मंसिर ६, २०८१ बिहीबार | १४:२२:४५
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन विनोद भण्डारी

‘टियू किङ’ क्रिकेटर अर्थात विनोद भण्डारी

काठमाडौं । क्रिकेटर विनोद भण्डारीले नेपाली क्रिकेटमा ‘विग हिटर’को ट्याग बोक्दै आएको धेरै भइसक्यो । विग हिटर अर्थात बललाई लामो दूरीसम्म पुर्याउन सक्ने खेलाडी । विनोद त्यस्तै खेलाडीमा पर्दछन्, पाएको अवसरमा बलियो प्रहार गरिहाल्ने । कुनै बेला यी विकेटकिपर ब्याटर विनोदलाई नेपालको एकमात्र ‘प्रपर क्लिन’ विग हिटरका रूपमा चिनिन्थ्यो ।

विग हिटरबाहेक विनोदले अर्को परिचय पनि बोकेका छन् । घरेलु क्रिकेटलाई नजिकबाट बुझ्नेहरू उनलाई ‘टियू किङ’ पनि भन्ने गर्छन् । टियू’ अर्थात कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान अनि ‘किङ’ भनेको राजा । तर, यस्तो भारी परिचय किन ? यसको एउटै कारण हो, टियू मैदानमा विनोदको रेकर्ड । टियूमा विनोदको तथ्यांक एकदमै राम्रो छ ।

विनोदले करिअरका अधिकांश रन टियू मैदानमै जोडेका हुन् । टियूको पिचसँग विनोदको नाता अरू खेलाडीभन्दा छुट्टै छ । विनोद भने आफूलाई दिइएको यो ट्यागबारे यसो भन्छन्, ‘मलाई त्यस्तो केही लाग्दैन । सबै खेलाडी टियूमा खेलेर नै हुर्केका हुन् । मलाई मात्र होइन अरू ब्याटरका लागि टियू एकदमै फलदायी छ ।’

प्रधानमन्त्री कपअन्तर्गत मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेपछि आर्मीका कप्तान विनोद भण्डारी,

विनोदले यस्तो प्रतिक्रिया दिइरहँदा तथ्यांकले भने अर्कै भन्छ । एकदिवसीय प्रतियोगिता घरेलु संरचनामा कर्मकाण्डमा सीमित रहेको अवस्थामा विनोदले टियू मैदानमा चार शतक प्रहार गरिसकेका छन् । विभागीय टोली त्रिभुवन आर्मीको प्रतिनिधित्व गर्दै आएका विनोदले तीन दिनअगाडि मात्र एउटा र्कीतिमान रचेका थिए ।

नेपाली क्रिकेटको शीर्षस्तरको प्रतियोगिता प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा एक हजार रन बनाउने उनी पहिलो खेलाडी बनेका छन् ।

काठमाडौं र रूपन्देहीमा प्रधानमन्त्री कपको छैटौं संस्करण चलिरहँदा विनोदको प्रदर्शन एकदमै प्रभावशाली छ । ५ इनिङ्समा विनोदले २२८ रन जोडेका छन् । त्यसमा एक शतक समावेश छ । विनोदले एकमात्र शतक उही टियू मैदानमा मधेश प्रदेशविरुद्ध बनाएका हुन् । विनोदले प्रधानमन्त्री कप इतिहासमा एक हजार रनको आँकडा ३१ खेलमा पूरा गरेका हुन् । प्रतिखेल औसतमा ३३ रन जोडेका विनोदले धेरै रन टियू मैदानमै बनाएका हुन् ।

यो एक हजार रनमा विनोदका दुई शतक सामेल छ । एक त मधेशविरुद्ध भइहाल्यो, अर्को तीन वर्षअघि गण्डकी प्रदेशविरुद्ध शतक बनाएका थिए । एउटा रोचक संयोग के पनि छ भने त्यतिबेला जनवरी १५ का दिन पहिलो शतक प्रहार गरेका विनोदले तीन वर्षपछि जनवरी १५ कै दिन दोस्रो शतक बनाएका हुन् । घरेलु प्रतियोगिताको पहिलो शतक भने उनले सन् २०१९ मा भएको मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध बनाएका थिए । यसबाहेक विनोद २०२१ मार्चमा सम्पन्न मेयर कप क्रिकेटमा बागमतीविरुद्ध ११९ रनको शतकीय इनिङ्स खेल्न सफल भएका थिए ।

