पिएम कप क्रिकेट

फरक संरचनामा महिला क्रिकेट, एपिएफको दबदबा कायम

च्याम्पियन एपिएफ

काठमाडौं । नेपाल एपिएफ क्लबलाई च्याम्पियन बनाउँदै प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगिता सकिएको छ । एपिएफले अपराजित रहँदै उपाधि जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार सम्पन्न फाइनलमा कोशी प्रदेशमाथि ११ रनको रोमाञ्चक जित निकाल्दै एपिएफ छैटौं पटक च्याम्पियन बन्न सफल भयो । एपिएफ दुई वर्षपछि पुनः यो प्रतियोगिता जित्न सफल भएको हो ।

पुस ५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना भएको प्रतियोगितामा एपिएफ, कोशीसहित सुदूरपश्चिम, बागमती, मधेश, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशले सहभागिता जनाएका थिए ।

रुविबना क्षेत्री, इन्दु बर्मा, सीता रानामगर, सुमन खतिवडा जस्ता सिनियर खेलाडीको दबदबा रहेको प्रतियोगितामा पूजा महतो, ज्योत्सनिका मरासिनी, राजमति ऐरी, ममता चौधरी, लक्ष्मी साउदजस्ता युवा खेलाडीले राम्रो छाप छाडेका छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी रुबिना क्षेत्री

कोशीको कप्तानी भूमिका रुबिना क्षेत्रीले निर्वाह गरेकी थिइन् । उनी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएकी छन् । प्रतियोगिताका १० खेलमा तीन अर्धशतकसहित ३ सय ४४ रन बनाएकी राष्ट्रिय टोलीकी पूर्वकप्तान रुबिनाले ११ विकेट पनि लिएकी थिइन् । 

गण्डकीकी ज्योत्सनिका मरासिनी उदीयमान खेलाडी घोषित भइन् । ७ खेलमा एक अर्धशतकसहित ९१ रन बनाएकी उनले ३ विकेट पनि लिएकी थिइन् ।

मधेशकी पूजा महतो उत्कृष्ट बलर चुनिइन् । पूजाले ७ खेलमा १२ विकेट लिएकी थिइन् । गण्डकी प्रदेशकी सुमन खतिवडा उत्कृष्ट ब्याटर चुनिइन् । उनले ७ खेलमा २ सय १२ रन जोडेकी थिइन् ।

यस्तो रह्यो प्रतियोगिता
सिंगल राउन्ड रोबिनमा खेल 

यसपटक प्रतियोगिता सिंगल राउन्ड रोबिन पद्धतिमा खेलाइएको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपल्ट यो संरचनामा प्रतियोगिता आयोजना गरेको हो । यसअघि समूहमा विभाजन गरेर खेलाइन्थ्यो । सहभागिता टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइँदा फाइनल पुग्न टोलीले पाँच खेलमात्र खेल्न पाउँथे । 

सुदूरपश्चिम प्रदेशविरुद्ध बलिङ गर्दै एपिएफकी इन्दु बर्मा

यो प्रतियोगिताले खेलाडीहरूलाई केही हदसम्म भए पनि म्याच एक्सपोजर दिएको छ । यसपटक लिग चरणबाटै बाहिरिने टोलीले पनि ७ खेल खेल्ने अवसर पाए । 
प्रतियोगितामा सबैभन्दा धेरै खेल कोशी प्रदेशले खेल्यो । फाइनलसम्मको यात्रा तय गरेको कोशीले १० खेल खेल्यो । विजेता नेपाल एपिएफ क्लब र दोस्रो क्वालिफायरसम्म पुगेको सुदूरपश्चिम प्रदेशले समान ९ खेल खेलेका छन् ।

कर्णाली प्रदेश जितविहीन
प्रतियोगितामा सात खेल खेलको कर्णाली जितविहीन हुँदै बाहिरियो । कर्णाली जित निकाल्न नसक्ने एक्लो टोली बन्यो । 
कर्णालीले कोशीसँग १० विकेट, सुदूरपश्चिमसँग ८१ रन, लुम्बिनीसँग ३० रन, एपिएफसँग ९२ रन, गण्डकीसँग ४४ रन, वागमतीसँग १० विकेट र मधेशसँग ७८ रनको हार बेहोरको थियो ।

कर्णाली प्रदेश

अप्सरीको ह्याट्रिक विकेट
प्रतियोगिताको एकमात्र ह्याट्रिक विकेट कोशी प्रदेशकी अप्सरी बेगमको नाममा रह्यो । अप्सरीले फाइनलमा एपिएफविरुद्ध अन्तिम ओभरमा ह्याट्रिक पूरा गरेकी थिइन् । उनले २० औं ओभरमा पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थपा र तेस्रो बलमा सोनु खड्कालाई आउट गराउँदै ह्याट्रिक विकेट पूरा गरेकी हुन् । अप्सरीले इन्दुलाई नमिता श्रेष्ठ र नेरीले विकेटकिपर काजल श्रेष्ठबाट क्याच गराउँदा सोनुलाई बोल्ड गराएकी थिइन् ।

एपिएफसँग कोशी तेस्रोपल्ट पराजित
प्रतियोगितामा कोशी प्रदेश र एपिएफ तीनपटक आमनेसामने भए । तीनै खेल एपिएफले आफ्नो पक्षमा पारेको थियो । लिग चरणमा कोशीले ८ विकेटको हार बेहोरेको थियो । लिग चरणको खेलपछि एपिएफ शीर्ष र कोशी दोस्रो स्थानमा थिए । पहिलो र दोस्रो टोलीबीच पहिलो क्वालिफायरमा भिडन्त भयो, त्यसमा पनि कोशी ५२ रनले स्तब्ध बन्न पुग्यो । 

कोशीविरुद्ध ब्याटिङ गर्दै एपिएफकी कप्तान सीता रानामगर

त्यसपछि कोशीले इलिमिनेटरमा वागमतीलाई हराएर आएको सुदूरपश्चिमसँग दोस्रो क्वालिफायर खेल्यो । सुदूरपश्चिमलाई ९ विकेटले हराएको कोशीले एपिएफसँग उपाधि भिडन्त पक्का गर्यो । तेस्रो पटक पनि एपिएफसँग ११ रनले पराजित हुँदा कोशीले उपविजेतामै चित्त बुझाउनु पर्यो ।

ज्योतिको संन्यास
फाइनल खेलपछि राष्ट्रिय क्रिकेट टोलीकी ओपनर ज्योति पाण्डेले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरिन् । ज्योतिले सन् २०११ देखि विभागीय टोली नेपाल एपिएफ क्लबबाट घरेलु क्रिकेट खेल्दै आएकी थिइन् । फाइनलपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदामा एपिएफले ज्योतिलाई गार्ड अफ अनरको सम्मान दिएको थियो । 

सन्यासपछि ज्योतिलाई गर्ड अफ अनरको सम्मान दिँदै एपिएफका खेलाडी 

ज्योतिले नेपालका लागि १७ वटा ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलेकी छन् । ज्योतिले सन् २०१६ मा एसिसी वुमन्स एसिया कपअन्तर्गत पाकिस्तानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय डेब्यू गरेकी थिइन् । उनले अन्तिम खेल सन् २०२३ को जुनमा मलेसियाविरुद्ध खेलेकी थिइन् ।