विश्व फ्रेन्चाइज लिगको गोरेटोमा इपिएल

चुनौती, चर्चा र रोमाञ्चबीच एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण आज शनिबार सकिँदै छ । चितवन टाइगर्स र पोखरा राइनोजबीचको फाइनल प्रतिस्पर्धाबाट इपिएलले नयाँ विजेता पाउने पक्का छ । यी दुवै पहिलो पटक फाइनल पुगेका टोली हुन् । 

लामो समयको प्रतीक्षापछि नै यो संस्करण सकिने छ । फाइनलमा एउटा हारे पनि समग्रमा भने आयोजकले भनेजस्तै नेपाली क्रिकेटले जित्नेछ । किनकि यो संस्करणका लागि आयोजकले बेहोर्नुपरेको कष्टको सीमा नै छैन । 

कोभिड १९ महामारीका कारण नै आयोजकले पटक पटक प्रतियोगिता सार्नु परिरह्यो । समयमा नै हुन्थ्यो भने सन् २०१९ मा नै सकिन्थ्यो होला । त्यसैले गर्दा क्रिस गेल जस्ता लेजेन्डलाई पनि इपिएलले छुटाउनुपर्‍यो । नत्र, गेलका चौका र छक्का कीर्तिपुरको मैदानमा बर्सिएको हेर्न पाइन्थ्यो ।

यही समयमा इन्डियन प्रिमियर लिग भएका कारण उनी सहभागी हुन पाएनन् । तथापि यसपालि पाकिस्तानी पूर्वस्टार साहिद अफ्रिदी, बंगलादेशका कप्तान तमिम इकवालसहित धम्मिका प्रसाद, उपुल थारंगा र मोहम्मद साहजादलगायत टेस्ट क्रिकेटरको सहभागिताले भने नयाँ आशाको किरण जगाएको छ । 

यसबीच आयोजक एभरेस्ट प्रिमियर लिग प्रालिले प्रतियोगिताका क्रममा धेरै घाटा पनि बेहोर्नुपर्‍यो । नेपाल एसोसिएट राष्ट्रमध्ये सबैभन्दा धेरै फ्यान फलोइङ भएको देश हो । यहाँ ठूलो प्रतियोगिता र विश्वस्तरीय खेलाडीको उपस्थिति हुनेबित्तिकै ठूलो मात्रामा समर्थक जम्मा हुने गर्दछन् । विश्वकै जुनै कुनामा आयोजना हुँदा पनि तुलनात्मक रूपमा नेपाली समर्थकको बाक्लै उपस्थिति रहन्छ । स्वाभाविक रूपमा यस संस्करणमा त्यो दृश्य भने देख्न पाइएन । 

सुरुआतका केही दिन लगातार वर्षा भएका कारण पनि समर्थकमा निराशा छायो । विश्वका ती स्टारहरूले पनि सोचेअनुरूप नेपाली समर्थकको लगाव र मोह देख्न पाएनन् । आयोजकले पनि केही घाटा पक्का बेहोर्‍यो । उद्घाटन खेलमा करिब पाँच हजार दर्शक मैदानमा देखिए पनि त्यसयता भने मुस्किलले ५/६ सय दर्शक मैदान पुगेका छन् । 

आयोजक प्रमुख तथा पूर्व क्रिकेटर आमिर अख्तरकै भनाइ सापटी लिने हो भने समर्थकले इपिएललाई ब्रान्डिङ गरिरहेका छन् । स्वाभाविक रूपमा यसपालि आशातीत समर्थक उपस्थित हुन सकेनन् । त्यो सबै प्राकृतिक प्रतिकूलताका कारण नै थियो । खेलअगाडि आमिरले खेलाडी डटकमसँग भनेका थिए, ‘यस पटक पछिल्ला संस्करणको तुलनामा केही सुधार गर्छौं ।’ आफ्नो वाचाअनुरूप उनले केही हदसम्म राम्रो नै गरेको मान्नुपर्छ । 

इपिएलले सुधारको कुरा गर्ने हो भने टेलिभिजन प्रोडक्सन स्तर र स्तरीय खेलाडीका कारण समग्र प्रतियोगिताको स्तर नयाँ उचाइमा पुर्‍याएको छ । हरेक वर्ष अघिल्लो वर्षभन्दा राम्रो गर्ने प्रयासमा हुन्छौं भन्ने उनको भनाइ थियो, जहाँ उनी सफल पनि भए । 

विश्वस्तरीय खेलाडी सिकन्दर राजा, धम्मिका प्रसाद, तमिम इकवालको प्रदर्शन औसत रह्यो । दुई खेलका लागि आएका अफ्रिदीले पनि वर्षाकै कारण एक खेल मात्र खेल्न पाए । यी पक्षले पनि इपिएलको ब्रान्डिङमा पूर्ण रूपले सफलता पाउन सकेन । 

नाम चलेका विदेशी खेलाडीको तुलनामा नेपाली युवा खेलाडीले पनि राम्रो प्रदर्शन दिएका छन् । सहन अराचिगे, करिम जन्नत, सन्दुन विराकोडी र रहमानउल्लाह गुरबाज जस्ता खेलाडीले भने आफ्नो छाप छोडे ।

