नेपाली क्रिकेट

टियूमा किन भइरहेछ टस नै निर्णायक ?

नेपाल र नामिबियाबीचको खेलमा टस हुँदै

काठमाडौं । आइसिसी विश्वकप लिग २ को पहिलो त्रिकोणात्मक अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलामा अहिले नेपाल, नेदरल्यान्ड्स, नामिबिया प्रतिस्पर्धा गरिरहेका छन् ।

तीन बलिया टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिए पनि हालसम्म हालसम्मका पाँचै खेल सहज रूपमा सकिएका छन् । पाँच खेल सकिँदा सबैमा एउटै समानता छ । र, त्यो हो टस ।

कीर्तिपुरस्थित त्रिवि (टियू) क्रिकेट मैदानमा जारी शृंखलाका पाँच खेल सकिँदा सबैमा टस जित्ने टोलीले नै पहिला फिल्डिङ रोजेका छन् । त्यसमा चार खेल पहिला फिल्डिङ गर्ने टाेलीकै पक्षमा गएकाे छ । 

खेल जित्न उत्कृष्ट प्रदर्शन आवश्यक पर्छ । तर, कतिपय मैदानहरू यस्ता हुन्छन्, जहाँ टस पनि कारक बन्ने गर्दछ । अहिले त्रिवि क्रिकेट मैदान यसैको एउटा उदाहरण बन्न पुगेको हो ।

कीर्तिपुरमा बिहानको समयमा शीत परेर विकेट ओसिलो हुने भएकाले बलमा स्विङ र टर्न बढी आउन सक्छ, जसले गर्दा ब्याटरलाई कठिन हुन्छ । घाम लाग्दै गएपछि विकेट फ्ल्याट (ब्याटिङ सहयोगी) हुँदै जान्छ, दोस्रो इनिङ्समा ब्याटरले खुलेर रन बनाउन सक्छन् । त्यसैले पहिलो इनिङ्समा बनेको मध्यम स्कोरलाई जवाफी टोलीले सजिलै पूरा गर्ने गरेको छ ।  

नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दै

नामिबियाविरुद्धको पहिलो खेलमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपाल ४१.१ ओभरमा १३३ रनमै समेटियो । भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान गरे । नामिबियाका कप्तान जेरार्ड इरासमसले पाँच विकेट लिएका थिए ।

१३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । नामिबियाका जान फ्राइलिंकले सर्वाधिक ३४ रन बनाए । नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिएका थिए ।

दोस्रो खेलमा टस जितेको नेपालले नेदरल्यान्ड्सलाई पहिलो ब्याटिङ गर्न बोलाएको थियो । नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रनमै समेटियो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाएका थिए । नेपालका कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए ।

१३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका अनिल शाहले ५७ र आसिफ शेखले ५४ रनको योगदान दिएका थिए । नेदरल्यान्ड्सबाट एकमात्र विकेट भिभियन किङ्गमाले लिएका थिए । 

नेपाली ओपनिङ ब्याटर आसिफ शेख कीर्तिपुरमा बिहानी सत्रमा  ब्याटिङ गर्न गाह्रो हुने बताउँछन् । ‘हामीले जति पनि खेल त्रिवि मैदानमा खेलेका छौं, त्यसमा टसले एकदमै निकै अर्थ राख्छ । किनकि बिहानीसत्रमा ब्याटिङलाई अलिकति चुनौतीपूर्ण हुन्छ,’ आसिफले नेदरल्यन्ड्सविरुद्ध खेलेपछि भनेका थिए, ‘दोस्रो इनिङ्समा ब्याटिङ केही सहज हुन्छ । हामीले त्यसको भरपूर फाइदा उठाएका हौं ।’

