वर्ष २०७९

क्रिकेटले उपलब्धि र चर्चा कमाएको वर्ष

काठमाडौं । नेपाली क्रिकेटमा उतारचढाव बेहोर्दै वर्ष २०७९ बिदा भएको छ । क्रिकेट यो वर्ष सबैभन्दा व्यस्त रहनेमध्येको एक खेल बन्यो । विशेष गरी पुरुष खेलाडीका लागि । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनुका साथै विश्वकप क्वालिफायरमा छनोट हुनु सिनियर टिमको उपलब्धि रह्यो भने यु-१९ टिम वर्षौंपछि विश्वकपमा स्थान बनाउन सफल भयो ।

यो वर्ष नेपाली पुरुष क्रिकेट खेलाडीहरू घरेलुभन्दा पनि अन्तर्राष्ट्रिय खेलमा बढी व्यस्त रहे । वर्षको सुरुआत खासै राम्रो गर्न नसकेको सिनियर टोलीले अन्त्य भने सानदार तरिकाले गर्यो । नेपालले असम्भवजस्तै मानिएको आइसिसी विश्वकप छनोट लिग २ को शीर्ष तीनमा रहँदै सिधै विश्वकप ग्लोबल क्वालिफायर खेल्ने अवसर सम्भव बनायो ।

यही वर्ष नेपाली युवा टोलीको विश्वकप सपना लामो समयपछि पूरा भयो । यु-१९ टोलीले युएईमा भएको छनोटको शीर्षस्थानमा रहँदै सन् २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने अवसर पक्का गरेको हो ।

यो वर्ष नेपाली क्रिकेटको चर्चा मैदानभित्रका नतिजासँगै मैदानबाहिरका घटनाहरूले पनि उत्तिकै वा अझ बढी चर्चा बटुले ।

जिम्बावे ‘ए’ को नेपाल भ्रमण

नेपाली पुरुष क्रिकेट टोलीले वर्षको पहिलो प्रतियोगिताका रूपमा जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको ट्वान्टी-२० र एकदिवसीय शृंखला खेलेको थियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा वैशाख १८-२१ सम्म भएको ट्वान्टी-२० शृंखला १-१ को बराबरीमा सकिएको थियो ।

ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण विना नतिजा टुंगिँदा तेस्रो तथा अन्तिम खेलमा नेपालले ८ विकेटको जित निकाल्यो ।

वैशाख २३-२६ सम्म भएको एकदिवसीय शृंखला नेपालले २-१ ले आफ्नो पक्षमा पार्यो । पहिलो खेलमा तीन विकेटले पराजित नेपालले दोस्रो खेलमा ९ विकेट र तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै शृंखला आफ्नो पक्षमा पारेको थियो ।

आइसिसी विश्वकप लिग २ यात्रा: अमेरिका भ्रमण

नेपालले जेठ २५ देखि असार १ सम्म अमेरिका र ओमानसम्मिलित शृंखला खेलेको थियो । अमेरिकामा भएको उक्त शृंखलामा नेपालले एक जित र दुई हारको नतिजा निकाल्दा एक खेल ‘ड्र’ भएको थियो ।

नेपालले ओमानसँग १३ र अमेरिकासँग ३९ रनको पराजय बेहोरेको थियो । यसैगरी नेपालले ओमानलाई ७ विकेटले हराउँदा अमेरिकासँगको खेल ‘ड्र’ मा टुगिएको थियो ।

स्कटल्यान्ड भ्रमण

असार २६ देखि साउन १ सम्म घरेलु टोली स्कटल्यान्ड र नामिबियासम्मिलित शृंखलाका चारमध्ये एक खेलमा मात्र नेपालले जित हासिल गर्यो ।

पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको नेपालले दोस्रो खेलमा भने ८ विकेटको पराजय बेहोरेको थियो । नामिबियासँगका दुई खेलमा नेपालले ४० र ६३ रनको पराजय बेहोर्न पुग्यो ।

नामिबिया भ्रमण

मंसिर १६ देखि २२ सम्म नामिबिया र स्कटल्यान्डसँग नामिबियामा प्रतिस्पर्धा गर्नेक्रममा नेपाल जितविहीन रह्यो । नमिबिया भ्रमणका चार खेलमा नेपालले तीन हार बेहोर्दा एक खेल विना नतिजा टुंगिएको थियो ।

नेपाल स्कटल्यान्डसँग ३ र ८ विकेट तथा नामिबियासँग ८६ रनले पराजित भएको थियो । नामिबियासँगको अर्को खेल भने विना नतिजा टुंगिएको थियो ।

नामिबिया र स्कटल्यान्डको नेपाल भ्रमण

नेपालले घरेलु मैदानमा फागुन २ देखि ९ सम्म नामिबिया र स्टकल्यान्डसम्मिलित शृंखला खेलेको थियो । यहींबाट विश्वकप लिग २ मा नेपालको पुनरागमन कथा सुरु भएको हो ।

