उमेरले ६४ वर्ष लागिसके पनि लोकबहादुर गुरुङको युवा जोस कायमै छ । पोखरा रंगशालामा बक्सिङ प्रशिक्षण गराइरहँदा उनी किशोर खेलाडीभन्दा तीव्र गतिमा पञ्च हान्छन् । पोजिसन लिन्छन् । खेलाडीले नबुझ्ला भनेर आफैं डमी गरेर देखाउँछन् ।
पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशले नवौं बृहत राष्ट्रिय खेलकुद आयोजना गर्दै छ भन्ने चर्चा चल्न थालेदेखि नै उनको दैनिकी यसैगरी पोखरा रंगशालामा झन्डै तीन दर्जन चेलाचेलीलाई बक्सिङ सिकाएरै सुरु हुन्छ ।
|
भारतीय सेनाका सेवानिवृत्त सुबेदार मेजर, अनररी क्याप्टेन गुरुङले जागिरे छँदै २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए । चार महिना २२ दिनको छुट्टीमा घर आएका बेला गुरुङलाई त्यो अवसर जुरेको थियो । अहिले चार दशकपछि चाहिँ उनी आफ्ना चेलाहरूबाट त्यो सफलता प्राप्त गर्न चाहन्छन् ।
विदा मनाउन आउँदा उनलाई नेपालमा राष्ट्रिय खेलकुद हुँदै छ, त्यो पनि आफ्नै सहर पोखरामा भन्ने सामान्य जानकारीसम्म थिएन । तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रमा बक्सिङका खेलाडी पनि थिएनन् । तथापि उनका एक मित्र विद्या मरासिनी पश्चिमाञ्चलको बक्सिङ टोलीका सदस्य थिए ।
विदा मनाउन आएको बेला फिटनेस कायम राख्नकै लागि भए पनि गुरुङले मरासिनीसँग बक्सिङ अभ्यास सुरु गरे । उनीहरू नियमित रूपमा पोखरामा अभ्यास गर्थे ।
‘त्यतिबेला नेपालमा रुस र दक्षिण कोरियाका बक्सिङ प्रशिक्षकहरूको चहलपहल निकै थियो । हामी अभ्यास गरिरहेको ठाउँमा एकजना रुसी प्रशिक्षक आइपुगे छन् । खासमा उनलाई केन्द्रबाट ट्यालेन्ट हन्ट (प्रतिभा खोज) का लागि जिल्ला पठाइएको रहेछ । उनी आएको दिन म एक्लै अभ्यास गरिरहेको थिएँ । उनले मलाई तिमी एक्लै हो ? भनेर सोधे,’ गुरुङ चार दशकअघि फर्किए, ‘मैले अर्को साथी पनि छ, तर आज ऊ आएन भनें । त्यसपछि उसले हामीलाई साँझ लेकसाइड आउनु भन्यो । म र विद्या मरासिनी साँझ उसलाई भेट्न लेकसाइड गयौं । त्यहाँ उसको आग्रहअनुसार मैले आफ्नो बक्सिङ कला देखाएँ । मलाई उसले तिमी त एकदमै फास्ट रहेछौं भनेर काठमाडौं बोलाए आउँछौं ? भनेर सोध्यो । मैले बोलाए आउने भनेर सहमति जनाएँ ।’
रुसी प्रशिक्षक फर्किएको एक सातापछि नै गुरुङलाई काठमाडौंबाट बोलावट आयो । देशभर स्काउटिङका लागि गएका प्रशिक्षकहरूले छानेका प्रतिभावान खेलाडीहरू सबैलाई काठमाडौंमा ल्याइएको थियो । देशभरबाट छानिएका सयभन्दा बढी तिनै खेलाडी काठमाडौंमा आइपुगेपछि कोरियाली प्रशिक्षकसँग अभ्यास गरेको गुरुङ सम्झन्छन् ।