आसिफ शेख 

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डस भने कीर्तिपुर मैदानमा बिहानीसत्रमा ब्याटिङ गर्न चुनौतीपूर्ण रहे पनि यही नै हारको प्रमुख कारण नभएको बताउँछन् । ‘यहाँ बिहान ब्याटिङ गर्न चुनौतीपूर्ण छ, तर यही नै हारको प्रमुख कारण भने होइन,’ एड्वार्डसले भने, ‘हामीले पावर-प्लेमा भन्दा मध्यम ओभरमा लय गुमायौं । सेट भएर पनि ठूलो योगफलसम्म पुग्न सकेनौं ।’

तेस्रो खेलमा पनि नेदरल्यान्ड्सले नामिबियाविरुद्ध उही शैलीलाई निरन्तरता दिँदै टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो । पहिलो ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा १२३ रनमै समेटियो । नामिबियाका जेजे स्मिथले सर्वाधिक २६ रन बनाए । नेदरल्यान्ड्सका आर्यन दत्तले सर्वाधिक ६ विकेट लिए ।

नेदरल्यान्ड्सले १२४ रनको लक्ष्य २७.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान गरेका थिए । नामिबियाबाट तीनै विकेट जेरार्ड इरासमसले लिएका थिए ।

चौथो खेलमा पनि नामिबियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपाल ३७.१ ओभरमा १६८ रनमै समेटियो । नेपालका आसिफ शेखले सर्वाधिक ५८ रनको योगदान गरे । नामिबियाका बेर्नार्ड स्कोल्ट्जले सर्वाधिक चार  विकेट लिए ।

नामिबियाले १६९ रनको लक्ष्य ४० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नामिबियाका जेरार्ड इरासमसले सर्वाधिक ५२ रन बनाएका थिए । नेपालका कुशल भुर्तेल तीन विकेट लिन सफल भएका थिए ।

नामिबिया र नेदरल्यान्ड्सबीचको खेलमा टस हुँदै

नेपालका कप्तान रोहितकुमार पौडेल भने टस नै खेल जितहारमा निर्णायक नभएको बताउँछन् । ‘त्रिविमा पहिलो ब्याटिङ गर्न केही असहज हुन्छ । तर, यसैलाई हारको प्रमुख कारण मान्न सकिँदैन । हामीले ठीकै सुरुआत गरेका थियौं । तर, पावर-प्लेभित्रै तीन विकेट गुमाउन पुग्यौं,’ रोहितले नामिबियासँगको खेलपछि भनेका थिए, ‘बीचमा पनि राम्रो साझेदारी भइरहेको थियो । आफ्नै कमजोरीका कारण ठूलो योगफलसम्म पुग्न सकेनौं । यसमा टसले खासै भूमिका खेले जस्तो लाग्दैन ।’

शुक्रबार सम्पन्न खेलमा भने टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ४१.३ ओभरमा सबै विमेट गुमाउँदै २०३ रनको योगफल तयार पारेको थियो । प्रतियोगितामा २०० रन कटेको यो पहिलो पटक हो ।

नाबियाका लागि जान लोफ्टी इएटनले सर्वाधिक ४९ रनको योगदान गरे । नेदरल्यान्ड्सका लाथि भिभियन किंगमाले सर्वाधिक तीन विकेट लिए ।

२०४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४३.५ ओभरमा १७९ रनमा समेटियो । लक्ष्य पछ्याउन टोलीले हार ब्यहोरेको यो पहिलो खेल थियो ।

नेदरल्यान्ड्सका लागि नोआ क्रसले सर्वाधिक ४६ रनको योगदान गरे । नामिबियाका लागि ज्याक ब्रसेल र कप्तान जोर्रार्ड इरास्मसले समान तीन विकेट लिए ।

तीन खेलाडीले यस्तो धारणाबाट पनि के बुझ्न सकिन्छ भने त्रिवि क्रिकेट मैदानमा बिहानी सत्रमा ब्याटिङ गर्न सहज छैन । त्यसैले टस जित्ने टोलीले दायाँबायाँ केही नसोची फिल्डिङ गर्ने निर्णय लिइरहेका छन् ।