सानैदेखि खेल्न थाले पनि निरुता ठगुन्नाले कहिल्यै भलिबलमा यति ठूलो नाम कमाइएला भन्ने सोचेकी थिइनन् । नेपाली राष्ट्रिय भलिबल टिमबाट खेल्ने त उनले सपनामा पनि आएको थिएन ।
तर असाधारण प्रतिभाकी धनी निरुतालाई उनको क्षमताले हकलाग्दो गन्तव्यमा पुर्याएको छ । नेपाली महिला भलिबलको महारथी एपिएफ क्लबकी उनी मुख्य खेलाडी हुन् । त्रिभुवन आर्मी क्लबबाट पनि उनले केही वर्षको अनुभव लिएकी थिइन् । राष्ट्रिय टिममा गौरवशाली यात्रा गर्न थालेको पनि धेरै वर्ष भइसक्यो । यसबीचमा दक्षिण एसियाली खेलकुद (साग) को रजत पदक भिरिसकेकी छिन् । एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको स्वर्ण पदक जितिसकिन् ।
दार्चुलाको जनहित माविबाट स्कुलस्तरीय प्रतियोगिता खेल्दा उनले साँच्चै अहिलेको दिन कल्पेकी थिइनन् । अझ स्कुलस्तरका प्रतियोगितामा सधैंजसो निराशाजनक नतिजा हात लाग्दा उनीसँग यस्तो कल्पना गर्ने आधार पनि त थिएन । तर उनले कहिल्यै हरेस खाइनन् । स्कुलस्तरमा भोगेका तिनै निराशाजनक नतिजाले उनलाई थप मिहिनेत गर्न उक्सायो । नतिजा अहिले देखिइसकेको छ, उनी नेपाली भलिबलकी स्टार हुन् ।
स्कुलस्तरमा जनहित माविलाई सफल नतिजा दिलाउन नसके पनि निरुताको क्षमता भने नेपाली भलिबलको पारखी आँखामा परिसकेको थियो । त्यसैले त २०७३ सालमा एसएलसी दिएपछि उनले सोझै त्रिभुवन आर्मी क्लबबाट खेल्ने अवसर पाइन् । जहाँबाट उनको असली खेलजीवनको सुरुआत भयो ।
राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट र आर्मीका प्रशिक्षक लोकबहादुर बुढाले उनलाई आर्मीमा आउन प्रस्ताव गरेका थिए । आफ्नो भविष्य सुनिश्चित हुने र खेल्न पनि पाउने प्रलोभनमा उनी आर्मीमा आबद्ध भइन् । सँगै भलिबलको आधारभूत कोर्स आर्मीमा नै गरिन् ।
आर्मीको मुख्य स्पाइकरको रूपमा उनले तत्काल आफूलाई स्थापित गरिन् । आर्मीको अंक ल्याउने मुख्य खेलाडीमा निरुता स्थापित हुँदा टोलीले घरेलु प्रतियोगितामा सधैं कडा चुनौती प्रस्तुत गर्ने गरेको थियो । तर आर्मीलाई कुनै उपाधि जिताउन भने उनको प्रयास सफल भइरहेको थिएन । जबकि निरुताको प्रदर्शन भने बेजोडको थियो ।
२०७६ सालको जेठमा घरायसी र व्यक्तिगत कारण देखाउँदै उनले आर्मीबाट राजीनामा दिइन् । त्यो बेलामा उनले आर्मी छाडेको कुरा सर्वत्र चर्चाको विषय बनेको थियो । धेरै कुराको खुलासा भयो, आ–आफूले आफ्नो तर्क राखे । नेपाली खेलकुदमा त्यो एउटा ठूलो विवादको विषय बन्यो । निरुतालाई भलिबल नै नखेलौं भन्नेसम्म लाग्यो ।
‘आर्मी छोड्नुपर्यो । केही कुरा भन्न मिल्छ, केही कुरा मिल्दैन,’ उनले खेलाडीसँगको कुराकानीमा भनिन्, ‘त्यतिबेला खेल्दिनँ भनेर नै छोडेको थिएँ । छोड्नुपर्दा नराम्रो लागेको थियो । तर, सबैजनाको साथ, सहयोग र हौसला पाएँ । त्यसपछि फेरि खेल्न सुरु गरें ।’
आर्मीबाट राजीनामा दिएपछि उनी जन्मभूमि दार्चुला फर्किइन् । करिब चार–पाँच महिनाको बसाइपछि उनी काठमाडौं फर्किइन् । बंगलादेशमा सन् २०१९ मा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबलको पहिलो संस्करणका लागि निरुता बन्द प्रशिक्षणमा परेका कारण काठमाडौं आएकी थिइन् ।
पहिलो पटक बन्द प्रशिक्षणमा परेकी निरुताले कात्तिकमा भएको एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरिन् ।
उक्त प्रतियोगितामा नेपाली टोलीले शतप्रतिशत नतिजा निकाल्दै पहिलो पटक ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।
त्यसको एक महिनापछि उनले सशस्त्र प्रहरी बलको सिपाही पदका लागि भएको खुला परीक्षामा नाम निकाल्दै एपिएफसँग जोडिइन् ।
उनले २०७६ साल पुसमा भएको होङ्वान्जी न्यु डायमन्ड महिला भलिबल प्रतियोगिताबाट एपिएफमा डेब्यु गरिन् । जसमा एपिएफले प्रतियोगिताको उपाधि उचालेको थियो ।
पहिलो पटक जितको स्वाद चाख्न पाएकी निरुताले त्यो बेलामा एपिएफसँगको यात्रा अजम्बरी हुने समेत प्रतिक्रिया दिएकी थिइन् ।
उनले भनिन्, ‘एपिएफमा मेरो पुनर्जन्म नै भएको हो । भलिबल खेल्दिनँ भनेर छाडेको थिएँ । तर, परिवार र एपिएफको दिदीहरूले सम्झाउनुभयो । त्यसपछि यहाँ आएँ ।’
नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला टिमले रजत पदक जित्दा निरुता पनि टिमकी सदस्य थिइन् ।
तर, गतवर्ष एभिसी सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपका लागि घोषणा गरेको अन्तिम १२ मा निरुता अटाउन सकिनन् । आफ्नो तर्फबाट शतप्रतिशत दिएर राष्ट्रिय टिममा पुनरागमन हुनेमा निरुता आशावादी छन् ।
‘छिट्टै फर्कने छु । त्यो समय एकदिन अवश्य नै आउँछ । राष्ट्रिय टिममा फर्कन म आफ्नो तर्फबाट राम्रो प्रयास गर्नेछु,’ उनले सुनाइन् ।
एपिएफले अहिले राजधानीमा जारी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा प्रतिस्पर्धा गरिरहेको छ । जारी प्रतियोगितामा एपिएफकी मुख्य खेलाडी सरस्वती चौधरी उपस्थित छैनन् । घुँडाको चोटको कारण आराममा रहेकी सरस्वतीको अनुपस्थितिमा एपिएफले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । यही कारण निरुताको जिम्मेवारी बढेको छ ।
‘क्लबकी मुख्य खेलाडी (सरस्वती) हुनुहुन्न । त्यही भएर गाह्रो भएको हो । सबै नयाँ बहिनीहरू टिममा छन् । अहिले चाहिँ राम्रो भइरहेको छ,’ निरुताले भनिन्, ‘मुख्य खेलाडी नभएपछि अलिकति गाह्रो हुन्छ नै हामीलाई पनि त्यहीं भएको हो । नयाँ खेलाडीहरू छन्, त्यही भएर केही समय लाग्छ ।’