त्यही बेला भारतको जम्सेदपुरमा एउटा आमन्त्रण प्रतियोगिता परेको थियो । प्रतिभा खोजबाट ल्याइएका खेलाडीको बीचबाट त्यो प्रतियोगिताका लागि खेलाडी छानियो । भारतमामाथिल्लो स्तरको बक्सिङ अनुभव बटुलिसकेका गुरुङ नछानिने कुरै थिएन । तर, प्रतियोगिता स्थगित भएपछि उनले नेपाललाई प्रतिनिधित्व गर्दै खेल्ने मौका भने पाएनन् । किनकि उनी त फौजबाट जम्मा चार महिना २२ दिनका लागि मात्र छुट्टी लिएर देश फर्किएका थिए ।
|
जम्सेदपुरमा खेल्न नपाए पनि उनी केन्द्रीय क्याम्पमै प्रशिक्षणरत थिए । त्यही बेला राष्ट्रिय खेलकुद हुँदै थियो । राष्ट्रिय खेलकुदका लागि क्याम्पबाट सबै खेलाडीलाई आ-आफ्नो क्षेत्रबाट खेल्ने र त्यसपछि फर्किने निर्देशनका साथ बिदा गरियो । यसरी बिदामा आएका बेला जिल्लाबाट केन्द्रीय क्याम्पसम्म पुग्ने र आ-आफ्नो क्षेत्रका लागि राष्ट्रिय खेलकुदमा भाग लिने उनीमात्र थिएनन् । ‘त्यहाँ त भारतीय सेनाका लाहुरे धेरै रहेछन् । म आफूमात्र भन्ठानेको त, के को हुन्थ्यो,’ गुरुङ स्मरण गर्छन ।
भारतीय सेनामा बक्सिङकै कारण गुरुङको पहिचान थियो । सानो दर्जा भए पनि इज्जत ठूलो थियो । सबैले राम्रो खेलाडी भनेर निक्कै सम्मानगर्थे । त्यसैले बक्सिङ उनका लागि सबैभन्दा प्रिय चिज बनिसकेको थियो । बिदामा देश फर्किंदा खेल्न नपाइएला भन्ने चिन्ताले कहिलेकाहीं उनलाई सताउँथ्यो पनि । तर, नेपाल आएपछि उनले बक्सिङमैत्री वातावरण पाए । जसबाट फिट रहिरहने उनको उद्देश्यमा सहयोग मिल्यो ।
घरको वातावरण भने उनले चाहेजस्तो रहेन । बिदा मनाउन आएको छोरा घरमै बसोस, टन्न मासु खाएर मोटाओस, फर्कंदा आमाको मायास्वरुप केही किलो वजन बढाएर जाओस भन्ने आमाको चाहना थियो । ‘आमा जहिले पनि ‘मासु धेरै खा । मोटाउनुपर्छ । घरमै बस । आफन्तहरूकहाँ जा । यो मुक्कामुक्की खेल्ने कामचाहिँ नगर’ भन्नुहुन्थ्यो,’ गुरुङ सम्झन्छन्, ‘आमाको माया न भयो । तर मलाईचाहिँ बक्सिङ नखेली नहुने । तौल त बढ्न दिनै हुन्नथ्यो । आमाले बरा खेलकुदको त्यो कुरा कसरी बुझ्नु । उहाँलाई त आफ्नो छोरालाई चोट लाग्ला, दुब्लाउला भन्ने चिन्ता हुन्थ्यो । त्यो सही पनि हो ।’
गुरुङले दोस्रो राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चल विकास क्षेत्रको प्रतिनिधित्व गर्दै ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गरे । प्रतियोगितामा उनले चार फाइट लड्नुपर्यो । चारवटै फाइटमा उनले प्रभावशाली जित दर्ता गराउँदै स्वर्ण पदकमा कब्जा जमाए ।
भारतीय सेनाको लाहुरेले राष्ट्रि«य खेलकुदको स्वर्ण पदक जित्दाको चार खेलको यात्रामा तत्कालीन नेपाली बक्सिङका सुपर स्टार पुष्करध्वज शाहीमाथि पनि जित हासिल गरेका थिए । गुरुङका अनुसार उनले कुनै पनि खेलमा तीन राउन्डसम्म प्रतिस्पर्धा गर्नुपरेन । ‘सबै खेल टिकेओ (टेक्निकल नकआउट)का आधारमा जितेको हुँ,’ विगत सम्झँदा उनी रोमाञ्चित भए ।
को हुन गुरुङ ?
