राष्ट्रिय भलिबलमा एभरेस्ट क्लबको उडान

काठमाडौं । सफलता प्राप्त गर्न के चाहिन्छ ? सैद्धान्तिक रूपमा दिइने उत्तर यस्तो हुन सक्छ, ‘प्रतिबद्धता, लगनशीलता, इमान्दारी, मिहिनेत, गन्तव्यमा पुग्ने दृष्टि र आफूले पछ्याउन चाहेको आदर्श ।’

हो, नेपाली भलिबलमा सफलताको एउटा कथा लेख्ने हो भने बुटवलको एभरेस्ट भलिबल क्लबको यात्रामा यो उत्तर ठ्याक्कै मिल्छ ।

सफल हुन प्रतिबद्धता, लगनशीलता, इमान्दारी, मिहिनेत, गन्तव्यमा दृष्टि र आफूले पछ्याउन चाहेको आदर्श भए धेरै समय पनि चाहिन्न । एभरेस्टले नेपाली भलिबलमा यो तथ्य प्रमाणित गरिसकेको छ भर्खर आरबिबी- एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपको उपाधि जितेर  ।

गत शनिबार सम्पन्न महिलातर्फको फाइनलमा एभरेस्ट भलिबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै पहिलो पटक राष्ट्रियस्तरको उपाधि उचाल्यो 

औपचारिक रूपमा एभरेस्टको नाम नेपाली भलिबलमा सुनिन थालेको चार वर्ष पनि पूरा भइसकेको छैन । नेपाल भलिबल संघले २०७७ सालबाट एनभिए च्याम्पियनसिप खेल्न टिम औपचारिक रूपमा दर्ता हुनुपर्ने नियम बनाएपछि मात्र एभरेस्ट नेपाली भलिबलको मूलधारमा औपचारिक दर्ता भएको थियो । खेल्न थालेको चाहिँ एक दशकभन्दा लामो समय भइसक्यो ।

सुरुआती केही वर्ष यो टिमले एभरेस्ट बोर्डिङ स्कुलको नाममा स्थानीयस्तरका थुप्रै प्रतियोगिता खेलेको थियो । तर, सफलताका सूत्रहरू पछ्याउँदै अगाडि बढ्दा भलिबल संघमा औपचारिक रूपमा दर्ता भएर खेल्न थालेको चौथो वर्षमै टोली राष्ट्रिय च्याम्पियन नै बन्न सफल भयो ।

गत शनिबार सम्पन्न महिलातर्फको फाइनलमा एभरेस्ट भलिबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै पहिलो पटक राष्ट्रियस्तरको उपाधि उचाल्यो ।

त्यसअघि क्लबले समूह चरणको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो । एभरेस्टले पहिलो पटक दुई विभागीय टोलीलाई एकै प्रतियोगितामा पराजित गरेको हो ।

क्लबका प्रशिक्षक अर्जुन घिमिरे सुरुआती दिन यसरी सम्झन्छन्, ‘हामीले भलिबल खेल्न थालेको दशकभन्दा लामो समय भइसकेको छ । एभरेस्ट बोर्डिङ स्कुलका विद्यार्थीलाई समेटेर स्थानीयस्तरका प्रतियोगितामा भाग लिइरहेका थियौं । २०७७ सालमा औपचारिक रूपमा एभरेस्ट भलिबल क्लब दर्ता गरायौं । खेलाडीलाई शतप्रतिशत छात्रवृत्तिमा पढ्न र खेल्न पाउने व्यवस्था गरिदिने भएकाले स्कुलकै नामबाट क्लब दर्ता गराएका छौं ।’

न्यु डायमन्ड प्रेरणाको स्रोत

नेपालको भलिबलमा केही गरी छाड्ने अठोट बोकेर अघि सरेको एभरेस्टले काठमाडौंको न्यु डायमन्ड स्पोर्टस क्लबलाई सुरुमै आफ्नो आदर्श मानेको थियो । न्यु डायमन्डले नेपाली महिला भलिबल क्षेत्रमा छुट्टै खालको विशेष पहिचान बनाइसकेको थियो ।

राष्ट्रिय खेलाडी उत्पादनमा अब्बल न्यु डायमन्डले प्रतियोगितामा विभागीय टोलीहरूलाई कडा टक्कर दिइरहेको थियो । यसैबाट प्रभावित भएर प्रशिक्षक घिमिरेले बुटवलको एभरेस्ट स्कुलमा भलिबल टोली बनाएका थिए ।

‘काठमाडौंमा न्यु डायमन्ड  स्पोर्टस क्लबले महिला भलिबलमा राम्रो गरिरहेको छ भन्ने थाहा पाएपछि हामीलाई पनि यो क्षेत्रमा केही गर्नुपर्छ भन्ने लाग्यो । महिला भलिबललाई माथि उकास्नुपर्छ भन्ने लागेर टोली तयार पार्यौं,’ घिमिरे उत्साहका साथ भन्छन्, ‘हामी भलिबलमा राम्रो सम्भावना भएका प्रतिभालाई विभिन्न ठाउँबाट छनोट गरेर ल्याउँछौं र एभरेस्टमा पूर्ण छात्रवृत्तिमा पढ्ने र खेल्ने व्यवस्था मिलाउँछौं ।’

अरुणासहित तीन भारतीय खेलाडी

राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीसँगै एभरेस्टले तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सूर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोन्सनलाई समावेश गरेको थियो । चार खेलाडीले सानदार प्रदर्शन गरेपछि एभरेस्ट पहिलो पटक राष्ट्रिय च्याम्पियन बन्यो । यी चार खेलाडीले नै १९औं एसियाली खेलकुद पनि खेलेका थिए ।  