नेपाललले शृंखलाका चारवटै खेल आफ्नो पक्षमा पारेको थियो । स्कटल्यान्डलाई  ३ र २ विकेट तथा नामिबियालाई २ र ३ विकेटले पराजित गर्दै नेपालले ग्लोबल क्वालिफायरको बाटो खन्न सुरु गरेको थियो ।

युएई भ्रमण

फागुन १५ देखि २२ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा भएको शृंखलामा नेपालले घरेलु टोली युएई र पपुवा न्युगिनी (पिएजनी) सँग २-२ खेल खेल्यो ।

यो शृंखलामा नेपालले तीन जित र एक हारको नतिजा निकाल्यो । नेपालले  पिएनजीमाथि ३ विकेट र ५२ रनको जित निकाल्यो । घरेलु टोली युएईसँग भने पहिलो खेलमा ६८ रनको पराजय बेहोरे पनि दोस्रो खेल ४२ रनले आफ्नो पक्षमा पारेको थियो ।

युएई र पिएनजीको नेपाल भ्रमण

नेपालले लिग २ को अन्तिम शृंखला फागुन २५ देखि चैत २ सम्म घरेलु मैदानमै खेलेको थियो । कीर्तिपुरको यही मैदानबाट नेपालले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्यो ।

युएई र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित शृंखलामा नेपालले चारवटै खेल आफ्नो पक्षमा पार्यो । नेपालले पिएनजीलाई  ५२ रन र ९ विकेट तथा युएईलाई एक सय ७७ र ९ रन (डकवर्थ लुइस पद्धति) ले पराजित गरेको थियो ।

नेपालको केन्या भ्रमण

नेपालले केन्या भ्रमणमा ५ खेलको ट्वान्टी-२० तथा तीन खेलको एकदिवसीय (लिस्ट वान) शृंखला खेलेको थियो । नेपालले भदौ ९ देखि १४ सम्म भएको ट्वान्टी-२० शृंखला ३-२ ले आफ्नो पक्षमा पारेको थियो ।  

पहिलो ट्वान्टी-२० खेलमा ५ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा १८ रनको पराजय बेहोर्यो । तेस्रो खेलमा ४ विकेटको जित निकालेको नेपालले चौथो खेल ७ रनले गुमाएको थियो । नेपालले पाँचौं तथा अन्तिम ट्वान्टी-२० खेलमा ३१ रनको जित निकाल्दै शृंखला आफ्नो पक्षमा पार्यो ।

यसैगरी नेपालले भदौ १७ देखि २० सम्म भएको एकदिवसीय शृंखला ३-० ले जित्यो । नेपालले पहिलो खेलमा ७ विकेट, दोस्रो खेलमा १७ रन र तेस्रो तथा अन्तिम खेल ६ विकेटको जित निकाल्यो ।  

नेपाल टी-२० लिग

नेपाल क्रिकेट संघ (क्यान) ले पुस ९ देखि २७ सम्म पहिलो पटक फ्रेन्चाइज लिगका रूपमा विवादास्पद नेपाल टी-२० लिग आयोजना गर्यो ।

६ टोलीको सहभागिता रहेको लिग खेलाडीको पारिश्रमिक, म्याच फिक्सिङ, बेटिङ जस्ता विभिन्न विवादमा फस्न पुगेको थियो । सरोकारवालाहरूले बेलैमा सचेत बनाउनुका साथै अदालतमा मुद्दासमेत परेको अवस्थामा नेपाल क्रिकेट संघको नेतृत्वले जसरी पनि विवादास्पद भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नै प्रतियोगिता जिम्मा लगाउने हठ लिँदा नेपाली क्रिकेट फिक्सिङ र बेटिङको दलदलमा फस्न पुगेको थियो । बेटिङका कारण केही पूर्व राष्ट्रिय खेलाडी महबुब आलम पक्राउसमेत परे ।

फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्स च्याम्पियन बनेको थियो ।

चर्चामा सन्दीप

क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने मैदानभित्रको प्रदर्शनका साथै मैदानबाहिरको हर्कतका कारण यो वर्षभर नै चर्चामा रहे । भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लाग्यो ।

पीडित नाबालिगले भदौ २१ गते प्रहरीवृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जतिबेला सन्दीप वेस्ट इन्डिजमा थिए । प्रहरीबाट रेडकर्नर नोटिस जारी भएपछि उनी स्वदेश फर्केर आत्मसमर्पण गरेका थिए । उनी स्वदेश फर्कनेक्रममा असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए ।

नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरे । उच्च अदालतले पुस २८ गते सन्दीपलाई  धरौटीमा छाड्ने आदेश दिएपछि पुस २९ मा २० लाख धरौटी बुझाएर उनी थुनामुक्त भएका थिए । त्यसपछि उनी टोलीमा फर्केका थिए । सन्दीपविरुद्धको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ ।

तीन प्रशिक्षकको आगमन

यो वर्ष तीन प्रशिक्षकले नेपाली पुरुष टोलीको प्रशिक्षण सम्हाले । २०७८ मंसिर २५ मा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका पुबुदु दासानायकेले २०७९ साउन ४ मा राजीनामा दिए ।

त्यसपछि नेपालको मुख्य प्रशिक्षक बनेर आएका मनोज प्रभाकरले चार महिनामात्र जिम्मेवारी सम्हाले । प्रभाकर २०७९ साउन २३ देखि मंसिर २९ सम्म नेपालको प्रशिक्षकका रूपमा रहेका थिए ।हाल मोन्टी देसाईले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालिरहेका छन् । देसाई माघ २३ मा  नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । 

महिला क्रिकेटको सीमित प्रतियोगिता

पुरुष क्रिकेट टोली वर्षभर व्यस्त रहँदा महिला टोलीले भने यो वर्ष एक अन्तर्राष्ट्रिय र दुई घरेलु गरी मात्र तीन प्रतियोगिता खेल्यो ।

जेठमा युगान्डाको महिला टोलीले पाँच खेलको ट्वान्टी-२० शृंखलाका लागि नेपाल भ्रमण गरेको थियो । यो नै नेपालले यो वर्ष खेलेको एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता हो । जेठ २ देखि ७ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्विद्यालयको क्रिकेट मैदानमा भएको शृंखला युगान्डाले ३-२ ले आफ्नो पक्षमा पारेको थियो ।

नेपालले सुरुआती तीन खेल गुमाए पनि अन्तिम दुई खेलमा भने जित निकाल्यो । नेपाल पहिलो तीन खेलमा क्रमशः १२ रन, एक विकेट र ६ विकेटले पराजित हुन पुग्यो । नेपालले पछिल्ला दुई खेल १५ र ३३ रन अन्तरमा जित निकाल्यो ।

घरेलु प्रतियोगितातर्फ यसपालि महिलाका लागि प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी-२० प्रतियोगिता पुस २९ देखि माघ ७  सम्म इटहरीस्थित जनता पार्क क्रिकेट मैदानमा भयो ।

सात प्रदेश र एक विभागीय एपीएफ क्लब गरी आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा तत्कालीन प्रदेश एक (हाल कोशी) प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेश पहिलो पटक च्याम्पियन बन्यो ।

ललितपुर मेयर्स कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिता नेपाली घरेलु क्रिकेटमा महिलाका लागि भएको अर्को प्रतियोगिता हो । चैत ९ देखि १६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको प्रतियोगितामा ५ टोलीको सहभागिता थियो । जहाँ फाइनलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै विभागीय टोली नेपाल एपीएफ क्लबले उपाधिमा ह्याट्रिक गरेको थियो ।

उमेर समूहमा यो वर्ष नेपालको पुरुष तथा महिला यु-१९ टोलीले विश्वकप छनोट प्रतियोगिता खेले । महिला यु-१९ टोलीले जेठ २० देखि २६ सम्म मलेलियामा भएको आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकप एसिया छनोट खेलेको थियो ।

छनोटमा ५ खेल खेलेको नेपाल तीन जित र दुई हारको नतिजासहित तेस्रो स्थानमा रहँदा विश्वकपमा छनोट हुन सकेन । नेपालले कतारलाई ७९ रन, भुटानलाई ४ विकेट र मलेसियालाई २५ रनले पराजित गर्दा थाइल्यान्डसँग ४९ रन र युएईसँग १० विकेटले पराजित भएको थियो ।

छनोटबाट युएईले शीर्षस्थानमा रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो । आइसिसीले पुस ३० देखि माघ १५ सम्म दक्षिण अफ्रिकामा पहिलो पटक आयोजना गरेको यु-१९ विश्वकप भारतले जितेको थियो ।

पुरुषतफै यु-१९ टोलीले फागुन १२ देखि १८ सम्म युएईमा भएको आइसिसी पुरुष यु-१९ एकदिवसीय विश्वकप एसिया डिभिजन-१ छनोटको शीर्षस्थानमा रहँदै सन् २०१६ पछि पहिलो पटक विश्वकपमा छनोट भएको थियो ।

छनोटमा ५ खेल खेलेको नेपालले शतप्रतिशत जित निकाल्यो । नेपालले सिंगापुर, कुवेत, हङकङ, मलेसिया र युएईलाई क्रमशः ९६ रन, २४३ रन, ९ विकेट, १० विकेट र ७ रनले पराजित गरेको थियो ।