भारतीय सेनाका पूर्व लाहुरे गुरुङ भारतलाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता खेलेका प्रतिष्ठित खेलाडी हुन् । खेल जीवनमा क्षमताअनुसार मौका नपाएपछि चाँडै प्रशिक्षणमा लागेका गुरुङले भारतका लागि थुप्रै अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरे । उनका चेलाहरूले ओलम्पिकसम्म पुगेर भारतको प्रतिनिधित्व गरेको गौरवमय उपलब्धि गुरुङसँग छ । यतिमात्र होइन, भारतीय बक्सिङका मुख्य प्रशिक्षक नरेन्द्र राना पनि गुरुङकै चेला हुन् ।
कास्की जिल्लाको विजयपुर गैरीगाउँ निवासी गुरुङ २०३५ साल कात्तिक २४ गते गोरखपुरबाट भारतीय सेनामा भर्ती भएका थिए । सेनामा भर्ती भएपछि पहिलो पटक उनले सिलोङ ५८ जिटिसीमा ट्रेनिङ गरे । त्यसपछि ७८ जिआर बटालियनमा पुगेका उनले रिकरुट ट्रेनिङदेखि नै बक्सिङ खेल्न सुरु गरेका थिए ।
कसरी जोडिए बक्सिङसँग ?
कास्की जिल्लामा फुटबलको एकदमै राम्रो संस्कार थियो । गुरुङका दाजु बक्सिङ खेल्थे । त्यसैले सानैदेखि उनमा चाहिँ फुटबल वा बक्सिङ खेल्ने हुटहुटी थियो । पिता सुवेदार डम्बरबहादुर गुरुङ भारतीय सेनामै थिए । दाइ सुवेदार कर्णबहादुर सानोमा बाबासँगै भारत बस्थे । ब्यारेकमा हाकिमका छोराहरूसँग सानैदेखि कर्णबहादुर बक्सिङ खेल्दा रहेछन् । पछि उनी पनि भारतीय सेनामै जागिरे भए ।
बिदामा घर आउँदा कर्णबहादुरले भाइलाई बक्सिङका विभिन्न पोज देखाउँथे । फोटोहरू देखाउँथे । जसले लोकबहादुरलाई सानै उमेरमा लोभ्याएको थियो । यही कारण हो, उनले रिकरुट ट्रेनिङदेखि नै यो खेललाईसँगै अगाडि बढाएको ।
भर्ती भएको एक वर्षपछि २०३६ सालमा उनले भारतीय सेनाको इन्टर कम्पनी बक्सिङ प्रतियोगितामा प्रतिस्पर्धा गरे । सेनाको ट्रेनिङबाट समय छुट्याउन कठिन थियो । तथापि प्राप्त थोरै समयलाई उनले बक्सिङ अभ्यासमा लगाएका थिए । थोरै अभ्यासको भरमा प्रतियोगितामा भाग लिए पनि उनी पहिलो सहभागितामै फाइनलसम्म पुगे । ‘बेस्ट लुजर’को पुरस्कार पनि पाए ।
|
यो प्रतियोगिता सकिएलगत्तै सिलोङमै भारतीय सेनाको नयाँ पल्टन त्यही वर्ष ७८ जिआर सुरु भयो । नयाँ पल्टन स्थापनाका लागि समय धेरै लाग्यो । नयाँ पल्टनमा देशभरबाट आएका सेनाहरूमा धेरै खेलिसकेका अनुभवी बक्सरहरू पनि थुप्रै थिए । पल्टन स्थापनाकै क्रममा त्यही वर्ष इन्टर कम्पनी प्रतियोगिता भयो । जहाँ गुरुङ कमाण्ड प्लेयरहरूलाई पराजित गर्दै च्याम्पियन भए । त्यसपछि उनको बक्सिङ करियर उकालो लाग्दै गयो । ब्रिगेड च्याम्पियन भए । सर्भिसेज च्याम्पियन भएर बेल्ट पनि लिए । दुई पटक भारत च्याम्पियनसमेत भए ।
