काठमाडौं । बक्सिङ भन्ने खेलमा भावना हुँदैन । भावुक भएर विपक्षीलाई माया गर्ने छुट यो खेलमा हुन्न । रिङमा उत्रिएपछि प्रतिद्वन्द्वीलाई दुश्मन मानेर खेल्नुपर्छ । अन्यथा बक्सिङजस्तो कमब्याट खेलमा हार स्वीकार्नुको विकल्प रहन्न ।
किनकि जित्ने त एकै खेलाडीले हो नि । फुटबलमा जस्तो पूरा टिम एकजुट भएर सफलताका लागि प्रयास गर्ने खेल पनि होइन बक्सिङ । एकल स्पर्धा भएकाले यहाँ मानसिक, शारीरिक र भावनात्मक रूपमा बलियो भएर प्रतिस्पर्धामा उत्रिनुपर्छ ।
नेपालीसँग वीरता, गोर्खालीजस्ता बहादुरी जनाउने केही शब्द जोडिएरै आउँछन् । त्यसैले पनि बक्सिङलाई नेपाली माटो सुहाउँदो खेल भनिन्छ । यही कारण हो, अत्यन्तै सीमित स्रोत, साधन र सुविधाको भरमा खेलजीवन घिसारिरहेका नेपाली बक्सरहरूले अन्तर्राष्ट्रिय स्तरमा चित्तबुझ्दो उपलब्धि हासिल गरेका छन् ।
तर, ठूला अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बक्सिङको ठाँटिलो उपस्थिति हुन छाडेको धेरै भइसकेको थियो । सन् २०१० मा चीनको ग्वान्झाउमा भएको एसियाली खेलकुदमा दीपक महर्जनले कांस्य पदक जितेयता एसियाली स्तरमा नेपाली बक्सिङ निरीह हुँदै आएको थियो । त्यसअघि पनि नेपालले एसियाली कांस्यभन्दा माथिको उपलब्धि बक्सिङ खेलबाट हासिल गर्न सकेको इतिहास थिएन ।
अब इतिहासमा एउटा पाना थपिएको छ र त्योभन्दा सुनौला अक्षरमा नेपालको नाम अंकित भएको छ । नेपाली बक्सिङको उज्ज्जल भविष्यको रूपमा अगाडि बढ्दै गरेकी सुष्मा तामाङले अघिल्लो साता थाइल्यान्डमा अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरिन् । बैंककमा सम्पन्न एएसबिसी एसियन यु-२२ बक्सिङ च्याम्पियनसिपमा उनले ऐतिहासिक रजत पदक जितेकी छन् ।
उदीयमान युवा खेलाडी सुष्मा ४८ केजी तौल समूहको फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जाेनासँग पराजित भएकी थिइन् । फार्जाेनासँग ५-० ले पराजित भएपछि नेपाललाई एसियाली स्तरमा पहिलो स्वर्ण पदक जिताउने सुष्माको अभियानले रजत पदकमै चित्त बुझाउनुपर्यो ।
उनले मंगोलियाकी बेसेन्बेई जानार्गेलीलाई आरएससीको आधारमा पराजित गर्दै फाइनलमा पुगेर कीर्तिमान बनाएकी थिइन् ।
स्वर्ण पदक जित्न नसके पनि त्यहाँसम्म पुग्नुलाई सुष्माले ठूलै उपलब्धिका रूपमा लिएकी छन् । भन्छिन्, ‘नेपालमा पर्याप्त मात्रामा खेलहरू नहुँदा हामीले नयाँ स्किलहरू सिक्ने अवसर पाइरहेका छैनौं । यो मेरो चौथो अन्तर्राष्ट्रिय सहभागिता हो । तर मैले यसमा आफ्नो क्षमताअनुसार शतप्रतिशत दिएँ । फाइनलमा पराजित भए पनि मैले उनीबाट धेरै कुरा सिक्न पाएँ ।’
काठमाडौंमा जन्मिएकी सुष्मा दिदी कुसुमको खेलबाट प्रभावित थिइन् । त्यसैले १७ वर्षकै उमेरबाट उनको यात्रा बक्सिङतिर मोडियो । दिदीले करातेमा भविष्य नदेखेपछि बक्सिङ रोजेकी थिइन् । नवीन महर्जन उनका गुरु थिए । सुष्माले पनि बक्सिङको प्रशिक्षणलाई खाली समय सदुपयोग गर्ने सबैभन्दा राम्रो उपायका रूपमा प्रयोग गर्न थालिन् ।
