काठमाडौं । एकदिवसीय क्रिकेट खेल बढीमा सात घण्टामा सकिन्छ । तर, राजधानीको मूलपानी क्रिकेट मैदान र रूपन्देहीस्थित भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान अहिले हतारमा देखिन्छन् ।
भन्नुको तात्पर्य खेलाडीहरूले पूरा ५० ओभर खेल्न सकिरहेका छैनन् । पहिले ब्याटिङ गर्ने टोली सस्तैमा आउट भइरहेका छन् । जसले गर्दा खेल चाँडै समाप्त भइरहेको छ ।
काठमाडौं र रूपन्देहीका क्रिकेट मैदानमा अहिले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता पीएम कप चलिरहेको छ । यस प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) क्यालेन्डर वर्ष २०२४ को पहिलो प्रतियोगिता हो ।
राष्ट्रिय खेलकुद परिषद्को प्रमुख आयोजनामा हुने यस प्रतियोगितालाई राष्ट्रिय टोली निर्माणको जगका रूपमा लिइन्छ । तर, जुन उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको छ । त्यो खेलमा देखिएको छैन ।
प्रधानमन्त्री कप नेपाली क्रिकेटको शीर्षस्तरको प्रतियोगिता हो । तर, जुन मानसिकता खेलाडीमा हुनुपर्ने हो, त्यो कुरा देखिरहेको छैन । प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी कुल १० टोलीको सहभागिता छ । अरूको टोलीको कुरा छाडौं, पुलिस एपिएफजस्ता टोलीहरू जहाँ राष्ट्रिय टोलीका आधाभन्दा धेरै खेलाडी छन्, तिनीहरू पनि टिकेर खेल्न सकिरहेका छैनन् । यसले नेपालको एकदिवसीय क्रिकेटप्रति प्रश्नचिन्ह खडा गरिदिएको छ ।
शुक्रबारसम्म मूलपानीमा कुल १० खेल भए । जसमा पहिले ब्याटिङ गर्नेको औसत रन जम्मा १३७.६ छ । पहिले ब्याटिङ गर्ने टोलीले छिनभरमै सुरुआती ५ विकेट लिन सकेका छन् । औसतमा पहिले ब्याटिङ गर्ने टोलीले सुरुआती ५ विकेटमात्र ६४.७ रनमा गुमाएका छन् । जुन हेर्दा एकदमै उदेकलाग्दो छ । औसतमा यी टोलीले मात्र ३६.७३ ओभर खेल्न सकेका छन् । अनि ७० प्रतिशत खेलमा उनीहरूले हार बेहोरेका छन् ।
सिद्धार्थ रंगशालाको अवस्था मूलपानी जस्तो नाजुक छैन । तर, गम्भीर नभएको भने होइन । सिद्धार्थमा कुल ११ खेल भएका छन् । जसमा पहिले ब्याटिङ गर्नेको औसत रन जम्मा १७६.२ छ । औसतमा पहिले ब्याटिङ गर्ने टोलीले सुरुआती ५ विकेटमात्र १०२.६३ रनमा गुमाएको छ । औसतमा टोलीले मात्र ४०.४१ ओभर खेल्न सकेका छन् । हारको औसत भने ४५.४५ प्रतिशत छ । एघारमध्ये जम्मा दुई खेलमात्र ५० ओभरसम्म गएको छ ।
उता र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भने रन बनिरहेको छ । सिद्धार्थ रंगशाला भैरहवा र मूलपानीका मैदान ब्याटिङमैत्री छैन भनिरहँदा त्रिविमा आठ खेलाडीले शतक प्रहार गरिसकेका छन् । १२ खेल सम्पन्न हुँदा ७ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले ५० ओभर खेल्न सकेका छन् । अनि उनीहरूको जितको औसत रहेको छ ५८.३३ प्रतिशत । अनि यी टोलीले औसतमा २४०.२५ रन बनाएका छन् ।
फरक मैदान अनि फरक परिणामका कारण खेलाडीको स्तरमापन गर्न गाह्रो भइरहेको छ । जसले गर्दा प्रतियोगिता आयोजनामै आलोचना भइरहेको छ नै खेलाडीको खेलप्रति पनि प्रश्न उठेको छ ।
कीर्तिपुरमा सात शतक भइरहँदा अन्य मैदानको अवस्था किन फरक ?