नेपाली राष्ट्रिय टोलीका खेलाडी शरद् भेषावकारबाहेक अन्य सदस्यको ब्याट चल्नै सकेन । रोहित पौडेल, कुशल भुर्तेल, करण केसी र विनोद भण्डारीलगायतको ब्याट शान्त नै रह्यो ।

फ्रेन्चाइज टोलीको ब्याटिङ त पूर्ण रूपमा विदेशी खेलाडीकै भरमा रह्यो । तर, राष्ट्रिय टोलीबाहिर रहेकाले भने केही आशा जगाए । बलिङमा युवा खेलाडीको प्रदर्शनले सबैको ध्यान तान्यो । अझ भनौं अनुभवी अन्तर्राष्ट्रिय क्रिकेटरसामु उनीहरूको प्रदर्शन तारिफयोग्य नै रह्यो । सागर ढकाल, प्रतिश जिसी र दुर्गेश गुप्ताको प्रदर्शनले सबैको ध्यान तान्यो । अनुभवी बलर जितेन्द्र मुखियाले लयमा फर्केको संकेत गर्दा अर्का तीव्र गतिका बलर सोमपाल कामीको प्रदर्शन यादगार बन्न सकेन ।

महामारीको अन्योलबीच भएको इपिएललाई नेपाली खेलाडीले पूर्ण रूपमा सदुपयोग गर्न सकेनन् । प्रतियोगिता सुरु हुनुभन्दा केही दिनअगाडि नेपालका कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने घोषणा गर्दा समग्र नेपाली क्रिकेट नै तरंगित भयो । 

धेरैले पूर्वकप्तान पारस खड्का र आयोजक प्रमुख आमिरबीचको खराब सम्बन्धलाई कप्तान ज्ञानेन्द्रको नखेल्ने निर्णयमा जोडे । उनको यो निर्णयबाट सबैजसो अचम्मित भएका थिए, स्वयं उनीसम्मिलित फ्रेन्चाइज टोली पनि । अन्तिम समयमा उनको त्यो निर्णयले केही हदसम्म आयोजकले पनि क्षति बेहोर्नुपर्‍यो । उनी साविक विजेता ललितपुर प्याट्रियट्सका कप्तान थिए । संयोगवश ललितपुरको प्रदर्शन राम्रो हुन सकेन र लिग चरणबाटै बाहिरियो । 

उनको त्यो निर्णयबाट फ्रेन्चाइज टोलीमा पनि असर परेको पक्कै थियो । तथापि, कुनै पनि खेलाडीले म खेल्दिनँ भन्न पाउने पूर्ण अधिकार रहन्छ, जुन ज्ञानेन्द्रले पनि प्रयोग गरे । नेपालका कप्तान भएकाले नै होला, उनले त्यो छुट भने पाएनन् । केही आलोचना खेपे । यसबीच उनी भने मैदानबाहिर शान्त नै रहे । तर, एक हिसाबले ज्ञानेन्द्रले अवसर गुमाएको भने पक्कै हो । 

राष्ट्रिय टोलीका एक पूर्व क्रिकेटरको भनाई मान्ने हो भने ज्ञानेन्द्र प्रकरणले नेपाली क्रिकेटलाई पनि ठूलो घाटा पुगेको छ । करोडौं रुपैयाँ लगानी गरेर क्रिकेटमा आएका व्यावसायीलाई खेलाडीको यस्तो व्यवहारले निरुत्साहित गर्ने उनको बुझाई छ । 

भन्छन्, ‘नेपाली क्रिकेटको बारेमा भ्रष्टाचार, कुशासन, अक्षमता, अव्यवस्थाजस्ता नकारात्मक कुरामात्र व्यावसायीहरुले सुनेका थिए । उनीहरूमा खेलाडीप्रति चाँही सम्मानभाव थियो । जति बेथिति भए पनि खेलाडीले राम्रो गरिरहेका छन् । खेलाडीकै लागि भए पनि क्रिकेटमा लगानी गर्नुपर्छ भन्ने थियो । तर खेलाडीले पनि यस्तो गरेपछि व्यावसायिक प्रतिष्ठानहरूमा खेलाडी पनि उही ड्याङका मुला रहेछन् भन्ने सन्देश जान सक्छ । जुन समग्रमा नेपाली क्रिकेटका लागि घातक हुन सक्छ ।’

अनेक चर्चा, रोमाञ्च र चुनौतीबीच इपिएलको चौथो संस्करणले बिट मार्दै छ । जहाँ आयोजकले जीउज्यान लगाएर प्रतियोगितालाई प्रभावित हुन दिएन । हरतरहले प्रयास गर्‍यो र सफलता पायो । किनकि आर्थिक रूपले घाटा बेहारे पनि नेपाली क्रिकेटले जितेको छ । 

मैदानमा क्रिकेट फर्किएको छ । नेपाल क्रिकेटमय बनेको छ । नेपाली खेलाडीको प्रदर्शन औसत रहे पनि संकटको बेलामा आयोजकको प्रदर्शन भने तारिफयोग्य रह्यो । आयोजकले आगामी सिजन विश्वस्तरीय फ्रेन्चाइज क्रिकेट लिग बनाउने गोरेटो कोरेको छ । त्यो नै नेपाली क्रिकेटका लागि उल्लेख्य सफलता हो ।