आर्मीका कप्तान विनोद भण्डारी

विनोदकै नेतृत्वमा आर्मीले पिएम कपमा एकतर्फी राज जमाउँदै आएको छ । पिएम कपकै मात्र कुरा गर्ने हो भने पनि आर्मी प्रतियोगिताको सबैभन्दा सफल टोली हो । दुई पटकको च्याम्पियन आर्मी तीन पटकको उपविजेता टोली हो ।

यी सबै इतिहास साक्षी रहँदा पनि विनोद आफूलाई दिइएको परिचय स्वीकार्न चाहँदैनन् ।  तर, यसमा विनोदको केही दोष छैन । उनको स्वभाव नै यस्तै छ । उनी आफूले हासिल गरेका सफलताको श्रेय आफैंलाई दिन सधै लजाउँछन् । मधेशविरुद्ध शतक बनाएपछि पनि उनले भनेका थिए, ‘खेल्दै जाँदा संयोगले शतक बन्न पुग्यो ।’

कञ्चनपुर महेन्द्रनगरका विनोदले २००९ मा कुवेतविरुद्धको ट्वान्टी–२० खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । विनोदले नेपालको प्रतिनिधित्व गर्न थालेको १४ वर्षभन्दा धेरै भइसक्यो । पछिल्लो केही वर्षयता भने विनोद एकदिवसीय राष्ट्रिय टोलीमा इन–आउट भइरहेका छन् । यद्यपि उनले ट्वान्टी–२० मा भने स्थान बनाइरहेका छन् ।

घरेलु क्रिकेटमा विनोदले सुरुमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबबाट केही समय खेलेका थिए । पछि पुलिसबाट आर्मी आएका हुन् । ‘सुरुआती दिनहरूमा पुलिसबाट खेलें । त्यतिबेला एपिएफको टोली बनिसकेको थियो । एपिएफले टोली बनाएपछि पुलिसले पनि टोली बनाउने भन्ने थियो । तर, केही वर्ष पुलिसको टोली नै बनेन । पछि, त्यहाँबाट हामीले दुई वर्ष आर्मीका लागि करारमा खेल्यौं,’ विनोद सुनाउँछन्, ‘करारमा खेल्दै गर्दा नै साथीहरू अविनाश बोहरा, जितेन्द्र, सागर, अनिल दाइ सबैले सरकारीमा आफ्नो नाम भरे । एक वर्षपछि म पनि स्थायी रूपमा सरकारी जागिरे भएँ ।’

७२ सालयता आर्मीको नेतृत्व सम्हाल्दै आएका विनोद आफ्नो करिअरमा आर्मीले ठूलो भूमिका खेलेको बताउँछन् । भन्छन्, ‘आर्मीले गर्दा दोस्रो विकल्प खोज्नुपरेको छैन । अन्य खेलाडीहरू राष्ट्रिय टोलीमा नपर्दा अन्य विकल्प खोज्छन् । तर, हाम्रो त्यस्तो छैन । हाम्रो यता निश्चित तलब हुन्छ । त्यसैले राम्रो खेल्नका लागि आँखा बन्द गरेर मिहिनेत गर्नुपर्छ भन्ने महसुस हुन्छ ।’

विग हिटर विनोदको घरेलु लयमा आजको दिनसम्म पनि ब्रेक लागेको छैन । यसपालि विगतभन्दा विनोदको ब्याट अझ मज्जासँग चलिरहेको छ । ३३ वर्षीय विनोद अझै पनि केही वर्ष खेल्न चाहन्छन् । ‘फिट रहुन्जेल खेल्छु । राष्ट्रिय टोलीमा पर्नु नपर्नु आफ्नो खेलले तय गर्नेछ । मलाई लाग्छ, आर्मीबाट चाहिँ खेलिरहनेछु । ३–४ वर्षसम्म संन्यासको बारेमा सोच्दा पनि सोच्दिनँ होला जस्तो लाग्छ ।’

अनि यत्तिको उर्जा कताबाट आउँछ त ? यसमा विनोदको एउटै जवाफ छ, ‘खेलका लागि नै सबै कुरा छाडेर बसेका हुन्छौं । सबै जना केही गनुपर्छ भन्ने भावनाका साथ खेलिरहेका छन् । नियमित प्रशिक्षण हुन्छ । उर्जा भन्ने त आफै विकास गर्ने कुरा त हो ।’