता बन्यो ।

सन् २००१ मा नै नेपाल यो प्रतियोगिताका लागि छनोट भएको थियो । तर, दक्षिण एसियाको खराब भू–राजनीतिक अवस्थाका कारण उतिबेला प्रतियोगिता स्थगित हुँदा भारत र पाकिस्तानजस्ता महारथीसँग खेल्ने नेपाली क्रिकेटको सपना अधुरै रहेको थियो । जुन यसपालि पूरा भयो । नेपालले एसिसी प्रिमियर कपको विजेताको हैसियतले एसिया कप खेलेको हो ।

६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, पाकिस्तान र भारत तथा समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान थिए । प्रतियोगितामा नेपालले खेलेका दुवै खेलमा पराजित भयो । नेपालले पाकिस्तानसँग २३८ रन र भारतसँग १० विकेटको पराजय बेहोरेको थियो ।

पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २४२ रन बनाएको थियो । बाबर आजम १५१ र इफ्तिखर अहमदले १०६ रन बनाएका थिए । नेपालका लागि सोमपाल कामीले २ तथा करण केसी र सन्दीप लामिछानेले समान १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल २३.४ ओभरमा १०४ रनमै समेटियो । नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ र गुलसन झाले १३ रन बनाए । पाकिस्तानबाट शादब खानले सर्वाधिक ४ विकेट लिए ।

श्रीलंकाको पाल्लेके अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भारतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेखले ५८, सोमपाल कामीले ४८ र दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए ।  भारतबाट मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान २ विकेट लिए ।

वर्षा बाधक बन्दा २३ ओभरमा झारिएको खेलमा भारतले १४५ रनको नयाँ लक्ष्य पाएको थियो ।  उक्त लक्ष्य भारतले २०.१ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन बनाएका थिए ।

एसियाली खेलकुद  
असोज ६ देखि २१ सम्म चीनमा भएको हाङचाउ एसियाली खेलकुदअन्तर्गत पुरुष ट्वान्टी–२० क्रिकेटमा नेपालले ३ खेल खेल्दा २ जित र १ हार नतिजा निकाल्यो ।

भारतको जुनियर टिमसँग खेल्ने मौका पाएकाले नेपालका लागि त्यो प्रतियोगिताको सहभागिता महत्त्वपूर्ण साबित भयो । 

समूह चरणमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको नेपाल क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित भएपछि पदकको नजिक पुग्न सकेन । यद्यपि नेपालले थुप्रै विश्व कीर्तिमान स्थापित गरेको थियो ।

त्रिकोणात्मक ट्वान्टी–२० शृंखला 
नेपालले कात्तिक १ देखि १० सम्म त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला आयोजना गरेको थियो । कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा भएको शृंखलामा नेपालसँगै युएई र हङकङ सहभागी थिए ।

शृंखलामा नेपालले ५ खेल खेल्दा ४ जित र १ हारको नतिजा निकाल्यो । नेपालले लिग चरणमा युएईलाई ७ र ५ विकेट तथा हङकङलाई ६ विकेट र ७९ रनले हराएको थियो । फाइनलमा भने नेपाल युएईसँग ४ विकेटले पराजित भयो ।

आइसिसी ट्वान्टी–२० विश्वकप, एसिया छनोट  
नेपालले कात्तिक १३ देखि १९ सम्म आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको आयोजना गरेको थियो । कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा भएको प्रतियोगितामा ८ टोलीले सहभागिता जनाएका थिए ।

समूह ‘ए’ मा नेपाल, ओमान, मलेसिया र सिंगापुर तथा समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत थिए । नेपालले प्रतियोगितामा ५ खेल खेल्दा ३ जित र २ हारको नतिजा निकाल्यो । समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको नेपाली टोली ओमानसँग भने ५ रनले पराजित भयो ।

सेमिफाइनलमा युएईलाई ८ विकेटले हराएको नेपाल फाइनलमा भने फेरि ओमानसँग सुपर ओभरमा पराजित भयो । फाइनलमा पराजित भए पनि नेपालले ट्वान्टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो । विश्वकप जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ ।