बक्सिङ खेल्न घरपरिवारको पूरा साथ पाएकी सुष्माले स्कुल पढुन्जेल प्रशिक्षणमा मात्र आफूलाई निखारिन् । कलेज भर्ना भएसँगै उनको प्रतिभाको परीक्षण प्रतियोगिताहरूमा सुरु हुन थाल्यो । पहिलो पटक १७ वर्षको उमेरमा राष्ट्रिय च्याम्पियनसिपमा उत्कृष्ट बक्सरको पुरस्कार पाएपछि उनी बक्सिङमा रम्न थालिन् ।
नेपालगन्जमा आठौं बृहत राष्ट्रिय खेलकुदमा महिला बक्सिङतर्फ सुष्माले पहिलो पटक स्वर्ण पदक जितेकी थिइन् । पहिलो स्वर्ण जितेकाले होला सुष्मालाई त्यही क्षण आफ्नो खेलजीवनकै उत्कृष्ट लाग्छ । नेपालगन्जमा उनले स्वर्णका साथै उत्कृष्ट बक्सरको पगरी पनि गुथेकी थिइन् ।
सुष्माको गति यत्तिमै रोकिएन । लगत्तै उनले २०७६ को वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा पनि स्वर्ण पदक र उत्कृष्ट बक्सरको पुरस्कार प्राप्त गरिन् ।
सुष्माले सन् २०२१ को मार्चमा पोल्यान्डमा भएको वल्र्ड युथ च्याम्पियनसिपमा छैटौं स्थान हासिल गरेकी थिइन् । कठिन संघर्ष र लगातारको मेहनतले यो स्थानसम्म पुग्न सकेको सुष्माको बुझाइ छ ।
कुनै एउटा समय थियो, सुष्मा बक्सिङ खेल्न छोडेर विदेसिने सुरमा थिइन् । हजुरआमाको निधनपछि उनलाई बक्सिङबाट वैराग लागेको थियो ।
‘घरको अवस्था राम्रो थिएन । दिनभर कोठामा एक्लै बस्थें । बक्सिङ खेल्न मन हुँदैनथ्यो । लगभर डिप्रेसनको सिकार भएजस्तै थिएँ । तर, एकदिन मेरो बाबाले मेरो छोरी त नेसनल च्याम्पियन हो नि, उसले राष्ट्रको प्रतिनिधित्व गरेकी छ नि भन्दै गर्व गर्दै हुनुहुँदोरहेछ । यो सुनेपछि म सोच्न बाध्य भएँ । म यसरी बस्न हुन्न । फेरि बक्सिङ खेल्नुपर्छ । बाआमाको शिर झुक्न दिनुहुँदैन भन्ने लाग्यो र फेरि यही खेलमा फर्किएँ ।’
सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सुष्माले सहभागिता जनाउन पाइनन् । उमेर नपुगेकै कारण उनीसँग खेल्नबाट वञ्चित भएकी थिइन् । कमब्याट खेल भएकाले बक्सिङको सिनियर प्रतियोगिता खेल्न १८ वर्ष पुगेकै हुनुपर्छ । यद्यपि उनलाई थाइल्यान्डमा बक्सिङको विशेष प्रशिक्षणका लागि पठाइएको थियो ।
दुई पटककी राष्ट्रिय च्याम्पियन २० वर्षीया सुष्मा सन् २०२२ मा फेरि राष्ट्रिय च्याम्पियन भइन् ।
बक्सिङ भन्नेबित्तिकै धेरैले सकारात्मक सोच राख्दैनन् । चोटपटक लाग्छ भन्ने भयले अभिभावकहरूलाई हल्लाइरहँदा नयाँ पिँढीको आगमन पनि अत्यन्तै पातलो छ । त्यस्तो कठिन अवस्थाका बावजुद पछिल्लो समय बक्सिङमा महिलाहरूको आगमनलाई सकारात्मक रूपमा लिनुपर्ने सुष्माको विचार छ ।
उनी भन्छिन्, ‘अचेल महिला खेलाडीको सहभागिता बढ्दो क्रममा छ । पहिलाको तुलनामा महिलाहरू धेरै नै अगाडि बढिसकेका छन् । गाउँघरका महिलाहरू पनि सेल्फ डिफेन्सका लागि बक्सिङतर्फ आकर्षित भइरहेका छन् ।’
बक्सिङ खेलेरै करियर बनाउन चाहनेका लागि पनि सम्भावना राम्रो देख्छिन् सुष्मा । त्यसका लागि जतिसुकै कठिन अवस्थामा पनि हरेस नखाइकन लगातार निरन्तर प्रयास गर्नुपर्ने उनको सुझाव छ ।
सुष्माको आगामी लक्ष्य नै फेब्रुअरीमा हुने विश्व च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण पदक जित्नु हो । विश्व च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्नुको आफूसँग विकल्प नरहेको उनी बताउँछिन् ।