सेनाको टोलीले भारतको राष्ट्रिय खेलकुदमा भाग लिन्थ्यो । सर्भिसेज च्याम्पियन भइसकेका उनले सेनाको प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलकुद खेल्नु स्वाभाविक थियो ।
२०४१ र २०४२ (सन् १९८४/८५ र १९८५/८६) को दुई वटा भारतीय राष्ट्रिय खेलकुदमा नेपाली नागरिक गुरुङ च्याम्पियन भए । राष्ट्रिय च्याम्पियन भएपछि भारतलाई नै प्रतिनिधित्व गर्दै उनले इन्डोनेसियाको जकार्तामा सन् २०४२ साल (सन् १९८५)मा सम्पन्न आठौं प्रेसिडेन्ट्स कप वल्र्ड लेभल च्याम्पियनसिपमा सहभागिताको अवसर पाए ।
‘पहिलो बाउट नै आयोजक इन्डोनेसियाको खेलाडीसँग थियो । आयोजकसँग परेपछि कम्ब्याट गेममा गाह्रो हुन्छ । म पनि बराबरी बाउटमा हारें,’ गुरुङले स्मरण गरे, ‘यता सेनाभित्र कमाण्ड लडेपछि भारतमा मलाई सर्भिसेज लड्न दिएन । त्यहाँ गुटबन्दी भयो । मलाई नेपाली भएर कम मौका दियो । भारतको टिमबाट खेल्न नपाएपछि म प्रशिक्षणतिर लागें ।’
भारतीय सेनाभित्रको खेलकुद संरचनामा सबैभन्दा पहिला इन्टर कम्पनी प्रतियोगिता हुन्छ । त्योभन्दा माथि इन्टर ब्यारेक हुन्छ । तेस्रो सिँढी भनेको डिभिजन कमान्ड प्रतियोगिता हो । डिभिजन कमान्डमा त्यो बेला नर्थ, इस्ट, साउथ, वेस्ट, सेन्ट्रल, नेभी र एयर फोर्सका च्याम्पियनहरूबीच सबैभन्दा ठूलो प्रतियोगिता सर्भिसेज च्याम्पियनसिप हुन्थ्यो ।
नेपाली भएकै कारण खेलाडीका रूपमा ठूलो अवसर नपाउने देखेपछि गुरुङले भारतको एनएसएनआइएस पटियालाबाट २०४३ सालमा (सन् १९८७/८८)मा डिप्लोमा इन बक्सिङ कोचिङ कोर्स गरे । खेलाडीका रूपमा नपाए पनि प्रशिक्षकको भूमिकामा भने उनले भारतीय बक्सिङलाई विश्व खेलकुदकै सबैभन्दा ठूलो मेला ओलम्पिकसम्म नेतृत्व गरे ।
उनकै प्रशिक्षणमा सन् १९९६ को एटलान्टा ओलम्पिकमा देवेन्द्र थापाले भारतको प्रतिनिधित्व गरेका थिए । २०४२ सालबाट २०५७ सालसम्म प्रशिक्षकको जिम्मेवारी साथ भारतमा काम गर्दा उनले भारतीय बक्सिङका वर्तमान मुख्य प्रशिक्षक नरेन्द्र रानासहित थुप्रै अन्तर्राष्ट्रिय खेलाडी निकाल्ने सफलता प्राप्त गरे ।
नेपाल फिर्ता
२०६१ साल (सन् २००४)मा भारतीय सेनाबाट रिटायर्ड भएपछि गुरुङ जन्मथलो पोखरा फर्किए । दुई वर्ष लगाएर घर बनाए । अनि २०६३ साल (२००६) मा रोजगारीका लागि इराक गए । पाँच वर्षको इराक बसाइमा पूर्णविराम लगाएर २०६६ साल (सन् २०११)मा पोखरा फर्किंदा पनि त्यहाँ बक्सिङ खेलको उपस्थिति अत्यन्तै न्युन थियो ।