नेपाल–क्यानडाबीच एकदिवसीय शृंखला 
नेपालले कीर्तिपुरस्थिति क्रिकेट मैदानमा क्यानडासँग ३ खेलको अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला खेलेको थियो । माघ २५ देखि २९ सम्म भएको शृंखला नेपालले ‘क्लिन स्विप’ गर्यो । नेपालले शृंखलामा ७ रन, ४ विकेट र ९ विकेटको जित निकाल्यो ।

आइसिसी विश्वकप लिग–२ 
आइसिसी विश्वकप लिग २ को पहिलो त्रिकोणात्मक अन्तर्राष्ट्रिय शृंखला नेपालमा भएको थियो । फागुन ३ देखि १३ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको शृंखलामा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी थिए ।

शृंखलामा नेपालको प्रदर्शन सन्तोषजनक रहन सकेन । नेपालले ४ खेल खेल्दा १ मात्र जित निकाल्यो । नेपालले नेदरल्याड्ससँग ८ विकेट र २ रनको पराजय बेहोर्यो । नामिबियासँग पहिलो खेलमा २० रनले पराजित हुँदा नेपाल दोस्रो खेलमा ३ रनको जित निकाल्न सफल भयो ।  

त्रिकोणात्मक ट्वान्टी–२० शृंखला 
नेपालले आइसिसी विश्वकप लिग–२ लगत्तै नेदरल्यान्ड्स र नामिबियासम्मिलित अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला आयोजना गरेको थियो । फागुन १५ देखि २२ सम्म भएको प्रतियोगितामा ५ खेल खेल्दा नेपालले २ जित र ३ हारको नतिजा निकाल्यो ।

लिग चरणको सुरुआती दुई खेलमा नेपाल नामिबियासँग २० रन र नेदरल्याड्ससँग २ रनले पराजित भएको थियो । पछिल्ला दुई खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो ।  फाइनलमा भने नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले निराश बन्यो ।

हङकङसँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल  

नेपालले फागुन २६ मा घरेलु टोली हङकङसँग एकमात्र ट्वान्टी–२० खेल खेलको थियो । त्यसमा नेपाल ७३ रनले पराजित भयो । त्यसपछि नेपाल, हङकङ, पपुवा न्युगिनी (पिएनजी) बीच ट्वान्टी–२० शृंखला भएको थियो ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण हुन सकेन । दोस्रो खेलमा नेपालले पिएनजीलाई ८५ रनले पराजित गर्दा फाइनलमा पिएनजीसँगै ८६ रनको हार बेहोरेका थियो । यी दुई खेल अन्तर्राष्ट्रिय मान्यताप्राप्त भने थिएन ।

आयरल्यान्ड ‘ए’ विरुद्ध अनौपचारिक ट्वान्टी–२० शृंखला 

नेपाली क्रिकेटको व्यस्त तालिका त्यतिमै सीमित रहेन । टोलीले चैत १२ र १३ मा आयरल्यान्ड ‘ए’ विरुद्ध दुई खेलको अनौपचारिक ट्वान्टी–२० शृंखला खेल्यो । त्यसमा नेपाल ६ विकेट र ७१ रनले विजयी भयो ।

 एसएमएस फ्रेन्डसिप कप

नेपालले चैत १८ देखि २५ सम्म भारतमा गुजरात र बरोडा क्रिकेट संघसँग एसएमएस फ्रेन्डसिप कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता खेलेको थियो । विश्वकप खेल्ने तयारीमा रहेको नेपालले कमजोर प्रतिद्वन्द्वीविरुद्ध मैदान उत्रिँदा प्रतियोगिताका ५ खेलमा ४ जित र १ हारको नतिजा निकाल्यो ।

समूह चरणमा नेपालले गुजरातलाई ८ विकेट र ८ रनले पराजित गरेको थियो । बरोडा क्रिकेट संघलाई २७ रनको नतिजामा हराएको नेपाल समूह चरणको अन्तिम खेलमा भने बरोडासँगै ३७ रनले निराश बनेको थियो । फाइनलमा गुजरातमाथि १८ रनको जित निकाल्दै नेपाल च्याम्पियन बन्यो ।  