मूलपानी मैदान स्पिनमैत्री रहेको जानकारहरू बताउँछन् । स्पिनमैत्री भएकाले बल ब्याटमा पुगिरहेको छैन । जसका कारण बलरले विकेट लिइरहेका छन् । खेलाडीको बुझाइ पनि यस्तै छ । कोशी प्रदेशका उच्च रनकर्ता सुजन थपलिया भन्छन्, ‘स्पिनमैत्री भएर अलिकति ब्याटरलाई खेल्न गाह्रो भएको हो । कीर्तिपुरसँग तुलना गर्दा विकेट अलिकति स्लो र टर्निङ छ । स्पिनमैत्रीबाहेक खेलाडीको मानसिकता पनि मूलपानी गाह्रो भन्ने छ । त्यसले पनि नकारात्मक असर परिरहेको छ ।’
प्रतियोगितामा सुजनले एक शतक र दुई अर्धशतक प्रहार गरिसकेका छन् । उनले त्रिवि मैदानमा विभागीय टोली नेपाल पुलिसविरुद्ध १०५ रनको इनिङ्स खेलेका थिए ।
मूलपानीको पिचकाबारेका जानकार भन्छन्, ‘बंगलादेशबाट आएको क्युरेटरले गर्दा विकेट केही हदसम्म राम्रो भएको थियो । अहिले क्युरेटर गइसकेपछि पिच पहिलेकै अवस्थामा पुगेको छ ।’
ट्वान्टी–२० सोच
एकदिवसीय क्रिकेटको यस्तो दयनीय स्थिति लामो अवधिको क्रिकेट नहुनुको प्रतिविम्ब हो । लामो अवधिको क्रिकेट नहुँदा यस्को प्रत्यक्ष असर खेलाडीमा पर्न गएको छ । खेलाडीहरू पूरै ५० ओभर खेल्नुपर्छ भन्ने मानसिकतामै छैनन् । खेलाडीहरू क्रिजमा टिक्न नसक्नुको अर्को कारण हो, ‘टुमच अफ ट्वान्टी–२० क्रिकेट’ ।
यसपालि जिल्ला र प्रदेश छनोटहरू कुनै २० ओभरका भए भने कुनै २५ ओभरका । एकाध प्रदेशले सेमिफाइनल र फाइनल ५० ओभर वा ४० ओभरको खेल खेलाए । नभए कसैले पनि पूरा ५० ओभरको खेल खेलाएनन् । यसपालि जिल्ला र प्रादेशिक छनोट ‘काशी जानु कुत्तिको बाटो’ बन्न पुग्दा खेलाडीको मानसिकतामा प्रत्यक्ष असर पर्न गयो ।
सिद्धार्थ रंगशाला भैरहवामा खेल आयोजना गर्नु क्यानको लापरबाही
भैरहवाको मौसम अहिले एकदमै खराब छ । घाम लागिरहेको छैन । खेलाडीहरू घाम नदेखिकन नै क्रिकेट खेल्न बाध्य छन् । एक खेलबाहेक सबै खेलमा शीतले भिजेको आउट फिल्ड र खराब मौसमका कारण ओभर घटाइएको छ ।
शीतलहरका कारण खेलाडीलाई खेल्न गाह्रो भइरहेको छ । यी कारणले प्रस्ट देखाउँछ, आयोजक स्वयं ५० ओभर खेलाउने मनसायमै छैन ।
‘चिसोले गर्दा बिहान खेलाडीले संघर्ष गरिरहेका छन् । आज पनि खेल्दा अति नै चिसो थियो । घरेलु क्रिकेटमा मैले यस्तो चिसोमा कहिल्यै पनि खेलेको छैन । कुहिरो थियो, चिसो हावा चलिरहेको थियो,’ बुधबार लुम्बिनी प्रदेशविरुद्धको खेलपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले भनेका थिए ।
खेलाडीको यो दयनीय अनुभवको क्यानसँग एउटै जवाफ छ, त्यो हो हामीसँग अहिले राम्रो पूर्वाधार भएका मैदान छैनन् । ‘पूर्वाधारका हिसाबले पनि सिद्धार्थबाहेक अन्य विकल्प हामीसँग अहिले छैन । जनशक्ति, क्रेज र यातायातका हिसाबले पनि हामीले भैरहवामा खेल आयोजना गरेका हौं,’ क्यान अध्यक्ष चतुरबहादुर चन्द भन्छन्, ‘सिनियर प्रतियोगिताहरू गर्ने मिति पहिलेदेखि नै तय थियो । तर, दुर्भाग्य के भयो भन्दा गत वर्ष पानी परेर मौसम खुलिहाल्थ्यो, यो वर्षचाहिँ मौसम खुलेन । राम्रो उद्देश्यका लागि गरिएको हो । तर, मौसमले साथ दिएन । यो हुन्छ, संसारभर भइरहन्छ ।’
नेपालसँग ट्वान्टी–२० संरचनामा एकपल्ट विश्वकप खेलिसकेको इतिहास छ । अबको चार महिनापछि नेपालले दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्दै छ । छोटो स्वरुपको क्रिकेट प्रतियोगितामा गर्विलो इतिहास कोरिरहेको नेपालले एकदिवसीयमा भने केही गर्न सकेको छैन ।
‘एकदिवसीय प्रतियोगिता घरेलु संरचनामा झारो टार्ने पारामा मात्र छ । यही वर्ष पनि क्यानको क्यालेन्डरमा १० भन्दा बढी ट्वान्टी–२० प्रतियोगिता हुने उल्लेख छ । तर, एकदिवसीय र दुईदिवसीय प्रतियोगिता त्यसको आधामात्र छन् । यसरी लामो स्वरुपको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सकारात्मक नतिजाको अपेक्षा कसरी गर्ने ?’ एक प्रशिक्षकको प्रश्न छ ।