‘दोस्रो राष्ट्रिय खेलकुदमा सँगै खेलेका साथी विद्या मरासिनी त्यो बेला पश्चिमाञ्चल खेलकुद निरीक्षक हुनुहुन्थ्यो । उहाँले कास्कीको बक्सिङ माथि उचाल्ने भनेर मलाई प्रशिक्षणका लागि बोलाउनुभयो । त्यसयता अहिलेसम्म प्रशिक्षण गराइरहेको छु । सातौं र आठौं राष्ट्रिय खेलकुदमा पनि मैले काम गरें,’ यसै महिनाको उत्तराद्र्धमा सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि खेलाडीको सीप तिखारिरहेका गुरुङले भने ।
नवौं राष्ट्रिय खेलकुदलाई केन्द्रको सरकारले नेपाली खेलकुद उकास्ने ठूलो माध्यमका रूपमा प्रचार गरेको छ । प्रदेश सरकार बजेटको विवादमै रुमल्लिइरहेको छ । विभिन्न खेलका पदाधिकारीहरू खेल सामग्रीको जोहो गर्न नसकेर छट्पटिइरहेका छन् । गुरुङलाई यो सबथोकसँग मतलब छैन । उनी त बक्सिङका सिपाही हुन्, बक्सिङकै लागि जन्मिए जस्तै ।
|
पूरा जीवन नै यही खेलमा समर्पित गरिसकेका गुरुङले नेपाली बक्सिङमा एउटा ठूलो समस्या देखेका छन् । ‘बाबुआमाले खेल्न दिँदैनन् । पढ्ने, काम गर्ने सब भ्याएर खेलाडीहरू अभ्यासका लागि आउनुपर्छ । त्यसैले नियमित गर्न सक्दैनन् । पर्याप्त खुराक पनि छैन । बक्सिङ खेलका लागि विशेष खालको खुराक आवश्यक पर्छ । खेललाई अगाडि बढाउने हो भने सबैभन्दा पहिला खेलाडीलाई हेर्नुपर्छ । खेलाडीलाई पर्याप्त मात्रामा खुराक र आर्थिक चिन्ता नहुने व्यवस्था मिलाउनुपर्छ । नत्र भने जति धेरै कुरा गरे नि, जति धेरै बजेट खर्च गरे पनि खेलकुदचाहिँ हुँदैन । खेलाडी नै नभए के को खेलकुद ?,’ गुरुङको खेलाडी मन बोल्यो ।
पोखरामा राष्ट्रिय खेलकुद हुँदै गर्दा गुरुङलाई लाग्छ, ‘मैले आफै ३९ वर्षअघि यही भूमिमा स्वर्ण पदक जितेको थिएँ । फेरि यहीं हुँदै छ । एक त आफ्नो ठाउँमा यति ठूलो खेल महोत्सव हुँदै छ, त्यसमाथि चार दशकअघि आफूले खेलाडीका रूपमा स्वर्ण पदक जितेको ठाउँमा अहिले आफ्ना खेलाडीलाई जिताउनै पर्छ ।’
उनले आफ्नै खेलाडीमध्येबाट दिवस गुरुङ र पवन गुरुङले स्वर्ण पदक जित्ने आशा गरेका छन् । अर्को एक जनाबाट पनि उनले स्वर्णको आस गरेका छन् ।
जनस्तरमै ठूलो महोत्सवका रूपमा गरिनुपर्ने नवौं राष्ट्रिय खेलकुदको यसपालिको तयारीबाट पनि गुरुङको चित्त बुझेको छैन । खेल संस्कार स्थापनाका लागि निकै महत्त्वपूर्ण हुने यो खेलमेलाको प्रचारप्रसार सही तरिकाले नभएको उनी गुनासो गर्छन । कुराकानीको बिट मार्दै उनी थप्छन्, ‘मैले आफैं खेल्दा २०४० सालमा यहाँ राष्ट्रिय खेलकुदको चहलपहल एकदमै धेरै थियो । अहिले त्योअनुसार केही देख्दिनँ ।’