नेपाल ‘ए’ टिम निर्माण 

नेपाली क्रिकेटमा राष्ट्रिय टोली छनोटको पुल फराकिलो पार्ने उद्देश्यका साथ पहिलो पटक नेपाल ‘ए’ को अवधारणा यही बितेको वर्ष स्थापित भयो ।

भेट्रान विनोद भण्डारीको कप्तानीमा बनेको इतिहासकै पहिलो नेपाल ‘ए’ क्यानडाको सिनियर टोली र आयरल्यान्ड ‘ए’ सँग गरी दुई शृंखला खेल्यो ।

कुल ९ खेल खेल्ने क्रममा नेपाल ‘ए’ ले राष्ट्रिय टोलीको विकल्पका रूपमा लिइने दोस्रो टिम स्थापनाको दुई महिनामै ९ खेल खेल्यो । ५० ओभरका ६ र २० ओभरका तीन खेल खेल्ने क्रममा नेपालको नतिजा २ जित र ७ हारको थियो । नेपाल ‘ए’ ले ५० ओभरको शृंखलामा क्यानडा तथा २० ओभरको शृंखलामा आयरल्यान्ड ‘ए’ लाई एक÷एक खेलमा हराएको थियो । बाँकी सबै खेलमा नेपाल ‘ए’ पराजित भयो ।

नेपाल ‘ए’ ले मूलपानी क्रिकेट मैदानमा फागुन ६ देखि १० सम्म क्यानडासँग ३ खेलको एकदिवसीय शृंखला खेलेको थियो ।

विश्वकपको तयारीमा रहेको क्यानडाविरुद्धको शृंखला नेपालले २–१ को नतिजामा गुमायो । पहिलो खेलमा ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा २ विकेटको जित निकाल्यो । तर शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ४ विकेटले मात खाएको थियो ।

नेपाल ‘ए’ ले त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ सँग समान तीन खेलको ट्वान्टी–२० र एकदिवसीय शृंखला खेल्यो । चैत १६ देखि १९ सम्म भएको ट्वान्टी २० शृंखला नेपालले २–१ ले गुमायो ।

सुरुआती दुई खेल २१ रन र ४० रनको नतिजामा गुमाएको नेपालले तेस्रो तथा अन्तिम खेलमा भने ३ रनको रोमाञ्चक जित निकाल्यो । चैत २१ देखि २५ सम्म भएको एकदिवसीय शृंखलामा भने नेपालले ‘क्लिन स्विप’ बेहोरेको थियो । शृंखलामा नेपाल २१ रन, ११४ रन र ६९ रनले पराजित भएको थियो ।

महिला क्रिकेट  

महिला राष्ट्रिय टोली पनि विगत वर्षमा भन्दा यो वर्ष बढी व्यस्त रह्यो । समग्रमा वर्ष २०८० मा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले कुल २४ अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेल खेल्दा १६ जित हासिल गर्यो । ७ खेलमा नेपाल पराजित भयो भने एक खेल वर्षाका कारण हुन सकेन ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोट, एसिसी प्रिमियर कपका साथै मलेसिया र हङकङमा शृंखला खेल्यो ।

मलेसियासँग ट्वान्टी–२० शृंखला 
नेपाली महिला टोलीले असार १४ देखि १९ सम्म घरेलु टोली मलेसियासँग ५ खेलको अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला खेल्यो । जसमा नेपाल ३–२ ले शृंखला जित्न सफल भयो । पहिलो खेल ५ विकेटले गुमाएको नेपालले त्यसपछिका दुई खेलमा ७ विकेट र २७ रनको विजय नतिजा आफ्नो पक्षमा पर्यो ।

चौथो खेल भने नेपालले ४ विकेटले गुमायो । पाँचौं तथा निर्णायक खेलमा ३ विकेटको जित निकाल्दै नेपालले शृंखलामाथि कब्जा जमाएको थियो ।

