भलिबल

‘क्रेजी’ भलिबलको उपलब्धि ‘सुस्त’

नेपालमा सर्वाधिक प्रचलित खेलमध्ये एक हो भलिबल । भलिबल खेल्नकै लागि ठूलो भौतिक संरचना आवश्यक नहुनुले पनि यसको लोकप्रियतामा सहयोग पुग्यो । नेपालका सबै जिल्लामा खेलिने खेल र भलिबलप्रतिको मोह देखेरै नेपाल भलिबल संघको २०६८ सालमा पोखरामा सम्पन्न पाँचौं वार्षिक साधारणसभाले नेपालको राष्ट्रिय खेल बनाउन नेपाल सरकारसमक्ष निवेदन पेस गर्ने निर्णय गरेको थियो ।

त्यो निर्णयले ६ वर्षपछि अर्थात् २०७४ जेठ ८ गते सरकारले मन्त्रिपरिषद बैठकमार्फत भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो ।

राष्ट्रिय खेल भएको ५ वर्ष बितिसक्दा पनि भलिबलले अपेक्षित उपलब्धि हासिल गर्न सकिरहेको छैन । घरेलु प्रतियोगिताले देशैभर भलिबल व्यस्त भए पनि अन्तर्राष्ट्रियस्तरमा नेपालको सहभागिता सीमित छ । सफलता पनि औंलामा गन्न सकिन्छ ।

देशैभर भएको माहोल र भलिबलप्रतिको क्रेजलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन नेपालले अझै सकेको छैन । हालसम्म सीमित प्रतियोगिता खेलेर नेपालले केही सफलता हासिल गरेको छ । पुरुषको तुलनामा महिला बलमा नेपालले धेरै सफलता पाएको छ । हालसम्म नेपालले पाएका महत्त्वपूर्ण उपलब्धि यस्ता छन्:

१. एभिसी सेन्ट्रल जोनमा दोहोरो स्वर्ण पदक (२०७६–२०७८)

नेपालले अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन थालेको लामो समयपछि नेपाली महिला भलिबल टिमले वर्ष २०७६ मा सबैभन्दा ठूलो सफलता हात पारेको थियो ।

त्यो क्षण सबै नेपाली भलिबलप्रेमीका लागि लागि महत्त्वपूर्ण र गर्व गर्न लायक दिन थियो । पहिलो पटक महिला टिमले बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनको पहिलो संस्करणमा कीर्तिमानी स्वर्ण पदक जित्यो । जुन आजसम्म भलिबलको सबैभन्दा ठूलो सफलता हो ।

समूह चरणमा आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलमा माल्दिभ्समाथि २५–१३, २५–१२, २५–८ को सोझो सेट नतिजा निकालेर स्वर्ण पदक जितेका थियो ।

त्यसको दुई वर्षपछि बंगलादेशमा नै भएको एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा लगातार दोस्रो पटक च्याम्पियन बन्दै नेपालले उपाधि रक्षा गर्यो ।

उक्त प्रतियोगिताको फाइनलमा उपाधि दाबेदार टोलीको रूपमा हेरिएको उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २५–२२, १५–१० को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको थियो ।

२. आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक कांस्य पदक (१९९९)

सन् १९९९ (२०५६) मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) पहिलो पटक नेपाली महिला भलिबल टोलीले सहभागिता जनाएको थियो । पहिलो सहभागितामै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट महिला टोलीले कांस्य पदक जितेको थियो । जुन नेपालका लागि ऐतिहासिक पदक थियो ।

त्यसपछि नेपालले लगातार सन् २००६, २०१० र २०१६ मा लगातार कांस्य पदक जितेको थियो ।

त्यसैबीच नेपालले सन् २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जित्यो ।

३. १३औं सागमा रजत पदक (२०७६)

२०७६ सालमा काठमाडौंमा नै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला टिमले रजत पदक जितेको थियो ।

नेपालको चिरप्रतिद्धन्दी मानिने भारतसँग नेपाल ३–२ को सेटमा पराजित भएर इतिहास रच्नबाट वञ्चित भएको थियो । उपाधि दाबेदारमा आफूलाई प्रस्तुत गरेको नेपाल फाइनलमा २५–१७, २४–२६, २१–२५, २५–२०, १५–६ को सेटमा स्तब्ध बनेको थियो । सधैं नेपालमाथि एकपक्षीय जित निकाल्दै आएको भारतलाई नेपालले दिएको कडा चुनौती दिएको त्यही प्रतियोगितामा हो ।

४. सागमा पहिलो पटक सेमिफाइनल (पुरुष भलिबल–१९९९)

दक्षिण एसियायी खेलकुद (साग) मा सहभागिता जनाउन थालेको लामो समयपछि नेपाली पुरुष टिम पहिलो पटक सेमिफाइनल पुगेको थियो । सन् १९९९ (२०५६) मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो पटक सेमिफाइनल पुग्नु नै पुरुष टिमको ठूलो सफलता थियो ।

तर, सेमिफाइनलमा भारतसँग पराजित भएपछि फाइनल पुग्नबाट रोकियो । तत्कालीन नेपाली टिमका कप्तान भरत शाह र जगदीश भट्ट (हाल महिला टिमका मुख्य प्रशिक्षक) लगायतका खेलाडीहरूले खेलेका थिए ।

सन् १९९९ मा सेमिफाइनलमा पुगेयता पुरुष टिमले सागमा योभन्दा राम्रो नतिजा निकाल्न सकेको थिएन ।

५. पुरुष टोलीलाई पहिलो पटक कांस्य पदक (२०१७)

सन् १९९९ मा सागमा पहिलो पटक सेमिफाइनलमा पुगेयता पुरुष टिमले राम्रो नतिजा निकाल्न सकेको थिएन । तर, सन् २०१७ मा माल्दिभ्समा आयोजना भएको तेस्रो संस्करणको एभिसी सेन्ट्रल जोनमा आयोजक माल्दिभ्सलाई हराएर पहिलो पटक पुरुष भलिबल टिमले कांस्य पदक जितेको थियो । त्यो नै पुरुष टिमको आजसम्मको सबैभन्दा ठूलो सफलता हो ।