चार खेलाडीसँगै लिबेरो रिचा थापा, निशा चौधरी, आरती चौधरी, अनुशा चौधरी, मीना सुनार, प्रमिला जिसी, रितु पुन र रुचि थापा टोलीमा थिए । उनीहरूसँग भने राष्ट्रिय स्तरको प्रतियोगिता खेलेको खासै अनुभव थिएन ।

गण्डकी प्रदेशले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि अरुणाले टोलीमा पुनरागमन गरेकी हुन् । यसअघि पाँचौं संस्करणमा उनले एभरेस्टबाटै खेलेकी थिइन् । सोही समय न्यु डायमन्ड स्पोर्टस क्लबलाई हराउँदै एभरेस्ट चौथो भएको थियो ।

प्रशिक्षक घिमिरे यसपालि सहयोगी हात बढेकाले राम्रो टोली बनाउन सकेको बताउँछन् । ‘एभरेस्ट बोर्डिङ स्कुलसँगै लुम्बिनी प्रदेश खेलकुद परिषद्ले तपाईंहरू टोली तयार पार्न लाग्नुस् हामी सहयोग गर्छौं भनेकाले नै विदेशी खेलाडी अनुबन्ध गर्न आँट आएको हो,’ घिमिरेले भने, ‘उहाँहरूको साथविना यो सम्भावना थिएन ।’

चार खेलाडीसँगै लिबेरो रिचा थापा, निशा चौधरी, आरती चौधरी, अनुशा चौधरी, मीना सुनार, प्रमिला जिसी, रितु पुन र रुचि थापा टोलीमा थिए । उनीहरूसँग भने राष्ट्रिय स्तरको प्रतियोगिता खेलेको खासै अनुभव थिएन ।

प्रशिक्षक अघिल्ला संस्करणमा विद्यालयका खेलाडीलाई मात्र टोलीमा समावेश गर्दा राम्रो नतिजा नआएको बताउँछन् । यही कारण यसपालि भने उपाधि नै जित्ने उद्देश्यका साथ स्टार खेलाडी समेटेर टिम बनाएको उनले सुनाए ।

‘अघिल्ला संस्करणहरूमा हामीसँग सीमित स्रोत र साधन भएकाले राम्रो खेलाडी अनुबन्ध गर्न सकिएन,’ घिमिरे भन्छन्, ‘विद्यालयमा अध्ययनरत कलिला नानीहरूलाई समेटेर टोली बनाउँदा राम्रो नतिजा पनि आएको थिएन । यसपटक सबैको साथ र सहयोगले राम्रा खेलाडी भित्र्याउन सक्यौं र च्याम्पियन पनि बन्यौं ।’

खेलाडीले विभाग रोज्दा अरू कमजोर

घरेलु भलिबलमा विभागीय टोली बलिया छन् । राष्ट्रिय टोलीका नयाँ तथा पुराना खेलाडीको मिश्रण नै विभागीय टिममा रहन्छ । जागिर सँगसँगै खेल्न पनि पाइने हुँदा अधिकांश खेलाडीको रोजाइमा विभागीय टोली हुने गर्छ ।

एभरेस्टकै उत्पादन पुनम चन्द अहिले नेपाल पुलिस क्लब र राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिरहेकी छन् । त्यसले गर्दा विभागीय टोली बलिया हुँदै जाँदा प्रदेशलगायतका टोली भने कमजोर बनेको प्रशिक्षक अर्जुन घिमिरेको बुझाइ छ ।

‘हामी मिहिनेत गरेर प्रतिभाहरू खोजी गर्छौं । केही समय खेलेपछि उनीहरूलाई विभागले तानिहाल्छ । विभागमा पुगेपछि भविष्य राम्रो हुने हुँदा त्यो स्वाभाविक पनि हो । तर, राम्रा खेलाडीले छाड्दा अरू क्लब भने कमजोर हुन्छन्,’ घिमिरेले भने, ‘हामीले उत्पादन गरेको पुनम (चन्द)ले पुलिस क्लब हुँदै राष्ट्रिय टोलीको यात्रा तय गरिसकेकी छन् । अरू खेलाडी पनि विभागमा छन् तर उनीहरूले छाड्दा हाम्रो टोली भने कमजोर बनेको छ ।’

लिगमा पनि सहयोगको आस

नेपाल भलिबल संघले आगामी जेठमा एनभिए क्लब लिग आयोजना गर्दै छ । तीन वर्षदेखि यो प्रतियोगितामा सहभागिता जनाउँदै आएको एभरेस्टका लागि यसपालि भने केही फरक अनुभव हुनेछ । कारण उसमाथि थपिएको क्लब च्याम्पियनसिप विजेताको ट्याग ।

एनभिए च्याम्पियनको हैसियतमा सहभागी हुने एभरेस्टको लक्ष्य यो प्रतियोगिता पनि जित्नु हुनेछ । त्यसका लागि क्लबले एभरेस्ट बोर्डिङ स्कुलसँगै लुम्बिनी प्रदेश खेलकुद परिषद्लगायतबाट सहयोगको आस गरेको छ ।

‘हाम्रो लक्ष्य क्लब लिग पनि जित्ने हो । हामी क्लब च्याम्पियनसिप विजेताको हैसियतले प्रतियोगितामा सहभागिता जनाउँदै छौं । यो उपाधिको इज्जत जोगाउन पनि राम्रो प्रदर्शन गर्नु पर्ने दबाब हामीसँग छ,’ घिमिरेले भने, ‘यसपालि पनि हामीले सहयोगको आस गरेका छौं । उहाँहरूको साथ रह्यो भने विदेशी खेलाडी ल्याएर राम्रो टोली तयार पार्नेछौं ।’