नेपालले मलेसियामै भदौ ५ देखि ९ सम्म चार देशसम्मिलित अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला खेल्यो । उक्त शृंखलामा नेपाल, मलेसिया, हङकङ र कुवेत सहभागी थिए । प्रतियोगितामा ४ खेल खेल्दा ३ जित र १ हारको नतिजासहित नेपाल च्याम्पियन बन्यो ।

लिग चरणमा हङकङलाई ६ विकेट र कुवेतलाई ३४ रनले हराएको नेपाल मलेसियासँग ६ विकेटले पराजित भयो ।  फाइनलमा हङकङलाई १३ रनले हराउँदै नेपाल च्याम्पियन बन्यो ।

आइसिसी ट्वान्टी–२० विश्वकप छनोट 

नेपाली महिला टोलीले भदौ १४ देखि २३ सम्म मलेसियमा आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा सहभागिता जनाएको थियो ।

प्रतियोगितामा सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा नेपाल, युएई, भुटान, मलेसिया, बहराइन र कतार तथा समूह ‘बी’ मा थाइल्यान्ड, हङकङ, कुवेत, चीन र म्यानमार थिए ।

प्रतियोगितामा ६ खेल खेल्दा नेपालले ४ जित र १ हारको नतिजा निकाल्यो । १ खेल भने विना नतिजा टुंगिएको थियो । समूह चरणमा नेपालले मलेसियालाई ५ रन, बहराइनलाई १० रन, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गरेको थियो । युएईसँगको खेल भने वर्षाका कारण हुन सकेन ।

नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएको थियो । सेमिफाइनलमा पराजित भएपछि विश्वकप खेल्ने नेपाली महिला टोलीको अभियानमा तत्कालका लागि तगारो लाग्यो ।

चार देशसम्मिलित ट्वान्टी–२० शृंखला 
नेपालले कात्तिक ३० देखि मंसिर ३ सम्म हङकङमा ४ देशसम्मिलित अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला खेल्यो । प्रतियोगितामा ४ खेल खेलेको नेपालले समान २ जित र २ हारको नतिजा निकाल्यो ।

समूह चरणमा तान्जानियासँग २७ रन तथा हङकङसँग ९ विकेटले पराजित भएको नेपालले जापानलाई ६७ रनले हराएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा पनि नेपालले जापानलाई ४५ रनले पराजित गरेको थियो ।

एसिसी महिला प्रिमियर कप 
मलेसियाले माघ २६ देखि फागुन ६ सम्म एसिसी महिला प्रिमियर कप ट्वान्टी–२० प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो ।

समूह ‘ए’ मा थाइल्यान्ड, कुवेत, म्यानमार र सिंगापुर तथा ‘बी’ मा युएई, जापान, चीन र ओमान थिए । समूह ‘सी’ मा मलेसिया, इन्डोनेसिया, कतार र बहराइन तथा समूह ‘डी’ मा नेपाल, हङकङ, भुटान र माल्दिभ्स थिए ।

समूह चरणमा नेपालले हङकङ र भुटानलाई समान ८ विकेट तथा माल्दिभ्सलाई २१४ रनले पराजित गरेको थियो । क्वाटरफाइनलमा नेपालले कुवेतालाई डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ८ विकेटले हरायो । सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित हुँदा नेपालको यात्रा अघि बढ्न सकेन ।

नेपाली महिला एसिया कपमा
एसिसीले  प्रिमियर कपको फाइनल पुग्ने दुई टोली एसिया कपमा छनोट हुने प्रवाधान बनाएको थियो थियो ।

प्रतियोगितामा सेमिफाइनलमा घरेलु टिमसँग पराजित भएपछि नेपालले एसिया कपमा छनोट हुने अवसर गुमाएको थियो । उक्त प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मलेसिया र युएईले सीधै एसिया कप खेल्ने अवसर पाएका थिए । 
तर, चैत १३ गते एसीसीले एसिया कपमा प्रतिस्पर्धा गर्ने टिमको संख्या ८ पुर्याएपछि प्रिमियर कपको सेमिफाइनल पुगेका नेपाल र थाइल्यान्ड एसिया कप खेल्ने अवसर पाएका हुन्।

यो प्रतियोगिता अगामी साउन ४ देखि १३ सम्म हुँदैछ ।